वैज्ञानिक नाम (ल्याटिन नाम) : नियोपिक्रोराइजा स्कोफलेरीफालीया (Neopicrorhiza Scrophulariifolia (Pennell) D.Y Hong )
सस्कृत नाम : अशोक रोहिणी, मत्स्य पित्ता, कटु रोहिणी
वनस्पति परिवार : स्क्रोफूलारिएसी (Scrophulariaceae)
परिचय
यो विरुवा नेपालको २,७०० देखि ४,५०० मि सम्म उचाईको हिमाली भेगमा खुला तथा सेपिलो, दुप्रै ढुङ्गा भएको, भ्याउ उम्रेको, हिमाली चिमाल भएको जंगल नजिकै उत्तरपट्टि फर्केको पाखाहरूमा पाइन्छ । यी विरुवाहरू वर्षा ऋतुको आगमन अघि फुलेको पाइन्छ । यसको मूल जरा तथा डाँठ बलियो, लामो र केही खैरो र कालो रंगको हुन्छ। यसको स्वाद तितो र पकाएपछि पीरो हुन्छ । यसको बोटमा स(साना कुस पनि पाइन्छ। यसको पात ५ मि।मि देखि ४ से मि सम्म लामो र ४ देखि १५ मि मि सम्म चौडा हुन्छ। पातको किनारा करौती जस्तो दांते हुन्छ । फूलहरू एउटै डाँठमा धेरै फुलेका हुन्छन् । फूलका रङ्ग फिक्का नीलो प्याजी हुन्छ । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् । यसको जरा अत्यन्त तितो हुन्छ ।
खेती
नर्सरी व्याडमा काण्डबाट यसको विरुवा उमारिन्छ। बीजबाट पनि यसको विरुवा उमार्न सकिन्छ । निम्न जिल्लाहरूमा यसको खेती गर्न सकिन्छ ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ्ग ( धनपोखरा) , कास्की, पर्वत, बाग्लुङ्ग (ढोरपाटन) , म्याग्दी, रुकुम, दैलेख, जाजरकोट आदि स्थान ।
संकलन
जरा र जमिनमुन्नि रहने डाँठाहरू शरद ऋतुमा संकलन गरिन्छ। संकलन गर्दा यसको केही भाग जमिनभित्र छोडनु पर्दछ ।
सुकाउने तथा संरक्षण
संकलन गरिएका जरा र काण्डलाई पानीमा राम्ररी धोएर घाममा सुकाइन्छ । सुकेका जरा काण्डलाई बोरामा हाली ओवानो ठाउंमा थन्क्याइन्छ ।
उपयोगिता
आयुर्वेदिक पद्धति अनुसार यसको प्रयोग जुलाफ गराउनमा, पेट दुखेको, ज्वरो, अजीर्ण आदिमा गरिन्छ । यो सर्प वा बिच्छिले डसेमा पनि प्रयोग गरिन्छ । छालाको रोग विशेष गरी दादलाई यसले फाईदा गर्दछ । हृदयरोग, रक्त विकार, फियो बढेको, प्रमेह, श्वास, धातु र कुष्ठरोगमा पनि अति उपयोगी मानिन्छ ।
स्रोत : जडिबुटि संकलन , संरक्षण , सम्र्वद्दन विधि, वनस्पति विभाग