लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाले वर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) रोग नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।
नेपालका विभिन्न स्थानमा वर्ड फ्लू रोग पुष्टि भइसकेको अवस्थालाई मध्यनजर गर्दै रोग अन्य क्षेत्रमा फैलिन नदिन जनसाधारण, किसान तथा सम्बन्धित सरोकारवाला निकायलाई विशेष सावधानी अपनाउन केन्द्रले सूचना जारी गरेको हो।
केन्द्रले जारी गरेको सूचना अनुसार अपनाउनुपर्ने प्रमुख सावधानीहरूः
पन्छी ओसारपसार तथा ढुवानी नगर्नुहोस्। अत्यावश्यक भएमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र ओसारपसार गर्नुहोस्।
कुखुरा तथा पन्छी फार्ममा पूर्ण रूपमा बायोसेक्युरिटी (जैविक सुरक्षा) मापदण्ड पालना गर्नुहोस्।
फार्ममा अचानक पन्छी मरेमा पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रयोगशाला वा पशु क्वारेन्टाइन कार्यालयमा तत्काल जानकारी गराउनुहोस्।
वन, जंगल वा बाटोघाटोमा पन्छी मृत अवस्थामा भेटिएमा सम्बन्धित निकायलाई तुरुन्त सूचित गर्नुहोस्।
कुनै कुखुरा फार्ममा एक्कासि धेरै कुखुरा मरेमा सम्बन्धित निकायलाई तत्काल जानकारी दिनुहोस्।
पन्छी, पन्छीजन्य सामग्री तथा उत्पादनको ओसारपसार गर्दा निःसंक्रमण ९डिसइन्फेक्सन० र सरसफाइमा विशेष ध्यान दिनुहोस्।
रोग नियन्त्रण तथा रोकथामका लागि जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै सबैले उच्च सतर्कता अपनाई सचेत रहनुहोस्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाका निमित्त प्रमुख तथा वरिष्ठ पशु चिकित्सक दुर्गा प्रसाद खनाल ले सबै किसान, व्यवसायी र सर्वसाधारणलाई वर्ड फ्लू रोग नियन्त्रणमा सहयोग पुर्याउन र कुनै शंकास्पद अवस्था देखिएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन अनुरोध गरेका छन्।