बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

माछाको रोग तथा व्यवस्थापन

मंगलबार, असार १२ २०८१
5 views
माछाको रोग तथा व्यवस्थापन

समाचार शेयर गर्नुहोस्

Share this news

माछाका रोगहरु

अन्य खेतीहरु जस्तै माछा खेतीमा समेत उत्पादन बढाउनका लागि विभिन्न प्रयासहरु गरिन्छन् । जसमध्ये बढी माछा स्टकिङ्ग, बढी मलखादको प्रयोग एवं बढी दाना आहाराको प्रयोग प्रमुख छन् । माछा पालन जति सघन हुंदै जान्छ मत्स्य रोगको सम्भावना त्यति नै बढ्दै गएको हुन्छ । वातावरणमा जहिले पनि जिव तथा जिवाणु बीच सन्तुलन कायम भएको हुन्छ । माछा चिसो रगत भएको जिव भएको हुनाले वातावरणमा भएको परिवर्तनले माछालाई प्रत्यक्ष रुपले प्रभावित गरेको हुन्छ । सघन मत्स्यपालन गर्दा बढी मात्रामा माछा, दाना तथा मलको प्रयोगले पानीको गुणस्तरलाई प्रभावित गर्दछ । फलस्वरुपजीवाणुहरुको बृद्धिका लागि अनुकुल अवस्था तैयार भई माछाको लागि रोग निम्त्याउन सक्छ । “सामान्य स्वास्थ्यमा आएको जुनसुकै किसिमको परिवर्तनलाई रोग भनिन्छ” तथा त्यस्ता जिवहरु जसले यस्तो परिवर्तन ल्याउन मद्दत गर्दछ लाई जिवाणु भनिन्छ ।

माछामा रोग विभिन्न कारणले लाग्न सक्दछ जस्तै:

 वातावरण र त्यसमा आएको परिवर्तन,
 माछाको दाना आहारामा कमि,
 पोखरीमा मलखादको बढी प्रयोग,
 माछालाई चोटपटक लाग्नु,
 अन्य माछाबाट सरेर, र
 दुषित पानीबाट ।

रोगी माछाहरुमा सामान्यतया निम्नलिखित लक्षणहरु देखा पर्दछ;

 विस्तारै हिड्डुल गर्नु,
 पानीको सतहमा आउनु,
 जीउ भीत्तामा घस्रनु,
 विभिन्न भागमा थोप्लाहरु देखिनु,
 पखेटाहरु कुहिदै जानु तथा कत्ला झर्नु,
 आंखा बाहिर निस्कनु,
 शरिरको विभिन्न भागमा घाउ हुनु, र
 माछाको शरीरमा बढी म्युकस हुनु ।


यस मध्ये कुनै पनि अवस्थामा माछा छ भने त्यस्तो माछा रोगी भएको ठान्नु पर्छ । रोगको रोकथामको लागि निम्नलिखित प्रयास गर्नु पर्छ;


१. बचावटका उपाय

२. स्वस्थ मत्स्य पालन

३. औषधीपचार


बचावटका उपायः

रोगी माछालाई उपचार गर्नु भन्दा रोग नै नआउन दिनका लागि बचावटका उपायहरु गर्नु नै उत्तम हुन्छ । यसका निम्ति निम्न तरिकाहरु अपनाउनु पर्छ ।

 पोखरीमा अवांछित माछाहरु आउन नदिने व्यवस्था गर्ने साथै पोखरीमा रहेका जंगली माछालाई पोखरी सुकाई वा विषको प्रयोग द्वारा मार्ने ।
 मत्स्य पालनमा सफा उपकरणहरु मात्र प्रयोगमा ल्याउने एउटा पोखरीमा प्रयोग गरिएका उपकरणहरु अर्को पोखरीमा प्रयोग गर्दा राम्ररी सफा गरी वा सुकाएर मात्र प्रयोग गर्ने ।
 स्वस्थ भुराहरु मात्र स्टक गर्ने ।
 रोगी वा मरेका माछालाई पोखरीबाट झिक्ने ।

 पोखरी सफा सुग्घर राख्ने ।


स्वस्थ मत्स्य पालन

स्वस्थ मत्स्य पालनका लागि निम्नलिखित तरिका अपनाउनु पर्छ ।
 प्राविधिक सल्लाह बमोजिम पोखरी तैयारी गर्ने ।
 निश्चित संख्यामा मात्र भुरा राख्ने ।
 भरपर्दो श्रोतबाट उच्चगुणस्तरका स्वस्थ भुरा मात्र खरिद गर्ने ।
 पानीको गुणस्तर नियन्त्रण गर्न पोखरीलाई झारपात तथा बाक्लो लेउबाट मुक्त राख्ने ।
 उपयुक्त मात्रामा मात्र मलजलको प्रयोग गर्ने ।
 ताजा दाना आवश्यक मात्रामा मात्र प्रयोग गर्ने ।
 पानीको गहिराई कायम राख्ने तथा समय समयमा सफा पानी थप्ने ।
 माछाको स्वास्थ्य तथा बृद्धिको जांच नियमित रुपमा गर्ने ।
 नियमित रुपमा माछाको बानी व्यहोराको अध्ययन गर्ने ।


औषधोपचार

माछामा रोग ल्याउने प्रमुख जिवाणुहरु निम्न समुहका छन्ः
 बाह्य परजिवी
 आन्तरिक परजिव
 ढुसी
 बैक्टेरिया
 भाइरस

यी जिवाणुहरुलाई नियन्त्रण गर्न निम्नानुसार गर्नु पर्दछ ।
 बाह्य परजिवीको नियन्त्रणका लागि फर्मेलिन, चुन, नुन जस्ता औषधिहरुको प्रयोग गरिन्छ ।
 आन्तरिक परजिवीहरुको नियन्त्रण सरल नभएको हुंदा यस्ता रोगी माछालाई पोखरीबाट निकालेर नष्ट पार्ने, पोखरीलाई घोंघी आदिबाट मुक्त गर्ने तथा पानीलाई सफा पार्न नुन, चुन जस्ता औषधिहरुको प्रयोग गर्ने ।
 ढुसीलाई नियन्त्रण गर्नका लागि मालाकाइट ग्रिन, नीलो तुथो, फर्मेलीन आदि रसायनहरुको प्रयोग गरिन्छ ।
 बैक्टेरीयाबाट हुने रोगको नियन्त्रणमा पोटास, एक्रिफ्लेभीन, एन्टीवायोटक (टेरामाइसीन, अक्सीटेट्रासाइक्लीन) आदिको प्रयोग गरिन्छ ।
 माछामा भाइरस रोग धेरै देखा परेको छैन र रोग लागेपछि यसको उपचार समेत कठीन छ तसर्थ यसको नियन्त्रणको लागि स्वस्थ वातावरणको सृजना नै अत्युत्तम उपाय हुन सक्छ|

स्रोत: व्यवसायिक माछापालन प्रविधि, PMAMP, बारा | 

थप समाचार