बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

अतिस : सामान्य देखिने औषधीय गुणले भरिपूर्ण जडिबुटि

सोमबार, असार १८ २०८१
7 views
अतिस  : सामान्य देखिने औषधीय गुणले भरिपूर्ण जडिबुटि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः  
अतिस गानाबाट उम्रने करीब १ मी. अग्लो हुने विरुवा हो । यसका गाना द्विवर्षिय हुन्छन् । यसका पातहरु फेदतिरका डाँठ भएका भए पनि माथितिरका विना डाँठका तर आँख्लालाई घेरेका हुन्छन् । फूलहरु डाँठका टुप्पामा लहरै मिलेर टुप्पा सम्म पुगेका हुन्छन् । फूल  नीला चम्किला रंगका हुन्छन् । यसको गाना जोर टिको रुपमा रहेका हुन्छन् । नयाँ गाना करीब २—५ से.मी. लामा पातलो बोक्रा भएको, थोरै मात्र मसिना जराहरु निस्किएका हुन्छन् र त्रिकोणाकारका हुन्छन् ।

फूल  फुल्ने समयः  श्रावण—भाद्र

प्राकृतिक बासस्थानः
यो विरुवा ३२००–३७०० मिटर उचाइ भएका ठाउँहरुमा काश्मिर देखि नेपाल सम्म फैलिएको पाइन्छ ।

उपयोगिताः
अतिसलाई खोकी र ज्वरोको औषधिको रुपमा गाउँलेले प्रयोग गर्दछन् । जराको स्वाद तितो हुन्छ । अतिसको जरा शरीरमा फुर्ति बढाउने औषधि र तागतको औषधिमा प्रयोग हुन्छ । यो दाँत दुखेकोमा दुखाई कम गराउने औषधिको रुपमा पनि प्रयोग हुन्छ । यसको मुख्य रासायनिक तत्वमा रक्त चाप सम्बन्धी औषधिय गुण दर्साइएको छ ।

संकलन समय र विधिः
जंगली विरुवाबाट गाना संकलन गर्दा कार्तिक–मंसिरतिर फल पाकीसकेपछि गाना खन्ने काम गर्नु पर्दछ, जसले गर्दा पुनः वीउहरु भुईमा झरे  र प्राकृतिक पुनरुत्थानको लागि सहयोग पुर्याउँछ  । खेतीको विरुवाबाट गाना संकलन गर्दा सारेको ३–४ वर्ष सम्म विरुवामा फूल फुल्दैन । त्यसपछि विरुवामा फल लाग्दछ र विरुवा खन्न लायक हुन्छ । खास त विरुवामा फूल फुलेको अवस्थामा यसको गानामा पाइने अतिसिन भन्ने रसायनिक तत्व बढी मात्रामा रहेको हुन्छ । यस्तो अवस्थामा संकलन गरेका गानाहरु उत्तम मानिन्छन् । तै पनि फल पाकी सक्नासाथ गाना संकलन गरियो भने अर्को पटकको लागि वीउहरु पनि संकलन गर्न सकिन्छ । गाना काटेर उत्पादन गरिएका विरुवा तीन वर्षमा फुल्दछन् र वीउबाट उमारिएका भन्दा छिट्टै बाली लिन योग्य हुन्छन् ।

प्रसारण विधिः
यसको वीउहरु कार्तिकतिर पाक्दछन् । वीउ संकलन गर्नको लागि यसका टुप्पामा रहेका क्याप्सुल आकारका पाकेका फललाई विस्तारै काटेर सुकाइन्छ र एक हप्ता भित्र क्याप्सुल फुटेर वीउहरु निस्कन्छन् । ती  वीउहरुलाई ४–५ महिना जति राम्ररी भण्डार गरेर चैत्रतिर छर्नु पर्दछ । तर अलिकति तल्लो भेगतिर ल्याएर पोलीहाउस भित्र वीउ संकलन गरेको २/३ हप्ता भित्रै पनि छर्न सकिन्छ । बालुवा, माटो र मल मिसाएर बनाएको मिस्रणमा वीउहरु राम्ररी उम्रन्छन् । तल्लो भेगमा उमारिएका विरुवाहरु चैत्रमा माथिल्लो भेगमा सार्नु पर्दछ । त्यस बाहेक यसको गानालाई काटेर पनि विरुवाहरु तयार गर्न सकिन्छ । गानाका टुप्पामा रहेका मुनाहरुलाई काटेर छुट्टयाई एउटा गानाबाट केही अरु विरुवाहरु तयार गर्न सकिन्छ भने गानामा रहेको आँख्लाहरु सहित रहने गरी टुक्रा टुक्रा गरी काटेर पनि यसबाट उत्पादन गर्ने गरिन्छ । यसरी तयार गरिएका विरुवाबाट छिट्टै गाना संकलन गर्न सकिन्छ भने वीउबाट उमारिएका विरुवबाट उत्पादन लिन करीब ४÷५ वर्ष लाग्दछ ।

प्रमुख रसायनिक तत्वः
अतिसको मुख्य तत्व (Atisine) अतिसिन  हो ।

Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग, काठमाडौ 

थप समाचार