स्विस बाखाको सबै भन्दा ठूलो नश्ल भएको सानन् बाखा (Capra aegagrus hircus) को उत्पत्ती स्वीट्जरल्याण्डको दक्षिणी क्यान्टन वर्नमा पर्ने सानन् (Saanen) उपत्यका भन्ने ठाउँमा भएको पाइन्छ । त्यस उपत्यकाबाट सन् १८९३ देखि मात्र यूरोपका अन्य भू-भागहरुमा समेत पालनका लागि विस्तार हुन थाल्यो । सन् १९०४ देखि १९३० को अवधिमा स्वीट्जरल्याण्डबाट १५० वटा बाखा अमेरिकामा पुर्याइएको र त्यस पश्चात यो प्रजातिको बाखाले व्यापकता पाएको पाईन्छ।
नेपालमा भने पहिलो पटक इजरायली सरकारको सहयोगमा विक्रम सम्वत् २०२८ सालमा ललितपुर जिल्लाको खुमलटार स्थित पशु विकास शाखामा शुद्ध सानन् जातका करिव २० वटा पाठापाठीहरु ल्याईएको र ती बाखाहरु २०२९ सालमा मकवानपुर जिल्लाको चित्लाङमा अवस्थित बाख्रा विकास फार्ममा अध्ययनको लागि राखिएको थियो । त्यसको अलवा औपचारिक रुपमा नभए पनि छिटफूट रुपमा भारत हुँदै नेपाल भित्रिएको पनि अनुमान गरिन्छ ।
औपचारिक रुपमा भने आ.व २०७०/०७१ मा कृषि तथा खाद्य सुरक्षा आयोजनाले संयुक्त राज्य अमेरिकाबाट शुद्ध नश्वका सानन् बाख्रा १० वटा र बोका १० वटा बाखा विकास फार्म, चित्लाङमा र १५ वटा बोका र २० वटा पाठी नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत बाखा अनुसन्धान केन्द्र, बन्दीपुर, तनहुँमा अनुसन्धानको लागि उपलब्ध गराएको थियो। ती मध्ये ३ वटा बोकाहरु राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा वीर्य संकलनको लागि पठाईयो । हाल बाखा विकास फार्म, चित्लाङ र राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम, बन्दीपुर मार्फत शुद्ध सानन् बाखाको स्रोत केन्द्र तथा स्थानीय खरी जातको बाखासँग क्रस गरी सानन् क्रश वर्णशङ्कर बाख्राको विकास गरी विभिन्न जिल्लाहरुमा विक्री वितरण गरिदै आएको छ।
नेपालमा सानन् बाख्राको आवश्यकता र महत्वः यसै पनि नेपाल जस्तो कृषि प्रधान देशमा बाख्रापालनको महत्व परापूर्व काल देखि रही हाल सम्म आईपुग्दा अझ बढोत्तरी हुँदै आएको छ। परिवर्तित समयानुसार कृषकहरुले बढि उत्पादन दिने र नयाँ नश्वहरु प्रति आकर्षित हुँदै जाने र नयाँ नयाँ जातहरुको खोज तथा अनुसन्धान हुँदै जानु सान्दर्भिक समेत हुन्छ । यसै क्रममा विगत केहि वर्ष यता देखि बोयर जातको बाख्राको निकै आकर्षण बढिरहेको अवस्थामा बोयर बाख्राको पाठापाठीहरुको वृद्धिदर अधिक हुने र उक्त पाठापाठीहरुलाई माउको दूध पुग्न नसक्ने अवस्था रही आएकोले बोयर बाख्रापालन गर्ने कृषकहरुले आफ्नो फार्ममा सानन् बाख्रा समेत पालन गरी सानन् बाख्राबाट प्राप्त दूध बोयर बाख्राका पाठापाठीहरुलाई उपलब्ध गराउने गर्दछन् ।
बाख्रा विकास फार्म चित्लाङमा विभिन्न जिल्लाहरुका कृषकले सानन् बाख्राको माग गर्नुको निम्न कारणहरु प्राप्त भएको पाईन्छः
> पर्यटन प्रवर्द्धनको लागि गोट चीज उत्पादन गर्न
> बोयर बाख्रापालक कृषकहरुले फार्ममा अन्य जातका पाठापाठीको लागि दूधको आपूर्ति गर्न
> डेङ्गु तथा क्यान्सरका विरामीहरुको लागि रोग प्रतिरोधात्मक क्षमताको लागि बाख्राको दूध उपलब्ध गराउनको लागि
> स्थानीय खरी बाख्रासँग क्रस गराई वर्णशकर पाठापाठी उत्पादन गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न।
> फार्मको आकर्षण वृद्धि गर्नुका साथै दूध र मासु उत्पादन गर्न।
बाख्राको दूध पिउनुका फाईदाहरुः
> बाख्राको दूध पिउनाले हड्डीहरु बलियो हुन्छ ।
> मुटुलाई सुरक्षित तथा स्वस्थ राख्नमा मद्दत गर्दछ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
> शारीरिक विकास र वृद्धिमा सहयोग पुर्याउछ ।
> मोटोपन घटाउँछ ।
सानन् बाख्रा पहिचान तथा विशेषताहरु :
* सेतो सपक्क परेका रौ, छोटा र ठाडा कान, मिलेको शरीर, लामो ठाडो र पातलो सिङ्गका साथै झपक्क दारी तथा माउको विकसित ठूलो तथा गोलो कल्चौडो नै यस बाख्राको विशेष पहिचान हो।
* दूध उत्पादनको निम्ति यो विश्वविख्यात बाख्राको जात हो।
* पहिलो पटक ८ देखि ९ महिनाको उमेरमा बाली जाने र ब्याएपछि ८ देखि १० महिना सम्म दूध दिईरहन्छ । अमेरिकी तथ्याङ अनुसार प्रति वेद २००० लीटरसम्म दूध उत्पादनको रेकड भएतापनि नेपालको हावापानी तथा व्यवस्थापनमा प्रति वेत ६५० लीटर देखि ८०० लीटर सम्म दूध उत्पादन भएको पाईन्छ ।
* यस जातको बाखाले ३०५ दिनको अवधिमा ३०२८ के. जी दूध उत्पादन गरेको विश्व रेकर्ड छ ।
* यस जातको बाख्राको दूध उत्पादन क्षमता बढी भएकोले यो बाख्रालाई बाख्रा जगतकी दूधकी रानी "Milk queen of Goat World" पनि भनिन्छ ।
सानन् बाख्रालाई उपयुक्त हावापानी
नेपालको हावापानी अनुसार सानन् जातको बाख्रा समुन्द्री सतहबाट ८०० देखि २५०० मिटर सम्मको उचाइका क्षेत्रमा (दक्षिण मोहडा फर्केको पहाडी भेगमा अझ उतम) सफलतापूर्वक पालन गर्न सकिने देखिएको छ । यस जातको बाख्रा हाल बाख्रा विकास फार्म चित्लाङ, मकवानपुर र नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम, बन्दिपुर तनहूँमा पालिएका छन् ।
आहारा व्यवस्थापनः
सानन् जातका बाखा अन्य जातका बाख्राहरु भन्दा चाडो हुर्कने र दूध उत्पादनकोलागि पालिने भएकोले यिनीहरुको आहाराको मात्रा अन्य जातका बाखालाई भन्दा बढाएर दिनुपर्ने हुन्छ । सामान्यतया हाम्रो स्थानीय खरी बाख्रालाई शारीरिक तौलको २.५% देखि ३% सम्म सुख्खा पदार्थ भए पुग्दथ्यो भने सानन् बाख्राको लागि कम्तिमा शारीरिक तौलको ४% का दरले सुख्खा पदार्थको आवश्यकता पर्दछ । सानन् बाख्राको लागि जीवन निर्वाह, शारीरिक वृद्धि, प्रजनन, गर्भावस्थाका लागि पोषणको आवश्यक पर्दछ । विभिन्न अवस्थाका सानन् बाख्राको लागि चाहिने पोषण तत्वहरु तल तालिकामा दिइएको छ।
खोर तथा अन्य व्यवस्थापनः
अरु बाख्राहरुको लागि जस्तै सानन् बाख्राको लागि पनि खोर बनाउदा ओभानो र घाम लाग्ने ठाउँको आवश्यक हुन्छ। खोर भित्र चिस्यान बढी हुने र ओसिलो भएमा बाख्रालाई निमोनिया, लुतो लगायत अन्य रोगहरु लाग्ने सम्भावना बढी हुन्छ । खोर बनाउँदा अन्य जातका बाख्राहरुको तुलनामा कोठाहरु चाहिँ ठूलो र दूध दुहुने कोठा बढी सफा तथा दोहोरो हावा लाग्नेहुनु पर्छ । सानन् बधुवा प्रणालीमा पालिएका सानन् बाख्रालाई बिहान र दिनको समयमा घुम्न, घाम ताप्न र घाँस खानको लागि खुला ठाउँ (यार्ड) को आवश्यकता पर्दछ जसका लागि ३ वर्ग मिटर प्रति बाख्राको दरले ठाउँ हुनुपर्दछ । यस जातको बाख्राको शरीर र सिङ्ग निकै ठूलो र बलियो हुने हुनाले खोर तथा होल्डिङ यार्डहरुको बार निकै बलियो गरी बनाउनु पर्ने हुन्छ अन्यथा सिङ्गले हानेर बारहरु भत्काउने, एक आपसमा जुध्ने गर्दछन् । प्राय विदेश तिर यहि समस्याले गर्दा सिङ्ग नउम्रने गराउने (Disbudding) गर्दछन् तर वास्तवमा भन्ने हो भने यस प्रजातिको बाख्राको सिङ्ग नै मुख्य • आकर्षक र पहिचान हो।
पाठापाठीको हेरचाहः यस जातको बाख्राको पाठापाठीको जन्म तौल पनि अन्य जातका बाख्राहरुको भन्दा धेरै हुन्छ। बच्चा ठूलो हुने हुनाले बाख्रा ब्याउने बेलामा निकै ख्याल गर्नु पर्ने हुन्छ । अन्य बाख्राको तुलनामा बच्चा अड्किने (Dystocia ) समस्या केहि बढि हुन्छ । बाखा विकास फार्म, चित्लाङको रेकर्ड अनुसार बच्चाको जन्मदाको अधिक्तम् तौल ६.५ के.जी. सम्मको रहेको पाइन्छ । सानन् बाखाको पहिलो बेतमा प्राय १ वटा बच्चा जन्माउने र त्यस पछिको बेतमा प्रायः जुम्लिया बच्चा पाउने गर्दछ । पाठापाठी जन्मने बित्तिकै सुतिको सफा कपडाले बच्चाको फोहोरहरु राम्रो सँग पुछिदिने र माउलाई चाट्न दिने, त्यसपछि लगत्तै माउको बिगौती दूध खुवाउनु पर्ने हुन्छ। बिगौती दूध जुन धेरै पोसिलो हुन्छ र पाठापाठीलाई रोगसँग लड्ने क्षमता प्रदान गर्दछ । त्यसैगरी पाठापाठीलाई चिसोबाट बचाउन पाठापाठी राख्ने कोठामा तातो बनाउनको लागि बत्ती तथा सोत्तर व्यवस्था गर्नुपर्ने हुन्छ। माउलाई मनतातो पानीले सफा गरिदिने र प्रशस्त मनतातो पानी खान दिने साथै घाँस र खोले समेत खानादिई हाल्नु पर्छ। यसले गर्दा दूध पग्रन र साल (Placenta) झर्नमा मद्दत पुग्दछ। प्रजनन् तथा अन्य व्यवस्थापनमा सजिलोको लागि पाठापाठीको कानमा ट्याग लगाई दिनु पर्ने हुन्छ तर पाठापाठी जन्मने वित्तिकै यसो गर्दा बच्चालाई दुखाई बढि हुने भएकोले पाठापाठी र माउलाई एउटै रङ्गको डोरि घाँटीमा खुकुलो सँग बाँध्न सकिन्छ र पाठापाठी १५/२० दिन पुगे पछि मात्र ट्याग लागउन सकिन्छ । पाठापाठी चार महिना पुगेपछि माउबाट छुट्टाई अलगै राख्नु पर्ने हुन्छ । पाठापाठी जन्मेको ढिलोमा १ महिना भित्रमा जुकाको औषधी र आवश्यक्ता अनुसार मिनरल भिटामिनहरु समेत थप दिनुपर्ने हुन्छ । पाठापाठीलाई खेल्ने प्रशस्त खुला ठाउँको समेत व्यवस्था हुन जरुरी हुन्छ।
माउ बाख्राको व्यवस्थापन :
सानन् बाख्रा माउ वा बोका तथा पाठापाठी सबैलाई चरनमा लैजानु भन्दा बँधुवा पालन गर्नु नै उत्तम हुन्छ तर समथर मिलेको भूभागमा चरन क्षेत्र छ भने चराएर पाल्न पनि सकिन्छ । ब्याउन अन्तिम अवस्थामा पुगेका माउ बाख्राहरुलाई अरु माउहरुसँगको जुधाईबाट हुन सक्ने गर्भतुहाई (Abortion) बाट बचाउन छुट्टै खोरमा राख्नु पर्ने हुन्छ जसले गर्दा उनीहरुको हेरचाह र पाठापाठी पाईसकेपछिको व्यवस्थापनमा सजिलो हुन्छ । साथै ब्याउने माउलाई छुट्टै थप आहारको आवश्यक I पर्ने हुँदा थारो अवस्था भन्दा डेढ गुना थप दाना दिनुपर्ने हुन्छ। प्रायः बँधुवा पालन गरिने हुनाले बाख्राको खुर बढ्ने रहिड्डुल गर्न कठिनाई हुने समस्या आईरहन्छ त्यसको लागि समय समयमा खुर हेर्ने, सफा गरिदिने र बढेको भए काटिदिने गर्नु पर्दछ ।
अन्य व्यवस्थापन :
सानन् बाख्रालाई बधुवा प्रणालीमा पालिने भएकोले खुर बढेर खुट्टामा घाउ हुने र लड्खडाउने गर्दछ जसको लागि खुर बढेको हेरेर कम्तिमा हरेक महिना मान्छेको नङ काटे जस्तै उनीहरुको खुर काट्नु पर्ने हुन्छ । त्यसै गरी विभिन्न उमेरका बाख्राहरुलाई तौल अनुसार र आन्तरिक परजीविको प्रकोप अनुसार समय समयमा आन्तरिक परजीवि विरुद्ध औषाधी र बाह्य परजीवि विरुद्ध किटनाशक झोल (cypermethrin) मा नुहाईदिनु पर्ने हुन्छ । त्यसैगरी सिंग हटाउने, नम्बर लगाउने, खोरमा किटनाशक झोल छर्कने जस्ता विभिन्न व्यवस्थापनका कार्यहरु गर्नु पर्दछ । विभिन्न रोगहरु जस्तो पि पि आर, ईन्टेरोटक्सिमिया, जस्ता रोगबाट बचाउन खोप तालिका अनुसार खोप लगाउने व्यवस्था मिलाउनु पर्दछ । यसका साथै जैविक सुरक्षाका उपायहरु समेत नअपनाएमा फार्ममा विभिन्न खालका संक्रमक तथा सरुवा रोगको सामना गर्नु पर्ने हुन्छ त्यस कारण आफ्नो फार्म भित्र मानिस तथा अन्य जनावरको आवतजावत लाई पूर्ण रुपमा बन्देज गर्नु पर्दछ ।
सन्दर्भ सामाग्रीः बाख्रा विकास फार्म, चित्लाङले प्रकाशन गरेका ब्रोसर तथा वार्षिक पुस्तिकाहरु, राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दिपुरले प्रकाशन गरेको नेपालमा सानन् बाख्रा पालन सम्वन्धी जानकारी पुस्तिका,कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, ललितपुर ( कृषि पत्रिका)