बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

एजोला : एक वैकल्पिक महत्वपूर्ण आहार

बिहीबार , असार २१ २०८१
12 views
एजोला : एक वैकल्पिक महत्वपूर्ण आहार

समाचार शेयर गर्नुहोस्

Share this news

पशुपालन व्यवसाय नेपाली कृषि अर्थतन्त्रको मेरुदण्ड रुपमा रहिआएको छ। नेपालको कुल कृषि गार्हस्थ उत्पादनमा पशुपालन क्षेत्रको मात्रै करिब २७% योगदान रहेको छ। नेपालमा विशेष गरी पशुपन्छी पालनमा गाई, भैंसी, बाख्रा, भेडा, बंगुर, कुखुरा, हाँस, टर्की, खरायो पालिदै आइरहेको छ। पशुपालन क्षेत्रको उत्पादन र उत्पादकत्व वृदि नहुनुका कारणहरु धेरै भएतापनि मुख्य चार तत्वहरु आहारा व्यवस्थापन, नश्ल छनोट तथा प्रजनन, पशुको स्वास्थ्य र गोठ ब्यवस्थापन महत्वपूर्ण कारकतत्व हुन् ।

बढ्दो जनसंख्या वृद्धि, जलबायु परिबर्तन, बिग्रिदो जमिन अवस्था, खेतियोग्य जमिनको घट्दो क्रम, सिंचाईको अभाब, मानव खाद्यपोषण र पशु आहारा प्रतिस्पर्धा आदि कारणले गर्दा समग्र पशुपालन व्यवसायको उत्पादन र उत्पादकत्व थप वृदि गर्न चुनौती देखिन्छ । पशुपालन व्यवसायको उत्पादन र उत्पादकत्व वृदि गर्न मुख्य चुनौती सन्तुलित पशु पोषणको व्यबस्थापन हो। सन्तुलित पशुपोषण व्यवस्थापन मुख्य गरी पशुलाई आवश्यक पर्ने विभिन्न प्रकारका पौष्टिकतत्त्वहरु जस्तै कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, मिनरल आदि पशुको शारीरिक वृद्धिदर, उत्पादन अवस्था अनुसार समुचित रुपमा समावेश भएको हुनुपर्दछ ।

पानीमा तैरीएर बस्ने एजोला एक प्रकारको जलउनियु वनस्पति हो । साधारणतया यो पानी जमेको ठाउँ, नहर, नदीनाला, खेत, कुवा, पोखरी आदिमा हुने गर्दछ । एजोलाको रेसा- रेसा मिलेर जरा बन्दछ पातको माथिल्लो भागमा भुवादार रेसाहरु हुन्छन् जसले गर्दा पानीमा तैरिएर बस्दछ । यो पानीमा तैरिएर बस्ने भएकोले सानो लेउ वा झ्याउ हरियो कार्पेट जस्तो देखिन्छ। यसको प्रयोग सदिऔंदेखि मलको रुपमा प्रयोग हुँदै आइरहेको छ ।

एजोलाको जरा छोटो, हाँगा फैलने र पानीमा तैरीरहने ठाडो भई बसेको हुन्छ । बाहिरवाट हेर्दा हरियो म्याट जस्तो देखिन्छ ।एजोलाको विभिन्न प्रजातिहरू छन् : एजोलाको आकार त्रिकोणात्मक तथा बहुभुज देखिने गर्दछ । एजोलाको विभिन्न रुपले प्रयोग गरिदै आइरहेको छ जस्तै हरियो मल, पशु आहारा, झारपात नियन्त्रण, नाइट्रोजन, लामखुट्टे नियन्त्रण आदि। एजोला उत्पत्ति इतिहासमा यसको प्रयोग जैविक मल अर्थात् हरियो मलको रुपमा धान खेतीवाट सुरु भएको पाइन्छ

 

एजोला उत्पादन तरिका :

उपयुक्त प्रजातिको छनोट :

• एजोलाका विभिन्न प्रजातिहरु मध्य एसिया क्षेत्रमा Azolla pinnata हावापानी तथा उत्पादनको हिसावले उपयुक्त मानिन्छ ।

बिउदरः

• सकेसम्म फ्रेस बिउ/इनोकुलेसन बिहान वा बेलुकाको समय पारि पोखरीको सवैतिर पर्नेगरी छर्ने गर्नुपर्छ । सिफारिस मात्रा अनुसार सामान्यतया ८०० ग्राम बिउ प्रति २ मिटर दरले राख्न सकिन्छ ।

उपयुक्त हावापानी :

• प्रजाति अनुसार विभिन्न हावापानीमा एजोला हुने गर्दछ । खासगरी Azolla pinnata को लागि उपयुक्त तापक्रम २०-२८ डिग्री सेन्ट्रीग्रेड र सापेक्षिक आद्रता ६०-७०% उपयुक्त हुन्छ । 

पोखरी निर्माण :

• सामान्यतया १-१.५ मि चौडाई भएको र ५ मि सम्म लम्बाई र ५०-१०० से. मि गहिरो भएको पोखरी निर्माण गर्नुपर्छ। पोखरी निर्माण गर्दा २५-५०% आधा घाम पर्ने ठाउँको छनोट गर्नुपर्छ । यसको लागि तराई क्षेत्रमा फलफुल बगैंचा भित्रको ठाउँ छनोट गर्न सकिन्छ तर पातपतिगरवाट जोगाउन नेट प्रयोग गर्नुपर्छ ।

• पोखरीको वरीपरी सबैतिर पर्ने गरी प्लाष्टिक बिछाई केही भाग पोखरी बाहिर पर्नेगरी राखी माटोले छोप्ने ।

• उक्त प्लाष्टिक माथि हलुका सफा माटो १० -१५ से.मी. गहिरो हुने गरी राख्ने ।

•  सामान्यतया ४-४.५ मिटर लम्बाई र १५-२० से.मी. गहिराई भएको पोखरी वाट लगभग २ के.जी. एजोला प्रतिदिन उत्पादन गर्न सकिन्छ।

पोखरीमा पानी व्यवस्थापन :

• उक्त निर्माण पोखरीमा सफा पानी ३/४ भाग हुनेगरी १५- २० से. मि गहिरो हुने गरी पानी राख्ने। पानीको गुणस्तर ख्याल गर्नु पर्ने हुन्छ । पानीको pH ५० देखि ७.० उपयुक्त हुन्छ। ६/६ महिनामा पोखरीको पूर्ण सफाई गरी पोखरी खालि गरी पुन पानी राख्नु रोगकिरा व्यवस्थापन तथा गुणस्तरिय एजोला उत्पादनको हिसाबले राम्रो मानिन्छ ।

मलखाद व्यवस्थापनः

•  सुरुवातमा १५ के.जी. गोवर (गोठे मल) ३५ लिटर पानीमा मिसाई पोखरीमा राख्नुपर्छ । ३० ग्रामजति सुपर फस्फेट १० लिटर पानीमा मिसाई उक्त पोखरीमा राख्नुपर्छ ।

• एजोला उत्पादनमा नाइट्रोजनयुक्त मलको आवश्यकता पर्दैन।

•  उत्पादन अवस्था अनुसार १ के. जी. गोवर मल र ८०- १०० ग्राम फस्फेट प्रत्येक २ हप्ताको अन्तरमा पोखरीमा छर्नुपर्छ।


 एजोला संकलन तथा उत्पादन : 

एजोलाको बिउ राखेको १५-२० दिनमा तयार हुने गर्दछ । उपयुक्त वातावरणमा ३-१० दिनमा यसको उत्पादन दोब्बर हुने गर्दछ । प्रत्येक दिन अथवा हप्ताको एक दिन जम्मा गरी २-३ घाम सुकाई हावा नछिर्ने गरी राख्ने र आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । उष्ण प्रदेशीय हावापानीमा ४८ घण्टा भित्रै बिग्रिने हुंदा उचित भण्डारण गरेर ७ दिनसम्म राख्न सकिन्छ। एजोला ८-१० टन/हे फ्रेस र २-३ टन/हे/ सुक्खा एजोला उत्पादन गर्न सकिन्छ ।

पशुपन्छीको आहारामा एजोलाको प्रयोग : 

एजोला सबै प्रकारका पशुवस्तुको आहारामा प्रयोग गर्न सकिन्छ । गाईभैसी, भेडाबाखा, बंगुर, कुखुरा खरायोहरुको आहाराको रुपमा प्रयोग गर्न सकिन्छ । एजोलालाई फ्रेस अथवा सुकाई यसको धुलो तयार गरी सन्तुलित दानामा मिसाई वा त्यतिकै प्रयोग गर्न सकिन्छ। धेरै उत्पादन भएको अबस्थामा छोटो समयमा नै खुवाउन २-३ दिन घाममा सुकाई प्लाष्टिकमा प्याक गरी हावा नछिर्ने गरी छाया परेको ठाउँमा राखेर पनि खुवाउन सकिन्छ।

गाईभैसीलाई दैनिक फ्रेस २ के.जी. प्रति दिन खुवाउँदा दूध उत्पादन १२-१५% वृद्धि भएको अनुसन्धानवाट देखिएको छ। एजोला सप्लिमेन्ट अथवा रेपेलेस्मेंटको रुपमा आहारामा प्रयोग गर्न सकिन्छ । भैंसीको पाडापाडीहरुमा गरिएको अनुसन्धानवाट ५० % बदामको पिना लाई फ्रेस एजोलाले विस्थापित गर्न सकिने र दैनिक वृद्धिदर, दानाको उपयोगिता र खर्च कटौती हुने गर्दछ । मासुको लागि पालिने भैंसीहरुको आहारामा परालसँग मिसाई खुवाउदा दैनिक शारिरिक वृद्धिदर बढेको अनुसन्धानवाट देखिएको छ । सन्तुलित दाना बनाउन साथै प्रोटिनजन्य - कच्चापदार्थहरुको मात्रालाई विस्थापित गर्न पनि एजोलाको प्रयोग गर्न सकिन्छ।

बाख्राको दानामा पनि यसको प्रयोग सजिलै गर्न सकिन्छ ।  एजोलाको प्रयोगले दैनिक शारिरिक वृद्धिदर, मासुको गुणस्तर बढेको अनुसन्धानवाट देखिएको छ। एजोलालाई सुकेको घाँससँग वा छुट्टै दानामा मिसाएर पशुबस्तुलाई खुवाउन सकिन्छ । अनुसन्धान अनुसार एक हेक्टरमा हुने एजोला ७९०-११०० के. जी. भटमास दाना बराबर हुने गर्दछ । एजोला भेडाहरुको दानामा प्रोटिन स्रोतको बदामको पिनालाई ३० % सम्म विस्थापित गर्न सकिने देखिएको छ।

बाखाको दानामा ५% सुकाएको एजोला धुलो प्रयोग गर्दा कुनै असर नगरी दैनिक वृद्धिदर राम्रो हुने गरेको उत्पादन लागत घट्ने तथा दैनिक वृद्धिदर बढेको पाइएको छ । एजोला प्रयोग गर्दा व्यवसायिक दानाको कटौती गर्न सकिने हुन्छ । प्रोटिनजन्य महँगो कच्चापदार्थ जस्तै भटमास, बदामको पिना आदिको स्थानमा एजोला २०% सम्म दानामा मिसाएर प्रयोग गर्दा पशु उत्पादन बढेको देखिन्छ ।

कुखुरापालन व्यवसाय अत्यन्त पुरानो तथा फाईदाजनक व्यवसाय रही आएकोमा व्यवसायिक दानाको उच्च मूल्य तथा कच्चा पदार्थको कम उपलब्धताले गर्दा धरासायी बन्दै गईरहेको अवस्थामा एजोला प्रोटिनजन्य कच्चा पदार्थको राम्रो स्रोत तथा विकल्प हुन सक्छ। लोकल कुखुरा, ब्रोइलर तथा हाँस पालनमा फ्रेस एजोला प्रयोगले २०% सम्म दाना कटौती गर्न सकिने अनुसन्धानवाट देखिएको छ।

अनुसन्धान अनुसार ९ के.जी. फ्रेस एजोला १०० वटा कुखुरालाई प्रतिदिन दिनको लागि पुग्छ । दानामा ५-१०% सम्म प्रयोग गर्न सकिन्छ । कुखुराको दानामा प्रयोग हुने मकै र भटमासलाई ५% सम्म विस्थापन गर्न सकिन्छ । बंगुरको दानामा १५-२५% सम्म प्रयोग गर्न सकिन्छ । बंगुरको दानामा १५% धानको ढुटोलाई एजोलाले विस्थापन गर्न सकिन्छ जसले दैनिक वृद्धिदरमा कुनै असर नपर्ने अनुसन्धानवाट पाइएको छ।

निष्कर्षः

एजोला गैरपरम्परागत प्रोटिनजन्य कच्चा पदार्थको महत्वपूर्ण दिगो तथा पौष्टिक विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । यसको उच्च पौष्टिक महत्व जस्तै उच्च प्रोटीन, रेसा पाचनाशिलता भिटामिन तथा मिनरल आदिले गर्दा पशुपन्छीको शारीरिक वृद्धिदर, दानाको उपयोगिता, दूध मासु उत्पादन वृद्धि र खर्च कटौती गर्न सहयोग पुग्दछ । एजोलाको प्रयोगले उग्राउने पशुहरुबाट हुने मिथेन ग्यास उत्सर्जन घटाउनमा पनि भूमिका खेल्दछ र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न सहयोग गर्दछ । पशुपन्छी को आहारामा एजोलाको प्रयोगले दिगो कृषि अभ्यासहरूलाई अगाडि बढाउन, पशुधन उत्पादन प्रणालीहरूको समग्र उत्पादकत्व वृद्धि गर्न र जलवायु परिवर्तनको असरलाई कम गर्न सहयोग पुग्दछ ।

डा.रिद्धि श्रेष्ठ , कपुर भुषाल

Source :  कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन,ललितपुर ( कृषि पत्रिका ) 

थप समाचार