बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

लेकाली घाँस सेतो क्लोभर बारे जानकारी

बिहीबार , असार २१ २०८१
6 views
लेकाली घाँस सेतो क्लोभर बारे जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

लेकाली चरन देशको उत्तरी भागमा १३००० फिटभन्दा माथिको उचाईमा पाईने चरन हो । यहाँ रुखहरु पाईदैन । धुपीका स–साना बोटहरु यहाँको मुख्य वनस्पति हो । यो क्षेत्र वर्ष भरिमा जेष्ठदेखि भाद्रसम्म ३–९ महिनामात्र प्रयोगमा आउँछ । यो चरणमा याक, नाक र मध्य पहाडमा घुम्ती गोठको रुपमा चराउन लगिने बरुवाल भेडा र सिन्हाल
बाख्रा चराईन्छ । यहाँको मुख्य चरण घाँस फेस्टुका र एग्रोपाईरन जातका घाँसहरु हुन् । जाडोमा यो क्षेत्र हिउँले ढाकिएर रहने हुँदा कुनै प्रयोगमा आउँदैन । नेपालको पूर्वी पहाडी भेगमा फूर्चा र पश्चिमी भेगमा बुकी, कोते, ढिम्ची जाँतको घाँस यसै चरनमा पाइन्छ र यी घाँसहरु कृषकहरुबीच लोकप्रिय छन् । स्थानीय घाँसको साथसाथै उन्नत वहुवर्षीय चरन घाँसहरु ह्वाईट क्लोभर, राईघाँस, कक्सफुट, टलफेस्कु लगाएर चरन खर्कलाई विकास
गर्न सकिन्छ ।

सेतो क्लोभर : (White Clover) 
वैज्ञानिक नामः Trifolium repens
वहुवर्षीय अति प्रसिद्ध कोशे घाँस हो । यो घाँसएकपटक छरेपछि १०–१२ वर्षसम्म उब्जा
दिइरहन्छ । नेपालमा राणाकालमा यो घाँस वेलायतबाट झिकाई लगाएको विश्वास गरीन्छ । सेतो क्लोभरलाई चरन घाँसको रुपमा, भू–संरक्षण गर्न र फूलबारीको शोभा बढाउन पनि प्रयोग गरीन्छ । यो घाँस ज्यादै पोषिलो, सुपाच्य तथा सुस्वाद भएको घाँस भएकोले गाई वस्तुहरुले ज्यादै मन पराएर खान्छन् । यसलाई खर्कमा चराएर वा साईलेज बनाएर प्रयोग गर्न सकिन्छ ।

हावापानी तथा माटो : 
सेतो क्लोभर लेकाली घाँस भएकोले यसलाई चिसो हावापानी चाहिन्छ । नेपालको १५०० मिटरदेखि ४००० मिटरसम्मको उचाईमा यसलाई लगाउन सकिन्छ । यो घाँसलाई चिस्यान बढी भएको दोमट माटो उपयुक्त मानिन्छ । यो घाँस ज्यादै सुख्खा ठाउँमा राम्रो फस्टाउन सक्दैन ।

सेतो क्लोभर लगाउने तरिका : 
बीउ दर : 
सेतो क्लोभरको बीउ मसिनो र सानो भएकोले थोरै बीउ भए पनि पुग्छ । साधरणतया १ हेक्टरमा ३–५ कि.ग्रा. बीउ चाहिन्छ । बीउको अभाव भएको अवस्थामा पुरानो बोटबाट हाँगाको टुक्रा झिकी सारे पनि हुन्छ यसरी हाँगा सार्दा हाँगाको टुक्रा करिब १० से.मी.लामो हुनु पर्दछ । एक हेक्टरमा १ लाख टुक्रा भए पुग्छ ।

बीउ छर्ने विधि र समय : 
बीउ छर्ने सबैभन्दा उपयुक्त समय चैत्र वैशाख महिना हो । यदि हाँगााको टुक्रा सार्ने हो भने मनसुन शुरु भएपछि जेष्ठ–आषाढ महिनामा सार्नु उपयुक्त हुन्छ । बीउ छर्दा राम्ररी खनजोत गरेको व्याडमा छर्नु पर्दछ । बीउ छरीसकेपछि माटोलाई चलाईदिनु पर्दछ, जसले गर्दा बीउ माटोमा गाडियोस : बीउ धेरै गहिरो गाडिएमा उम्रदैन । क्लोभरलाई कुलेसो बनाएर पनि रोप्न सकिन्छ । यदि प्रशस्त चिस्यान भएको ठाउँ छ भने कुलेसोको
पाखामा नत्र सुख्खा माटो भएको अवस्थामा कुलेसो भित्र क्लोभर लगाउनु पर्दछ ।

घुम्ती गोठमा क्लोभर लगाउने विधि : 

उच्च लेकाली भेक जहाँ यातायातको कठिनाई हुनुको साथ भौगोलिक अवस्था पनि प्रतिकुल हुन्छ । त्यस्तो अवस्थामा चरिचरण गर्ने पशुहरुकै उपयोग गरेर सेतो क्लोभरको प्रसारण गर्न सकिन्छ । यसका लागि घुम्ती गोठमा पशुहरुलाई लैजाउनुअघि दाना वा अन्य खाने कुरामा सेतो क्लोभरको बीउ मिसाई खुवाएमा बीउ पशुहरुको पेटमा पुग्दछ र गोबरसँग नपचिकन बाहिर निस्कन्छ । यो विधि उच्च लेकाली भेगमा सेतो क्लोभरको विस्तारको लागि निकै उपयुक्त मानिन्छ ।

जैविक मलको प्रयोग : 
सेतो क्लोभर पहिलो पटक खेत बारीमा लगाउँदा जैविक मल (राइजोविया) को प्रयोग गर्नु पर्दछ । जैविक मल उपलब्ध नभएको अवस्थामा क्लोभर छरेको जग्गाबाट केही माटो लिई बीउसँग मिसाएर छरेमा जैविक मलले जतिकै फाईदा लिन सकिन्छ । जैविक मलले उपचार गरेमा सेतो क्लोभरमा गिर्खा चाँडो लाग्न गई बिरुवा राम्ररी हुर्केर आउँछ ।

मिश्रित खेती :
सेतो क्लोभरलाई राई घाँस, कक्सफुट वा स्थानीय घाँससँग मिसाएर छर्नु पर्दछ । यसरी मिश्रित खेती गर्दा सेतो क्लोभर ४०% र अन्य ६०% को अनुपातमा हुनु पर्दछ । सेतो क्लोभर मात्र छरेमा चरिचरन गर्ने गाई वस्तुहरुलाई पेट फुल्ने समस्या हुन सक्दछ ।

रेखदेख तथा व्यवस्थापन : 
उच्च लेकाली भेगमा सेतो क्लोभर ढिलो गरी हुर्कन्छ । बीउ छरेको पहिलो वर्ष सेतो क्लोभरलाई हुर्कन दिनु पर्दछ । हिउँले पुरिएको अवस्थामा सेतो क्लोभरको पातहरु सबै झरी डाँठ मात्र नसाको रुपमा बाँचिरहन्छ । यस्तो अवस्थामा चरिचरन चराएमा पशुहरुले डाँठ पनि खोस्रेर खाइदिँदा बिरुवा नै मर्ने सम्भावना भएकोले रेखदेख गर्नु पर्दछ । सेतो क्लोभरबाट उब्जा उन्नत तरिकाले खेती गर्दा सेतो क्लोभरबाट प्रति हेक्टर ३–४ मे.टन सुख्खा पदार्थ पाउन सकिन्छ ।

बीउ उत्पादन : 
खर्कमा लगाईएको क्लोभरबाट प्रति हेक्टर २०–३० के.जी. बीउ संकलन गर्न सकिन्छ । उन्नत तरिकाबाट सेतो क्लोभरको खेती गर्दा खुमलटारमा १०० के.जी. बीउ प्रति हेक्टर संकलन गरीएको रेकर्ड छ । विदेशमा उन्नत प्रविधि अपनाएर खेती गर्दा ४००–५०० के.जी. सम्म बीउ पाइएको छ ।

पौष्टिकता :
सेतो क्लोभर अति पोषक आहारा हो । सेतो क्लोभरमा निम्नानुसारका पोषक तत्व पाईन्छ । क्रुड प्रोटिन २२.४ प्रतिशत एन.डि.एफ. ५०.७ प्रतिशत ए.डि.एफ. ३९.४ प्रतिशत
लिगनिन ६.३ प्रतिशत खनिज लवण ११.४ प्रतिशत नेपालका लागि केही महत्वपुर्ण सेतो क्लोभरका कल्टिभारहरु नेपालमा करीव १९ थरिका सेतो क्लोभरका कल्टिभारहरु आयात गरी परीक्षण गरीएका छन् । जस्मा निम्न कल्टिभारहरु नेपालका लागि उपयुक्त
छन् ।

1. Ladino - New Zealand
2. Huia - New Zealand
3. Regal - America
4. Tilman - Australia
5. Arkadia - Denmark

डा.शंकर पाण्डे 

सन्दर्भ सामाग्री
घाँसेबाली पुस्तिका (२०६८), राष्ट्रिय चरन तथा पशु आहारा केन्द्र

थप समाचार