बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

ढूसी एवं लेउ - झ्याउ

आइतबार, साउन १३ २०८१
10 views
ढूसी एवं लेउ -  झ्याउ

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
झट्ट हेर्दा झ्याउ वनस्पति जगतको कुनै एक सदस्य जस्तो देखिन्छ । तर झ्याउको संरचना वनस्पति जगतको दुई बेग्ला बेग्लै समूहका सदस्यहरु, ढूसी एवं लेउका प्रजातिहरु मिलेर बनेको हुन्छ । वास्तवमा झ्याउहरुको शारीरिक बनौटको उपरोक्त व्याख्या सुन्दा अचम्म लाग्नु स्वभाविकै हो र उहिलेका वैज्ञानिकहरुले झ्याउहरुलाई एक साधारण वनस्पति कै सदस्य मान्दै आएका थिए । सन् १८६९ मा जर्मन बैज्ञानिक Simon Schwendener ले सर्वप्रथम झ्याउहरुको द्वैध प्रकृतिबारे जानकारी गराए पनि त्यस ताकाका वैज्ञानिकहरु जर्मन वैज्ञानिकको विचारसित सहमत भएनन् । तर पछि वैज्ञानिकहरुको अध्ययन, अनुसन्धानबाट झ्याउहरु साधारण वनस्पति नभई ढूसी एवं लेउ (एल्गी) प्रजातिका थुप्रै सदस्यहरुको योगबाट बनेको प्रमाणि भयो ।

झ्याउहरुको शरीरको बाहिरी भाग ढूसी प्रजातिहरुबाट बनेको हुन्छ र त्यसले सुरक्षा प्रदान गर्दछ भने एल्गी प्रजातिका सदस्यहरु झ्याउको आन्तरिक भागको निर्माणमा सहायक हुनुका साथै उनीहरुमा क्लोरोफिल हुने हुँदा भोजन निर्माणमा मुख्य भूमिका निर्वाह गर्दछन् । यसप्रकारको आपसी समझदारी र सहयोगको अनुपमउदारहण प्राणी जगत मै विरलै देखिन्छ । कतिपय वैज्ञानिकहरुले यस्तो सम्बन्धलाई स्त्रि - पुरुष विचको दाम्पत्य जीवनसँग पनि दाँज्ने गरेको पाइन्छ । झ्याउहरुको शरीरको रंगमा धेरै विविधता पाइन्छ र यिनीहरुको रंगको वर्णन गर्न गाह्रै पर्दछ । झ्याउहरु प्रायः खरानी, हल्का हरियो, हल्का सेतो, कालो, हल्का निलो, सुन्तला, पहेलो  र गुलावी आदि विभिन्न रंगहरुमा पाइन्छन् ।

प्राकृतिक बासस्थानः
नेपालमा झ्याउहरु तराईका फाँटदेखि माथि हिमालसम्म पाइन्छन् ।  Lacanora polytropa  भन्ने एक किसिमको झ्याउ मकालु हिमालको २४,३०० फिटसम्मको उचाईबाट संकलन गरिएको छ । तर हावापानीको दृष्टिकोणले समसितोष्ण क्षेत्र झ्याउहरुको लागि उपयुक्त देखिन्छ र यस क्षेत्रमा झ्याउहरु अत्याधिक मात्रामा पाइन्छ ।

उपयोगिताः
झ्याउहरु ग्रामिण जनजीवनसँग गाँसिएको छ । परापूर्वकालदेखि यिनीहरु विभिन्न कार्यमा प्रयोग हुँदै आएका   छन् । चिनिया र इजिप्टसियनहरुले धेरै पहिलेदेखि झ्याउहरुलाई विभिन्न रोगहरुमा उपचारका लागि प्रयोग गर्ने गरेको पाईन्छ । अन्य मुलुकहरुमा पनि झ्याउहरुको उपयोग विभिन्न किसिमले हुँदै आएको छ । स्थानीय भाषामा इवाटाके ( Iwatake) भनिने झ्याउको एक प्रजाति जापानमा बढो अभिरुचीका साथ खाने गरिन्छ । पूर्वी
नेपालका केही समुदायका मानिसहरुले झ्याउहरुको विभिन्न परिकार बनाई खाने गरेको पाइन्छ ।

यस प्रयोजनकालागि Ramalina र Usnea  प्रजातिका झ्याउहरु उपयोगमा आउँछन् । नेपालका उच्च पहाडी भागका केही समुदायले झ्याउको एक प्रजाति  Stereocaulon  लाई छारे रोगमा प्रयोग गर्ने गरेको पाइन्छ । झ्याउहरुबाट विभिन्न किसिमका प्राकृतिक रंगहरु प्राप्त गर्न सकिन्छ । स्वीडेन तथा अन्य यूरोपेली मुलुकहरुमा जीव जन्तुहरुको बोसोबाट तयार गरिने मैनबत्तिहरु रंगाउन झ्याउहरुको रंग प्रयोग गरिन्छ । यसप्रकार तयार  गरिएका मैनबत्तिहरु उच्च गुणस्तरीय मानिन्छन् । झ्याउहरुबाट प्राप्त रंगको प्रयोग उनी तथा रेशमी धागोहरु रंगाउन पनि प्रयोग गरिन्छ । झ्याउबाट प्राप्त हुने रंगहरु वानस्पतिक रंग भएको हुँदा यसले वातावरण तथा जैविक विविधता संरक्षणमा समेत सघाउनुका साथै उच्च स्तरको रंग भएकोले विश्व वजारमा यसको विशेष माग छ ।

बेलायती बजारमा अभै  पनि झ्याउका केही प्रजातिहरुबाट उत्पादित प्राकृतिक एवं होमियोपेथिक औषधिहरु
पाइन्छन् । झ्याउहरुबाट तयार गरिएका विभिन्न थरीका क्रिम, सेम्पो, खोकी एवं शारीरिक दुर्गन्धबाट मुक्ति
दिने ( Deodorants) औषधि तथा टाफी एवं चकलेटहरु युरोपेली बजारमा अभै पनि लोकप्रिय छन् । झ्याउबाट
निर्मित सुगन्धित अत्तर र प्रशोधन सामग्रीहरु उच्च गुणस्तरीय मानिएको हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको   विशेष महत्व छ । एक पुरानो (१९८०) तथ्याङ्क अनुसार फ्रान्स, मोरक्को र पूर्व युगोस्लाभियाबाट मात्रै ८०००— ९००० टनसम्म झ्याउहरु संकलन हुने गरेको देखिन्छ । रसायनिक घोलक ) हरु प्रयोग गरी यसबाट सारतत्व निकालिन्छ र यी सारतत्व अत्तर एवं अन्य सुगन्धित प्रशोधनका सामग्रीहरु उत्पादन गर्न प्रयोग गरिन्छ । विशेष किसिमको झ्याउबाट उत्पादित सारतत्वको बास कस्तुरीको सुगन्धसँग मिल्ने हुँदा यस्ता झ्याउहरु कस्तुरीको विकल्पको रुपमा प्रयोगमा आउन थालेका छन् र यसका सारतत्वहरु उच्च स्तरीय अत्तर बनाउन प्रयोग गरिन्छ । भारतमा भेटनरी औषधिहरुमा झ्याउका अनेक प्रजातिहरु प्रयोग भइरहेका छन् र प्रमाणित उच्च गुणस्तरीय औषधिहरु बजारमा उपलब्ध छन् ।

संकलन समय र विधिः
चक्कु या धारिलो सामानबाट खोस्रेर उम्रेको माध्यमबाट छुट्याई केही भाग त्यहीं छोडी संकलन गर्ने गरिन्छ । वर्षायामपछि संकलन गर्दा कुहिने डर हुँदैन र झ्याउहरुको गुणस्तर कायम रहन्छ ।

प्रसारण विधिः
यसको साना वीजहरु वा साना टुक्राहरुबाट प्राकृतिक पुनरुत्पादन हुन्छ । हालसम्म खेती प्रविधिको अनुसन्धान भएको छैन ।

प्रमुख रसायनिक तत्वः
झ्याउका केही प्रजातिहरुमा  Usnic aci नामक रसायन पाइन्छ । यो जिवाणुहरुलाई समन गर्न सक्षम हुने हुँदा Antibiotic  औषधिहरुमा उत्पादन गर्न प्रयोग गर्ने गरेको पाइन्छ । यसको अलावाLichen  मा विशेष प्रकारका अन्य रसायनहरु पनि पाइन्छन् ।

सम्बन्धित विषय

थप समाचार