बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

पशुहरुमा बाँझोपनको कारण र निवारण

मंगलबार, साउन १५ २०८१
7 views
पशुहरुमा बाँझोपनको कारण र निवारण

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 

पशुहरुले समयमा भाले नखोज्ने, भाले लागे पनि गर्भधारण नहुने, आजीवन व्याउने नहुने अबस्थालाई बाँझोपन तथा नपुंसकता भनिन्छ । स्वास्थ्य ठीक हुँदा हुँदै पनि कुनै कारणले गर्दा राँगो साँढे नखोज्ने गडबडी अबस्थालाई एनस्ट्रस भनिन्छ । गाई भैसीमा राँगो साँढे बारम्बार लगाइरहदा वा जति पटक कृत्रिम गर्भधान गरे पनि उल्टिरहने वा राँगो साँढे खोजिरहने प्रक्रियालाई पशुहरुको उल्टने रोग भनिन्छ ।

बाँझोपन (Infertility) का कारणहरू : 

यो समस्या धेरै कारणहरुबाट हुन सक्छन् । यिनीहरु निम्न अनुसार छन् ।

१. यौन सम्बन्धी रोगहरु . इन्फेक्सियस् बोभाइन् राइनोट्रेकियाइटिस् (Infectious Bovine Rhinotracheitis, Bovine Herpes virus) ब्रुसेलोसिस् (Brucellosis-Cattle (Brucella abortus) B. suis (pig), B. melitensis (goat) भिब्रियोसिस् (Vibriosis - Compylobactor fetus) ट्राइकोमोनियसिस्(Trichomoniasis - Trichomonus fetus) बोभाइन् भाइरल डायरिया (Bovine Viral Diarrhoea / Mucosal Disease) लिस्टेरियोसिस् (Listeriosis) लेप्टोस्पाइरोसिस् (Leptospirosis)
२. पायोमेट्रा इन्डमेट्राइटिस् जस्ता प्रजनन अङ्ग सम्बन्धी रोग लागेमा ।

३. सिस्टिक ओभरी जस्ता डिम्बाशय सम्बन्धी समस्या भएमा र हर्मोनको निष्कासनमा गडबडी भएमा ।

४. पौष्टिक आहाराको कमी भएमा एक अध्ययनमा सामान्य रुपमा राँगासाँढे खोज्ने जनावरमा ८९.७४५ ग्राम प्रोटिन पाइयो भने एनस्ट्स गाईमा कम ६.५६५ ग्राम सिरम प्रोटिन पाइयो । त्यसै गरी क्याल्सियम, फस्फोरस, कपर, कोवाल्ट, आइरन, सेलेनियम जस्ता लवण र भिटामिन ए, इ हरुको प्रजनन प्रक्रियामा ठूलो भूमिका पाइएको छ ।

५. नाम्ले जुका जस्ता परजीवी तया अन्य जीर्ण रोगहरुबाट संक्रमण भएमा ।

६. गर्भाशय नै नभएमा (फ्रिमार्टिन) ।

७. ठीक समयमा बाली नलगाएमा

८. वीर्यको गुणस्तर राम्रो नभएमा

९. एक पशुबाट अर्को पशुमा कृत्रिम गर्भाधान गर्दा तया कृत्रिम गर्भाधान गर्ने उपकरणहरु निर्मलीकरण नगरी प्रयोग गरेमा । अझ कसैले एउटै सिथ एक भन्दा बढी पशुमा प्रयोग गरेमा यौन सम्बन्धी रोग सजिलैसँग सर्दछ । यसले गर्दा पनि पशुहरुमा बाँझोपन विकास हुन्छ ।

१०. राँगो खोजेको लक्षणहरु नदेखाउने भैसी भएर कृषकले थाहा पाउन नसकेमा

बाँझोपन सम्बन्धी रोगहरूको लक्षण तथा उपचार तथा रोकथाम :

१. इन्फेक्सियस् बोमाइन् राइनोट्रेकियाइटिस् : 

नेपालमा यो रोगबाट गाईभैंसी तुहिराखेका छन् भन्ने कुरा ६ वर्ष यता जानकारीमा आएको हो। २०५६ सालतिर यस रोग वारे नेपालका विभिन्न ठाउँहरुमा अध्ययन भएको थियो । १०८ डिग्री फरेन्हाइटसम्म ज्वरो आउने, सास फेर्न गाह्रो हुने, आँखामा कचेरा लाग्ने, नाकबाट पहेंलो गन्हाउने सिंगान बगाइरहने, मुखबाट प्ऱ्याल बगाइरहने, बच्चा तुहाउने यस रोगका लक्षणहरु हुन् । यस्तो लक्षण देखा परेपछि प्रयोगशाला परीक्षण गरी रोग एकिन गर्न पशु चिकित्सालयमा रगत जाँच गर्न पठाउनु पर्दछ ।

उपचार :  प्रभावकारी हुँदैन ।

२. ब्रुसेलोसिस्

यो रोग लागेपछि पशुहरु उल्टिरहन्छन् र गर्भधारण गरे पनि ५ महिना पछि बच्चा तुहाउँछन् । यो रोग पशुबाट मानिसमा समेत सर्न सक्ने भएकोले जुनोटिक रोगको समूहमा पर्दछ यो रोगले गाई, भैंसी, भेडा, बाखा र बंगुर सबैमा आक्रमण गर्न सक्दछ । रोगी भाले वा पोथी पशुसँग प्रजनन् गराउँदा (यौन संसर्ग हुँदा) र लसपस भएको दानापानीबाट सर्दछ । प्रजनन् गराउँदा उल्टिरहने, साँढे राँगोको अण्डकोष सुनिने, गाई भैसीहरु गर्भिणी भएको ५ महिना पछि बच्चा तुहाउने, योनी
सुनिने, साल नझर्ने यस रोगको लक्षणहरु हुन् । यस्तो लक्षण देखा परेपछि प्रयोगशाला परीक्षण गरी रोग एकिन गर्न पशु चिकित्सालयमा रगत जाँच गर्न पठाउनु पर्दछ ।

उपचार :

प्रभावकारी हुँदैन । रोग लागेको कुरा एकिन भए पछि त्यस्तो पशु तुरुन्त हटाई एक्लै राख्नु पर्दछ ।

३. भिब्रियोसिस् : 

यो रोग रोगी भाले वा पोथी पशुसँग प्रजनन् गराउँदा (यौन संसर्ग हुँदा) सर्दछ । पशुहरुमा बाँझोपन बढ्दै जाने, लामो समयसम्म हिटमा नआउने, ब्याउनी भएको ४-५ महिनातिर तुहाउने, साल सुनिएको हुने, अनियमित ऋतु चक्र हुने यस रोगको लक्षण हुन्। क्लोरटेट्रासाइक्लिन वा क्लोरोएम्फिनिकलबाट उपचार गर्न सकिन्छ ।

४. ट्राइकोमोनियसिस् : 

यो रोग पनि पशुहरुमा बाँझोपन ल्याउने, गाई भैसीमा ३ महिना भित्रै बच्चा तुहाउने यौन रोग हो । रोग लागेको भालेबाट प्रजनन गराउँदा रोग सर्दछ । यौन संसर्ग भएको एक हप्तापछि योनी, योनीद्वार र गर्भाशयको मुख सुनिने, गर्भाशयमा पिप बन्ने हुँदा अनियमित रुपमा पिप डिस्चार्ज भइरहने, प्रजनन् असफल भइरहने वा उल्टिरहने र प्रजनन् पछि पशु लामो समय हिटमा नै नआउने यस रोगका लक्षण हुन् । २- ३% को लुगल्स आयोडिन वा पोभिडन आयोडिन र एन्टिबायोटिकबाट उपचार गर्ने ।

अन्य कारणहरूबाट हुने बाँझोपनको उपचार तथा रोकथाम : 

- यदि पौष्टिक तत्व वा कुपोषणको कमीबाट राँगो साँढे नखोज्ने वा खोजे पनि उल्टिरहने भएको छ भने आवश्यकता अनुसारको राम्रो घाँस दाना र खनिज पदार्थहरुको मिश्रण मिलाएर नियमित खुवाउन सक्यो भने यस्तो बाँझोपन समस्या समाधान हुन्छ । त्यसैले हिउँद तथा सुख्खा मौसमको लागि आश्विन कार्तिक महिनामा आफ्‌ना पशुहरुलाई पुग्ने गरी प्रशस्त बर्सिम, जै, भेंच जस्ता घाँसहरु लगाउने र वर्षा यामको लागि एम्पिचरी, मकैचरी जस्ता बर्खे घाँसहरुको खेती गर्नु पर्दछ । त्यसैगरी पानी नजम्ने ठाउँहरुमा नेपियर र पानी जम्ने ठाउँहरुमा पाराग्रास जस्ता बहुवर्षीय घाँसहरु प्रशस्त लगाउनु पर्दछ । यसो गर्यो भने पशुहरुको बाँझोपनको समस्या हटनुका साथै पशुहरुको उत्पादन लागत मूल्य पनि घटन जान्छ ।

- नाम्ले जुका जस्ता परजीवीबाट ग्रस्त पशुलाई ती परजीवी बिरुद्ध औषधि खुवाउँदा बाँझोपनको समस्या समेत हटेर जान्छ । कमसेकम बर्षको २ पटक परजीवी बिरुद्ध औषधि खुवाउनु पर्दछ ।

- राँगो खोजेको लक्षण नदेखाउने कतिपय भैंसीहरुको पटक पटक बात (हिट) फुस्किरहेको हुन्छ । यस्ता पशुलाई राँगो खोज्ने समयतिर बिहान बेलुकी राम्ररी हेर्नु पर्दछ तथा दिनको एक पटक राँगोसंग सम्पर्क गराउनु पर्दछ ।

- पायोमेट्टा इन्डमेट्राइटिस् जस्ता प्रजनन अङ्ग सम्बन्धी रोग लागेमा प्राविधिकसँग जचाई प्रजनन अङ्गहरु खासगरी पाठेघरमा औषधि गर्नु पर्दछ ।

- सिस्टिक ओभरी जस्ता डिम्बाशय सम्बन्धी समस्या भएमा र हर्मोनको गडबडी भएमा यस बिषयमा अनुभवी दक्ष प्राविधिकसँग जचाएर उपयुक्त औषधि प्रयोग गरी उपचार गर्नु पर्दछ । यो धेरै सम्बेदनशील समस्या हो। यदि यसमा जथाभावी औषधि प्रयोग गरियो भने पशु नब्याउने समेत खतरा हुन जान्छ ।

- फ्रिमार्टिन अबस्थाको उपचार हुँदैन ।

- ठीक समयमा बाली नलगाएमा पनि पशुले गर्भधारण गर्दैन । त्यसैले कुन बेला बाली लगाउने भन्ने समयको अति महत्व हुन्छ । गाई भैसीलाई साँढे राँगो खोजेको लक्षण देखाउन शुरु गरेको ८ घण्टा देखि २२ घण्टाको बीचमा प्रजनन गराउनु पर्दछ । अझ सकिन्छ भने प्रजनन गराउने सबैभन्दा उत्तम समय साँढेराँगो खोजेको १२ घण्टादेखि २० घण्टाको समय हो ।

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन ( कृषि चौमासीक पत्रिका )  (श्री साँखी, ) 

सम्बन्धित विषय

थप समाचार