यसको वैज्ञानिक नाम Epipremnum aureum हो। यसका थुप्रै अरु नाम छन्। यसलाई गोल्डेन पोथोज, सिलोन क्रिपर, सिल्भर भाइन, डेभिल्स भाइन आदि नामले पनि चिनिन्छ । यसलाई बढ्न दिने हो भने प्राकृतिक रुपमा यो २० मिटरसम्म पनि फैलन सक्दछ ।
यसको हाँगाबाट पनि जराहरु निस्कन्छन् जसको सहायताले यो भित्तामा वा अन्य
कुनै वस्तुमा चढ्न सक्दछ । यसका चम्किला र मुटु आकारका पातहरु शुरुमा हरियो रङ्गका हुन्छन् जुन पछि गएर मिश्रित रङ्गका बन्दछन्। यो बिरुवाको रसमा पनि केही विषालु तत्व हुन्छ तर यो बिरुवा कोठाको वायु प्रदुषण कम गर्न सहयोगी मानिन्छ । यसले चर्को प्रकाश खप्न सक्दछ तर लामो समयसम्म सिधा घाम लाग्ने ठाउँमा राखेमा पात डढ्न सक्छ ।
तापक्रम १७–३० डि.से. यसको बृद्धिको लागि उपयुक्त हुन्छ । जराको माटो सुख्खा जस्तो भएमा मात्र यसलाई सिंचाई दिनु पर्दछ । गर्मी मौसममा २ हप्ताको १ पटक र जाडोमा महिनाको एक पटक पानीमा घुल्ने मल दिनु पर्दछ । यसलाई पानीमा मात्र पनि हुर्काउन सकिन्छ । माछा पाल्ने एक्वारियममा पनि यसलाई लगाउन सकिन्छ । वर्षको १ पटक वसन्त ऋतुमा रिपटिङ्ग गर्नु पर्दछ । हाँगाहरुलाई काँटछाँट गरिरहने हो भने रिपटिङ्ग नगरे पनि हुन्छ । हाँगाको कटिङ्गबाट यसको प्रसारण गर्न सकिन्छ ।
स्रोत पुष्प विकास केन्द्र, गोदावरी