बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

यसको वैज्ञानिक नाम  Beaucarnea recurvata  हो। यसलाई बोतल पाम वा
इलेफेन्ट फुट पनि भनिन्छ । बिरुवाको हात्तिको जस्तो फेदबाट निस्केको मूख्य
डाँठबाट मसिना करिब ९० से.मी. लामा पातहरु घोडाको पुच्छर जस्तै देखिने गरी तल झरेको हुनाले यसलाई पोनीटेल पाम वा इलफेन्ट फुट भनिएको हो। तर यो वनस्पति वास्तविक पाम भने होइन । यो निकै ढिलो बढ्ने वनस्पति हो। यसको अन्तिम उचाई भनेको लगभग ८ फूट हुन्छ जुन हासिल गर्न लगभग २० वर्ष लाग्दछ । यसलाई हुर्काउने मूख्य चुनौती भनेको यसलाई ठिक मात्रामा पानी दिन सक्नु हो। यसको फेदको भाग बिरुवाको बृद्धिसँगै मोटो हुँदै जान्छ ।

यो बिरुवाको पानी संचय गर्ने भण्डार हो। त्यसकारण हिउँदमा पानी दिँदा एकदमै चनाखो भएर हाल्नु पर्दछ । नत्र बिरुवा मर्न सक्दछ । यसको पातमा धुलो जम्मा हुने गर्दछ । यसलाई हाते स्प्रेयरको सहायताले पखालिरहनु पर्दछ । हिउँदमा मलखाद नदिने र अरु बेला महिनाको १ पटक मल दिनु पर्दछ । वसन्त ऋतुदेखि हेमन्त ऋतु सम्म माटोको सतहबाट दुई इञ्चभित्रसम्म सुख्खा भएपछि मात्र पानी दिनु पर्दछ । हिउँदमा एकदमै आवश्यक परेमा मात्र पानी दिनु पर्दछ ।

बिरुवाको फेद बढेर गमलाको किनार छुन खोजेमा रिपटिङ्ग गर्नु पर्दछ । यसको प्रसारण खास गरी बीउबाट गरिन्छ । कहिलेकाही माउबोटको फेद वरिपरिबाट अफसेटहरु निस्कन्छ । त्यसलाई झिकेर रुटिङ्ग मिडियामा राखी नयाँ बिरुवा बनाउन सक्रिन्छ । बोट बुढो भएपछि त्यसको डाँठ काटिदिने र काटेको केही मुनिबाट २ वा ३ वटा कोपिला निस्कन्छ जसलाई झिकेर रुटिङ मिडियामा राखेर नयाँ बिरुवा तयार गर्न सकिन्छ ।

सम्बन्धित विषय

थप समाचार