यसको वैज्ञानिक नाम Cyclamen persicum हो। बिरुवाको बिच भागबाट फूल फुल्ने ठाडो सुट निस्कन्छ र हिउँदमा रातो, सेतो, गुलाबी रङ्गको अति आकर्षक फूल फुल्दछ । यसका पातहरु पनि अति आकर्षक मुटु आकारका हुन्छन्। साइक्लामेनलाई उज्यालोठाउँमा राख्नु पर्दछ ।
हिउँदमा १– २ घण्टाको लागि सिधा घाम पर्ने गरी यसलाई राख्ने व्यवस्था गर्नु पर्दछ । साइक्लामेनमा फूल फुलेपछि बोट सुक्न थाल्दछ र धेरैले यसलाई फाल्दछन्। तर साइक्लामेनलाई फेरि फूलाउन सकिन्छ ।
वसन्त ऋतुको अन्त्यमा पुरानो सुकेका हाँगा पातहरु सबै हटाइदिनु पर्दछ र बिरुवालाई चिसो र अध्यारो ठाउँमा बाँच्न मात्र पुग्ने पानी दिएर ३ महिनासम्म राख्नु पर्दछ । बर्षायामको शुरुमा गमलालाई उज्यालो ठाउँमा ल्याएर राख्नु पर्दछ नयाँ पालुवा देखिएपछि रिपटिङ्ग गर्नु पर्दछ र मलजल दिन शुरु गर्नु पर्दछ । त्यसपछि २–३ महिनामा फूल खेल्न थाल्दछ ।
यसलाई २ हप्ताको १ पटक हुने गरी फस्फोरस बढी भएको मलखाद दिनु पर्दछ । बिरुवा सुशुप्तावस्थामा भएको बेला मल हाल्नु हुँदैन । यसकोप्रसारण बीउबाट गरिन्छ ।
Source : पुष्प विकास केन्द्र, गोदावरी ललितपुर