बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कार्नेशन फूल खेती प्रविधि

आइतबार, साउन २७ २०८१
6 views
कार्नेशन फूल  खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 
कार्नेशन संसारमै अति लोकप्रिय र महत्वपूर्ण कटफ्लावरहरु मध्ये गुलाफपछि दोश्रो स्थानमा पर्दछ । कतिपय फूल  निर्यात गर्ने देशहरुमा यसलाई यसको पोष्टहार्भेष्ट आयु तथा यसमा पाइने आकार र रङ्गको विविधताको कारण गुलाफभन्दा पनि बढी रुचाउने गरिन्छ । अरु कटफ्लावर को  तुलना मा यसको पोष्टहार्भेष्ट आयु लामो हुने हुनाले लामो दुरीको ढुवानीको लागि बढी उपयुक्त मानिन्छ । संसारभर हुने कटफ्लावररको कूल ब्यापारको झण्डै आधा हिस्सा गुलाफ, कार्नेशन र गोदावरीले ओगटेको छ । कार्नेशनको बैज्ञानिक नाम  Dianthus caryophyll  हो र यो Caryophyllaceae परिवार अन्तर्गत पर्दछ । Dianthus  शब्द ग्रीक भाषाबाट आयातित हो । यसमा Dious  को अर्थ God (Divine) र  Anthos को अर्थ flower  हुन्छ । कार्नेशन शब्द चाहि ग्रीन शब्द coronation  (राज्याभिषेक) बाट आएको हुनु पर्दछ किनभने यो फूल उतिबेला बिजेता ग्रीक धावकहरुको मुकुट सजाउन प्रयोग गरिन्थ्यो ।

कार्नेशन हाल स्पेन, स्लोभानिया र मोनाकोको राष्ट्रियफूल  समेत हो । अमेरिका र युरोपमा धेरै मात्रामा उत्पादन हुँदै आएको यो फूल को आकर्षण हिजोआज नेपाल लगायत विश्वका अन्य मुलुकहरुमा पनि बढ्दै गइरहेको छ । घर आगन सजाउन गमला वा बगैंचा देखि सभा समारोह सजाउन, बुके बनाउन पनि यो फूल  प्रयोगफूल फूल प्राकृतिक रुपमा चार मुख्य रंगहरु सेतो, पहेँलो, रातो र गुलाबीमा पाउन सकिन्छ । यो फूल को vase-life अर्थात फूल  काटेदेखि प्रयोग अवधि  (Postharvest life)  अरु फूल को तुलनामा केही लामो हुने र आधुनिक प्रविधिबाट खेती गरेमा अन्तराष्ट्रिय  गुणस्तरको उत्पादन नेपालको हावापानीमा संभव हुनाले यो फूल लाई निर्यातमुखी कटफ्लावर रको रुपमा पनि उत्पादन गर्न सकिन्छ ।

महत्व : 
कार्नेशनको प्रयोग  कटफ्लावर रुपमा मात्र नभएर जमीनमा, गमलामा, बोर्डर प्लान्टको रुपमा तथा रक गार्डेनमा पनि राम्रोसँग गर्न सकिन्छ । रक गार्डेनलाई यसले यौटा छुट्टै खालको कोमलता प्रदान गर्दछ । कटफ्लावरहरुको रुपमा कार्नेशनको प्रयोग बाह्रै महिना हुने भएता पनि खास गरी भ्यालेन्डाइन डे, मदर डे र क्रिसमसमा यसको माग अलि बढी हुने गर्दछ । हिजोआज मिनिएचर कार्नेशनको पनि लोकप्रियता बढ्न थालेको छ । कार्नेशन फूल को प्रयोग मानवीय भावनासँग जोडिएर समेत हुने गरेको छ ।

कोरियामा रातो र गुलाबी रङ्गको कार्नेशन प्यारेन्टस् डे को दिनमा बुबा आमा लाई उपहार दिन प्रयोग गरिन्छ । गुलाबी कार्नेशनलाई आमाको ममताको प्रतीकको रुपमा लिने गरिन्छ । मदरर्स डेको दिन आमा हुनेहरुले रातो कार्नेशन पहिरिने गर्छन् भने आमा नहुनेहरुले सेतो रङ्गको । यसैगरी टिचर्स डेको दिन शिक्षकहरुको सम्मान मा पनि कार्नेशन फूल को प्रयोग हुने गर्दछ । इसाई पौराणिक कथा अनुसार यशूलाई क्रशमा टाँगेको देखेपछि मरियमको आँखाबाट बगेको आँशुबाट कार्नेशनको फूल को उत्पत्ति भएको हो ।

यसैकारण कार्नेशन फूल आमाको ममताको प्रतीक हुन गएको मानिन्छ । यसै गरी नेदरल्याण्डमा सेतो कार्नेशन दोश्रो विश्व युद्धमा उसका योद्धा हरुले गरेको संघर्षलाई सम्झन प्रयोग गरिन्छ भने फ्रान्समा बैजनी रङ्गको कार्नेशनको प्रयोग अन्त्यष्ठीको बेला गर्ने गरिन्छ । कतिपय देशहरुमा मे दिवसको दिनमा समाजवाद र श्रमको प्रतिकको रुपमा रातो कार्नेशनलाई लिने गरिन्छ । कार्नेशन फूल को प्रत्येक रङ्गले फरक फरक अर्थ बोकेको हुन्छ ।

उदाहरणको लागिः

-  सेतो कार्नेशन : पवित्रता र भाग्य
-  हल्का रातो कार्नेशन :   प्रशंसा
-  गाढा रातो कार्नेशन :   गहिरो प्रेम र आकर्षण
-  गुलाबी कार्नेशन :  कृतज्ञता
-  पहेंलो कार्नेशन :  निरासा र तिरस्कार
-  छिर्केबिर्के कार्नेशन :  पश्चाताप
-  बैजनी कार्नेशन :  सन्काहापन

कार्नेशन फूलको चिया सेवन गर्नाले तनाव, थकान र अनिद्राबाट मुक्ति मिल्नुका साथै महिलाहरुको हर्मोनको असन्तुलन कम गर्ने विश्वास गरिन्छ । मालिश गर्ने तेलमा यसलाई मिसाउँदा छालाको जलन र चाउरीपना कम गर्न मदत गर्दछ । कार्नेशनको फूलको पुष्पदलको क्याण्डी बनाएर सलाद सजाउन र वासनादार बनाउन प्रयोग गरिन्छ । फ्रान्स र निदरल्याण्डमा कार्नेशन फूलबाट ब्यवसायिक रुपमा अत्तर बनाउने गरिन्छ । ५०० के.जी. फूलबाट करिब १०० मि.लि. तेल निकाल्न सकिन्छ । कार्नेशनको पातबाट गुणस्तरीय साबुन बनाउन सकिन्छ ।

कार्नेशनको वासना तथा औषधीय गुणका कारण प्राचीनकालमा यसबाट विभिन्न किसिममा टनिक र ओखतीहरु बनाउने गरिन्थ्यो । प्राचीन युरोपेली चिकित्साशास्त्रमा कार्नेशनले स्नायु र रक्तसंचार प्रणालीको विकारहरुमा फाइदा गर्ने विश्वास गरिएको छ । यसको फूलमा विषनाशक, ऐठननाशक, स्वेदजनक (पसिना), मुटु र नसा बलियो बनाउने लगाएतका विशेषताहरु हुन्छ भन्ने मान्यता राख्न्थ्यिो भने चीनमा यसको सेवनले पेटमा भएका कीराहरु नाश हुने विश्वास गरिन्थ्यो । कार्नेशन संसारकै महत्वपूर्ण ब्यबसायिक फूलहरु मध्ये एक हो । युरोप र अमेरिकामा निकै ठूलो परिमाणमा यसको को खेती गरिन्छ । पश्चिमी देशहरुमा यसको खेती ग्लासहाउस वा पोलिहाउसहरुभित्र गर्ने गरिएको छ । नेपालमा पनि कार्नेशन फूलको गुणस्तरीय उत्पादनको प्रचुर सम्भावना छ ।

नेपालका चिसो हावापानी भएका मध्यपहाड र उच्चपहाडी भेकमा कार्नेशन फूलको खेती सफलतापूर्वक गर्न सकिन्छ । हाल बागमती प्रदेशको काठमाण्डौं उपत्यका र काभ्रे जिल्लामा बाँस तथा फलाम र जि.आई.का पोलिहाउसहरुभित्र यसको खेती भइरहेको छ भने यी जिल्लाहरु बाहेक नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखाका साथै धादिङ र मकवानपुरका उपल्लो क्षेत्रहरुमा पनि यसको खेती गर्न सकिन्छ । बागमती प्रदेश बाहेक अन्य प्रदेशका चिसो हावापानी भएको तर हिउँ नपर्ने भू-भागहरुमा यसको खेती सजिलै गर्न सकिन्छ । गर्मी क्षेत्रहरु तथा हिउँ पर्ने स्थानहरुमा भने वातानुकूलित उच्च प्रविधियुक्त ग्रीनहाउसभित्र खेती गर्नुपर्ने हुन्छ । भारतका मैदानी र गर्मी क्षेत्रहरु, बंगलादेश तथा खाडी मुलुकहरुमा यसको खेती गर्न कठिन हुने भएकोले नेपालमा कम लागतमा यसको उत्पादन गरेर ती देशहरुमा निर्यात गर्न सकिने उच्च सम्भावना रहेको छ ।

जातहरु : 
कार्नेशन फूल विभिन्न जाती प्रजातीमा पाइने भएतापनि दुई मुख्यतया स्ट्याडर्ड टाइप  (Standard Type) र स्प्रे टाइप (Spray Type)  गरी २ समूहमा विभाजन गरिएको छ । स्ट्याण्डर्ड  टाइप विशेष गरी कटफ्लावर को बजारमा बढी प्रयोग हुन्छ भने स्प्रे टाइप छोटा हाँगाहरु हुने र
साना फूलहरु धेरै संख्यामा फुल्ने भएकोले प्राय घर बगैंचा सजावटमा प्रयोग गरिन्छ ।

नेपालमा उत्पादन हुने मुख्य जातहरु (Standard type) : 
१) रातो कार्नेशन (Red carnation) :  गौडिना, मास्टर,कोस्रा, नेल्सन, पाम्प्लोमा, स्किमो।
२) सेतो कार्नेशन (White carnation) : ह्वाइट लिवर्टि, बाल्टिको, ग्वेन, हाइड्रा ।
३) पहेँलो कार्नेशन (Yellow carnation) :  यल्लो लिबर्टि, भिन्को, सलामान्का, कोरोना, हिलिक्स ।
४) गुलाबी कार्नेशन (Pink carnation) :  क्रेभान्टिस, अल्काजार, अलेर्गो, एम्बारोज, नहेमा
५) सुन्तले कार्नेशन (Orange carnation) : अरेन्ज भियना, फामा ।
४) भ्यारिगेटेड कार्नेशन  (Variegated carnation) :फाल्कोन, नोब्लिज ।

हावापानी र माटो : 
खुल्ला जमीनमा र गमलामा लगाइने कार्नेशनहरु प्रायजसो एकवर्षे र बीउबाट लगाइने जातहरु हुन् । पानी नपरेको शितल मौसम भएमा यस्ता जातहरु बीउ उम्रेको १२० देखि १३० दिनमा फूल्दछन् । व्यवसायिक  रुपमा लगाइने कटफ्लावर जातका कार्नेशनहरु भने पोलिहाउस वा ग्रीनहाउस भित्र हुर्काइन्छ । कार्नेशनको लागि पर्याप्त मात्रामा घाम लाग्ने ठाउँको आवश्यकता पर्दछ । बोटको बृद्धिको लागि प्रकाशको तीब्रता  (light intensity) कम्तीमा पनि २१५०० लक्स हुन जरुरी छ । गुणस्तरीय फूल उत्पादनको लागि ५०००० लक्स हुन सकेमा राम्रो हुन्छ । विरुवाको राम्रो बृद्धि र विकास हुन हिउँदमा राम्रोसँग घाम लाग्ने र गर्मीमा शितल हुनु पर्दछ ।

यद्यपी अत्याधिक  चर्को घामले विरुवा डढाउने र फूलको गुणस्तर घटाउन पनि सक्दछ । हावाको तापक्रम कम्तिमा १० डिग्री सेल्सियस भन्दा तल नझर्ने र बढिमा २८ डिग्री सेल्सियसभन्दा माथि नजाने र प्रशस्त घाम लाग्ने ठाउँमा यस को राम्रो उत्पादन लिन सकिन्छ । गर्मीमा तातो र सुख्खा हावा लाग्ने ठाउँमा यसको खेती राम्रो हुँदैन । गुणस्तरीय फूल उत्पादनको लागि दिनको र रातको तापक्रम बीचको अन्तर बढी हुनु पर्दछ । रातको तापक्रम बढी भएमा खासगरी फूल फूल्ने समयमा बढी गर्मी भएमा फूलको आकार विग्रने र पत्रदल (Calyx) चिरिने समस्या देखिन सक्छ । कार्नेशन खेतीमा सापेक्षिक आद्रताको पनि महत्वपूर्ण भूमिका रहन्छ । गुणस्तरीय फूल उत्पादनको लागि बृद्धिको शुरुवाती चरणमा ८०–८५ प्रतिशत आद्रता र फूल फूल्ने समयमा ६०–६५ प्रतिशत आद्रता भएमा राम्रो हुन्छ । खुल्ला खेतीमा वा सामान्य पोलिहाउसमा आद्रता मिलाउन नसकिएता पनि उच्च प्रविधियुक्त  ग्रीनहाउस वा फोगर जडित पोलिहाउसमा धेरै हदसम्म यसलाई कायम राख्न सकिन्छ ।

यो फूलको खेती सामान्यतः सवैखाले माटोमा गर्न सकिए तापनि प्रशस्त प्रांगारिक पदार्थ भएको बलौटे दोमट माटो उपयुक्त हुन्छ । कार्नेशनले पानी जम्ने अवस्था विल्कुलै खप्न नसक्ने हुनाले पानीको निकास राम्रो भएको जमीन अत्यावश्यक हुन्छ । चिम्ट्याइलो वा पाँगो माटोको मात्रा बढी भएको जमीनमा प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ हाल्न जरुरी हुन्छ । यस फूलको लागि माटो को पि.एच. ५.५ देखि ६.५ सवैभन्दा उत्तम मानिन्छ । माटोको विद्युतीय चालकता (Electric conductivity, EC) बानस्पतिक बृद्धिको समयमा ०.८ देखि १.२ र फूल उत्पादनको समयमा १.२ देखि १.५ सम्म भएमा राम्रो हुन्छ ।

जमीनको छनौट : 
कार्नेशन खेतीको लागि छनौट गरिने जमीनको माटो झारपातको बीउ, जुका र माटोबाट सर्ने रोगको जीवाणुमुक्त हुनु पर्दछ । त्यसो त बिरुवा सार्नु अघि माटो उपचार गरेर माटोलाई झार र रोगकीरा मुक्त बनाउन सकिन्छ तैपनि सकभर जमीन छनौट गर्दा यसअघि कार्नेशनको खेती नगरिएको जमीन छनौट गर्न उपयुक्त हुन्छ ।

ग्रीनहाउस बनाउने स्थानको छनौट : 
ब्यवसायिक कार्नेशन खेतीको लागि ग्रीनहाउस वा पोलिहाउस एक अनिवार्य आवश्यकता हो । अतः ग्रीनहाउस वा पोलिहाउस निर्माण गर्न स्थानको छनौट गर्दा निम्नलिखित कुराहरुमा विचार पुर्याउनु पर्दछ ।

-   बजारसम्मको सहज पहुँच                                                                                   -   सिंचाईको सुविधा
-  पानीको गुणस्तर र उपलब्धता                                                                               -  ज्यामीको उपलब्धता
-   सुर्यको प्रकाश                                                                                                   - पानीको निकास

१. ग्रीनहाउसको उचाई ठीक कायम गर्नु पर्दछ । यसको लागि गटर (बलेसी) तर्फको उचाई कम्तीमा ४ मिटर र धुरीतर्फको उचाई कम्तीमा ५ मिटर राख्नु पर्दछ ।

२. ग्रीनहाउस बनाउँदा हावाको संचार राम्रो गर्न साइड र टप भेन्टिलेशनको ब्यवस्था गर्नु पर्दछ । साइड भेन्टिलेशनमा ४० मेसको कीरा छेक्ने जाली (इन्सेक्ट नेट) राख्नु पर्दछ । साइड भेन्टिलेशनमा जाडोमा बन्द गर्न मिल्ने गरी प्लाष्टिकको दोश्रो लेयर राख्नु पर्दछ । हावाको छ संचार राम्रो हुनको लागि टप भेन्टिलेशनमा इन्सेक्ट नेटको सट्टा बर्ड नेट (चरा छेक्ने जाली) राख्नु राम्रो हुन्छ ।

३. आद्रता मिलाउन फोगरको ब्यवस्था गर्नु पर्दछ । खासगरी  चर्को घाम लागेको बेला प्रकाशको तीब्रता मिलाउन सेड नेटको ब्यवस्था गर्नुपर्दछ ।  चर्को घाम लाग्ने स्थानहरुमा दिउँसोको ११ बजेदेखि ४ बजेसम्म सेड नेटको प्रयोग गर्नुपर्ने हुन सक्छ । सेड नेट चाहिएको बेला राख्न र नचाहिएको बेला फोल्ड गर्न मिल्ने गरी किसिमको हुनु पर्दछ ।
 

४ . बर्षातको बेला ग्रीनहाउसभित्र पानी नछिर्ने ब्यवस्थाको लागि साइडमा पर्दा (कर्टेन) को ब्यवस्था गर्नु पर्दछ ।

प्रसारण : 
कार्नेशन फूलको प्रसारण विशेष गरी बीउबाट तथा कटिङ्गबाट गरी दुई प्रकारले गर्न सकिन्छ । बीउबाट प्रसारण गर्दा सरदर ४०० देखि ५०० ग्राम बीउ प्रति हेक्टर आवश्यक पर्दछ ।  बीउ नर्सरी व्याडमा छरेको एक हप्ता भित्रमा उम्रन्छ र उम्रेको करिब एक महिना विरुवामा मुख्य जमीनमा सार्नको लागि योग्य हुन्छ । कटिङ्गबाट यस फूलको प्रसारण गर्दा मुख्यतया वानस्पतिक वृद्धिको अवस्थामा टुप्पाको हाँगा  (terminal branches) हरुबाट कटिङ्ग तयार गरिन्छ । ४ देखि ६ इन्च लामो कटिङ्गको २ देखि ३ वटा आँख्ला सम्मको पातहरु हटाई सकेपछि सफा बालुवामा ५ से.मी.को फरकमा कटिङ्ग रोप्नुपर्दछ । रोपेको करिब ३ हप्तामा रुटिङ्ग (Rooting)  भएपछि  कटिङ्गहरु राम्ररी तयारी गरिएको जमीनमा रोप्नको लागि योग्य हुन्छन् ।

जमीनको तयारी : 
कार्नेशन को खेतीमा पानीको निकास ज्यादै महत्वपूर्ण हुने भएकोले जमीन तयार गर्दा अग्लो ब्याड बनाउनु पर्दछ । सामान्यता १ मिटर चौडा, ३०–४५ से.मी. अग्लो ब्याड बनाउनु पर्दछ । दुई ब्याडको बीचमा ४५–५० से.मी. बाटो छाड्नु पर्दछ । चित्रमा देखाए जस्तै गरी बोटदेखि बोटको
दुरी २० से.मी., लाइनदेखि लाइनको दुरी २० से.मी. र यौटा ब्याडमा ४ वटा लाइन तथा २ लाइनको बीचमा थोपा सिंचाईको पाइप ओछ्याउन राम्रो हुन्छ ।

माटो उपचार : 
कार्नेशन एक पटक लगाएपछि ३–४ वर्ष सम्म उत्पादन दिने बहुवर्षिय बिरुवा भएको हुनाले बिरुवा रोप्नु अघि माटोमा लाग्ने फ्युजारियम ढुसी तथा निमाटोडबाट जोगाउन माटोलाई निर्मलीकरण (Sterilization) गर्न अत्यन्त जरुरी हुन्छ । त्यसैगरी बिरुवा रोप्नु अघि माटो जाँच गरी माटोमा भएका खाद्यतत्वहरुको अवस्थाको जानकारी लिनु पनि उपयुक्त हु्न्छ । माटोको निर्मलिकरण गर्ने विभिन्न विधिहरु छन् जस्तै : 

१. तातोपानीको वाफ : प्रभावकारी भएतापनि लागत बढी पर्न आउने हुँदा नेपालको सन्दर्भमा त्यति ब्यवहारिक छैन ।

२. सूर्यको तापबाट उपचार (Solarization) : यसको लागि माटोलाई भिजाएर घाम छिर्ने प्लाष्टिकले हावा नछिर्ने गरी ६–८ हप्ता छोपेर राख्नुपर्छ । यसो गर्दा माटोमा रहेका हानीकारक सुक्ष्म जिवाणु लगाएत अन्य शत्रु जीवका फुलहरु उच्च तामक्रमले गर्दा नष्ट हुन्छन् । लामो समय घाम लाग्ने दिनहरु भएको खण्डमा यो प्रक्रिया बढि प्रभावकारी हुन्छ ।

३. फर्मालिनबाट उपचार : फर्मालीनबाट माटोको निर्मलिकरण गर्न फर्मालीन (४०%) १ भाग र पानी १० भाग मिसाई उक्त मिश्रणले ब्याड राम्ररी भिजाउने र सोलाराइजेशनको जस्तै गरी प्लाष्टिक कभरले १ हप्ता सम्म छोप्नु पर्छ र त्यसपछि प्लाष्टिक हटाई पानी पटाई फर्मालिनलाई माटोबाट पखालिन दिनु पर्छ । यसरी तयार गरेको ब्याडमा २ हप्ता पछि बिरुवा रोप्न सकिन्छ ।

४. सिल्भर हाइड्रोजन पेरोक्साइडबाट उपचार :  यो अहिले निकै चलेको लोकप्रिय र प्रभावकारी विधि हो । अन्य विधिमा विरुवा रोप्न केही दिन पर्खनु पर्ने हुन्छ भने यो विधिमा माटो उपचार गरेको ८–१० घण्टापछि नै जमीन रोप्नको लागि तयार हुन्छ । यसको लागि ब्याड तयार गरिसकेपछि ब्याडलाई राम्ररी भिज्ने गरी पानी दिनु पर्दछ । त्यसपछि सिल्भर हाइड्रोजन पेरोक्साइडको ३.५% को घोल (प्रति लिटर पानीमा ३५ मि.लि.) तयार गरी प्रति वर्ग मीटर ब्याडमा १ लिटरका दरले एकनासले पर्ने भरी भिजाउनु पर्दछ । त्यसपछि ८–१० घण्टा त्यतिकै छाडिदिने र विरुवा रोप्नको लागि ब्याड तयार हुन्छ ।

मलखाद : 
कार्नेशन फूल  नाइट्रोजन बढी भएको माटोमा त्यति राम्रो हुदैन । यसले वानस्पितिक बृद्धि बढि हुने र फूल फूल्न   ढिला गराउने हुनाले विरुवा रोप्नु अघि माटो परीक्षण गराउनु राम्रो हुन्छ । माटोमा खाद्यतत्वको अवस्था सामान्य छ भने जमीन गहिरोसँग जोतेर (कम्तीमा २ फिट  पूगहिरो) प्राङ्गारिक मलखाद मिसाउनुपर्दछ । सामान्यतया राम्ररी कुहेको गोवरमल २५ के.जी., कुहेको झारपात (Leaf mold) २५ के.जी., निम केक ५०० ग्राम, बोनमिल २०० ग्राम प्रति वर्गमिटरका दरले माटोमा मिसाउनु पर्दछ । यसै गरी कोकोपिट ३ के.जी., ह्युमिक एसीड गेडा ५ ग्राम र मल्टिप्लेक्स धुलो३ ग्राम प्रति वर्ग मीटरको दरले हाल्न सकेमा माटो खुकुलो बनाउनुका विरुवाको बृद्धि पनि राम्रो हुन्छ । प्राङ्गारिक पदार्थ राम्ररी माटोमा मिसाइसके पछि हल्का सिंचाई गर्ने र त्यसपछि ब्याड तयार गर्नु पर्दछ । प्राङ्गारिक मलखाद हालेर ब्याड तयार गरिसकेपछि रासायनिक मल हाल्नु अघि माटो उपचार गर्नु पर्दछ ।

रासायनिक मलखाद : 
साधारणतया ब्याड तयार गरेर माटो उपचार गरिसकेपछि विरुवा रोप्नु अघि निम्नलिखित मात्रामा रासायनिक मलखाद ब्याडमा राखेर माटोमा मिसाउनु पर्दछ ।
-   सुपर फस्फेट २०० ग्राम प्रति वर्गमिटर,
-  म्युरेट अफ पोटास १५० ग्राम प्रति वर्गमिटर,
-  म्याग्नेसियम सल्फेट ५० ग्राम प्रति वर्गमिटर,
-  बोरेक्स २ ग्राम प्रति वर्गमिटर 

यी मलखादहरु बाहेक विरुवालाई रोग कीराबाट जोगाउन तथा विरुवाको बृद्धि राम्रो गर्न ट्राइकोडर्मा, एस्परजिलम, स्युडोमोनास, पी.एस.बी., भ्याम जस्ता जैविक मलहरु प्रति रोपनी १ के.जी.को दरले माटोमा मिसाउन सकिन्छ ।

बिरुवा रोप्ने तरिका : 
विरुवा कहिले रोप्ने भन्ने कुरा बजारको मागमा भर पर्दछ । फूल को नियमित उत्पादनको लागि एकै पटक विरुवा नरोपी ३–४ महिनाको फरकमा रोप्न सकेमा राम्रो हुन्छ । पोलिहाउसभित्र कार्नेशन बाह्रै महिना रोप्न सकिने भएता पनि नेपालमा प्राय  : फागुन देखि असार सम्म रोप्ने चलन छ । सामान्यतया विरुवा रोपेको १५० देखि १८० दिनमा फूल  टिप्न तयार हुन्छ । यसै अनुसार बजारको माग हेरी रोप्ने योजना बनाउनु उपयुक्त हुन्छ । विरुवा रोप्नु अघि जमीन हल्का भिजेको हुनु पर्दछ ।

विरुवा रोप्नु अघि थोपा सिंचाईको पाइप बिछ्याउने र सपोर्ट जाली पनि राख्न सकेमा पछि सजिलो हुन्छ । विरुवा रोप्दा गहिरोगरी कदापी रोप्नु हुँदैन । कटिङको जराको डल्ला फूल  को दुई तिहाई भाग जमीन बाहिर हुने गरी रोप्नु पर्दछ। कटिङ्गलाई जमीनमा गाड्ने भन्दा पनि औंलो हल्का गड्ढा बनाई त्यसमा कटिङको जराको एक तिहाई छोपिने गरि राखिदिनु पर्दछ । कटिङ रोपिसकेपछि कटिङलाई सुक्न नदिन थोपा सिंचाईबाट हल्ला पानी दिने र त्यसपछि केही दिनसम्म सिंचाई दिनुभन्दा अधिक आद्रता कायम राख्न जरुरी हुन्छ । यसको लागि फोगर संचालन गर्नु अत्युत्तम हुन्छ । यो बेला ब्याडको साथै बाटोको माटोलाई समेत चिसो बनाइराख्नु पर्दछ । नयाँ जराको विकास नहुन्जेल चर्को घामबाट जोगाउन सेड नेटको प्रयोग गर्नु पर्दछ ।

Source : कार्नेशन फूल खेती प्रविधि  : सुधीर श्रेष्ठ, बरिष्ठ बागबानी विकास अधिकृत, सिर्जना न्यौपाने पौडेल, बागबानी विकास अधिकृत- पुष्प विकास केन्द्र, गोदावरी 

थप समाचार