नेपालमा खती गरिने दालबालीहरू मध्ये मुसुरो एक प्रमुख हिउँदे दाल बाली हो । यसको खेती २०५९३९ हेक्टर क्षेत्रफलमा र २५३०४१ मे.टन. उत्पादन र उत्पादकत्व १११३ के.जी./हेक्टर रहेको छ (MESD, २०१७) साधारणतया नेपालको तराई तथा भित्री मधेसमा धानभित्र घुसुवा बाली वा एक्लो बाली वा मिश्रित बाली (गहुँ, तोरी, आलस, केराउ र चना) तथा उखुसँग अन्तरबालीको रूपमा पनि मुसुरो खेती गरिन्छ । साथै बिगतका वर्षहरूदेखि मध्य पहाडी क्षेत्रहरूमा पनि यसको खेती गरिन्छ । यस बालीमा हावामा भएको नाइट्रोजनलाई जमिनमा स्थिरीकरण गर्न सक्ने गुण भएकोले माटोको उर्वरा शक्तिमा दिगोपन ल्याउन र खेती प्रणालीमा पनि सुधार आउने हुनाले महत्त्वपूर्ण भूमिका रहेको छ ।
हालेको वर्षहरूमा नेपाली मुसुरोको अन्तर्राष्ट्रिय बजारमा करिब रु. १.२९ अर्ब मूल्य बराबरको ७६११.८ टन मुसुरो निर्यात गरिएको छ । नेपाली मुसुरो बङ्गलादेश , सिंगापुर, श्रीलंका, जर्मनी, कोरिया, यु.के.र इन्डोनेसियामा बढी निर्यात गरिन्छ ।
महत्व
मुसुरोको दालमा २५ – ३० प्रतिशत प्रोटिन, ६० प्रतिशत कार्बोहाइडे«ट तथा विभिन्न खनिज पदार्थ (फलाम, जिंक, सेलेनियम)को स्रोत भएकाले, सस्तो र सुलभ, सस्तो र सुलभ तरिकाबाट पौष्टिक तत्त्व पनि प्राप्त हुने भएकाले यसले बिशिष्ट स्थान राख्न सक्दछ । मुसुरोको दाल, सुप अथवा मास र रहरको दालसँग मिसाई उपयोग गर्न सकिन्छ । र अरु दाल भन्दा छिट्टै पाक्ने हुनाले इन्धनको पनि बचत हुन्छ । बोटबाट दाना झरेर बाँबी रहेको बोट गाईवस्तुको लागि प्रयोग गर्न सकिन्छ ।
माटो र हावापानी
बलौटे दुमटदेखि चिम्टयाइलो माटो तथा पाङ्गो माटोमा समेत मुसुरो खेती गर्न सकिन्छ । यसको खेती गर्नका लागि १८ देखि ३०० सेल्सियस तापक्रम हुनु पर्दछ ।
जमिनको तयारी : जग्गा छनौट गर्दा मलिलोपना, समथर र पानी नजम्ने निकास भएको छनौट गर्नु पर्दछ । करिब २ ÷३ पटक खनजोत गरी डल्ला फुटाई पानी नजम्ने गरी सम्याउन पर्दछ ।
लगाउने समय : पहाडमा असोजको अन्तिम हप्तादेखि कार्तिकको दोश्रो हप्तासम्म र तराई तथा भित्री मधेसमा कार्तिक पहिलो हप्तादेखि मंसिरको दोश्रो हप्तासम्म उपयुक्त समय हो ।
मलखाद : खनजोत गरी लगाउँदा २०ः४०ः२० के.जी नाईट्रोजन, फस्फोरस, म्यूरेट अफ पोटास प्रति हेक्टरका दरले एक रोपनीको लागि ५०० ग्राम युरिया, ४.४ के.जी डि.ए.पी र १ं.७ के.जी म्युरेट अफ पोटास जमिन तयारीपछि छर्नु पर्दछ ।
बीउ उपचार : ढुसीजन्य रोग नियन्त्रणको लागि ढुसीनासक बिषादी वेभिस्टीन २ ग्राम प्रति के.जी बिउमा मिसाई उपचार गर्नुपर्दछ । मुसुरो बाली पहिलो पटक लगाउदा बीउलाई जैविक मलद्वारा उपचार गर्नु पर्दछ जसले गर्दा जरामा पर्याप्त मात्रामा गिर्खा लाग्नुको साथै हावामा भएको नाइट्रोजन सञ्चित गरी बोटलाई नाईट्रोजन उपलब्ध गराउँदछ ।
बिउदर : एक्लो बाली लगाउदा ४० के.जी धान भित्र घुसुवा बालीको लागि ५० के.जी/हेक्टर ।
लगाउने तरिका : लाइनमा मुसुरो रोपेको खण्डमा एक लाइनदेखि अर्को लाइनको दूरी २५ से.मि र गहिराई ३ देखि ४ से.मि हुुनु पर्दछ ।
झारपात नियन्त्रण
मुसुरो बारीमा मुख्य झारहरू
बेथे (Chenopodium album), कुटिली कोशा (Vicia sativa), कृष्णनिल (Anagalis arvensis), चम्सुरे (Cypsiflla bursa) रक्ते (Phalaris Minor) आदि हुन् । झारनाशक बिषादी पेनडीमेथालिन २-३ लि. प्रतिहेक्टर प्रति ४००-५०० लि. पानीमा मिसाई मुसुरो रोपेको २- ३ दिनभित्र अथवा बिउ उम्रन अघि छर्दा झारको राम्रो नियन्त्रण गर्दछ । झारपातहरूको प्रकोप हेरी एकपटक गोडमेल गर्नु पर्दछ ।
सिँचाई
साधारणतयाः मुसुरो खेती असिञ्चित जमिनमा गरिन्छ । यदि हिउद महिनामा वर्षा नभएको खण्डमा १–२ पटक आशिक सिञ्चाई रोपेको ४५ दिनमा र दोश्रो सिञ्चाई यदि आवश्यक परेमा कोसा लाग्ने अवस्थामा दिन जरुरी छ ।
रोग नियन्त्रण
प्रमुख रोगहरू : बोट ओइलाउने, स्टेमफाइलम ब्लाईट, जरा कुहिने रोग, सिन्दुरे रोग हुन् । रोकथामको लागि आवश्यकताअनुसार विषादी छनौट गरी प्रयोग गर्नु पर्दछ ।
बीउ कटाई, चुटाई, सरसफाई र भण्डारण
बाली राम्रोसँग पाकेको अवस्थामा कटानी गरी त्यसपछि चुटानी कार्य गर्नु पर्दछ । मुसुरो ३–४ घाममा सुकाई सफा गरी चिस्यान कम भएपछि टिनको भकारीमा सेल्फस चक्की १ गोटा प्रतिक्विन्टलका दरले राखी भण्डारण गर्नु पर्दछ ।