बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

काउली खेती गर्ने सजिलो विधि र तरिका

काउली खेती गर्दा जान्नै पर्ने महत्वपूर्ण टिप्सहरु

सोमबार, जेठ २८ २०८१
9 views
काउली खेती गर्ने सजिलो विधि र तरिका

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
कुर्सिफेरी परिवार अन्तर्गत पर्ने काउली नेपालको जाडो मौसममा हुने एक प्रमुख तरकारी बाली हो । मौसम अनुसार नेपालमा तराई देखि उच्च पहाडी क्षेत्रसम्म पनि यसको खेती गर्न सकिन्छ। तराई र मध्य–पहाडमा जाडो मौसममा खेती गरिन्छ भने उच्च–पहाडमा यसको खेती गर्मी मौसममा गरिन्छ । यसको तरकारी खाने भागलाई कर्ड भनिन्छ । यसबाट अचार पकौडी साथै सुकाएर गर्मि याममा तरकारी खाने प्रचलन पनि छ । काउलीमा हामीलाई चाहिने खनीज तत्व फस्फोरस, पोटासीयम, आयरन, भिटामिन बि., ए र सी को केही मात्रा पाइन्छ । यसका पातहरुलाई पशु आहारका रुपमा प्रयोग गर्न सकिन्छ । पौष्टिक हिसाबले काउलीमा बिभिन्न तत्वहरु पाईन्छ।

हावापानीः
काउलीलाई एक प्रमुख हिउदे तरकारी बालीका रुपमा लिईन्छ । यो बालीले बन्दागोभी सरह ज्यादा गर्मी सहन सक्दैन । यसलाई १५ डिग्री देखि २५ डिग्री से. तापक्रम चाहिन्छ । बिरुवाको लागी चाहिने उचित तापक्रम भन्दा बढी भएमा बिरुवा बानस्पतिक विकासको अवस्थामा रहिरहन्छ र बिरुवामा बढी पातहरु लाग्दछ ।

जातहरुः
काठमाडौं स्थानीयः यो जात मध्य–पहाडी क्षेत्रका लागि उपयुक्त जात हो । यो बेर्ना सारेको १००–११० दिनमा तरकारीका लागी तयार हुन्छ ।

ज्यापुः यो काठमाडौंको स्थानीयबाट छनौट गरिएको जात हो । काठमाण्डौ स्थानीय भन्दा केही छिटो तयार हुन्छ । तरकारी खानका लागि ८०–९५ दिनमा तयार हुन्छ ।

किबो जायन्टः यो पछौटे जात हो । बेर्ना सारेको १२०–१४० दिनमा तरकारी खानको लागि तयार हुन्छ ।

डोल्पा स्नोबलः यो पछौटे जात हो । यो जातको काउली उच्च–पहाडको लागि सिफारिस गरिएको छ । खानको लागि ११०–१२० दिनमा तयार हुन्छ ।

खुमल ज्यापूः यो जात मध्य–पहाडी क्षेत्रका लागि उपयुक्त जात हो । यो खुल्ला सेचन हुने जात हो । यो काउलीको रंग क्रिमी सेतो हुन्छ र भदौ पहिलो हप्ता यसको बेर्ना सारिन्छ ।

नर्सरी व्यवस्थापन र लगाउने समय

- नर्सरीको लागी पानी नजम्ने, बलौटे दोमट माटो, पारिलो, सिँचाइ सुविधा भएको ठाउँ उपर्युक्त हुन्छ ।

- नर्सरी घर नजिक वा सुरक्षित एवं सजिलैसँग रेखदेख गर्न सकिने ठाउँमा हुनुपर्दछ ।

- सामान्यतय नर्सरीका लागी १ मि. चौडाइ र आवश्यकतानुसार लम्बाइ भएको नर्सरी बनाउनु पर्दछ ।

- नर्सरी बनाउने जग्गामा सौर्यताप प्रविधि अर्थात सोलराइजेशनबाट माटोको निर्मलीकरण गर्नु पर्दछ । यसो गर्नाले नर्सरीमा झरपात तथा किराको प्रकोप कम हुन्छ ।

- नर्सरी व्याडको माटोको उपचार मालाथियान र वेविस्टन प्रति वर्गमिटर २ ग्रामका दरले प्रयोग गरेर बीउ राख्नु पर्दछ । साथै ४/५ के.जी. राम्रोसँग पाकेको कम्पोष्ट मल अथवा गोबर मल प्रतिवर्ग मिटरका दरले राख्नु पर्दछ ।

- वर्षायामको नर्सरीका लागि १५ से.मि. उचाइको नर्सरी व्याड बनाउनु पर्दछ र वर्षात्को पानीबाट बेर्ना जोगाउन १.५ मि. जति अग्लो छाप्रो तथा प्लाष्टिकको छानोको प्रयोग गर्नु पर्दछ।

- तयार भएको नर्सरी व्याडमा कुटो वा काठको छेस्काले लाइन कोरी ५ से.मी.को फरकमा बीउ खसाल्नु पर्दछ ।

- १ रोपनी जमिनका लागि वर्णशङ्कर जातको भए १० ग्राम अर्थात उन्नत जातको लागि २५ देखि ३० ग्राम बीउ आवश्यक पर्दछ ।

- नर्सरीमा बेर्ना कुहिने रोग देखा परेमा ढुसीनासक विषादी १ ग्राम प्रतिलिटर पानीमा प्रतिवर्ग मि. का दरले १५ दिनको फरक
आवश्यकतानुसार छर्नु पर्दछ ।

- अगौटे काउलीको जात भए १८ देखि २० दिन, मध्यम जात भए २० देखि २५ दिन र पछौटे जात भए २५ देखि ३० दिनमा बेर्ना सार्न लायक हुन्छ ।

- बेर्ना उखेल्नु भन्दा अघि नर्सरी व्याडलाई पानीले सिँचाइ गरी राम्रोसँग भिजाउनु पर्दछ ।

- बेर्नाको अवस्था हेरी जर्खराउनु परेमा रोप्नु भन्दा २–४ दिन अघि नर्सरीमा सिंचाई नगर्ने ।

- बेर्ना सार्दा सधै साँझको समयमा मात्र सार्नु पर्दछ ।

- बेर्ना सार्दा कुटोको सहयोगले खाडलको माटो र मल राम्रोसँग मिलाउनु पर्दछ ।

- खाडलको बीच भागमा नर्सरीमा माटोले छोपिए जति भाग माटो मुनी छोपिने गरी बेर्ना सार्नु पर्दछ र बेर्ना सारिसके पछि बेर्नाको वरिपरिको माटो विस्तारै थिचि हजारीको सहयोगले हल्का रुपमा तुरुन्तै सिँचाइ गर्नु पर्दछ ।

जग्गाको तयारीः

काउली खेती प्राय सबै प्रकारको माटोमा गारिन्छ । राम्रो उत्पादन लिनको लागि भने मलिलो बलौटे दोमट किसिमको माटो उपयुक्त हुन्छ । प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको माटो र पानीको निकासको पनि राम्रो व्यवस्था भएको हुनुपर्दछ । छनौट गरिएको जग्गालाई ३–४ पटकसम्म राम्रोसँग खनजोत गरि डल्ला फुटाउनु पर्दछ । जग्गाको पि.एच.५–५ देखि ६.५ को बिच हुन जरुरी हुन्छ ।

बिरुवा लगाउने दुरीः
अगौटे जातको काउली खेतीका लागी ४५ x ४५ से.मि. र मध्यम तथा पछौटे जातका लागी ६० x ४५ से.मि. को दुरीमा रोप्नुपर्दछ ।

मलखादः

काउली खेतीलाई प्रशस्तमात्रामा मलखाद चाहिन्छ । कम्पोष्ट मल २५–३० मेट्रिक टन र रसायनिक मल १२०ः८०ः६० किलो नाईट्रोजन, फस्फोरस र पोटास प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ । यसको अलावा २० किलो बोरेक्स र १–१.५ किलो सोडियम् मोलिब्डेट प्रति हेक्टरका दरले माटोमा प्रयोग गर्नु पर्दछ । बेर्ना रोपेको एक महिनामा बिरुवामा पहिलो टपड्रेस गर्नुपर्दछ भने ४५–५० दिनमा दोस्रो टपड्रेसगरि माटो चढाउनु पर्दछ । यसो गर्नाले बोटहरुलाई ढल्नबाट बचाउन सकिन्छ ।

सिंचाईः

बेर्ना राम्ररी नसरुन्जेलसम्म प्रत्येक दिन हजारीको सहायताले हल्का सिँचाई गर्नु पर्दछ । बिरुवा सरिसकेपछि भने आवश्यकताका आधारमा माटोको चिस्यान हेरि १०–१५ दिनको फरकमा बिरुवालाई सिंचाई दिनुपर्दछ ।

बाली टिपाइ:

काउली फूल परिपक्व तथा आकर्षक भएपछि काटनु वा टिप्नु पर्दछ । काउली टिप्दा कम्तिमा ३–४ वटा कलिलो पात राख्नु पर्दछ । बजारको माग अनुसार सानो-ठूलो छुट्याउनु पर्दछ । काउली टिप्दा सकभर साँंझपख घाम अस्ताउने बेलामामात्र टिप्नु पर्दछ । बिहानको समयमा टिप्नु परेमा शीत ओभाएपछि टिप्न सकिन्छ ।

टिपेपछि कम्तीमा २-४ घण्टा जति घामको प्रकाश नपर्ने ठाउँमा राखी क्युरिङ्ग गर्नु पर्दछ । काउलीलाई प्लाष्टिकको क्रेट वा बाँसको टोकरी प्रयोग गरी ढुवानी गर्नु पर्दछ । क्रेट वा बाँसको टोकरी प्रयोग गरेमा ढुवानी गर्दा कम मात्रामा नोक्सान हुन्छ ।

उत्पादन: 

जात, ठाउँ तथा लगाउने समय अनुसार काउलीको उत्पादनमा फरक पर्न सक्छ । सरदर एक हेक्टरमा २० देखि ५० टन सम्म उत्पादन लिन सकिन्छ ।

बजार व्यवस्थापन
बजारको मागअनुसार उत्पादन हुनेगरी ठीक समयमा क्रियाकलाप सञ्चालन गर्नु पर्दछ । बजारमा हुने जोखिमहरुमा मूल्य घट्ने, कुहिने, बजार बन्द हुने, आम हडताल आदि बारे पनि पूर्वानुमान र विश्लेषण गर्नु पर्दछ । समूहगत रूपमा उत्पादन गरी ढुवानी साधनमा परिमाण पुग्ने खालको हुनु पर्दछ । यसै गरी मागलाई ध्यानमा राखी नियमित रूपले आपूर्तिको व्यवस्था मिलाउनु पर्दछ ।

स्रोत: PMAMP (धनकुटा)

सम्बन्धित विषय

थप समाचार