के तपाईं कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा हुनुहुन्रछ ? त्यसो हो भने तपाईंका लागि गोलभेँडा खेती उपयुक्त हुनसक्छ । यदि तपाईं गोलभेँडा खेती गर्न चाहनुहुन्छ भने न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । गोलभेँडा खेती थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने व्यवसाय हो ।
किनकी गोलभेंडाको बजार एकदमै राम्रो छ । बिक्री नहोला भनेर चिन्ता पनि लिनुपर्दैन । तपाईं(हाम्रो भान्सामा नभई हुन्न, गोलभेडा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभेडा चाहिन्छ । तरकारी, दाल, अचारदेखि सलादसम्ममा गोलभेडा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भान्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभेडाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक देखाउने मात्र होइन यो आफैँमा पोषणयुक्त पनि हुने गर्छ । त्यसैले गोलभेडाको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
तर, गोलभेंडा सधैंभरि उपलब्ध हुँदैन । जसले गर्दा एकदमै धेरै मूल्य पर्ने गर्छ । तपाईले गोलभेंडा कम उत्पादन हुने समयमा खेती गर्नु भयो भने दोब्बर आम्दानी गर्न सक्नुहुन्छ । गोलभेँडा खेती खुल्ला जमिनमा पनि खेती गर्न सकिन्छ । तर, तपाईंले टर्नेल भित्र खेती गर्नुभयो भने अझ धेरै राम्रो उत्पादन दिन्छ ।
टर्नेलमा लगानी गर्ने पैसा नभए तपाईंले टर्नेल बाहिर पनि खेती गर्न सक्नुहुनेछ । पछिल्लो समय गोलभेँडाको माग बढ्दो छ । गोलभेंडा विश्वकाका सबै वर्गले खान मन पराउने प्रमुख तरकारी बाली पनि हो । यो संसारभरी प्रचलित र धेरै जग्गामा खेती गरिन्छ । तपाईंले गोलभेँडा खेती तराई तथा भित्री मधेशमा हिँउदमा लगाउन सक्नु हुनेछ भने पहाडको ५००–१००० मि. उचाइमा असार देखि कार्तिकसम्म लगाउनुपर्ने हुन्छ । गोलभेंडाको वैज्ञानिक नाम Lycopersicon esculentum हो ।
पछिल्लो समय भोलभेँडाको महत्व बढ्दै गएको छ । गोलभेंडालाई पकाएर तरकारीको रुपमा अथवा काँचै सलादको रुपमा खान सकिन्छ । गोलभेँडामा धेरै भिटामिनहरु पाइन्छ । जस्तैः प्रति के।जी १०० ग्राम गोलभेंडामा १८ क्यालोरी, ९५ प्रतिशत पानी, भिटामिन सी, बायोटिन, मोलिब्लेडनम, भिटामिन के, भिटामिन ए (बिटा क्यारोटिन), भिटामिन वी६, फोलिक एसिड (भिटामिन वि), वायोटिन, भिटामिन सी, फस्फोरस, म्याग्नेसियम, रेशा आदि ।
यसले मानिसको स्वास्थ्यका लागि एकदमै फाइदा गर्छ । यो मुटु रोगी, क्यान्सर रोक्ने क्षमता भएको, छाला स्बस्थ राख्ने गुण भएको फल हो । हाल बिश्वमा बिभिन्न रंगहरू तथा प्रयोजनको लागि गोलभेंडा समेत बिकास गरिसकिएको छ । बीउ दर एक रोपनी जग्गाको लागि ५ देखि ७ ग्राम बीउको आवश्यकता पर्दछ । (एक ग्राम राम्रो उमारशक्ति भएको बीउबाट सरदर १५० देखि २ सय बेर्ना उत्पादन हुन्छ) ।
यदी प्लाष्टिक घर भित्र खेती गरियो भने यस्ता छन् फाइदाहरु :
- जाडो र बर्षातको समयमा पनि प्लाष्टिक घर भित्र बेमौसमी तरकारी खेती गर्न सकिन्छ।
- प्लाष्टिक घरमा वाहिरको भन्दा रोग, कीरा र घाँसको समस्या कम देखिन्छ।
- प्रयोग गरेको मलखाद विरुवाले राम्रोसंग सदुपयोग गर्न सक्दछ ।
- पात, डाँठ र फलमा लाग्ने डढुवा रोग, थोप्ले रोग र फलमा लाग्ने कीराहरुबाट बाहिरभन्दा कम नोक्सानी देखिन्छ।रोग तथा कीराको प्रकोप न्यूनिकरण गरी कम बिषादीको प्रयोगवाट खेती गर्न सकिन्छ ।
- खुल्ला अवस्थामा लगाएको तरकारी भन्दा प्लाष्टिक घरमा छिटो उत्पादन दिनुको साथै विरुवाको आयु पनि बढ्न गइ लामो समयसम्म उत्पादन लिन सकिन्छ ।
प्लाष्टिक घरभित्र उपयुक्त गोलभेडाका जात
प्लाष्टिक घरभित्र लगाउने जातको छनौट गर्दा बजारको माग तथा जातको उत्पादन क्षमतामा बिचार पुर्याउन जरुरी हुन्छ । सामान्यतया बढी उत्पादन दिने लहरिने वा मध्यम लहरिने (Indeterminate or semi-indeterminate) जातहरु लाभदायक हुन्छन् ।
जातहरू र जातको गुण
विशेष - होचो बोट, ब्याक्टेरियाबाट ओइलाउने रोग कम लाग्ने, लाम्चो फल, फ्युजेरियम, निमाटोड र भाइरस लाग्न सक्ने ।
सृजना - अग्लो बोट, ब्याक्टेरियाबाट ओइलाउने रोग कम लाग्ने गोलो फल, फ्युजेरियम, निमाटोड र भाइरस लाग्न सक्ने,डढुवा खप्न सक्ने ।
मनिसा - अग्लो बोट, ब्याक्टेरियाबाट ओइलाउने रोग लाग्न सक्ने, अण्डाकार फल, फ्युजेरियम र निमाटोड लाग्न सक्ने ।
वीनसारी - अग्लो बोट, गरम खप्ने, धेरै फल्न सक्ने, अण्डाकार फल, निमाटोड लाग्ने ।
गोलभेडाका पन्जिकृत अन्य जातहरु : क. छिमलमा फल्ने वा लहरिने जात
१. मनिसा :
- अग्लो बिरुवा उचाई २.५ मिटरसम्म हुन सक्छ त्यसैले बलियो टेका दिनुपर्छ ।
- बेर्ना सारेको ६० दिनपछि फल तयार हुन्छ । तथा ९० देखि १२० दिनमा अधिकतम फल तयार हुन्छ ।
- एक बिरुवामा १२ के.जी. सम्म फल लाग्ने ।
- अण्डा आकारको रातो रङ्गको फल ।
- बाक्लो छाला भएकोले केहि दिनसम्म भण्डारण गर्न सकिन्छ ।
- एक फलको तौल ८०–१०० ग्राम सम्म हुन्छ ।
- तापक्रम सहन सक्ने ।
- सुख्खा मौसममा खेती गर्न सकिने,फागुनदेखि चैत्र र श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विनदेखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ।
२. पुसा रुबी :
- बेर्ना सारेको ६० दिनमा उत्पादन लिन सकिने अगौटे जात हो ।
- फल पुरा गोलाकार हुदैन र मध्यम गहिरो नलीहरु (Slight medium furrows) हुन्छ ।
- समान रातो फल, एक फलको तौल ५० –७५ ग्राम हुन्छ र पात तुलनात्मक रुपमा साँगुरो हुन्छन् ।
- ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ, बीउको मात्रा धेरै हुन्छ ।
- तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
- २०४६ सालमा उन्मोचित गरिएको ।
३. रोमा :
- बेर्ना सारेको ६५–७० दिनमा उत्पादन लिन सकिने मध्यम जात हो ।
- फल अण्डाकार, नरम, चिल्लो, समान रुपमा बाक्लो, दुई भाग (Bi-chambered) हुने र बीउको मात्रा थोरै भएको हुन्छ ।
- एक फलको तौल ६०–८० ग्राम हुन्छ, पात चौडा र आलुको पात जस्तो हुन्छ ।
- ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ ।
- एकै पटकमा फल्ने हुनाले बोट होचो र झाङ्गिने किसिमको हुन्छ ।

४. मनप्रेसकस :
- बेर्ना सारेको ८०–९० दिनमा उत्पादन लिन सकिने मध्यम अगौटे जात हो ।
- फल ग्लोब आकारको, नरम,समान रातो, Bi/tri-chambered, कसिलो र बीउको मात्रा थोरै भएको हुन्छ ।
- एक फलको तौल ७५–१०० ग्राम हुन्छ ।
- ८०– ९० दिनमा फल टिप्न तयार हुन्छ ।
- पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा हुन्छ ।
- तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।५. एन.सि.एल–१ :
- गर्मी र ओइलाउने रोग सहन सक्ने जात जुन बेर्ना सारेको ६५–७५दिनमा उत्पादन लिन सकिन्छ ।
- फल आरु आकारको,अलि अलि गोलाकार ,कसिलो बाक्लो छाला भएको, हल्का रातो रङ्गको हुन्छ ।
- एक फलको तौल ६०–७५ ग्राम हुन्छ ।
- पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा हुन्छ ।
- तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
ख. मध्यम उचाई हुने वा कम अग्ला वा होचा जातहरु :
१. अविनास – २ :
- एकै पटक फल्ने अथवा छिमलमा फल्ने जातको बिचको बिरुवा १२० से.मी. लामो हुन्छ ।
- प्रशस्त मात्रामा फुल्ने, फल्ने, १० – १२ के।जी। एक बोटमा फल लाग्न सक्ने, एक फलको तौल ८० देखि १०० ग्राम सम्म हुन्छ ।
- रातो रङ्गको गोलाका फल हुने ।
- गर्मी तथा पात घुम्रिने रोग सहन सक्ने ।
- ६० – ६५ दिनमा प्रथम उत्पादन लिन सकिन्छ । तथा ९० – १२० दिनमा अधिकतम उत्पादन हुन्छ ।
- सुख्खा माटो तथा सुख्खा समयमा राम्रो हुन्छ तर बर्षा समयमा राम्रो हुदैन । श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विन देखि माघसम्म तराईमा बेर्ना सार्न उपयुक्त हुन्छ ।
२. एन. एस. – ८१५ :
- छोटो बिरुवा, ९० से.मी. सम्म अग्लो हुन्छ ।
- धेरै हांगाहरु हुन्छन् २ – ३ पटकसम्म धेरै फुल लाग्छ ।
- गर्मी सहन सक्ने ।
- गोलोदेखि अण्डाकार रातो फल, एक फलको तौल ७० – ९० ग्राम हुन्छ ।
- राम्रो फल्छ, ४ – ७ के.जी. प्रतिबोट ( ४ – ७ मे. टन प्रति रोपनी )।
- ५० – ६० दिनमा फल टिप्न तयार हुन्छ , तर ८० देखि ९० दिनमा बढी फल लिन सकिन्छ ।
- बाक्लो छाला भएकोले भण्डारण धेरै दिनसम्म गर्न सकिन्छ तथा टाढा बजारको लागी उपयुक्त छ ।
- माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र पहिलो हप्तासम्म मध्य पहाड तथा आश्विन देखि माघ सम्म तराईमा रोप्न सकिन्छ ।
३. एन. एस. ८१२ :

- हांगाहरु ठीकै संख्यामा २ पटक फुल्ने ।
- गर्मी सहन सक्ने, अण्डाकार रातो रङ्गको फल, प्रति फल ७० – ९० ग्राम तौल हुने ।
- प्रति बोट ४ – ६ के.जी.फल्ने ।
- ५५ दिनमा फल तयार, अधिकतम उत्पादन ८० – ९० दिनमा ।
- माधदेखि बैशाख र आषाढ दोश्रो हप्तादेखि भाद्रको दोस्रो हप्तासम्म मध्य पहाडमा तथा आश्विन देखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।
४. सुरक्षा :
- छोटो बिरुवा ८० से. मी सम्म अग्लो हुने ।
- हांगाहरु तथा फुलको संख्या ठिकै ।
- अलि अण्डाकार रातो फल, फलको छाला बाक्लो, तर भण्डारण गुण नराम्रो, फल टिपेको १ – २ रात मात्र राख्न सकिने ।
- बेर्ना लगाएको ५५ दिनदेखि फल तयार हुने, प्रतिबोट ४ – ६ के.जी. फल्ने ।
- गर्मी तथा ओइलाउने रोग सहन सक्ने ।
- मध्य पहाडमा माघदेखि श्रावण तथा भाद्रदेखि माघसम्म बेर्ना सार्न सकिने ।
५. टि – ५९७५ :
- बोट १०० से. मी. सम्म अग्लो हुने ।
- धेरै हांगा आउने ३ – ४ पटक सम्म फुल्ने ।
- गर्मी, पात तथा फलमा लाग्ने धेरै रोग सहन सक्ने ।
- अलि अलि अण्डाकार साईजको रातो रङ्गको फल दिन् प्रति बोट ६ – ८ के.जी. फल लाग्ने, प्रति फलको तौल ७० – ९० ग्राम हुने ।
- छाला राम्रो भण्डारण गुण राम्रो भएको ।
- माघदेखि बैशाख, मध्य आषाढदेखि शुरु भाद्रसम्म मध्य पहाड तथा आश्विन देखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।
६. एन. एस.२५३५ :
- छोटो बिरुवा, ८० से. मी. सम्म अग्लो हुने ।
- धेरै हांगा लाग्ने २ – ३ पटकसम्म फुल्ने ।
- गर्मी तथा केहि मात्रामा पातमा लाग्ने रोग सहन सक्ने ।
- अण्डाकार रातो रङ्गको फल, प्रलि फलको तौल ७० – ८० ग्राम हुने ।
- ५० – ६० दिनमा फल तयार हुने, अधिकतम फल ८० – १०० दिनमा उत्पादन हुने ।
- प्रति बोट ५ – ७ के.जी. फल्ने बाक्लो छाला तथा भण्डारण गुण राम्रो भएको ।
- माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र शुरुसम्म मध्य पहाडमा तथा आश्विनदेखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।
७. विशेष :
- बोट होचो सानो थाक्रा दिए हुने ।
- फल ठूला साथै आकर्षक हुन्छन् ।
- ओइलाउने रोग नलाग्ने ।
- उत्पादन प्रति बोट ४ – ६ के.जी.
८. भिम :
- बोट लामो लामा थाक्रा दिनुपर्ने ।
- धेरै ठूला फल फल्ने ।
- ओइलाउने रोग कम लाग्ने ।
- उत्पादन प्रतिबोट ६ – ८ के. जी. ।
९. डालिला :
- फल लाग्ने क्षमता राम्रो भएको गर्मी समयमा रोप्नको लागी उपयुक्त, फल खँदिलो हुन्छ ।
- बोटको उँचाइ ४ फिट हुन्छ ।
- बेर्ना सारेको ६०-७० दिनमा बाली लिन सकिने ।
- बेर्ना सारेको ४०-४५ दिनमा फुल लाग्ने ।
- फलको तौल प्रति दाना ४०–५० ग्राम हुन्छ ।
- उत्पादन ३०,००० के.जी.र हे. हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१०. माधुरी :
- फल आकर्षक रातो रङ्गको, अण्डाकार धेरैदिन टिक्ने र नफुट्ने हुन्छ ।
- १ दाना बराबर १ बोट र प्रतिबोट सरदर ६५ बटा फल फल्छ ।
- बोटको उँचाइ ११५ से.मी.हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
- बेर्ना सारेको ८० दिनमा बाली लिन सकिने ।
- फलको तौल प्रति दाना ५० ग्राम हुन्छ ।
- उत्पादन १,२०,००० के.जी.र हे. हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।११. जमुना :
- फल आकर्षक रातो रङ्गको, चाडै नकुहिने र भण्डारण गर्न सजिलो हुन्छ ।
- १ दाना बराबर १ बोट र प्रतिबोट सरदर १०० बटा फल फल्छ ।
- बोटको उँचाइ ११५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
- बेर्ना सारेको ८५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १,२०,००० के.जी.र हे. हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१२. एन.एस. ७१९ :
- बोटको उँचाइ ४८-५५ से.मी.हुन्छ ।
- बेर्ना सारेको ७८-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ८०-९० मे.टन हुन्छ ।

१३. यूरेका :
- बोटको उँचाइ १६० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०२ दिनमा बाली लिन सकिने ।
- उत्पादन ९३.७ मे.टन हुन्छ ।

१४. साभेरा :
- बोटको उँचाइ १५० से.मी.हुन्छ ।
- बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ११३ मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।१५.नोभा :
- बोटको उँचाइ १४० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०७ दिनमा बाली लिन सकिने ।
- उत्पादन १५२ मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१६. अस्त्र ७१७ :
- बोटको उँचाइ १३० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०३ दिनमा बाली लिन सकिने ।
- उत्पादन १३१ मे.टन हुन्छ ।

१७. मरिना :
- बोटको उँचाइ १५०से.मी. हुन्छ ।
- बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ११३ मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१८. गौरब ५५५ :
- बोटको उँचाइ २५०—३०० से।मी। हुन्छ ।
- बेर्ना सारेको १००—१०५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १०६ मे.टन हुन्छ ।

सिक्नुहोस् बेर्ना लगाउन :
गोलभेंडाको बिउ नर्सरीमा बेर्ना लगाउदा धेरै राम्रो हुन्छ । तर, जमिनमा पनि नर्सरी राख्न सकिन्छ । यदि जमिनमा बेर्ना राख्ने हो भने कुनै तरकारी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ । त्यसका लागि नर्सरी १ मिटर चौडा र आवश्यकताअनुसार लम्बाई बनाउने । नर्सरी राख्दा प्रायः ब्याडमा राख्ने चलन भएतापनि स्वस्थ र बलियो बेर्ना उत्पादन गर्न चाहनुहुन्छ भने प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रे÷प्लग ट्रेमा राख्नसकिन्छ ।
त्यसका लागि ३ इञ्च लम्बाई ३ इञ्च चौडा प्लाष्टिकको थैलो तयार गरी पानी तर्कने ४ वटा प्वाल पार्नुपर्छ । र, २ भाग जंगलबाट ल्याईएको माटो वा पोखरीको पिँधको माटो-अथवा निर्मलीकरण गरेको माटो, २ भाग राम्ररी पाकेको मल १ भाग र १ भाग बालुवाको मिश्रणले थैलो भर्ने (बालुवा मिसिएको माटो भएमा बालुवा नराख्ने) र १ से.मि. जति गहिराइमा एक–एक वटा बीउ राख्नुपर्छ ।
बीउलाई माटो वा राम्ररी पाकेको कम्पोष्ट वा वालुवाले छोप्नुपर्छ । हजारीको सहायताले माटोमा चिस्यानको अबस्था बिचार गरी बेला बेलामा हजारीबाट हल्का सिंचाई गर्नु पर्दछ । नभए बेर्ना राम्रो उत्पादन हुदैन । त्यसपछि बीउलाई १ भाग झोल मलमा ४ भाग पानी हालेर ६–७ घण्टा भिजाउँनुपर्छ । जसले जराको वृद्धि विकासमा सहयोग पु¥याउँछ । यदि सेल ट्रे-प्लग ट्रेमा बिरुवा जमाउने हो भने कम्तीमा एक वर्ष पुरानो रोग तथा कीराको जिवाणु र झारपातको बीउ रहित कम्पोष्ट वा २–३ वर्ष काठको बोक्रा कुहाएर बनाएको कम्पोष्ट अथवा नरिवलको जटाबाट बनेको धूलो र गड्यौली मल को प्रयोग गर्नु पर्छ ।
कहिले लगाउने बेर्ना ?तपाईंले गोलभेँडाको बेर्ना कहाँ लगाउने, त्यो अनुसार समय पनि फरकफरक हुन्छ । यदि तपाईँले गोलभेंडा खुल्ला खेतबारीमा बेर्ना लगाउने हो भने तराईमा भाद्रदेखि पौष र मध्य–पहाडमा फाल्गुन महिनामा रोप्न पर्छ । प्लाष्टिक घरभित्र वेर्ना लगाउने हो भने मध्य–पहाडमा चैत्रदेखि भाद्र महिनासम्म उपयुक्त हुन्छ । प्लाष्टिक घरभित्र गोलभेंडा बेमौसमी खेती गर्दा उत्पादन आषाढ देखि कार्तिक महिना भित्रमा लिईसक्ने गरेर खेती गर्दा ध्रै फाइदा हुन्छ ।
कस्तो माटोमा खेती गर्ने ?भोलभेँडा खेती जस्तोसुकै माटोमा पनि खेती गर्न सकिन्छ । तर, प्राङ्गरिक बस्तु प्रसस्त भएको उर्वर दोमट माटोमा खेती गर्दा धेरै उतपादन हुन्छ । माटोको पी।एच। ६ देखि ७ भएको, पानी नजम्ने माटो गोलभेंडाको लागि उपयुक्त हुन्छ ।
कति मलखाद आवश्यक पर्छ ?
गोलभेंडाको उत्पादनमा मलखादको महत्वपूर्ण भूमिका हुन्छ । यदि भोलभेँडा खेतीबाट राम्रो आम्दानी लिन चाहनु हुन्छ भने मलखादमा एकदमै धेरै ध्यान दिनुपर्छ । एक क.जी. गोलभेंडा उत्पादन हुँदा बिरुवाले नाइट्रोजन ६.१ ग्राम, फस्फोरस ७.० ग्राम, पोटास ७.४ ग्राम, क्याल्सियम ७.५ ग्राम, म्याग्नेसियम २.२ ग्राम र सल्फर ०.६ ग्राम आवश्यक पर्छ ।
खाद्यतत्वको प्रयोग गर्दा माटो परिक्षण गराई सन्तुलित खाद्यतत्वको प्रयोग गर्नपर्छ । सामान्यतया प्रति वर्ग मिटर जग्गामा आधा के।जी जति कृषि चुन प्रयोग गरेर जोत्ने र २०–२२ दिन जमिनलाई त्यतिकै छाडिदिनुपर्छ । जसले बिरुवामा क्याल्सियमको कमिले टुप्पो कुहिने समस्या समाधान हुनाको साथै माटोको अवस्थामा सुधार ल्याउँछ । साथै चुनको प्रयोग गर्नु अगाडि माटो परिक्षण गरेर सिफारिश मात्रामा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।
यस्तै, प्रति रोपनी जग्गामा १ सय के.जी. कुखुराको कुहिएको सुली, १५ सय के.जी. राम्ररी पाकेको गोबर मल, डी.ए.पी. १० के.जी., पोटास ५ के.जी., जिंक र वोरेक्स आधा–आधा के.जी.लगाउनुपर्छ । (जिंक तथा बोरोनको अत्याधिक प्रयोगले बिरुवामा नकारात्मक असर पर्न सक्छ । त्यसैले एक वर्ष प्रयोग गरेपछि सामान्यतया २–३ वर्षसम्म प्रयोग गर्नु हुँदैन) ।
यस्तै, माथिको मलखादको साथै एक रोपनी जग्गामा निम वा तोरी वा चिउरीको पिना २५ देखि ३० के.जी.को दरले माटोमा प्रयोग गर्नाले माटोमा रहेका धमिरा कमिला लगायतका कीरा कम गर्नका साथै निमाटोडको प्रकोप समेत कम हुन्छ ।
यदि प्रति बोटको हिसाबले मलखाद प्रयोग गर्ने हो भने फरक पर्न जान्छ । त्यसका लागि ५ के।जी कम्पोष्ट, २५ ग्राम डि.ए.पी, १० ग्राम पोटास, बोरेक्स, जिंक आधा–आधा ग्राम प्रयोग गर्नुपर्छ । बेर्ना सार्नुभन्दा एक हप्ता अगाडि ३० से.मी गहिरो र ४० से.मी चौडा कुलेसो बनाई उपरोक्त मल प्रयोग गर्दा बिरुवा राम्रो हुन्छ ।
यदि गोलभेंडाको उत्पादन बढाउन चाहनुहुन्छ भने बिरुवा रोपेको २ महिना पछि, नाइट्रोजन। र पोटास क्रमशः१० ग्राम,१० ग्रामको दरले दिनुपर्दछ । गोलभेंडामा तोरीको पिना तथा बायोग्याँसको लेदोको प्रयोग पनि गर्न सकिन्छ । जसले उत्पादन बढाउन सहयोग पुग्छ । त्यसका लागि बिरुवाको अबस्था विचार गरी प्रति बोट ३० ग्राम पिना र १ के।जी गोबर ग्याँसको लेदो प्रयोग गरी माटोले छोप्दा उत्पादन वृद्धि हुन्छ ।
बेर्ना कसरी रोप्ने ?
- ४ देखि ५ पात आएको स्वस्थ बिरुवा रोप्ने ।
- जमिन तयारी गरेपछि जमिनभन्दा १५ देखि २० से.मी. अग्लो ड्याङ बनाई दुई ड्याङको बिचमा ४० से.मी. बाटो राख्ने ।
- ड्याङमा एक बोटदेखि अर्को बोटको दुरी ५० देखि ६० से.मी हुनुपर्छ ।
- एक लाईनदेखि अर्को लाईनको दुरी ७० देखि ८० से.मी.राखी प्रति ड्याङ दुई लाईन बिरुवा रोप्ने।
- रोपेपछि हल्का सिंचाई दिने ।
- बिरुवाको दुरी जात तथा माटोको उर्वरापन, तालिम तथा काँटछाँटमा पनि फरक हुन्छ ।
- होचो हुने जातलाई डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मीमा रोप्ने ।
- बोट देखि बोटको दुरी ४० से.मी. राख्दा उपयुक्त हुन्छ ।
-अग्लो हुने जात रोप्ने हो भने डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मी हुनुपर्छ ।
बोट देखि बोटको दुरी ६० से.मी. हुनुपर्छ ।
यदि एक काण्डिय प्रणालीमा लैजाने हो भने बोट देखि बोटको दुरी ४० से.मी. राख्नुपर्छ ।
गोडमेल तथा सिँचाई :
गोलभेँडाको बेर्ना लगाइसकेपछि झारपातको प्रकोपलाई बिचार गर्नुपर्छ । बेला बेलामा झारपात हटाउनुपर्छ । साथै चिस्यानको मात्रा विचार गरेर पानी पनि बेलाबेला दिनुपर्छ । गोलभेंडालाई फूल फुल्ने, फल लाग्ने तथा मलखादको प्रयोग गरिसकेपछि पानीको आवश्यकता पर्दछ । माटोमा चिस्यान मात्रा कायम हुने तर पानी नजम्ने गरी आवश्यकता हेरी सिंचाई गर्नुपर्छ । यदि धेरै पानी भयो भने पनि राम्रो उत्पादन दिँदैन । यदि गोलभेंडा खेतीमा झारपातको प्रकोप कम गरी उत्पादन बृद्धि गर्ने हो भने थोपा सिंचाई र silver lining भएको प्लाष्टिक मल्च प्रयोग गर्दा राम्रो हुन्छ ।
काँटछाँट र थाँक्रा कहिले दिने ?
गोलभेँडा खेती गरिसकेपछि काँटछाँट गर्न एकदमै जरुरी हुन्छ । काँटछाँट गर्दाले सूर्यको प्रकाश तथा हाबाको सञ्चार एवं खाद्यतत्वको समुचित सदुपयोग गराई गोलभेंडाको उत्पादनमा वृद्धि हुन्छ । गोलभेंडालाई लहरिने/फुल फुल्दै फल्दै गर्ने-छिमलमा फल्ने ( indeterminate) र नलहरिने /फुल फुलेपछि बोट नबढ्ने (determinate) जातमा वर्गिकरण गरिएको छ ।
- नलहरिने जातलाई ३ देखि ४ बटा काण्ड राखेर बाँकी हटाउने ।
- लहरिने जातलाई एक काण्डिय वा दुई काण्डिय प्रणालीबाट तालिम गर्ने ।
- एक काण्डिय प्रणालीमा लैजान मुख्य काण्ड बाहेक अरु सबै मुना प्रत्येक दिन निरिक्षण गरी हटाउने ।
- दुई काण्डिय प्रणालीमा लैजाने हो भने जमिनबाट करिब ३० देखि ४० से.मी. वीचबाट आएको एउटा मुना राखेर अन्य मुना हटाउने ।
- बिरुवा रोप्ने बेलामा प्रत्येक ४ वटा बिरुवाको बिचमा पर्ने गरेर ठाडा २.५ मी अग्ला दह्रा भाँटा राख्ने
- बिरुवा १ महिनाको भएपछि शुरुमा ३० से।मी।को फरकमा र त्यसपछि ४५ से।मि। फरकमा तेर्सा भाटा राखेर थाँक्रा दिने ।
- थाँक्रा दिएपछि गोलभेंडालाई डोरीले भाटामा बाँध्ने ।
- भाँटा राख्दा बाँसको चिल्लो भाग बिरुवातर्फ फर्काउने ।
- थाँक्राको सट्टा गोलभेंडालाई डोरीमा मात्र पनि फलाउन सकिन्छ ।
गोलभेँडा खेतीको हेरचाह कसरी गर्ने ?
- बिरुवा सरेपछि १० देखि १५ दिनको फरकमा झोलमल १ भागमा ६ भाग पानी मिसाएर छर्ने वा १ भागमा ४ भाग पानी मिसाएर फेदबाट २–३ इन्च पर वरिपरि पर्ने गरी जरा भिजाउने ।
- यसो गर्न सम्भव नभएमा प्रत्येक १० दिनको फरकमा एक भाग गहुँतमा भैसीको पिसाब हो भने ५ भाग पानी, गाईको छ भने ६ भाग पानी र मानिसको छ भने १० भागसम्म पानी मिसाई प्रयोग गर्ने ।
- थोपा सिँचाइको सेटबाट बिरुवाको जरामा पिसाव पानीको घोल ७ देखि १० दिनको फरकमा सेटबाट दिने । यसो गर्दा बिरुवामा रोग कीराबाट लड्ने क्षमताको विकास हुनुको साथै उत्पादनमा समेत बृद्धि हुन्छ ।
- यदि प्लाष्टिक मल्च नहालीकन लगाइएको बिरुवा हो भने बिरुवा सरेपछि गाउँघरमा उपलब्ध हुने तितेपाती, बनमारा, असुरो, खिर्रो आदि (तिता, पिरा,टर्रा गन्ध आउने बनस्पति जे उपलब्ध हुन्छ) लाई १–२ इन्चको टुक्रा बनाई ५–७ दिन ओइलाएर गोलभेंडाको फेद नछुने गरी ड्याङमा हालेमा धमिरा, कमिलाको प्रकोप न्यूनिकरण गर्न तथा विभिन्न ढुसीजन्य रोगका माटोमा रहेका जिवाणुलाई कम गर्न सकिन्छ ।
- माटोमा छुन लागेका तथा पुराना पात कैचीको सहायताले काट्ने ।
- पात हटाउँदा फललाई छोपेको पात सकभर नहटाउने ।
- प्रत्येक पटक पात तथा मुना हटाउँदा कैचीलाई ढुसीनाशक विषादीमा डुबाएर मात्रै प्रयोग गर्ने ।
- मुना काटिसकेपछि २ ग्राम कपर अक्सिक्लोराइयुक्त विषादी १ लिटर पानीमा मिसाएर बोट भिज्ने गरी छर्ने ।
- बिरुवामा फूल फुलेर फल फल्न शुरु गरेपछी फलको अबस्था हेरेर मल्टिप्लेक्स वा टोमाटो स्पेशियल वा अन्य शुक्ष्म तत्व ४–५ पटक छर्ने ।
- बिरुवा लगाएको २०–२५ दिन पछिबाट पहेलो स्टिकी ट्रयाप १०–१२ वटा प्रति टनेल राख्ने ।
- गोलभेंडा टिप्दा कम क्षति पु¥याउने किसिमबाट कैचीको सहायताले भेट्नो सहित टिप्ने ।
- बोटको जरामा गाँठा बनाउने, जुका देखापरेमा पछिल्लो अवस्थामा नियन्त्रण गर्न कठिन हुने हुँदा गोबरग्याँसबाट निस्केको लेदो गोबरमल प्रति बोट ५ सय ग्राम जतिको दरले फेदबाट २–३ इन्च वरिपरि राखी माटोले छोप्ने ।
- बाह्रै महिना एवं लगातार टनेल भित्र गोलभेँडाको खेती गर्दा रोग कीराको प्रकोप बढ्न जानुको साथै माटोको अवस्था पनि बिग्रन जाने हुँदा गोलभेंडा लगाएपछि भटमास वा अन्य दालबाली परिवारको बाली लगाई फूल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडिदिने ।
- एकचोटि गोलभेंडा लिइसकेपछि प्लाष्टिक तथा बाँसका थाँक्राहरू हटाएर सयपत्री फूल वा तोरी रोपी १–१.५ महिनाको भएपछि माटोमा मिलाई सेतो प्लाष्टिकले ३०–४२ दिन छोपेर माटोमा मिसाउनाले निमाटोड तथा अन्य माटोमा रहेका कीरालाई नियन्त्रण गर्न सहयोग गर्दछ ।
- बिरुवा पहेलो हुँदै गएमा र उत्पादनमा ह्रास आउन थालेमा दुई लाईनको बिचमा जरा नखल्बलिने गरी ५ से.मी जति गहिरो लामो खाडल खनी ५–७ दिन कुहाएको पिना प्रति बोट ३० ग्रामको दरले दुई लाईनको बिचमा प्रयोग गर्ने ।
- गोवरग्याँसबाट निस्केको कुहिएको लेदो छ भने प्रतिबोट आधा के।जी जति परिमाणमा हुने गरी लाईनमा पिनासँगै हाल्ने र सिँचाई गर्ने ।
- बिरुवामा खाद्यतत्व (नाइट्रोजन, फस्फोरस र पोटास) को सन्तुलित रूपमा प्रयोग नभएमा रोग कीराको आक्रमण बढि हुने हुँदा सन्तुलित खाद्यतत्वको प्रयोगमा सधै ध्यान दिनुपर्छ ।
- गोलभेंडालाई सूर्यको प्रकाशको पनि अधिक आवश्यकता पर्ने हुँदा उचित रूपमा प्रकाश छिर्न सक्ने गरी प्लाष्टिक घरको निर्माण गर्ने र बिरुवाको बिचमा हावाको सञ्चार हुन सक्ने गरी बिरुवाको दुरी कायम गर्ने ।
गोलभेंडाका रोग र तिनको व्यवस्थापन : ढुसीजन्य रोग (अगौटे र पछौटे डढुवा,, फेद तथा काण्ड कुहिने,बेर्ना कुहिने, फ्युजेरियमबाट ओइलाउने,भर्टिसिलियमबाटओइलाउने लगायत)
- यो रोग प्राय बढि तापक्रम र आद्रता भएको अवस्थामा देखा पर्छ ।
- यो रोग माटो, बीउ तथा रोगी बिरुवावाट फैलिन्छ ।
- बिरुवाको वरिपरि सरसफाईमा ध्यान दिने ।
- हावाको सञ्चार हुन सक्ने गरी बिरुवा रोप्ने सन्तुलित खाद्यतत्वको प्रयोग गर्ने
- रोग लागेका पात तथा फेल हटाउने र मेटालेक्सिल र मेन्कोजेवयुक्त विषादी १.५ –२ ग्राम प्रति लिटर पानीको दरले प्रयोग गर्ने ।
- काण्ड तथा डाँठ कुहिएमा कपर अक्सिक्लोराइडयुक्त विषादीको लेप बनाएर लगाउने ।
- कपरअक्सिक्लोराइडयुक्त विषादी २ ग्राम र कासु बी १ मी.ली प्रति लिटर पानीमा मिसाई प्रयोग गरेपछि दोस्रो पटक मेटालेक्सिल र मेन्कोजेबयुक्त विषादी प्रयोग गर्ने
- पालै पालो यो प्रक्रिया रोगको प्रकोप हेरी अपनाउने ।
ब्याक्टेरियाजन्य रोग (ओइलाउने रोग) :
- रोगको निक्र्यौल गर्न उज आउट परिक्षण गर्ने ।
- सफा काँचको ग्लासमा पानी राखेर ओइलाएको बिरुवाको डाँठ ग्लासको पिधमा नछुने गरी पानी नहल्लाई केही मिनेट राख्ने ।
- यदि ब्याक्टेरिया जन्य रोग भएमा डाँठबाट सेतो चुरोटको धुबाजस्तो पदार्थ आएको देखिन्छ ।
- बीउलाई तातोपानीमा (५२ डिग्री सेल्सियस तापक्रम भएको पानीमा १५ मिनेट) उपचार गरेर रोप्ने ।
- एग्रोमाइसिन १–२ ग्राम ३ लिटर पानीमा मिसाई प्रयोग गर्ने ।
- बाली चक्र प्रणाली अपनाउने ।
- बिरुवाको जरामा कम क्षति पु¥याउने ।
- रोग लागिसकेपछि प्राय नियन्त्रण नहुने हुँदा उखेलेर बोट जलाई माटोको उपचार गर्ने ।
- रोग अबरोधक रुटस्टक प्रयोग गरी कलमी गरिएका बिरुवाको प्रयोग गर्ने ।
- रोग सहन सक्ने जात लगाउने ।
भाइरसजन्य रोग
- पात गुजुमुजु हुने, टाटेपाटे हुने, पातहरूको आकार बिग्रने र बोट नबढ्ने जस्ता लक्षण देखा पर्छ । स्वस्थ बीउको प्रयोग गर्ने ।
- बेर्ना उर्मादा चुसाहा कीराको प्रकोप कम गर्न जालीघर भित्र उर्माने ।
- बेला बेलामा नर्सरीमा दैहिक किटनाशक विषादी तथा गोलभेंडा लगाएको जग्गामा कीरा नियन्त्रण गर्न दैनिक विषादीको प्रयोग गर्ने ।
- गाई वा भैसीको ताजा दुध १० मि.लि.प्रति लिटर पानीमा मिसाएर छर्ने ।
- भाइरस लागेका बोट देख्ने बित्तिकै उखेलेर जलाउने ।
- चुसाहा कीरा नियन्त्रण गर्ने साथै गोलभेंडा लगाएको नजिक भण्टा, खुर्सानी जस्ता एउटै परिवारभित्र पर्ने बाली नलगाउने र यदि ती बाली लगाएमा रोग तथा कीरा नियन्त्रणका उपाय अपनाउने ।
माटोको जुका (निमाटोड) : - बोट ओइलाउँछ ।
- खनेर जरामा हेरेमा गिर्खा देखा पर्छ ।
- माटो निर्मलीकरण गर्ने ।
- सयपत्री फुलको बिरुवा लगाएर करिब १ महिनापछि माटोमा जोतेर मिसाउने तथा सकिन्छ भने पानी जमाउने ।
- मलखाद प्रयोग गर्दा कुखुराको कुहिएको सुली तथा निमको पिना प्रयोग गर्ने र बढि मात्रामा कम्पोष्ट प्रयोग गर्ने ।
- बाली चक्र प्रणाली अपनाउने ।
- S . sisymbryfolium तथा अन्य कलमी गर्न उपयुक्त रुटस्टकको प्रयोग गरी कलमी गरिएका बिरुवा रोप्ने ।
गोलभेंडाका कीरा तथा तिनको व्यवस्थापन :
- कीराहरूलाई टिपेर नष्ट गर्ने ।
- निमजन्य विषादी अल्टिनिम, निमबेसिडिन आदि २ मि।लि।प्रति लिटर पानीमा मिसाएर छर्ने ।
- कीरा लागेको फललाई नष्ट गर्ने ।
- फेरोमन पासोहरू (हेलि ल्युर, स्पोडो ल्युर, कम्पोजिट ल्युर) आदिको प्रयोग गर्ने
- फेद कटुवा कीरालाई बेलुकीपख बिरुवा लगाएको ठाउँमा सुकेको पत्कर राख्ने ।
- भोलि बिहान पत्करमा जम्मा भएका कीरा संकलन गरी मार्ने ।
- पात खनुवा कीरा लागेका पात हटाउने ।
- निमजन्य विषादी तथा प्राकृतिक शत्रुको प्रयोग गर्ने ।
- जाली सहितको प्लाष्टिक घर निर्माण गर्नाको साथै दैनिक विषादी जस्तै कोराजिन, क्लोरोपाइरिफस र साइपरमेथ्रिन युक्त विपादी, इमिडाक्लोरप्रिड आदिको प्रयोग गर्ने ।
चुसेर खाने कीराहरू (सेतो झिंगा, लाही लगायत आदी) :
- अबस्था अनुगमन गर्न पहेलोस्टिकि ट्रयापको प्रयोग गर्ने ।
- निमजन्य विषादीको प्रयोगले सेतो झिंगाको संख्या घटाउँछ ।
- लाही नियान्त्रणको लागि घरेलु बिषादी जस्तै झोलमल, खुर्सानी पानी, गाईको पिसाब आदिको प्रयोग गर्ने ।
- सेतो झिंगाको लागि दैहिक विषादी इमिडाक्लोरपिड (३ लिटर पानीमा १ मि.लि.) मिसाएर छर्ने ।
- गोलभेंडा उत्पादन भईरहेको अबस्थामा दैहिक बिषादीको सकभर प्रयोग नगर्ने ।
गोलभेंडामा अक्सर देखिने विकृतिहरू र निराकरणका उपाय : ग्रे वाल (खैरो भित्ता)यसका प्रमुख कारणहरू- गोलभेंडामा भाइरसको कारणबाट फलमा विकृति हुनसक्छ त्यसकारण भाइरस नियन्त्रणका उपाय अपनाउने ।
- वातावरणको कारणबाट (प्रशस्त घाम लागेको एवं तापक्रम बढेको बेलापछि लगातार २–३ दिन सम्म बादल लागेमा)
- खाद्यतत्व (बिरुवामा बढि नाइट्रोजन, कम पोटासियम र बोरोन तत्व हुनु)
- नियन्त्रण गर्न कठिन भएकोले बेलैमा बाली ब्यबस्थापनमा ध्यान दिनु पर्छ ।
फलको टुप्पो कुहिने (ब्लसम इण्ड रट)
- बिरुवामा क्याल्सियम तत्वको कमि भएमा यस्तो समस्या देखा पर्छ ।
- माटोमा कृषि चुन सिफारिश मात्रा अनुसार प्रयोग गर्ने ।
- उचित चिस्यान कायम गर्ने ।
- धेरै वर्षा वा अत्याधिक पानी हाल्दा बिरुवाले छिटो छिटो धेरै पानी सोसेमा उपयुक्त चिस्यान कायम गर्ने
उत्पादनयदि लहरिने जात जस्तै सृजना जातको गोलभेडा लगाईएको छ र उचित व्यवस्थापन गरिएको छ भने प्रतिबोट ८ देखि १० के.जी. सम्म उत्पादन लिन सकिन्छ (प्रति रोपनी ५ हजार ५ सयदेखि ९ हजार ५सय के.जी.सम्म) । प्लाष्टिक घरको प्रयोग नगरी खुल्ला ठाउँमा खेती गरिएको छ भने प्रति रोपनी दुई हजार देखी तीन हजार के.जि सम्म उत्पादन लिन सकिन्छ ।
बजार व्यवस्थापनप्लाष्टिक घरभित्र गोलभेडा खेतीमा अन्य खेतीको तुलनामा बढी लगानी आवश्यक पर्दछ । खेतीको थालनी गर्न अगाडी आफुले उत्पादन पुर्याउने बजारको पहिचान, त्यहाँका उपभोक्ताको रुची ,बजारमा बर्षभरि गोलभेडाको माग,आपूर्ति र मुल्य जस्ता कुरामा ध्यान दिन जरुरी छ ।
जनसम्पर्क क्षेत्र र विस्तार कसरी तपाईले गोलभेँडा खेती सम्बनिध जानकारी पनि लिनुभयो सामान्यतया खर्च र आम्दानी के कति हुने बुझ्नु भयो भने अब बजारीकरण गर्न वा थप ज्ञान बुझ्न यी संघ सस्थाबाट सहयोग लिन पनि सक्नु हुन्छ । यस्तै आफ्नो पालिकाको कृषि शाखा, तालिम केन्द्र वा जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरुमा पनि सम्पर्क गर्न सकिन्छ ।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र (खुमलटार, ललितपुर) - फोन नं.: ०१-५४२३१४१, १६६००१६६६६०
सन्दर्भ सामग्रीहरु- वीकीपेडिया- कृषि ज्ञान केन्द्र- अर्थ डबली - विभिन्न वेभ तथा फेसबुकका उपयुक्त सामग्री- व्यवसायीहरु
- तरकारीबाली विकास केन्द्र, खुमलटार
के तपाईं कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा हुनुहुन्रछ ? त्यसो हो भने तपाईंका लागि गोलभेँडा खेती उपयुक्त हुनसक्छ । यदि तपाईं गोलभेँडा खेती गर्न चाहनुहुन्छ भने न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । गोलभेँडा खेती थोरै लगानीबाट धेरै आम्दानी लिन सकिने व्यवसाय हो ।
किनकी गोलभेंडाको बजार एकदमै राम्रो छ । बिक्री नहोला भनेर चिन्ता पनि लिनुपर्दैन । तपाईं(हाम्रो भान्सामा नभई हुन्न, गोलभेडा । सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभेडा चाहिन्छ । तरकारी, दाल, अचारदेखि सलादसम्ममा गोलभेडा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भान्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभेडाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक देखाउने मात्र होइन यो आफैँमा पोषणयुक्त पनि हुने गर्छ । त्यसैले गोलभेडाको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।
तर, गोलभेंडा सधैंभरि उपलब्ध हुँदैन । जसले गर्दा एकदमै धेरै मूल्य पर्ने गर्छ । तपाईले गोलभेंडा कम उत्पादन हुने समयमा खेती गर्नु भयो भने दोब्बर आम्दानी गर्न सक्नुहुन्छ । गोलभेँडा खेती खुल्ला जमिनमा पनि खेती गर्न सकिन्छ । तर, तपाईंले टर्नेल भित्र खेती गर्नुभयो भने अझ धेरै राम्रो उत्पादन दिन्छ ।
टर्नेलमा लगानी गर्ने पैसा नभए तपाईंले टर्नेल बाहिर पनि खेती गर्न सक्नुहुनेछ । पछिल्लो समय गोलभेँडाको माग बढ्दो छ । गोलभेंडा विश्वकाका सबै वर्गले खान मन पराउने प्रमुख तरकारी बाली पनि हो । यो संसारभरी प्रचलित र धेरै जग्गामा खेती गरिन्छ । तपाईंले गोलभेँडा खेती तराई तथा भित्री मधेशमा हिँउदमा लगाउन सक्नु हुनेछ भने पहाडको ५००–१००० मि. उचाइमा असार देखि कार्तिकसम्म लगाउनुपर्ने हुन्छ । गोलभेंडाको वैज्ञानिक नाम Lycopersicon esculentum हो ।
पछिल्लो समय भोलभेँडाको महत्व बढ्दै गएको छ । गोलभेंडालाई पकाएर तरकारीको रुपमा अथवा काँचै सलादको रुपमा खान सकिन्छ । गोलभेँडामा धेरै भिटामिनहरु पाइन्छ । जस्तैः प्रति के।जी १०० ग्राम गोलभेंडामा १८ क्यालोरी, ९५ प्रतिशत पानी, भिटामिन सी, बायोटिन, मोलिब्लेडनम, भिटामिन के, भिटामिन ए (बिटा क्यारोटिन), भिटामिन वी६, फोलिक एसिड (भिटामिन वि), वायोटिन, भिटामिन सी, फस्फोरस, म्याग्नेसियम, रेशा आदि ।
यसले मानिसको स्वास्थ्यका लागि एकदमै फाइदा गर्छ । यो मुटु रोगी, क्यान्सर रोक्ने क्षमता भएको, छाला स्बस्थ राख्ने गुण भएको फल हो । हाल बिश्वमा बिभिन्न रंगहरू तथा प्रयोजनको लागि गोलभेंडा समेत बिकास गरिसकिएको छ । बीउ दर एक रोपनी जग्गाको लागि ५ देखि ७ ग्राम बीउको आवश्यकता पर्दछ । (एक ग्राम राम्रो उमारशक्ति भएको बीउबाट सरदर १५० देखि २ सय बेर्ना उत्पादन हुन्छ) ।
यदी प्लाष्टिक घर भित्र खेती गरियो भने यस्ता छन् फाइदाहरु :
- जाडो र बर्षातको समयमा पनि प्लाष्टिक घर भित्र बेमौसमी तरकारी खेती गर्न सकिन्छ।
- प्लाष्टिक घरमा वाहिरको भन्दा रोग, कीरा र घाँसको समस्या कम देखिन्छ।
- प्रयोग गरेको मलखाद विरुवाले राम्रोसंग सदुपयोग गर्न सक्दछ ।
- पात, डाँठ र फलमा लाग्ने डढुवा रोग, थोप्ले रोग र फलमा लाग्ने कीराहरुबाट बाहिरभन्दा कम नोक्सानी देखिन्छ। रोग तथा कीराको प्रकोप न्यूनिकरण गरी कम बिषादीको प्रयोगवाट खेती गर्न सकिन्छ ।
- खुल्ला अवस्थामा लगाएको तरकारी भन्दा प्लाष्टिक घरमा छिटो उत्पादन दिनुको साथै विरुवाको आयु पनि बढ्न गइ लामो समयसम्म उत्पादन लिन सकिन्छ ।
प्लाष्टिक घरभित्र उपयुक्त गोलभेडाका जात
प्लाष्टिक घरभित्र लगाउने जातको छनौट गर्दा बजारको माग तथा जातको उत्पादन क्षमतामा बिचार पुर्याउन जरुरी हुन्छ । सामान्यतया बढी उत्पादन दिने लहरिने वा मध्यम लहरिने (Indeterminate or semi-indeterminate) जातहरु लाभदायक हुन्छन् ।
जातहरू र जातको गुण
विशेष - होचो बोट, ब्याक्टेरियाबाट ओइलाउने रोग कम लाग्ने, लाम्चो फल, फ्युजेरियम, निमाटोड र भाइरस लाग्न सक्ने ।
सृजना - अग्लो बोट, ब्याक्टेरियाबाट ओइलाउने रोग कम लाग्ने गोलो फल, फ्युजेरियम, निमाटोड र भाइरस लाग्न सक्ने,डढुवा खप्न सक्ने ।
मनिसा - अग्लो बोट, ब्याक्टेरियाबाट ओइलाउने रोग लाग्न सक्ने, अण्डाकार फल, फ्युजेरियम र निमाटोड लाग्न सक्ने ।
वीनसारी - अग्लो बोट, गरम खप्ने, धेरै फल्न सक्ने, अण्डाकार फल, निमाटोड लाग्ने ।
गोलभेडाका पन्जिकृत अन्य जातहरु : क. छिमलमा फल्ने वा लहरिने जात
१. मनिसा :
- अग्लो बिरुवा उचाई २.५ मिटरसम्म हुन सक्छ त्यसैले बलियो टेका दिनुपर्छ ।
- बेर्ना सारेको ६० दिनपछि फल तयार हुन्छ । तथा ९० देखि १२० दिनमा अधिकतम फल तयार हुन्छ ।
- एक बिरुवामा १२ के.जी. सम्म फल लाग्ने ।
- अण्डा आकारको रातो रङ्गको फल ।
- बाक्लो छाला भएकोले केहि दिनसम्म भण्डारण गर्न सकिन्छ ।
- एक फलको तौल ८०–१०० ग्राम सम्म हुन्छ ।
- तापक्रम सहन सक्ने ।
- सुख्खा मौसममा खेती गर्न सकिने,फागुनदेखि चैत्र र श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विनदेखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ।
२. पुसा रुबी :
- बेर्ना सारेको ६० दिनमा उत्पादन लिन सकिने अगौटे जात हो ।
- फल पुरा गोलाकार हुदैन र मध्यम गहिरो नलीहरु (Slight medium furrows) हुन्छ ।
- समान रातो फल, एक फलको तौल ५० –७५ ग्राम हुन्छ र पात तुलनात्मक रुपमा साँगुरो हुन्छन् ।
- ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ, बीउको मात्रा धेरै हुन्छ ।
- तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
- २०४६ सालमा उन्मोचित गरिएको ।
३. रोमा :
- बेर्ना सारेको ६५–७० दिनमा उत्पादन लिन सकिने मध्यम जात हो ।
- फल अण्डाकार, नरम, चिल्लो, समान रुपमा बाक्लो, दुई भाग (Bi-chambered) हुने र बीउको मात्रा थोरै भएको हुन्छ ।
- एक फलको तौल ६०–८० ग्राम हुन्छ, पात चौडा र आलुको पात जस्तो हुन्छ ।
- ६०– ६५ दिनमा फल टिप्न तयार हुन्छ ।
- एकै पटकमा फल्ने हुनाले बोट होचो र झाङ्गिने किसिमको हुन्छ ।
- तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
४. मनप्रेसकस :
- बेर्ना सारेको ८०–९० दिनमा उत्पादन लिन सकिने मध्यम अगौटे जात हो ।
- फल ग्लोब आकारको, नरम,समान रातो, Bi/tri-chambered, कसिलो र बीउको मात्रा थोरै भएको हुन्छ ।
- एक फलको तौल ७५–१०० ग्राम हुन्छ ।
- ८०– ९० दिनमा फल टिप्न तयार हुन्छ ।
- पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा हुन्छ ।
- तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
५. एन.सि.एल–१ :
- गर्मी र ओइलाउने रोग सहन सक्ने जात जुन बेर्ना सारेको ६५–७५दिनमा उत्पादन लिन सकिन्छ ।
- फल आरु आकारको,अलि अलि गोलाकार ,कसिलो बाक्लो छाला भएको, हल्का रातो रङ्गको हुन्छ ।
- एक फलको तौल ६०–७५ ग्राम हुन्छ ।
- पटक पटकमा फल्ने हुनाले बोट ठूलो र सिधा हुन्छ ।
- तराइ, मध्य र उच्च पहाडको लागी सिफारिस गरिएको छ ।
ख. मध्यम उचाई हुने वा कम अग्ला वा होचा जातहरु :
१. अविनास – २ :
- एकै पटक फल्ने अथवा छिमलमा फल्ने जातको बिचको बिरुवा १२० से.मी. लामो हुन्छ ।
- प्रशस्त मात्रामा फुल्ने, फल्ने, १० – १२ के।जी। एक बोटमा फल लाग्न सक्ने, एक फलको तौल ८० देखि १०० ग्राम सम्म हुन्छ ।
- रातो रङ्गको गोलाका फल हुने ।
- गर्मी तथा पात घुम्रिने रोग सहन सक्ने ।
- ६० – ६५ दिनमा प्रथम उत्पादन लिन सकिन्छ । तथा ९० – १२० दिनमा अधिकतम उत्पादन हुन्छ ।
- सुख्खा माटो तथा सुख्खा समयमा राम्रो हुन्छ तर बर्षा समयमा राम्रो हुदैन । श्रावणदेखि भाद्रमा मध्य पहाड तथा आश्विन देखि माघसम्म तराईमा बेर्ना सार्न उपयुक्त हुन्छ ।
२. एन. एस. – ८१५ :
- छोटो बिरुवा, ९० से.मी. सम्म अग्लो हुन्छ ।
- धेरै हांगाहरु हुन्छन् २ – ३ पटकसम्म धेरै फुल लाग्छ ।
- गर्मी सहन सक्ने ।
- गोलोदेखि अण्डाकार रातो फल, एक फलको तौल ७० – ९० ग्राम हुन्छ ।
- राम्रो फल्छ, ४ – ७ के.जी. प्रतिबोट ( ४ – ७ मे. टन प्रति रोपनी )।
- ५० – ६० दिनमा फल टिप्न तयार हुन्छ , तर ८० देखि ९० दिनमा बढी फल लिन सकिन्छ ।
- बाक्लो छाला भएकोले भण्डारण धेरै दिनसम्म गर्न सकिन्छ तथा टाढा बजारको लागी उपयुक्त छ ।
- माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र पहिलो हप्तासम्म मध्य पहाड तथा आश्विन देखि माघ सम्म तराईमा रोप्न सकिन्छ ।
३. एन. एस. ८१२ :
- छोटो बिरुवा, ९० से.मी. सम्म अग्लो हुन्छ ।
- हांगाहरु ठीकै संख्यामा २ पटक फुल्ने ।
- गर्मी सहन सक्ने, अण्डाकार रातो रङ्गको फल, प्रति फल ७० – ९० ग्राम तौल हुने ।
- प्रति बोट ४ – ६ के.जी.फल्ने ।
- ५५ दिनमा फल तयार, अधिकतम उत्पादन ८० – ९० दिनमा ।
- माधदेखि बैशाख र आषाढ दोश्रो हप्तादेखि भाद्रको दोस्रो हप्तासम्म मध्य पहाडमा तथा आश्विन देखि माघसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।
४. सुरक्षा :
- छोटो बिरुवा ८० से. मी सम्म अग्लो हुने ।
- हांगाहरु तथा फुलको संख्या ठिकै ।
- अलि अण्डाकार रातो फल, फलको छाला बाक्लो, तर भण्डारण गुण नराम्रो, फल टिपेको १ – २ रात मात्र राख्न सकिने ।
- बेर्ना लगाएको ५५ दिनदेखि फल तयार हुने, प्रतिबोट ४ – ६ के.जी. फल्ने ।
- गर्मी तथा ओइलाउने रोग सहन सक्ने ।
- मध्य पहाडमा माघदेखि श्रावण तथा भाद्रदेखि माघसम्म बेर्ना सार्न सकिने ।
५. टि – ५९७५ :
- बोट १०० से. मी. सम्म अग्लो हुने ।
- धेरै हांगा आउने ३ – ४ पटक सम्म फुल्ने ।
- गर्मी, पात तथा फलमा लाग्ने धेरै रोग सहन सक्ने ।
- अलि अलि अण्डाकार साईजको रातो रङ्गको फल दिन् प्रति बोट ६ – ८ के.जी. फल लाग्ने, प्रति फलको तौल ७० – ९० ग्राम हुने ।
- छाला राम्रो भण्डारण गुण राम्रो भएको ।
- माघदेखि बैशाख, मध्य आषाढदेखि शुरु भाद्रसम्म मध्य पहाड तथा आश्विन देखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।
६. एन. एस.२५३५ :
- छोटो बिरुवा, ८० से. मी. सम्म अग्लो हुने ।
- धेरै हांगा लाग्ने २ – ३ पटकसम्म फुल्ने ।
- गर्मी तथा केहि मात्रामा पातमा लाग्ने रोग सहन सक्ने ।
- अण्डाकार रातो रङ्गको फल, प्रलि फलको तौल ७० – ८० ग्राम हुने ।
- ५० – ६० दिनमा फल तयार हुने, अधिकतम फल ८० – १०० दिनमा उत्पादन हुने ।
- प्रति बोट ५ – ७ के.जी. फल्ने बाक्लो छाला तथा भण्डारण गुण राम्रो भएको ।
- माघदेखि बैशाख, मध्य आषाढदेखि भाद्र शुरुसम्म मध्य पहाडमा तथा आश्विनदेखि पौषसम्म तराईमा बेर्ना सार्न सकिन्छ ।
७. विशेष :
- बोट होचो सानो थाक्रा दिए हुने ।
- फल ठूला साथै आकर्षक हुन्छन् ।
- ओइलाउने रोग नलाग्ने ।
- उत्पादन प्रति बोट ४ – ६ के.जी.
८. भिम :
- बोट लामो लामा थाक्रा दिनुपर्ने ।
- धेरै ठूला फल फल्ने ।
- ओइलाउने रोग कम लाग्ने ।
- उत्पादन प्रतिबोट ६ – ८ के. जी. ।
९. डालिला :
- फल लाग्ने क्षमता राम्रो भएको गर्मी समयमा रोप्नको लागी उपयुक्त, फल खँदिलो हुन्छ ।
- बोटको उँचाइ ४ फिट हुन्छ ।
- बेर्ना सारेको ६०-७० दिनमा बाली लिन सकिने ।
- बेर्ना सारेको ४०-४५ दिनमा फुल लाग्ने ।
- फलको तौल प्रति दाना ४०–५० ग्राम हुन्छ ।
- उत्पादन ३०,००० के.जी.र हे. हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१०. माधुरी :
- फल आकर्षक रातो रङ्गको, अण्डाकार धेरैदिन टिक्ने र नफुट्ने हुन्छ ।
- १ दाना बराबर १ बोट र प्रतिबोट सरदर ६५ बटा फल फल्छ ।
- बोटको उँचाइ ११५ से.मी.हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
- बेर्ना सारेको ८० दिनमा बाली लिन सकिने ।
- फलको तौल प्रति दाना ५० ग्राम हुन्छ ।
- उत्पादन १,२०,००० के.जी.र हे. हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
११. जमुना :
- फल आकर्षक रातो रङ्गको, चाडै नकुहिने र भण्डारण गर्न सजिलो हुन्छ ।
- १ दाना बराबर १ बोट र प्रतिबोट सरदर १०० बटा फल फल्छ ।
- बोटको उँचाइ ११५ से.मी. हुन्छ ।
- बेर्ना सारेको ५० दिनमा फुल फुल्छ ।
- बेर्ना सारेको ८५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १,२०,००० के.जी.र हे. हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१२. एन.एस. ७१९ :
- बोटको उँचाइ ४८-५५ से.मी.हुन्छ ।
- बेर्ना सारेको ७८-८० दिनमा बाली लिन सकिने ।
- उत्पादन ८०-९० मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१३. यूरेका :
- बोटको उँचाइ १६० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०२ दिनमा बाली लिन सकिने ।
- उत्पादन ९३.७ मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१४. साभेरा :
- बोटको उँचाइ १५० से.मी.हुन्छ ।
- बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ११३ मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१५.नोभा :
- बोटको उँचाइ १४० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०७ दिनमा बाली लिन सकिने ।
- उत्पादन १५२ मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१६. अस्त्र ७१७ :
- बोटको उँचाइ १३० से.मी. हुन्छ ।
- बेर्ना सारेको १०३ दिनमा बाली लिन सकिने ।
- उत्पादन १३१ मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१७. मरिना :
- बोटको उँचाइ १५०से.मी. हुन्छ ।
- बेर्ना सारेको १०५ दिनमा बाली लिन सकिने ।
- उत्पादन ११३ मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
१८. गौरब ५५५ :
- बोटको उँचाइ २५०—३०० से।मी। हुन्छ ।
- बेर्ना सारेको १००—१०५ दिनमा बाली लिन सकिने ।
- उत्पादन १०६ मे.टन हुन्छ ।
- तराइ र मध्य पहाडको लागी सीफारिस गरिएको छ ।
सिक्नुहोस् बेर्ना लगाउन :
गोलभेंडाको बिउ नर्सरीमा बेर्ना लगाउदा धेरै राम्रो हुन्छ । तर, जमिनमा पनि नर्सरी राख्न सकिन्छ । यदि जमिनमा बेर्ना राख्ने हो भने कुनै तरकारी बालीको खेती नगरेको माटोमा नर्सरी राख्दा राम्रो हुन्छ । त्यसका लागि नर्सरी १ मिटर चौडा र आवश्यकताअनुसार लम्बाई बनाउने । नर्सरी राख्दा प्रायः ब्याडमा राख्ने चलन भएतापनि स्वस्थ र बलियो बेर्ना उत्पादन गर्न चाहनुहुन्छ भने प्लाष्टिकको थैलो वा बजारमा उपलब्ध सेल ट्रे÷प्लग ट्रेमा राख्नसकिन्छ ।
त्यसका लागि ३ इञ्च लम्बाई ३ इञ्च चौडा प्लाष्टिकको थैलो तयार गरी पानी तर्कने ४ वटा प्वाल पार्नुपर्छ । र, २ भाग जंगलबाट ल्याईएको माटो वा पोखरीको पिँधको माटो-अथवा निर्मलीकरण गरेको माटो, २ भाग राम्ररी पाकेको मल १ भाग र १ भाग बालुवाको मिश्रणले थैलो भर्ने (बालुवा मिसिएको माटो भएमा बालुवा नराख्ने) र १ से.मि. जति गहिराइमा एक–एक वटा बीउ राख्नुपर्छ ।
बीउलाई माटो वा राम्ररी पाकेको कम्पोष्ट वा वालुवाले छोप्नुपर्छ । हजारीको सहायताले माटोमा चिस्यानको अबस्था बिचार गरी बेला बेलामा हजारीबाट हल्का सिंचाई गर्नु पर्दछ । नभए बेर्ना राम्रो उत्पादन हुदैन । त्यसपछि बीउलाई १ भाग झोल मलमा ४ भाग पानी हालेर ६–७ घण्टा भिजाउँनुपर्छ । जसले जराको वृद्धि विकासमा सहयोग पु¥याउँछ । यदि सेल ट्रे-प्लग ट्रेमा बिरुवा जमाउने हो भने कम्तीमा एक वर्ष पुरानो रोग तथा कीराको जिवाणु र झारपातको बीउ रहित कम्पोष्ट वा २–३ वर्ष काठको बोक्रा कुहाएर बनाएको कम्पोष्ट अथवा नरिवलको जटाबाट बनेको धूलो र गड्यौली मल को प्रयोग गर्नु पर्छ ।
कहिले लगाउने बेर्ना ? तपाईंले गोलभेँडाको बेर्ना कहाँ लगाउने, त्यो अनुसार समय पनि फरकफरक हुन्छ । यदि तपाईँले गोलभेंडा खुल्ला खेतबारीमा बेर्ना लगाउने हो भने तराईमा भाद्रदेखि पौष र मध्य–पहाडमा फाल्गुन महिनामा रोप्न पर्छ । प्लाष्टिक घरभित्र वेर्ना लगाउने हो भने मध्य–पहाडमा चैत्रदेखि भाद्र महिनासम्म उपयुक्त हुन्छ । प्लाष्टिक घरभित्र गोलभेंडा बेमौसमी खेती गर्दा उत्पादन आषाढ देखि कार्तिक महिना भित्रमा लिईसक्ने गरेर खेती गर्दा ध्रै फाइदा हुन्छ ।
कस्तो माटोमा खेती गर्ने ? भोलभेँडा खेती जस्तोसुकै माटोमा पनि खेती गर्न सकिन्छ । तर, प्राङ्गरिक बस्तु प्रसस्त भएको उर्वर दोमट माटोमा खेती गर्दा धेरै उतपादन हुन्छ । माटोको पी।एच। ६ देखि ७ भएको, पानी नजम्ने माटो गोलभेंडाको लागि उपयुक्त हुन्छ ।
कति मलखाद आवश्यक पर्छ ?
गोलभेंडाको उत्पादनमा मलखादको महत्वपूर्ण भूमिका हुन्छ । यदि भोलभेँडा खेतीबाट राम्रो आम्दानी लिन चाहनु हुन्छ भने मलखादमा एकदमै धेरै ध्यान दिनुपर्छ । एक क.जी. गोलभेंडा उत्पादन हुँदा बिरुवाले नाइट्रोजन ६.१ ग्राम, फस्फोरस ७.० ग्राम, पोटास ७.४ ग्राम, क्याल्सियम ७.५ ग्राम, म्याग्नेसियम २.२ ग्राम र सल्फर ०.६ ग्राम आवश्यक पर्छ ।
खाद्यतत्वको प्रयोग गर्दा माटो परिक्षण गराई सन्तुलित खाद्यतत्वको प्रयोग गर्नपर्छ । सामान्यतया प्रति वर्ग मिटर जग्गामा आधा के।जी जति कृषि चुन प्रयोग गरेर जोत्ने र २०–२२ दिन जमिनलाई त्यतिकै छाडिदिनुपर्छ । जसले बिरुवामा क्याल्सियमको कमिले टुप्पो कुहिने समस्या समाधान हुनाको साथै माटोको अवस्थामा सुधार ल्याउँछ । साथै चुनको प्रयोग गर्नु अगाडि माटो परिक्षण गरेर सिफारिश मात्रामा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।
यस्तै, प्रति रोपनी जग्गामा १ सय के.जी. कुखुराको कुहिएको सुली, १५ सय के.जी. राम्ररी पाकेको गोबर मल, डी.ए.पी. १० के.जी., पोटास ५ के.जी., जिंक र वोरेक्स आधा–आधा के.जी.लगाउनुपर्छ । (जिंक तथा बोरोनको अत्याधिक प्रयोगले बिरुवामा नकारात्मक असर पर्न सक्छ । त्यसैले एक वर्ष प्रयोग गरेपछि सामान्यतया २–३ वर्षसम्म प्रयोग गर्नु हुँदैन) ।
यस्तै, माथिको मलखादको साथै एक रोपनी जग्गामा निम वा तोरी वा चिउरीको पिना २५ देखि ३० के.जी.को दरले माटोमा प्रयोग गर्नाले माटोमा रहेका धमिरा कमिला लगायतका कीरा कम गर्नका साथै निमाटोडको प्रकोप समेत कम हुन्छ ।
यदि प्रति बोटको हिसाबले मलखाद प्रयोग गर्ने हो भने फरक पर्न जान्छ । त्यसका लागि ५ के।जी कम्पोष्ट, २५ ग्राम डि.ए.पी, १० ग्राम पोटास, बोरेक्स, जिंक आधा–आधा ग्राम प्रयोग गर्नुपर्छ । बेर्ना सार्नुभन्दा एक हप्ता अगाडि ३० से.मी गहिरो र ४० से.मी चौडा कुलेसो बनाई उपरोक्त मल प्रयोग गर्दा बिरुवा राम्रो हुन्छ ।
यदि गोलभेंडाको उत्पादन बढाउन चाहनुहुन्छ भने बिरुवा रोपेको २ महिना पछि, नाइट्रोजन। र पोटास क्रमशः१० ग्राम,१० ग्रामको दरले दिनुपर्दछ । गोलभेंडामा तोरीको पिना तथा बायोग्याँसको लेदोको प्रयोग पनि गर्न सकिन्छ । जसले उत्पादन बढाउन सहयोग पुग्छ । त्यसका लागि बिरुवाको अबस्था विचार गरी प्रति बोट ३० ग्राम पिना र १ के।जी गोबर ग्याँसको लेदो प्रयोग गरी माटोले छोप्दा उत्पादन वृद्धि हुन्छ ।
बेर्ना कसरी रोप्ने ?
- ४ देखि ५ पात आएको स्वस्थ बिरुवा रोप्ने ।
- जमिन तयारी गरेपछि जमिनभन्दा १५ देखि २० से.मी. अग्लो ड्याङ बनाई दुई ड्याङको बिचमा ४० से.मी. बाटो राख्ने ।
- ड्याङमा एक बोटदेखि अर्को बोटको दुरी ५० देखि ६० से.मी हुनुपर्छ ।
- एक लाईनदेखि अर्को लाईनको दुरी ७० देखि ८० से.मी.राखी प्रति ड्याङ दुई लाईन बिरुवा रोप्ने।
- रोपेपछि हल्का सिंचाई दिने ।
- बिरुवाको दुरी जात तथा माटोको उर्वरापन, तालिम तथा काँटछाँटमा पनि फरक हुन्छ ।
- होचो हुने जातलाई डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मीमा रोप्ने ।
- बोट देखि बोटको दुरी ४० से.मी. राख्दा उपयुक्त हुन्छ ।
-अग्लो हुने जात रोप्ने हो भने डयाङ्ग देखि डयाङ्गको दुरी ६० से.मी हुनुपर्छ ।
बोट देखि बोटको दुरी ६० से.मी. हुनुपर्छ ।
यदि एक काण्डिय प्रणालीमा लैजाने हो भने बोट देखि बोटको दुरी ४० से.मी. राख्नुपर्छ ।
गोडमेल तथा सिँचाई :
गोलभेँडाको बेर्ना लगाइसकेपछि झारपातको प्रकोपलाई बिचार गर्नुपर्छ । बेला बेलामा झारपात हटाउनुपर्छ । साथै चिस्यानको मात्रा विचार गरेर पानी पनि बेलाबेला दिनुपर्छ । गोलभेंडालाई फूल फुल्ने, फल लाग्ने तथा मलखादको प्रयोग गरिसकेपछि पानीको आवश्यकता पर्दछ । माटोमा चिस्यान मात्रा कायम हुने तर पानी नजम्ने गरी आवश्यकता हेरी सिंचाई गर्नुपर्छ । यदि धेरै पानी भयो भने पनि राम्रो उत्पादन दिँदैन । यदि गोलभेंडा खेतीमा झारपातको प्रकोप कम गरी उत्पादन बृद्धि गर्ने हो भने थोपा सिंचाई र silver lining भएको प्लाष्टिक मल्च प्रयोग गर्दा राम्रो हुन्छ ।
काँटछाँट र थाँक्रा कहिले दिने ?
गोलभेँडा खेती गरिसकेपछि काँटछाँट गर्न एकदमै जरुरी हुन्छ । काँटछाँट गर्दाले सूर्यको प्रकाश तथा हाबाको सञ्चार एवं खाद्यतत्वको समुचित सदुपयोग गराई गोलभेंडाको उत्पादनमा वृद्धि हुन्छ । गोलभेंडालाई लहरिने/फुल फुल्दै फल्दै गर्ने-छिमलमा फल्ने ( indeterminate) र नलहरिने /फुल फुलेपछि बोट नबढ्ने (determinate) जातमा वर्गिकरण गरिएको छ ।
- नलहरिने जातलाई ३ देखि ४ बटा काण्ड राखेर बाँकी हटाउने ।
- लहरिने जातलाई एक काण्डिय वा दुई काण्डिय प्रणालीबाट तालिम गर्ने ।
- एक काण्डिय प्रणालीमा लैजान मुख्य काण्ड बाहेक अरु सबै मुना प्रत्येक दिन निरिक्षण गरी हटाउने ।
- दुई काण्डिय प्रणालीमा लैजाने हो भने जमिनबाट करिब ३० देखि ४० से.मी. वीचबाट आएको एउटा मुना राखेर अन्य मुना हटाउने ।
- बिरुवा रोप्ने बेलामा प्रत्येक ४ वटा बिरुवाको बिचमा पर्ने गरेर ठाडा २.५ मी अग्ला दह्रा भाँटा राख्ने
- बिरुवा १ महिनाको भएपछि शुरुमा ३० से।मी।को फरकमा र त्यसपछि ४५ से।मि। फरकमा तेर्सा भाटा राखेर थाँक्रा दिने ।
- भाँटा राख्दा बाँसको चिल्लो भाग बिरुवातर्फ फर्काउने ।
- थाँक्राको सट्टा गोलभेंडालाई डोरीमा मात्र पनि फलाउन सकिन्छ ।
गोलभेँडा खेतीको हेरचाह कसरी गर्ने ?
- बिरुवा सरेपछि १० देखि १५ दिनको फरकमा झोलमल १ भागमा ६ भाग पानी मिसाएर छर्ने वा १ भागमा ४ भाग पानी मिसाएर फेदबाट २–३ इन्च पर वरिपरि पर्ने गरी जरा भिजाउने ।
- यसो गर्न सम्भव नभएमा प्रत्येक १० दिनको फरकमा एक भाग गहुँतमा भैसीको पिसाब हो भने ५ भाग पानी, गाईको छ भने ६ भाग पानी र मानिसको छ भने १० भागसम्म पानी मिसाई प्रयोग गर्ने ।
- थोपा सिँचाइको सेटबाट बिरुवाको जरामा पिसाव पानीको घोल ७ देखि १० दिनको फरकमा सेटबाट दिने । यसो गर्दा बिरुवामा रोग कीराबाट लड्ने क्षमताको विकास हुनुको साथै उत्पादनमा समेत बृद्धि हुन्छ ।
- यदि प्लाष्टिक मल्च नहालीकन लगाइएको बिरुवा हो भने बिरुवा सरेपछि गाउँघरमा उपलब्ध हुने तितेपाती, बनमारा, असुरो, खिर्रो आदि (तिता, पिरा,टर्रा गन्ध आउने बनस्पति जे उपलब्ध हुन्छ) लाई १–२ इन्चको टुक्रा बनाई ५–७ दिन ओइलाएर गोलभेंडाको फेद नछुने गरी ड्याङमा हालेमा धमिरा, कमिलाको प्रकोप न्यूनिकरण गर्न तथा विभिन्न ढुसीजन्य रोगका माटोमा रहेका जिवाणुलाई कम गर्न सकिन्छ ।
- माटोमा छुन लागेका तथा पुराना पात कैचीको सहायताले काट्ने ।
- पात हटाउँदा फललाई छोपेको पात सकभर नहटाउने ।
- प्रत्येक पटक पात तथा मुना हटाउँदा कैचीलाई ढुसीनाशक विषादीमा डुबाएर मात्रै प्रयोग गर्ने ।
- मुना काटिसकेपछि २ ग्राम कपर अक्सिक्लोराइयुक्त विषादी १ लिटर पानीमा मिसाएर बोट भिज्ने गरी छर्ने ।
- बिरुवामा फूल फुलेर फल फल्न शुरु गरेपछी फलको अबस्था हेरेर मल्टिप्लेक्स वा टोमाटो स्पेशियल वा अन्य शुक्ष्म तत्व ४–५ पटक छर्ने ।
- बिरुवा लगाएको २०–२५ दिन पछिबाट पहेलो स्टिकी ट्रयाप १०–१२ वटा प्रति टनेल राख्ने ।
- गोलभेंडा टिप्दा कम क्षति पु¥याउने किसिमबाट कैचीको सहायताले भेट्नो सहित टिप्ने ।
- बोटको जरामा गाँठा बनाउने, जुका देखापरेमा पछिल्लो अवस्थामा नियन्त्रण गर्न कठिन हुने हुँदा गोबरग्याँसबाट निस्केको लेदो गोबरमल प्रति बोट ५ सय ग्राम जतिको दरले फेदबाट २–३ इन्च वरिपरि राखी माटोले छोप्ने ।
- बाह्रै महिना एवं लगातार टनेल भित्र गोलभेँडाको खेती गर्दा रोग कीराको प्रकोप बढ्न जानुको साथै माटोको अवस्था पनि बिग्रन जाने हुँदा गोलभेंडा लगाएपछि भटमास वा अन्य दालबाली परिवारको बाली लगाई फूल फुल्ने अवस्थामा पुगेपछि माटोमा जोतेर छोडिदिने ।
- एकचोटि गोलभेंडा लिइसकेपछि प्लाष्टिक तथा बाँसका थाँक्राहरू हटाएर सयपत्री फूल वा तोरी रोपी १–१.५ महिनाको भएपछि माटोमा मिलाई सेतो प्लाष्टिकले ३०–४२ दिन छोपेर माटोमा मिसाउनाले निमाटोड तथा अन्य माटोमा रहेका कीरालाई नियन्त्रण गर्न सहयोग गर्दछ ।
- बिरुवा पहेलो हुँदै गएमा र उत्पादनमा ह्रास आउन थालेमा दुई लाईनको बिचमा जरा नखल्बलिने गरी ५ से.मी जति गहिरो लामो खाडल खनी ५–७ दिन कुहाएको पिना प्रति बोट ३० ग्रामको दरले दुई लाईनको बिचमा प्रयोग गर्ने ।
- गोवरग्याँसबाट निस्केको कुहिएको लेदो छ भने प्रतिबोट आधा के।जी जति परिमाणमा हुने गरी लाईनमा पिनासँगै हाल्ने र सिँचाई गर्ने ।
- बिरुवामा खाद्यतत्व (नाइट्रोजन, फस्फोरस र पोटास) को सन्तुलित रूपमा प्रयोग नभएमा रोग कीराको आक्रमण बढि हुने हुँदा सन्तुलित खाद्यतत्वको प्रयोगमा सधै ध्यान दिनुपर्छ ।
- गोलभेंडालाई सूर्यको प्रकाशको पनि अधिक आवश्यकता पर्ने हुँदा उचित रूपमा प्रकाश छिर्न सक्ने गरी प्लाष्टिक घरको निर्माण गर्ने र बिरुवाको बिचमा हावाको सञ्चार हुन सक्ने गरी बिरुवाको दुरी कायम गर्ने ।
गोलभेंडाका रोग र तिनको व्यवस्थापन : ढुसीजन्य रोग (अगौटे र पछौटे डढुवा,, फेद तथा काण्ड कुहिने,बेर्ना कुहिने, फ्युजेरियमबाट ओइलाउने,भर्टिसिलियमबाट ओइलाउने लगायत)
- यो रोग प्राय बढि तापक्रम र आद्रता भएको अवस्थामा देखा पर्छ ।
- यो रोग माटो, बीउ तथा रोगी बिरुवावाट फैलिन्छ ।
- बिरुवाको वरिपरि सरसफाईमा ध्यान दिने ।
- हावाको सञ्चार हुन सक्ने गरी बिरुवा रोप्ने सन्तुलित खाद्यतत्वको प्रयोग गर्ने
- रोग लागेका पात तथा फेल हटाउने र मेटालेक्सिल र मेन्कोजेवयुक्त विषादी १.५ –२ ग्राम प्रति लिटर पानीको दरले प्रयोग गर्ने ।
- काण्ड तथा डाँठ कुहिएमा कपर अक्सिक्लोराइडयुक्त विषादीको लेप बनाएर लगाउने ।
- कपरअक्सिक्लोराइडयुक्त विषादी २ ग्राम र कासु बी १ मी.ली प्रति लिटर पानीमा मिसाई प्रयोग गरेपछि दोस्रो पटक मेटालेक्सिल र मेन्कोजेबयुक्त विषादी प्रयोग गर्ने
- पालै पालो यो प्रक्रिया रोगको प्रकोप हेरी अपनाउने ।
ब्याक्टेरियाजन्य रोग (ओइलाउने रोग) :
- रोगको निक्र्यौल गर्न उज आउट परिक्षण गर्ने ।
- सफा काँचको ग्लासमा पानी राखेर ओइलाएको बिरुवाको डाँठ ग्लासको पिधमा नछुने गरी पानी नहल्लाई केही मिनेट राख्ने ।
- यदि ब्याक्टेरिया जन्य रोग भएमा डाँठबाट सेतो चुरोटको धुबाजस्तो पदार्थ आएको देखिन्छ ।
- बीउलाई तातोपानीमा (५२ डिग्री सेल्सियस तापक्रम भएको पानीमा १५ मिनेट) उपचार गरेर रोप्ने ।
- एग्रोमाइसिन १–२ ग्राम ३ लिटर पानीमा मिसाई प्रयोग गर्ने ।
- बाली चक्र प्रणाली अपनाउने ।
- बिरुवाको जरामा कम क्षति पु¥याउने ।
- रोग लागिसकेपछि प्राय नियन्त्रण नहुने हुँदा उखेलेर बोट जलाई माटोको उपचार गर्ने ।
- रोग अबरोधक रुटस्टक प्रयोग गरी कलमी गरिएका बिरुवाको प्रयोग गर्ने ।
- रोग सहन सक्ने जात लगाउने ।
भाइरसजन्य रोग
- पात गुजुमुजु हुने, टाटेपाटे हुने, पातहरूको आकार बिग्रने र बोट नबढ्ने जस्ता लक्षण देखा पर्छ । स्वस्थ बीउको प्रयोग गर्ने ।
- बेर्ना उर्मादा चुसाहा कीराको प्रकोप कम गर्न जालीघर भित्र उर्माने ।
- बेला बेलामा नर्सरीमा दैहिक किटनाशक विषादी तथा गोलभेंडा लगाएको जग्गामा कीरा नियन्त्रण गर्न दैनिक विषादीको प्रयोग गर्ने ।
- गाई वा भैसीको ताजा दुध १० मि.लि.प्रति लिटर पानीमा मिसाएर छर्ने ।
- चुसाहा कीरा नियन्त्रण गर्ने साथै गोलभेंडा लगाएको नजिक भण्टा, खुर्सानी जस्ता एउटै परिवारभित्र पर्ने बाली नलगाउने र यदि ती बाली लगाएमा रोग तथा कीरा नियन्त्रणका उपाय अपनाउने ।
माटोको जुका (निमाटोड) : - बोट ओइलाउँछ ।
- खनेर जरामा हेरेमा गिर्खा देखा पर्छ ।
- माटो निर्मलीकरण गर्ने ।
- सयपत्री फुलको बिरुवा लगाएर करिब १ महिनापछि माटोमा जोतेर मिसाउने तथा सकिन्छ भने पानी जमाउने ।
- मलखाद प्रयोग गर्दा कुखुराको कुहिएको सुली तथा निमको पिना प्रयोग गर्ने र बढि मात्रामा कम्पोष्ट प्रयोग गर्ने ।
- बाली चक्र प्रणाली अपनाउने ।
- S . sisymbryfolium तथा अन्य कलमी गर्न उपयुक्त रुटस्टकको प्रयोग गरी कलमी गरिएका बिरुवा रोप्ने ।
गोलभेंडाका कीरा तथा तिनको व्यवस्थापन :
- कीराहरूलाई टिपेर नष्ट गर्ने ।
- निमजन्य विषादी अल्टिनिम, निमबेसिडिन आदि २ मि।लि।प्रति लिटर पानीमा मिसाएर छर्ने ।
- कीरा लागेको फललाई नष्ट गर्ने ।
- फेरोमन पासोहरू (हेलि ल्युर, स्पोडो ल्युर, कम्पोजिट ल्युर) आदिको प्रयोग गर्ने
- फेद कटुवा कीरालाई बेलुकीपख बिरुवा लगाएको ठाउँमा सुकेको पत्कर राख्ने ।
- भोलि बिहान पत्करमा जम्मा भएका कीरा संकलन गरी मार्ने ।
- पात खनुवा कीरा लागेका पात हटाउने ।
- निमजन्य विषादी तथा प्राकृतिक शत्रुको प्रयोग गर्ने ।
- जाली सहितको प्लाष्टिक घर निर्माण गर्नाको साथै दैनिक विषादी जस्तै कोराजिन, क्लोरोपाइरिफस र साइपरमेथ्रिन युक्त विपादी, इमिडाक्लोरप्रिड आदिको प्रयोग गर्ने ।
चुसेर खाने कीराहरू (सेतो झिंगा, लाही लगायत आदी) :
- अबस्था अनुगमन गर्न पहेलोस्टिकि ट्रयापको प्रयोग गर्ने ।
- निमजन्य विषादीको प्रयोगले सेतो झिंगाको संख्या घटाउँछ ।
- लाही नियान्त्रणको लागि घरेलु बिषादी जस्तै झोलमल, खुर्सानी पानी, गाईको पिसाब आदिको प्रयोग गर्ने ।
- सेतो झिंगाको लागि दैहिक विषादी इमिडाक्लोरपिड (३ लिटर पानीमा १ मि.लि.) मिसाएर छर्ने ।
- गोलभेंडा उत्पादन भईरहेको अबस्थामा दैहिक बिषादीको सकभर प्रयोग नगर्ने ।
गोलभेंडामा अक्सर देखिने विकृतिहरू र निराकरणका उपाय : ग्रे वाल (खैरो भित्ता) यसका प्रमुख कारणहरू - गोलभेंडामा भाइरसको कारणबाट फलमा विकृति हुनसक्छ त्यसकारण भाइरस नियन्त्रणका उपाय अपनाउने ।
- वातावरणको कारणबाट (प्रशस्त घाम लागेको एवं तापक्रम बढेको बेलापछि लगातार २–३ दिन सम्म बादल लागेमा)
- खाद्यतत्व (बिरुवामा बढि नाइट्रोजन, कम पोटासियम र बोरोन तत्व हुनु)
- नियन्त्रण गर्न कठिन भएकोले बेलैमा बाली ब्यबस्थापनमा ध्यान दिनु पर्छ ।
फलको टुप्पो कुहिने (ब्लसम इण्ड रट)
- बिरुवामा क्याल्सियम तत्वको कमि भएमा यस्तो समस्या देखा पर्छ ।
- माटोमा कृषि चुन सिफारिश मात्रा अनुसार प्रयोग गर्ने ।
- उचित चिस्यान कायम गर्ने ।
- धेरै वर्षा वा अत्याधिक पानी हाल्दा बिरुवाले छिटो छिटो धेरै पानी सोसेमा उपयुक्त चिस्यान कायम गर्ने
उत्पादन यदि लहरिने जात जस्तै सृजना जातको गोलभेडा लगाईएको छ र उचित व्यवस्थापन गरिएको छ भने प्रतिबोट ८ देखि १० के.जी. सम्म उत्पादन लिन सकिन्छ (प्रति रोपनी ५ हजार ५ सयदेखि ९ हजार ५सय के.जी.सम्म) । प्लाष्टिक घरको प्रयोग नगरी खुल्ला ठाउँमा खेती गरिएको छ भने प्रति रोपनी दुई हजार देखी तीन हजार के.जि सम्म उत्पादन लिन सकिन्छ ।
बजार व्यवस्थापन प्लाष्टिक घरभित्र गोलभेडा खेतीमा अन्य खेतीको तुलनामा बढी लगानी आवश्यक पर्दछ । खेतीको थालनी गर्न अगाडी आफुले उत्पादन पुर्याउने बजारको पहिचान, त्यहाँका उपभोक्ताको रुची ,बजारमा बर्षभरि गोलभेडाको माग,आपूर्ति र मुल्य जस्ता कुरामा ध्यान दिन जरुरी छ ।
जनसम्पर्क क्षेत्र र विस्तार कसरी तपाईले गोलभेँडा खेती सम्बनिध जानकारी पनि लिनुभयो सामान्यतया खर्च र आम्दानी के कति हुने बुझ्नु भयो भने अब बजारीकरण गर्न वा थप ज्ञान बुझ्न यी संघ सस्थाबाट सहयोग लिन पनि सक्नु हुन्छ । यस्तै आफ्नो पालिकाको कृषि शाखा, तालिम केन्द्र वा जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरुमा पनि सम्पर्क गर्न सकिन्छ ।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र (खुमलटार, ललितपुर) - फोन नं.: ०१-५४२३१४१, १६६००१६६६६०
सन्दर्भ सामग्रीहरु - वीकीपेडिया - कृषि ज्ञान केन्द्र - अर्थ डबली - विभिन्न वेभ तथा फेसबुकका उपयुक्त सामग्री - व्यवसायीहरु