बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

भेंड खुर्सानी खेती कसरी गर्ने ? यस्ता छन् सजिलो खेती प्रविधि

बुधबार, जेठ ३० २०८१
8 views
भेंड खुर्सानी खेती कसरी गर्ने ? यस्ता छन् सजिलो खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय 
भेंडेखुर्सानी उत्पत्ति मध्य अमेरिका विशेषतः ब्राजिलबाट भएको मानिएको छ । सत्रौं शताब्दीमा पोर्चुगीजहरू मार्फत भारतीय उपमहाद्वीपमा पुगेको र राणाकालमा काठमाडौं उपत्यकामा पसेको अनुमान गरिएको छ । भिटामिन सी.र अन्य खनिज पदार्थमा भेंडेखुर्सानी स्वास्थ्यको लागि अति नै राम्रो मानिएको छ । भेंडेखुर्सानी ताजा तरकारीको रुपमा प्रयोग गरिन्छ ।

हावापानी
भेंडेखुर्सानी न्यानो हावापानीमा हुने बाली हो । सुख्खा र गर्मी मौसममा बोट तथा फलको विकास राम्रो हुन्छ । तर गर्मी धेरै भएमा (३५ डि.से.भन्दा ज्यादा) फल लाग्दैन । भेंडेखुर्सानीले तुषारो खप्न सक्दैन । ज्यादै गर्मी, ओसिलो र बादल लाग्ने मौसम (साउन–भाद्र) मा फल कुहिने रोग बढि लाग्दछ ।

वानस्पतिक विवरण साधारणतया भेंडेखुर्सानीको बोट ५० से.मि. देखि ७५ से.मि. अग्लो हुन्छ र चारैतिर समानरुपले हाँगा फैलिएको हुन्छ । भेंडेखुर्सानीको पात पिरो खुर्सानीको भन्दा ठूलो र नरम हुन्छ । नेपालमा प्रचलित भेंडेखुर्सानीको जातमा क्यालिफोर्निया वण्डर भन्ने जात हो । यसको फलको टुप्पोमा चारवटा खण्ड परेको हुन्छ र पिरो हुँदैन ।

गाढा हरियो रङ्गको फल लाग्दछ र फल ८–१० से.मि. सम्म लामो, वर्गाकार वा आयताकार र ५–८ से.मि. सम्म ब्यास भएको हुन्छ । हाल आएर नेपालमा प्लाष्टिक घरमा उपयुक्त हुने अग्ला जातहरूको समेत प्रयोग बढ्दै गएको छ । 

बाली लगाउने समय 
- भेंडेखुर्सानी सार्ने समय सम्बन्धित स्थानको हावापानी तथा मौसममा भर पर्दछ ।

- तराईमा भाद्र–असोजमा बेर्ना सारेर मंसिरदेखि माघसम्म फल प्राप्त गर्न सकिन्छ।

- बेसी तथा मध्य पहाडीक्षेत्रमा माघ–फागुनमा बेर्ना सारेर चैत्रदेखि जेष्ठसम्म र उच्च पहाडी भागमा चैत्र–वैशाखामा बेर्ना सारेर असारदेखिभाद्रसम्म बाली लिन सकिन्छ।

- तुषारो र ज्यादै चिसो मौसम यो बालीले खप्न सक्दैन ।

बेर्ना तयारी र बीउ दर 
- भेंडेखुर्सानीको बेर्ना तयार हुन भण्डै दुई महिनाको समय लाग्दछ ।

- त्यसैले सार्ने मौसम र महिनाको आधारमा ब्याडमा बीउ छर्नु पर्दछ ।

- एक रोपनीको लागि २००० देखि २५०० स्वस्थ बिरुवाको आवश्यकता पर्दछ ।

- कीराले काटेको र मरेको बिरुवाबदल्न केही जगेडा बिरुवाको समेत आवश्यकता पर्ने हुनाले एक रोपनीको लागि ३००० देखि ३५०० बेर्नाको व्यवस्था गर्नु पर्दछ ।

- यसको लागि १० वर्ग मिटरको ब्याडमा बीउको उमार प्रतिशतको आधारमा ५० देखि ७५ ग्राम बीउ रोप्नु पर्दछ ।

10418889_450686321773885_9052331623102878203_n.jpg

माटो जग्गा तयारी तथा मलखाद
- भेंडेखुर्सानीको लागि पानीको निकास राम्रो भएको, खुकुलो प्रांगारिक पदार्थ प्रशस्त भएको दुमट माटो उपयुक्त मानिन्छ ।

- अम्लीय माटोमा भेंडेखुर्सानी खेती राम्रो नहुने हुनाले चुनको प्रयोग गर्नुपर्छ ।

- बलौटे माटोमा प्रशस्त गोबर मलको प्रयोग र सिंचाई व्यवस्था मिलाउन सके भेंडेखुर्सानी खेती राम्रो हुन्छ ।

- एक रोपनी जमिनको लागि १२०० देखि १५०० के.जि. गोबर मल, ५ के.जि. नाइट्रोजन ३ के.जि.पोटास र ३ के.जि.फोस्फोरसको आवश्यकता पर्दछ ।

- गोबर मल दोश्रो जोताइ गर्ने समयमा राम्ररी माटोमा मिलाई झारपात राम्ररी सफा गर्नुपर्छ ।

- फोस्फोरस र पोटास तथा आधा नाईट्रोजन बेर्ना सार्नुअघि ड्याङ बनाउने बेलामा माटोमा मिसाउनु पर्दछ ।

- जमिनको तयारी भण्टा तथा गोलभेंडामा जस्तै हो ।

- हिउँद तथा सुख्खा मौसम र बलौटे माटोमा २ हार सार्ने गरी र वर्षाको मौसम तथा चिम्ट्याहा माटोमा १ ड्याङमा १ हारबेर्नासार्ने गरी ड्याङ बनाउनुपर्छ ।

- २ हार रोप्न ९० से.मि. चौडा ड्याङ र १ हार रोप्न ३० से.मि. चौडा ड्याङ तथा ३० से.मि.को कुलेसो बनाउनु पर्दछ ।

बीउ रोप्ने तथा बेर्ना सार्ने 
- बेर्ना सार्दा ८–१० से.मि. लामो र ५–६ पाते बेर्ना सार्नुपर्दछ ।

- हारबाट हारको दुरी ६० से.मि. र बोटबाट बोटको दुरी हिउँद र गर्मीमा ३० से.मि. तथा वर्षामा ४५ से.मि. कायम गर्नुपर्दछ ।

- जरा नबिग्रने गरी ब्याडबाट बिरुवा उखेली हल्का तरिकाले सार्नु पर्दछ र सारिसकेपछि बेर्नाको वरिपरि औंलाले थिचेर सम्याइदिनुपर्छ ।

गोडमेल र सिंचाई 
- भेंडेखुर्सानीमा गोडमेल तथा सिंचाई बारम्बार गरिरहनु पर्दछ ।

- गोडमेल र मलखाद दिएपछि सिंचाई अनिवार्य रुपले दिनुपर्छ ।

- बिरुवा सारेको ४०–४५ दिनमा जब फुलफुल्न थाल्दछ, दोश्रो गोडाइ र उकेरा दिने काम गर्नुपर्छ ।

- यो समयमा बाँकी आधा भाग युरिया प्रयोग गर्नु पर्दछ ।

- यस बाहेक झारपातको प्रकोप र चिस्यानको अवस्था हेरी गोडमेल र सिंचाई दिनुपर्छ ।

बाली संरक्षण 
(१) एन्थ्रक्नोज
लक्षण– पहिलो मुन्टामा काला दागहरू लाग्दछन् र बिस्तारै तलतिर असर गर्दै जान्छ र फल कम लाग्दछ । साथै फलमा बाटुला काला दागहरू लागि फल सड्दछ ।

रोकथामः– डाइथेन एम–४५ वा ब्लाईटाक्स–५० बिषादी२ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने ।

(२) भाइरसबाट हुने रोग 
लक्षण – कुनै बिरुवामा पातहरू कही पहेंलो र कही हरियो भै खुम्चेको देखिन्छ । कुनै बिरुवामा पात बटारिएका र साना भै बिरुवा ठिङग्रिएको देखिन्छ ।

रोकथाम –कीराहरूबाट रोग फैलिने भएकाले समयमै कीरा नियन्त्रण गर्न मालिथियन, नुभान जस्ता विषादि छर्नुपर्छ ।

कीराहरू 
(१) थ्रिप्स :
पहिचान– यो कीरा ज्यादै सानो हुन्छ । माउ र बच्चाले कोत्रेर घाउ बनाई निस्केको रस चुस्छन् । कोत्रेको ठाउँमा खैरा धब्बाहरू देखिन्छन् ।
(२) लाही कीराहरू
(३) पुतलीका लाभ्रेहरू
(४) भण्टाको डाँठमा लाग्ने गबारो
(५) फलमा प्वाल पार्ने कीराआदि
भण्टामा बताइएका विषादिहरूले यिनीहरूको पनि रोकथाम हुन्छ ।

बाली तयारी तथा उत्पादन 
- भेंडेखुर्सानी सारेको ४५–५० दिनमा फुल फुल्न थाल्दछ ।

- फुल फुलेको दिनबाट २०–२५ दिनमा ताजा फल टिप्न योग्य हुन्छ ।

- पहिलो पटकको फल टिपाइमा भन्दा दोश्रो, तेश्रो पटकको टिपाइमा फलको संख्या तौल र गुणस्तरमा बृद्धि हुँदै जान्छ ।

- फल टिप्दा हातले फललाई च्याप्प समातेर दाहिनेतिर घुमाउनु पर्दछ ।

- एक मौसममा करिब १० पटकसम्म बाली टिप्न सकिन्छ र १ रोपनीबाट ५००–८०० के.जि.सम्म ताजा भेंडेखुर्सानी उत्पादन हुन्छ ।

241181048_535140601650519_2492209975496792182_n.jpg

भण्डार तथा बजार व्यवस्थाः
- ताजा भेंडेखुर्सानी जति सक्यो त्यति छिटो बिक्री गर्नु उचित हुन्छ ।

- फल टिपिसकेपछि सफा पानीले राम्ररी पखालेर छायाँमा ओबाउन दिएर ताजापन नबिग्रने गरी नरम पदार्थमा प्याक गरेर क्रेटमा बजार पु¥याउनु पर्दछ ।

- कम तापक्रम (०–३ डि.से.) र उच्च आद्र्रता (९५–९८ प्रतिशत) मा भण्डारण गरे २०–२५ दिनसम्मपनि भेंडेखुर्सानी ताजै रहन्छ । 

स्रोतः तरकारीबाली विकास केन्द्र, खुमलटार

थप समाचार