परिचय जरे परिवारमै पर्ने सलगम एक महत्वपूर्ण तरकारी बाली हो । यसमा कार्बोहाइटेड, भिटामिन सी र प्रोटिन पाइन्छ । यो विशेष प्रकारको स्वाद र धेरै अवधिसम्म राख्न सकिने खालको छ । यसको गाँठाको साथसाथै कलिलो अवस्थामा साग पनि खाईन्छ ।
यसको सागमा खनिज र भिटामिन प्रशस्त हुन्छ । सलगम मुला झै पकाएर वा सलादको रुपमा खाइन्छ । नेपाली जन–जीवनमा यसले अझै स्थान ओगट्न बाँकी छ ।
हावापानी सलगम चिसो सहन सक्ने बिरुवा हो । सलगमको बीउ २–३ डि.से.मा उम्रन थाल्छ र ५–१० दिनमा बेर्ना ठूलो हुन्छ । यस्तो बेर्नाले २–३ डि.से. सम्मको चिसो सहन सक्छ ।
उच्च तापक्रममा र अझ त्यसमा पनि पानीको अभावमा सलगमको जरा मसिना र कमसल हुन्छन् ।
सलगमको राम्रो बाली उत्पादनको लागि माटोको उर्वराशक्ति पनि राम्रो चाहिन्छ । तर कम मलिलो माटोमा पनि सलगम हुर्कन सक्छ, किनभने यसको जरा प्रणाली राम्ररी विकसित भएको हुन्छ ।
वानस्पतिक विवरण र जात पहिचान - सलगम मुला परिवारकै एक वर्षिय बाली हो ।
- शितोष्ण प्रदेशीय जलवायुमा यो द्विवर्षिय बाली मानिन्छ ।
- शुरुमा यसले ग्याँठ उत्पादन गर्छ र पछि डुकु आउन आवश्यक चिसो प्राप्त गरेपछि डुकु पलाई बीउ उत्पादन हुन्छ ।
- ताजा तरकारी उत्पादनको दृष्टिकोणबाट यसको जराफल उत्पादन महत्वपूर्ण छ ।
- सलगममा पनि युरोपेली र एशियाली थरिका जातहरू छन् । हाम्रो देशमा प्रचलित सलगमका जातहरूमा पर्पलटप र स्थानीय नै हो ।
बाली चक्र, बाली लगाउने समय - बाली चक्रमा सलगमलाई धान वा मकैपछि लगाइन्छ । सलगमलाई मुला जस्तै हिउँदै तरकारीको रुपमा लगाइन्छ ।
- उच्च पहाडमा सलगमलाई जेठ–साउनमा रोपी साउन–असोजमा लगाई असोज–पुसमा ताजा सलगम उत्पादन हुन्छ ।
- तराई क्षेत्रमा सलगम असोज–कार्तिकमा रोपी मंसिर–माघमा तयार हुन्छ ।
जग्गा तयारी तथा मलखाद - सलगमको खेती सबै किसिमको जग्गामा गर्न सकिए तापनि यसको लागि हलुका दोमट माटो उपयुक्त हुन्छ ।
- सलगमको लागि मुलामा जस्तै जग्गा तयार गरिन्छ ।
- जग्गा तयारीमा ८००–१००० किलो कम्पोष्ट वा प्रांगारिक मल चारैतिर पर्ने गरी हालिन्छ ।
- रासायनिक मलको हकमा सलगमलाई बढि नाइट्रोजन र फसफोरस आवश्यकता बढि पर्छ ।
- एक रोपनीमा साढे दुई किलो नाईट्रोजन र फोस्फोरस र डेढ किलो पोटास हालिन्छ ।
बीउ रोपण र बीउ दर - सलगमलाई जातअनुसार विभिन्न दुरीमा रोप्न सिफारिश गरिन्छ ।
- यसलाई ४५×३०, ४०×२५, ३०×२० से.मि.आदिमा राख्दछन् ।
- एक रोपनीको लागि २०० ग्राम बीउ यथेष्ट हुन्छ ।
- यसलाई रोपेको एक हप्तापछि बाक्लो भएको ठाउँबाट बेडाउन आवश्यक छ ।
गोडमेल र सिंचाई - सलगमलाई बेला वेलामा झारपात हटाइ गोडमेल गरी सिचाइ दिन जरुरी हुन्छ ।
कीरा तथा रोग - सलगमलाई क्षति पु¥याउने कीराहरूमा लाही मुख्य हो ।
- यसको नियन्त्रणको लागि घरेलु विधि र निम वा मालाथिन जस्ता सुरक्षित बिषादीको प्रयोग गर्नुपर्दछ ।
- हानी पु¥याउने रोगहरूमा कुहिने रोग नै मुख्य हो ।
- त्यसको रोकथामको लागि तातो पानीको उपचार वा बीजोपचार गरिनुपर्छ ।
बाली तयारी तथा उत्पादन
- सलगम ६०–७० दिनमा ताजा तरकारीको रुपमा तयार हुन्छ ।
- यसलाई मझौला आकार कलिलो अवस्थामा उखेली प्रयोग गरिन्छ ।
- एक रोपनीमा ७००–१५०० किलोसम्म फल्छ ।
- रातो सलगम चाहिँ रोपनीमा ४००–५०० किलो मात्र फल्छ ।
प्रशोधन, भण्डारण र बजार व्यवस्था मुलालाई जस्तै यसलाईपनि उखेली धोइपखाली मुठा पारी बिक्री गरिन्छ । यसलाई साधारण हेरचाहमा ५–७ दिन ताजा राख्न सकिन्छ ।