बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

जुनसुकै ठाउँमा प्याज खेती कसरी गर्ने ?

बिहीबार , जेठ ३१ २०८१
7 views
जुनसुकै ठाउँमा प्याज खेती कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय, महत्वः
प्याज एकदलीय बिरुवाअन्तर्गत पर्छ । प्याजको गानु भनेको प्याजको पात हो जुन पातको फेदमा खाद्यपदार्थ जम्मा भई बनेको हुन्छ । प्याज, लसुन, सेलोट, छ्यापी आदि एकै परिवार एलिएसी अन्तर्गतका बालीहरू हुन् ।

प्याजको उत्पत्ति मध्यएसियामा भएको मानिन्छ । पुरातत्व तथा पुराना साहित्यको अध्ययनले प्याजको इतिहास करिब ५००० ईस्वी पूर्व रहेको पाइन्छ । प्याजको खेती भने मिश्र देशमा २००० वर्षपछि शुरु भएको पुरातात्विक अध्ययनबाट देखिन्छ तथा मिश्रको पिरामिड बनाउने कर्मीहरूलाई सम्भवतः प्याजसमेत खुवाइएको इतिहास पाइन्छ ।

त्यसैगरी पुराना ग्रीस तथा रोमनहरूले प्याजको प्रयोग गरेका प्रशस्त उदाहरण पाइन्छन् । प्याज गाना तथा पातका लागि खेती गरिन्छ । प्याजमा प्रशस्त मात्रामा विभिन्न प्रकारका खनिज पदार्थ, भिटामिन आदि तत्व पाइन्छन् जसको विस्तृत विवरण निम्नानुसार छ ।

प्रयोगः

प्याजको खेती यसको गानो तथा पातका लागि गरिन्छ । यो सबैजसो तरकारीमा मिसाएर पकाइन्छ । विश्वका धेरै जसो देशका खानाका परिकारहरूमा प्याजको प्रयोग हुने गरेको छ । प्याजलाई काँचै पनि खानासँग तथा सलादका रूपमा खाइन्छ ।

हाल प्याज बट्टा बन्दी, चिस्याएको (Frozen) अचार, धूलो, लेप, सुख्खा, ताजा आदि विभिन्न रूपमा बजारमा बा¥है महिना किन्न पाइन्छ । प्याजमा धेरै किसिमका औषधीय तत्व पाइन्छन् जसले गर्दा विभिन्न किसिमका रोगमा यसको प्रयोग गरिएको पाइन्छ ।

पाचन प्रक्रियामा, रुघाखोकीमा र घाउ लागेमा यसको प्रयोग गरिनुका साथै मुटु तथा चिनी रोगमा पनि प्याज उपयोगी भएको पाइन्छ । यसका अलावा प्याजमा सुन्निने, दम रोक्ने, रगतमा कोलेस्ट्रोल घटाउने, अर्बुद रोग तथा एन्टी अक्सिडेन्ट
(anticancer, antioxidant) गुण समेत रहेको पाइएको छ ।

प्याजमा एक किसिमको एलिनेज (allinase) नामक इन्जाइम हुन्छ जसले एमिनो एसिड सल्फोअक्सिडेज (sulphoxides) बनाउँछ जसबाट सल्फरिक एसिड (sulpheric acid) बनिन्छ जसबाट पुनः साइनो प्रोपानेथियल एस अक्साइड  (synͲ propanethialͲSͲoxide) नामक ग्यास बनिन्छ जुन हावामार्फत आँखामा पुग्छ जसका कारण प्याज काट्दा आँखा पिरो हुन्छ ।

पानीमा डुबाएर प्याज काट्ने वा फ्रिजमा केही बेर चिसिन दिन प्याजलाई राख्ने वा माथिबाट फ्यान चलाई प्याज काटेमा आँखा पिरो हुनबाट बच्न सकिन्छ । विश्वमा भारत, चीन तथा अस्ट्रेलिया पहिलो, दोस्रो तथा तेस्रो धेरै प्याज उत्पादन गर्ने देश हुन् ।

हावापानीः
- प्याज एक हिउँद महिनामा खेती गरिने दुई वर्षे (Biennial) बाली भए पनि दाना उत्पादन भने एकै सिजनमा (Annual) गर्न सकिन्छ ।

- बेमौसमी प्याज उत्पादन गर्न केही उपयुक्त प्रविधिको प्रयोग गरी केही चाँडो उत्पादन गर्न सकिन्छ ।

- प्याजको खेतीलाई तापक्रम, प्रकाश तथा दिनको लम्बाइले विशेष भूमिका खेलेको हुन्छ ।

- प्याजको खेती गर्ने ठाउँ बिहानै देखि घाम लाग्ने पारिलो हुनुपर्छ ।

- प्याजको बोटको वृद्घि १३ डि.से. देखि २४ डि.से.तापक्रममा राम्रो हुन्छ ।

- प्याजको बोट बढ्नलाई भन्दा गाना लाग्नलाई बढी तपक्रम चाहिन्छ ।

- काठमाडौं उपत्यकामा असोज वा मंसिरको शुरुमै प्याज रोपेमा बोट छिटै सप्रिन्छ तर पुस–माघको जाडोले फागुन लाग्नेबित्तिकै गर्मी बढेको कारण गाना नलागी फूल फुल्न जाने हुनाले पुस महिनामा मात्र प्याज रोप्दा फूल नफुली गाना लाग्छ ।

- नेपालमा चिसो हावापानी तथा छोटा दिनमा बोट बढ्ने तथा केही न्यानो हावापानी तथा केही लामा दिनमा प्याजको गाना लाग्छ ।

- साधारणतया १० डि.से.भन्दा तल तापक्रम भएमा, गर्मी तथा लामा दिन शुरु भएमा प्याजको डाँठ पलाउन शुरु हुन्छ तथा फूल फुल्न थाल्छ ।

- प्याजको बीउ ३–५ सेल्सियसमा ढिलो १५, १६ डि.से. दिन लगाएर उम्रन्छ ।

- प्याजले केही हदसम्म चिसो सहन सक्छ । शून्यभन्दा तलको तापक्रममा पनि यसको वानस्पतिक वृद्घि सामान्य रूपमा भए तापनि गानो भने लाग्दैन ।

- नेपालमा प्याज उत्पादन गर्ने जिल्लामा सल्यान, रोल्पा, प्यूठान, बझाङ र बाजुरा छन् र यी जिल्लामा ताजा तरकारी उत्पादन आयोजनाले संचालन गरिरहेको छ ।

pyaj.jpg

माटोः
प्याज जुनसुकै मलिलो, पानीको राम्रो निकास भएको, हलुका दोमट माटोमा सजिलै खेती गर्न सकिन्छ । अन्य बालीलाई जस्तै प्याजलाई पनि प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ आवश्यक पर्छ । प्याजको राम्रो खेतीका लागि माटोको पी.एच. मान ६.० देखि ६.८ सम्म हुनुपर्दछ ।

पी.एच. मान ६.० भन्दा तल भएमा केही सूक्ष्म तत्वको कमी हुन्छ तथा फलाम र मेन्गानिज तत्व बढी भई प्याजको उत्पादनमा ¥हास आउँछ । बढी चिम्टाइलो माटोमा प्याजको गानाको राम्रो विकास हुन पाउँदैन तथा धेरै बलौटे माटोमा भने चिस्यानमा एक रूपता नहुने र बारम्बार सिंचाइ गर्दा माटोको भौतिक गुण बिग्रने तथा खाद्य तत्व सजिलैसँग बगेर गई उत्पादनमा एकरूपता ह्रास ल्याउँछ ।

जातहरूः
- प्याज खुल्ला पर पराग सेचन  (openͲpollinated) बाली भए तापनि हाल बजारमा वर्णशंकर (F1ͲHybrid) बीउहरू पनि पाइन्छन् । प्याजका धेरै
जात छन् ।

प्रकाशको आवश्यकता बमोजिम छोटो दिन (Short day), लामो
दिन (Short day) तथा दिनले असर नपर्ने (Day neutral)  जातहरू हुन्छन् ।

नेपालमा खेती गरिने प्रायः सबै प्याजका जातहरू छोटा दिन (Short day) चाहिने जातहरू हुन् । यसैगरी गानोको आकार, रंग पिरोपन आदिबाट पनि प्याजलाई विभिन्न जातमा छुट्याउन सकिन्छ ।

नेपालमा प्रचलित जातहरू प्रायः राता, सेता वा पहेंला छन् । नेपालमा प्रचलित जातहरूमा रेड क्रियोल, पुसारेड, अर्ली ग्रानो (पहेंला प्याज), नासिक रेड, नासिक ५३ आदि हुन् भने एग्री फाउन्ड डार्क रेड नेपालमा धेरै अगाडि भित्रिएको भए तापनि यसको बेमौसमी गुणले गर्दा हालै मात्र प्रचलनमा आएको छ । हाल नेपालमा पञ्जीकृत र उन्मोचित गरिएका प्याजका जातहरू र तिनीहरूको चारित्रिक विवरण यस प्रकार छः

- नासिक–५३ (NͲ53):
 यसको गाना थेप्चो र गोलाकार रातो रंगको मध्यम हुन्छ । बोटको उचाइ पहाडमा ५२ से.मि. र तराईमा ४०–५० से.मि. हुन्छ । उत्पादनको हिसाबले तराईमा २०००० किलोग्राम प्रति ३० कठ्ठामा उत्पादन हुन्छ भने पहाडमा १६००० किलोग्राम÷३० कठ्ठामा उत्पादज हुन्छ ।

यो बेर्ना सारेको २ महिनामा फूल फुल्न सुरु गर्छ । यो जात तराई र मध्य पहाडको
लागि सिफारिस गरिएको छ । यो जात २०६७ सालमा पञ्जीकृत गरिएको हो ।

- रेड क्रियोल  (Red Creole):
यसको गाना थेप्चो र गाढा रातो रंगको हुन्छ । बेर्ना सारेको १६०– १८० दिनमा गानाको उत्पादन लिन सकिने हुन्छ । गानाको तौल १७५ ग्रामसम्म हुन्छ । यो जात २०४६ सालमा उन्मोचित (Release) गरिएको हो ।

- सुपरेक्स (Release)
यो प्याजको वर्णशंकर जात हो । बोटको उचाइ मध्यम खालको हुन्छ र यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको छ । यसलाई २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

- ह टी.आई. १७२ (TIͲ172):
 यो पनि प्याजको वर्णशंकर जात हो । यो बोटको उचाइ मध्यम खालको हुन्छ र तराई र मध्य पहाडका लागि सिफारिस गरिएको छ । यो जात २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

- कास  (Cass):
 यो प्याजको वर्णशंकर (Hybrid) h) जात हो । बोटको उचाइ ५७ से.मि. हुन्छ र  बेर्ना सारेको २५० दिनमा बाली तयार हुन्छ । यो जात ६०,००० किलोग्राम प्रति ३० कठ्ठा (२० रोपनी) मा उत्पादन हुन्छ । यो पनि तराई र मध्य पहाडका लागि सिफारिस गरिएको छ र २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

 - भेनस (Venus):
 यो प्याजको वर्णशंकर जात हो । बोटको उचाइ ९० से.मि. हुन्छ । यसको बेर्ना सारेको ३०० दिनमा बाली लिन सकिन्छ र ४५००० किलो ग्राम प्रति ३० कठ्ठामा गानाको उत्पादन हुन्छ । यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको छ र २०६६ सालमा पञ्जीकृत गरिएको हो ।

- विन्टर सिल्भर  (Winter silver):
 यो पनि वर्णशंकर जात नै हो । बोटको उचाइ ९५ से.मि. हुन्छ र बेर्ना सारेको ३०० दिनमा बाली लिन सकिन्छ । उत्पादन ४५००० किलोग्राम प्रति ३० कठ्ठामा (२० रोपनी) हुन्छ । यो जात तराई र मध्य पहाडका लागि सिफारिस गरिएको छ र २०६६ सालमा पञ्जीकृत गरिएको हो । अन्य जातहरूमा एग्री फाउन्ड लाइट रेड,कल्याणपुर रेड राउन्ड, डिसार–२ सेतो, पुषा ह्वाइट राउन्ड सेतो, एस–४८ (सेतो), पन्जाब सेलेक्सन (रातो), पुषा रत्नार (रातो), एग्री फाउन्ड डार्करेड (रातो) आदि छन् ।

प्याज खेती गर्ने तरिकाः
साधारणतया प्याजको तीन प्रकारले खेती गरिन्छ ।

(१) सोझै पातलो बीउ छरेर,

(२) बेर्ना उमार्ने तथा उचित दूरीमा बेर्ना सारेर तथा

(३) पहिले प्याजका साना दाना सेट तयार पार्ने तथा उक्त सेटबाट प्याजको खेती गर्ने । नेपालमा प्याजका बेर्ना सारेर तथा केही मात्रामा सेटबाट पनि खेती गर्ने चलन छ ।

बाली लगाउने समयः
 नेपालमा उच्च पहाड देखि तराईसम्म प्याजको मौसमी तथा बेमौसमी खेती गर्न सकिन्छ । साधारणतया उच्च पहाडी क्षेत्रमा फागुन–चैत महिनामा बीउ छर्ने तथा वैशाख–जेठ महिनामा बेर्ना सारी वर्षमा एकपटक मात्र खेती गरिन्छ ।

उक्त क्षेत्रमा भदौ महिनामा बाली तयार हुन्छ । त्यस्तै मध्य पहाडी क्षेत्र, बेंसी तथा तराई क्षेत्रमा असोज, कात्तिक, महिनामा बीउ छर्ने तथा मंसिर–पुस महिनामा बेर्ना सारी खेती शुरु गरिन्छ तथा जेठ महिनामा बाली तयार पारिन्छ ।

यसबाहेक मध्य पहाडी इलाकामा बेमौसमी प्याज खेती गर्न असोजको दोस्रो सातामा बीउ छरी मंसिरको अन्त्यसम्ममा वा कात्तिक–मंसिर महिनामा केही बाक्लो गरी बीउ छरी वैशाख–जेठ महिनामा सेट (प्याजका स– साना दाना करिब २ से.मिटर व्यास भएको) उत्पादन गरिन्छ तथा उक्त सेटलाई पुनः असार महिनाको अन्त्यतिर वा साउन महिनाको पहिलो सातामा रोपी असोज–कात्तिक महिनामा बेमौसमी प्याज उत्पादन गर्न सकिन्छ ।

२ से.मिटर व्यासभन्दा ठूलो सेट रोपेमा गानो फाट्ने, फुल्ने र सानो सेट रोपिएमा डल्ला नबन्ने बने पनि सानो हुने गरेको पाइएको छ । सागका लागि सेट रोपिएको हो भने रोपेको २५–३५ दिन भित्र साग खानका लागि तयार हुन्छ । सागका लागि रोपिने सेट भने ठूलो भएमा राम्रो हुन्छ । यसरी सेटबाट प्याजको खेती गर्न नासिक रेड, नासिक रेड–५३, एग्री फाउन्ड डार्क रेड आदि जातहरू राम्रो हुन्छ ।

यसरी नै प्याजको सेट नरोपी सोझै बेर्नाबाट बेमौसमी प्याज खेती गर्न एग्री फाउन्ड डार्क रेड जातको प्याजको बीउ मध्य पहाडमा जेठ महिनामा छरी असार महिनामा बेर्ना सार्न सकिन्छ तथा तराईमा असार महिनामा बीउ छरी साउन महिनामा बेर्ना सार्न सकिन्छ । यसरी ५, ६ महिना (मंसिर–पुस) भित्र बेमौसमी प्याजका गाना उत्पादन गर्न सकिन्छ ।

जग्गाको तयारीः
 प्याज रोप्नुभन्दा अघि जग्गालाई राम्ररी खनजोत गरी माटो बुरबुराउँदो बनाउनुपर्दछ । जग्गा तयार गर्दा वर्षामा पानी नजम्ने बनाउनुपर्छ । त्यसका लागि ड्याङ अग्लो बनाई पानीको निकास राम्रो बनाउनुपर्छ तर हिउँदमा मौसमी खेती गर्ने हो भने सिंचाइ गर्न सजिलो हुने किसिमले गहिरो ड्याङ बनाउनुपर्छ । ड्याङ बनाउँदा १ मिटर चौडाइ तथा आवश्यकतानुसारको (साधारणतया ३ मिटर) लम्बाइ भएको हुनुपर्छ ।

दुई ड्याङको बीचमा करिब ८ इन्च जतिको माटोको अन्तिम तयारी गर्दा सिफारिस गरेबमोजिमको मलखाद माटोमा राम्ररी मिसाउनुपर्छ । यसप्रकार प्राङ्गारिक तथा रासायनिक मलखादहरू (युरिया तथा हर्मोन बाहेक) जमिन तयार गर्ने समयमा प्रति रोपनीका दरले हाल्नुपर्दछ ।

  • प्राङ्गारिक र गोबर मल: करिब २ टन
  • पिना : २० के.जी.
  • डी.ए.पी. : १५ के.जी.
  • युरिया : १० के.जी. (टप ड्रेसिङका लागि)
  • म्यूरेट अफ पोटास : १० के.जी.
  • जिंक सल्फेट : १ के.जी.
  • बोरेक्स : १ के.जी.
  • बायोजाम :  १ के.जी.
  • हर्मोन प्राविधिकको सल्लाहबमोजिम

बेर्नाको उत्पादनः
- प्याजको बीउ छरी बेर्ना तयार पारिन्छ तथा बेर्नाबाट आवश्यकतानुसार गाना वा सेट तयार पारिन्छ । पातको हरियो साग खानका लागि गानो पनि रोपिन्छ ।

- गुणस्तरीय उच्च उमार शक्ति भएको बीउ छान्नुपर्दछ । प्याजको जात हेरी, बोट देखि बोटको दूरी १० से.मिटर तथा हार देखि हारको दूरी १५ से. मिटर भएमा एक रोपनी क्षेत्रफलमा करिब २५००० देखि ३०००० प्याजको बिरुवा आवश्यक पर्दछ (बीचमा ड्याङको डिल हिँड्ने बाटो कटाई) ।

- एक रोपनी क्षेत्रफल ढाक्नका लागि करिब १० वर्ग मिटर क्षेत्रफलको ब्याडको आवश्यकता पर्दछ । प्याजको नर्सरी पारिलो ठाउँमा राख्नुपर्दछ ।

484368485onion-agriculture-onion-field-onion-farming-in-indian.jpeg

बेर्ना सार्नेः
स्थल, मौसम, मलजल, स्याहार–सम्भार आदिले फरक पार्ने भए तापनि साधारणलया प्याजको बीउ छरेको करिब १ महिनामा गर्मी महिनामा तथा २ महिनामा जाडो महिनामा बेर्ना सार्न लायक हुन्छ ।

दह्रा, मोटा तथा स्वस्थ बिरुवा मात्र छनोट गरी रोप्नुपर्छ । प्याजका बेर्ना उखेल्नुभन्दा १, २ दिनअघि नै क्रिनोक्सिल गोल्ड नामक ढुसीनाशक विषादी २ एम.एल. प्रतिलिटर पानीका दरले मिसाई ब्याडमा माटोसमेत भिज्ने गरी छर्नुपर्छ ।

रोप्नका लागि छानिएका बेर्नाको जरालाई रोप्नुभन्दा पहिले एच. बी. १०१ दुई थोपा वा एटोनिक दुई थोपा प्रतिलिटर पानीमा आधा घन्टासम्म उपचार गरेपछि मात्र रोप्नुपर्छ । बेर्ना सधैं बेलुकीपख मात्र रोप्नुपर्छ ।

रोप्नुभन्दा अघि बेर्नामा रोगी, पहेंला एवं बूढा पातहरू भए हटाउनुपर्दछ । बेर्ना रोपेपछि नसरुन्जेलसम्म माटोको चिस्यान हेरी अवश्यकतानुसार दिनको दुईपटक ५ दिनसम्म पानी हाल्नुपर्छ ।

मलखाद तथा बिषादीको प्रयोगः
जग्गाको तयारी गर्दाको समयमा हालिएको मलखादबाहेक बिरुवा राम्ररी सरेपछि पहिलो पटक ३० देखि ४० दिनभित्र मल्टिप्लेक्स वा जिङ्कोप्लेक्स वा एग्रोमिन २ एम. एल. प्रतिलिटर पानीमा मिसाई १५, १५ दिनको फरकमा ४ पटक छर्नुपर्छ ।

प्याजको सेट रोपेको ३० देखि ४० दिन देखि डल्ला बन्न शुरु हुनेबित्तिकै नयाँ पात उत्पादन हुन छाड्छ । उक्त समयमा एकपटक पुनः ३ के.जी. युरिया प्रति रोपनीका दरले उपलब्ध गराउँदा डल्लाको साइज बढ्छ ।

प्याजमा विशेष गरी जिंक र तामाको कमी हुने हुनाले माटोमा प्रत्येक २ देखि ३ वर्षमा करिब ०.५ (आधा किलो) किलोग्राम जस्ता (जिंक) तथा करिब १ किलोग्राम तामा (कपर) प्रति रोपनीका दरले माटोमा हाल्न सिफारिस गरिएको छ । त्यसैगरी प्याजलाई केही बढी सल्फर (गन्धक) पनि आवश्यक पर्दछ ।

बिरुवालाई रोग तथा कीराबाट बचाउन तथा राम्ररी हुर्काउन वेभिस्टिन २ ग्राम र रोगर १ एम. एल. प्रतिलिटर पानीका दरले बेर्ना तथा माटोसमेत राम्ररी भिज्ने गरी छर्नुपर्छ ।

अन्य मलखाद तथा रसायनको प्रयोगः
प्याजमा विभिन्न प्रकारका रसायनहरूको  (Growth regulators) विभिन्न अवस्थामा प्रयोग गरेमा बोट छिटै बढ्ने, स्वस्थ हुने र बाली पनि छिटै तयार भएर उत्पादन समेत बढ्छ तर यस्ता रसायनहरूको प्रयोग गर्दा भने दक्ष प्राविधिकहरूको सहयोग लिनुपर्छ ।

प्याजको सेट रोपेर २–३ पात आएपछि साप्रुड १ ग्राम प्रतिलिटर पानीका दरले र भेजिमेक्स १ एम. एल. प्रतिलिटर पानीका दरले मिसाई छर्ने । यसरी नै एटोनिक १ एम.एल. प्रति ५ लिटर पानीका दरले र पेन्सिबावो तृतीय पुस्ता १० थोपा प्रतिलिटर पानीका दरले १० दिनको फरकमा ३ पटक प्याजमा छर्दा उत्पादन निकै राम्रो हुन्छ ।

टप ड्रेसिङः
- ५ किलो युरिया बेर्ना रोपेको २० देखि २५ दिनमा र बाँकी ५ किलो युरिया बेर्ना रोपेको ४० देखि ४५ दिनभित्र लाइनमा छरी टप ड्रेसिङ गर्नुपर्छ ।

- टप ड्रेसिङ गर्दा दुई हारको बीचमा ५ से.मि. गहिरो कुलेसो बनाई युरिया राखी
माटोले पुरी सिंचाइ दिनुपर्छ । टप ड्रेसिङ गर्दा पनि झारपात उखेल्नुपर्छ ।

- त्यस्तै १ भाग जीवातु झोल मलमा ३ भाग पानी मिसाई साताको दुई पटक ३, ४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा धेरै राम्रो हुन्छ ।

गोडमेल, सिंचाइ तथा पानीको निकासः
- अन्य बालीलाई झैं प्याजलाई पनि झारपातले दुःख दिइरहने हुनाले आवश्यकतानुसार समय–समयमा झारपात नियन्त्रण गरिरहनुपर्दछ ।

- साधारणतया ३ देखि ४ पटक झारपात उखेल्नुपर्छ । झारनाशक विषादी वसालिनको पनि प्याजमा प्रयोग गर्न सिफारिस गरेको पाइन्छ ।

- प्याज रोपे देखि आधा जीवन चक्रसम्म प्रशस्त चिस्यानको आवश्यकता पर्दछ ।

- त्यसपछि पानीको मात्रा कम गर्दै लैजानुपर्दछ र अन्त्यमा (थन्क्याउने बेला) सुख्खा राख्नुपर्दछ ।

- प्याजलाई शुरुको २, ३ महिना प्रशस्त मात्रामा चिस्यानको आवश्यकता पर्दछ जसका लागि उचित सिंचाइको व्यवस्था मिलाउनुपर्दछ ।

- यदि बेमौसमी प्याज खेती गरिएको हो भने असार महिनामा खेती शुरु गरिने हुनाले सिंचाइको साटो पानीको राम्रो निकासको व्यवस्था मिलाउनुपर्दछ ।

- पानीको आवश्यकता क्रमशः घट्दै जाने हुनाले पानी कम गरी अन्तिममा सुख्खा पार्नुपर्छ । माटोको अवस्था हेरी ६, ७ पटकसम्म सिंचाइ गर्नुपर्छ ।

- प्याजको जरा माथिल्लो सतहमा फिंजिने (करिब ३० से.मिटर देखि ४६ से.मिटरसम्म) हुँदा गहिरो गोडमेल गरेमा यसको जरा नष्ट हुन गई बालीमा असर पार्ने हुनाले जरा नखल्बलिने गरी गोडमेल गर्नुपर्छ ।

148127011_3708504472601481_1210089098083252164_n.jpg

बाली तयारीः
- प्याजको बाली पाक्ने समय स्थानीय हावापानी, रोपेको स्थान, समय, जात आदिले फरक पार्दछ ।

- एग्री फाउन्ड डार्क रेड जातको प्याज रोपेको १३० देखि १५० दिनमा दोस्रो गानोका रूपमा बाली तयार हुन्छ ।

- हरियो प्याजका रूपमा ११० देखि १२० दिनमा तयार हुन्छ । प्याजको सेट रोपेको ६० देखि ७० दिनभित्र गानु उखेल्न सकिन्छ । हरियो प्याजका लागि बाली कटानी गर्दा पात हरियो र कमलो हुँदा नै उखेल्नुपर्छ ।

- गानोका लागि बाली तयार गर्न गानो बनेपछि पात पहेंलिनुपर्छ । चाँडै गानो तयार गर्न पात पहेंलिन थालेपछि खुट्टाले फेद भाँचेर बोटलाई सुताइदिनुपर्दछ ।

- पहेंलिएको प्याज भने आफै हल्का हिसाबलेढल्छ । गानो प्याज तयार गर्दा काठ नपसेको, डुकु नआएको हुनुपर्छ ।

- प्राकृतिक रूपमा पाकेर पात सुकेको अवस्था नआएसम्म गानो उखेल्नु हुँदैन ।
नपाकी खनेको प्याजको गानो धेरै भण्डारण गर्न सकिंदैन ।

प्याजमा लाग्ने मुख्य कीराहरूः
 अन्य बालीहरूमा झैं प्याजमा पनि धेरै किसिमका रोग तथा कीराहरूले आक्रमण गर्छन् । प्याजमा लाग्ने मुख्य–मुख्य रोग तथा कीराहरूको विस्तृत विवरण यसकार छ :

-थ्रिप्सः
 थ्रिप्स प्याजको प्रमुख दुःख दिने कीरा हो । यो धेरै सानो तथा पंहेंलो रंगको हुन्छ । थ्रिप्सको वयस्क तथा लाभ्रे दुवैले प्याजको पातमा आक्रमण गर्दछन् । यसले आक्रमण गरेमा पातमा सेता तथा हल्का पहेंला धब्बाहरू देखिन्छन् तथा पात केही खुम्चने टुप्पा खैरो हुने तथा मर्ने हुन्छन् । यसबाहेक प्याजमा उफ्रने खपटे, लाही, सुलसुले आदिले पनि दुःख दिन्छन् ।

प्याजका सम्पूर्ण कीरा तथा सुलसुले नियन्त्रण गर्न मालाथियन, रोगर, थायोडान, नुभान आदि कुनै पनि एक कीटनाषक विषादी २ एम.एल. प्रतिलिटर पानीका दरले ७, ७ दिनको फरकमा २, ३ पटक छरेमा सजिलैसँग नियन्त्रण गर्न सकिन्छ ।

यसैगरी प्राङ्गारिक तवरबाट कीरा नियन्त्रण गर्न शुरु देखि नै निरन्तर रूपमा १ भाग जीवातु झोल मलमा ३ भाग पानी मिसाई साताको दुई पटक ३, ४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा पनि कीराको आक्रमण कम गर्न सकिन्छ ।

प्याजमा लाग्ने रोगहरूः
वैजनी धब्बा, कालो पोके, डाउनी मिल्डु, डढुवा आदि प्याजमा लाग्ने मुख्य रोगहरू हुन् भने एन्थ्रकनोज, वैजनी जरा, फेद कुहिने आदि रोगहरूले पनि प्याजमा आक्रमण गर्दछन् ।

- वैजनी धब्बा (Purple blotch):
 यो रोग अल्टरनेरिया ढुसीबाट हुन्छ । यो रोग २८० –३००  तापक्रम र उच्च आद्रता (७० –९० ५) भएमा यो रोग लाग्छ । पातमा सेता दाग केन्द्रमा वैजनी रंगको हुन्छ । पछि दागहरू मर्छन् । प्याजको गानु पानीले भिजेझैं भई कुहिन सक्छ । यसलाई नियन्त्रण गर्न ०.२५ प्रतिशत डायथिन एम–४५ छर्न सकिन्छ ।

- कालो पोकेः
 प्याजको दोस्रो प्रमुख रोग कालो पोकेले आक्रमण गरेमा बिरुवा उम्रनेबित्तिकै पात लाम्चो कालो तथा अलि मोटो देखिन्छ । पुराना बिरुवाको पातको फेदमा धेरै काला फोकाहरू देखिन्छन् तथा यी फोकाहरूबाट कालो धूलो निस्कन्छ ।

- आधार प्लेट सडन (Basal rot):
 यो रोग फ्युजारियम ढुसीबाट हुन्छ । यसमा आधार प्लेट र जराहरू सड्छन् । यो रोगले बोट ओइलाउने, पात टुप्पाबाट मर्दै आउने र जरा रातो हुने हुन्छ । यो रोग नियन्त्रण गर्न वेनलेट वा वोभिस्टिन ०.२५ % को घोल छंर्दा उपयुक्त हुन्छ ।

- डाउनी मिल्डयु (Downy mildeu):
 यो रोग पेरोनोस्पोरा जातको ढुसीबाट हुन्छ । यो रोग उच्च आद्रतामा हुन्छ । यो रोगमा पात र फूलको डँठमा वैजनी रंगको ढुसी विकास हुन्छ र पछि हरियो, पहेंलो रंगमा परिवर्तन हुन्छ र अन्त्यमा पात र डाँठ निस्तेज हुँदै भाँचिन्छ । यसको नियन्त्रणमा गरम बनाउने र ०.२ प्रतिशत जिनेव छर्किदिने ।

- ब्याक्टेरियल नरम सडन (Bacterial soft rot):
 यो रोग भण्डारणमा गानाको माथिल्लो भाग  (neck) सड्ने हुन्छ र दुर्गन्धित हुन्छ । यो रोग आद्रता बढी भएमा हुन्छ । यो रोग भण्डारण गर्नुअघि राम्रोसँग सुकाइएन भने र घाउ–चोट लागेको गाना निकालिएन भने यो रोग लाग्छ । अन्य रोगहरूमा पहेंलो पुड्के रोग, विषाणु, प्याजको स्मट ढुसी आदि हुन् ।

प्याजका रोगहरूबाट सजिलैसँग छुटकारा पाउन निम्न कार्य गर्न सिफारिस गरिन्छ।

  • अन्नबालीसँग घुम्तीबाली लगाउने ।
  • रोगमुक्त स्वस्थ बीउ रोप्ने ।
  • खेतबारी सफा राख्ने ।
  • थिराम वा क्याप्टान ३ ग्राम प्रतिकिलो बीउका दरले प्याजको बीउ छर्नुभन्दा पहिले उपचार गर्ने ।
  • नर्सरीमा १ लिटर फर्मल्डिहाइड (४०५) ६० लिटर पानीमा हाली १ लिटर प्रतिवर्गमिटर माटो भिज्ने गरी माटोको उपचार गर्ने ।
  • डाइथेन ४५, क्याप्टान, बेभिस्टिन वा क्रिनोक्सिल गोल्ड २ एम.एल. प्रतिलिटर पानीका दरले मिसाई ७ देखि १० दिनको फरकमा ३ पटक छर्ने । त्यसैगरी १ भाग जीवातु झोल मलमा ३ भाग पानी मिसाई साताको दुई पटक ३, ४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा पनि विभिन्न रोगको आक्रमण कम गर्न सकिन्छ ।

 बाली थन्क्याउनेः
 हरियो तरकारीका लागि खेति गरिएको प्याज कलिलो अवस्थामा नै हातले उखेलिन्छ । हरियो प्याज बेर्ना रोपेको ३–५ महिनामा तयार हुन्छ । गाना तयार भएको संकेत डाँठहरू भाँचिएर भुइँमा हुन्छन् र पातहरू पहेंला हुन्छन् ।

त्यसपछि गाना निकालेपछि ३ दिन छायामा सुकाउनुपर्दछ । प्याज थन्क्याउने बेलामा मौसम न्यानो र सुख्खा हुनुपर्दछ । प्याजलाई भण्डारण गर्दा नसडोस् र नउम्रियोस् भनेर केही कुरामा विशेष ध्यान पु¥याउनुपर्छ । सबैभन्दा पहिले प्याज खन्ने समय ठीक हुनुपर्दछ । सबै प्याज एकैपटक परिपक्व पनि हुँदैनन् ।

छिटो थन्क्याउने काम पनि गर्नु हुँदैन र धेरै ढिलो पनि गर्नु हुँदैन । ढिलो बाली थन्क्याउँदा जराको विकास हुने, श्वासप्रश्वास (सञ्चित खाना उपभोग गर्ने), रोग लाग्ने र टुसा आउने हुन्छ भने छिटो बाली टिप्दा तन्तुहरू राम्रो विकास नभैसकेको हुनाले र कलिलो हुनाले (पानीको मात्रा बढी) राम्रोसँग भण्डारण गर्न सकिंदैन ।

प्याज भण्डारणमा उष्ण प्रदेश र उपोष्ण प्रदेशमा धेरै समस्या हुन्छ र कोठाको तापक्रममा भण्डारण गर्न सकिंदैन । यी क्षेत्रहरूमा गर्मी महिनामा प्याज थन्क्याउने काम हुन्छ । जसले गर्दा गानाहरू छिटो उम्रिने, ढुसी र जीवाणुले आक्रमण गर्ने हुन्छ ।

त्यसैले यी क्षेत्रहरूमा प्याज भण्डारण गर्न विशेष व्यवस्था मिलाउनुपर्ने हुन्छ । खासगरी धेरै प्याज छ भने तापक्रम र आद्रता नियन्त्रण गर्न सकिने शीत भण्डारमा भण्डार गर्नुपर्ने हुन्छ भने किसान स्तरमा खरको छाना भएको हावाको राम्रो संचालन हुने र पाटको बोराले छेकिएको घरमा भण्डारण गरिन्छ ।

प्याजको उत्पादनः
हाम्रो देशमा प्याजको गानो हातैले उखेलिन्छ । विकसित देशमा यो प्रक्रियालाई यान्त्रिकीकरण गरिएको छ । प्याजको जात हेरी उन्नत तरिकाबाट खेती गरिएमा १५००–२००० किलोग्रामसम्म प्रति रोपनी उत्पादन दिन्छ । तराईमा भन्दा मध्य पहाडमा प्याजले राम्रो उत्पादन दिएको तथ्याङ्कले देखाएको छ । 

प्याज सुकाउने (Curing) तथा भण्डारणः
 प्याज खन्नेबित्तिकै केही दिनसम्म हावादार, छाँयादार तथा सुख्खा स्थानमा सुकाइन्छ जसलाई क्यूरिङ भनिन्छ । साधारणतया ३ देखि ४ साता भित्रमा प्याज राम्ररी क्यूरिङ भइसक्छ । प्याजमा भएको अत्याधिक चिस्यान घटेर खँदिलो, सानो तथा बाहिरको बोक्रा सुख्खा तथा पातलो भई प्याजको क्यूरिङ पूरा हुन्छ ।

प्याज बाली भित्र्याएपछि ग्राहक वा उपभोक्तासमक्ष नपु¥याउन्जेल छनोट तथा भण्डारण गरिन्छ । लामो समयसम्म भण्डारण गरिने प्याजको छनोट गर्दा घाँटी सानो भएको, चोटपटक नलागेको, निरोगी तथा एकनासे दाना (सा¥है साना तथा धेरै ठूला दानाबाहेक) छनोट गर्नुपर्छ ।

भण्डारण गर्न यसलाई शुन्य डि.से. को तापक्रम तथा ६० देखि ७५ प्रतिशत आद्रतामा उपयुक्त हुन्छ । गाना तयार हुने समयमा प्याजको बोटमा मेलिक हाईड्राजाईड (Maleic hydrazide 30)  नामक रसायन २५०० पी.पी.एम. (2500 ppm)  (१ लिटर पानीमा ०.२५ एम.एल) का दरले वा २.२ देखि ३.४ के.जी. प्रतिहेक्टर (२० रोपनी) का दरले पानीमा मिसाई बोटमै छरेमा भण्डारण गर्दा प्याज उम्रन रोकिन्छ ।

साधारण अवस्थामा प्याजलाई खुला हावा लाग्ने, सुख्खा स्थल, बाँसको वा अन्य ¥याकमा भण्डारण गरेमा सुरक्षित साथ राख्न सकिन्छ । शुरुमै शीत भण्डारमा राखेको प्याज चाँडै टुसाउने हुनाले राम्रोसँग छायामा सुकाएपछि मात्र शीत भण्डारण गर्नुपर्दछ ।

स्रोतः कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा (कृषि तथा सहकारी मन्त्रालय)

थप समाचार