बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

स्विसचार्ड (सुसाग) खेती कसरी गर्ने ?

बिहीबार , जेठ ३१ २०८१
9 views
स्विसचार्ड (सुसाग) खेती कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय र महत्वः
 सुसाग रायोजस्तै पात टिपेर हल्का पकाएर खाने साग बाली हो । यो सागमा फलाम, क्याल्सियम, भिटामिन ए, सी, र प्रोटिन बढी हुने भएकाले यसको विशेष महत्व छ । यसले ठन्डी र गर्मी सहन सक्ने र बाली अवधि लामो भएकाले उत्पादन दिइरहन सकिने हुनाले यसको खेती विस्तार हुँदै आएको छ ।

हावापानी र माटो
सुसाग जाडो र गर्मी दुवै मौसमको बाली हो । यसको बोटको वृद्धि विकास र बाली उत्पादनका लागि १५ डि.से. देखि ३५ डि.से. तापक्रमसम्म उपयुक्त हुन्छ । धेरै किसिमको माटोमा यसको खेती गर्न  सकिन्छ । प्राङ्गारिक वस्तु प्रशस्त भएको दोमट माटो यसको खेती गर्न उपयुक्त हुन्छ । माटोको पी.एच. मान ५.५ देखि ६.५ सम्म उपयुक्त हुन्छ ।

जातहरूः
 एउटा मात्र जात सुसाग अंग्रेजीमा फोर्डहुक जैन्ट  (Ford hook Giant) जातको छनोट प्रक्रियाबाट विकास गरिएको हो जुन २०५१ सालमा उन्मोचित भएको हो ।यसका पात गाढा हरिया र खुम्चिएका हुन्छन् । पातको डाँठ फराकिलो हुन्छ । यो जात तराई, मध्यपहाड र उच्च पहाडमा खेती गर्न सिफारिस गरिएको छ ।

बेर्ना सारेको ६०–७० दिनमा पहिला पात टिप्न सकिन्छ । विदेशमा विभिन्न रंगका डाँठ भएका (राता, पहेंला, वैजनी) सुसाग पाइन्छ भने हाम्रो देशमा हालसम्म केवल केही सेतो र हरियो पात भएको सुसाग मात्र पाइन्छ ।

बाली लगाउने र लिने समयः
- नेपालमा सुसाग एउटा मात्र जातको खेती गरिन्छ । यसको विभिन्न हावापानीका क्षेत्रमा बाली लगाउने र बाली लिने समय तल दिइएको छ ।

1.PNG


जमिनको तयारी र मलखादः
- दुई तीन–पटक खनजोत गरी डल्ला फोर्ने, जिल्याउने र जग्गा सम्याउने गर्नुपर्दछ ।

- एक रोपनी जमिनका लागि ८०० के.जी. (४० डोका) गोबर मल ८ के.जी. युरिया, ४ के.जी. डी.ए.पी. र ५ के.जी. पोटास चाहिन्छ ।

- पूरै गोबर मल आधा भाग नाइट्रोजन र फस्फोरस र पोटास पूरै भाग जमिनको तयारी गर्ने अवस्थामा माटोमा मिलाइन्छ ।

- बाँकी आधा भाग नाइट्रोजनलाई ३ बराबर भागमा बाँड्ने र एक भाग बेर्ना सारेको २५–३० दिनमा दोस्रो भाग ५०–६० दिनमा र तेस्रो भाग ८०–९० दिनमा थप मलका रूपमा दिनुपर्छ ।

1520042574554.jpg

बीउदर बेर्ना सार्ने र रोप्नेः
- एक सय ग्राम बीउको बेर्नाले एक रोपनी जमिनमा सार्न पुग्छ । एक महिनाका बेर्ना सार्न लायक हुन्छन् ।

- बेर्ना सार्नुभन्दा एक दिनअगाडि ब्याड राम्ररी भिजाउनुपर्दछ र बेर्ना साँझपख सार्नुपर्दछ । बेर्ना सारेपछि तुरुन्त पानी दिनुपर्दछ ।

- हार–हारको बीचमा ४५ से.मि. र बोट–बोटको बीचमा ३० से.मि. को फरकमा बेर्ना सार्नुपर्दछ ।

सिंचाइ तथा गोडमेलः
- बेर्ना सारेको ५–७ दिनसम्म दिनको एकपटक सिंचाइ गर्नुपर्छ । उच्च पहाडमा तथा मध्यपहाडमा वर्षामा सिंचाइको आवश्यकता पर्दैन ।

- वर्षाको पानीको निकासका लागि कुलेसो बनाउनुपर्दछ । अरू समयमा ७–१० दिनको फरकमा सिंचाइ गर्नुपर्दछ । थप मल दिँदा तीन पटक गोडमेल गरिन्छ ।

- आवश्यकताअनुसार अरू थप गोडमेल गर्नुपर्दछ । सतहको माटो खुकुलो पार्ने
र झार हटाउने गर्नुपर्दछ ।

1520213144361.jpg

रोग र कीराः
सुसागलाई धेरै आक्रमण गर्ने रोग र कीरा छैनन् । फाट्टफुट्ट रोग–कीरा लाग्दैमा विषादी छर्न पर्दैन । कुनै पनि साग बालीमा सकभर विषादी नछर्नु राम्रो हुन्छ । कीरा भगाउन गाई–भैंसीको गहुँत, झोल मल वा निमको झोल छर्न सकिन्छ ।

बाली लिने तथा उत्पादनः
 बेर्ना सारेको ४०–५० दिनमा पहिला पात टिप्न लायक हुन्छ । बोट पानी वा शीतले भिजेको बेला पात टिप्न हुँदैन । पूरा बढेका कलिला पात होसियारी पूर्वक टिप्नुपर्दछ । बिहान शीत ओबाएपछि वा साँझपख बोट ठन्डा भएपछि पात टिप्नुपर्दछ । एक रोपनीबाट सरदर २ मे. टन हरिया पात उत्पादन हुन्छन् ।

बाली टिपेपछिका कर्महरू
- पात टिप्दै डालो वा टोकरीमा राख्दै जानुपर्दछ ।

- टिपेका पातलाई घाममा राख्नु हुँदैन ।

- टिपेका पात छायामा लगेर राख्ने र रोग, चोट, घाउ लागेका र बूढा पात हटाउनुपर्दछ ।

- डोरी वा धानको परालले बाँधेर मुठा बनाउनुपर्दछ ।

- मुठाहरू राम्ररी डोका वा बोरामा राखेर स्थानीय बजारमा लगिन्छ ।

- साँझपख टिपेको भोलिपल्ट र बिहान टिपेको त्यही दिन प्रयोग गर्नुपर्दछ । 

स्रोतः कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा (कृषि तथा सहकारी मन्त्रालय)

थप समाचार