बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

रायो सागको खेती गर्ने सरल तरीका

बिहीबार , जेठ ३१ २०८१
77 views
रायो सागको खेती गर्ने सरल तरीका

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय र महत्वः
रायो नेपालको सबभन्दा बढी प्रचलित र लोकप्रिय हरियो सागबाली हो । यसका बढेका, हरिया, कलिला पात हल्का पकाएर खाइन्छ । यसका खान लायक पात मसिनो गरी काटेर सुकाएर वा गुन्द्रुक बनाएर बेमौसममा पनि खाने चलन छ।

यसको सागमा क्याल्सियम, फलाम, फस्फोरस, प्रोटिन, रेसा वस्तु र भिटामिन ए, बी, सी र ई प्रशस्त मात्रामा पाइन्छन् । हरिया सागपातहरूमा रायो नेपालमा प्रथम स्थानमा आउँछ । रायोको उद्गमस्थल मध्य र पूर्वी एसियाका उप–उष्ण क्षेत्रहरू हुन् ।

नेपालका ७५ जिल्ला तराई देखि उच्च पहाडसम्म यसको खेती गरिन्छ । सागबालीहरूमध्ये रायोले शीर्षस्थान ओगट्छ ।

हावापानी र माटोः
- रायो खेती छोटा दिन, ठन्डी तापक्रम र ओसिलो वायुको अवस्थामा राम्रो सप्रन्छ।

- लामा दिन, उच्च तापक्रम र सुख्खा मौसमको अवस्थामा यसले राम्रो बाली दिँदैन। त्यसैले तराई र मध्य पहाडमा यो हिउँदे बाली हो ।

- उच्च पहाडमा जहाँ तुषारो र हिउँ पर्छ त्यस्तो इलाकामा रायो ग्रीष्म याममा खेती गर्नुपर्छ । धेरै किसिमको माटोमा यसको खेती गर्न सकिन्छ ।

- प्राङ्गारिक पदार्थ प्रशस्त भएको दोमट माटोमा यसको खेती राम्रो हुन्छ ।

जातहरूः
नेपालमा खेती गर्न सिफारिस गरिएका रायोका जातहरूको छोटो विवरण यहाँ प्रस्तुत गरिएको छ ।

- खुमल चौडापात (Khumal Broad Leaf Mustard)
यो जात २०४६ सालमा तराई, मध्यपहाड र उच्च पहाडमा खेती गर्नका लागि उन्मोचित भएको जात हो । यो अरू जातको तुलनामा धेरै प्रचलित छ । यसका पात ठूला, सतह गुज्जमुज्ज परेका गाढा हरिया र पातको डाँठ कम चौडा गोलो खालका हुन्छन् । यो अगौटे जात हो ।

- मार्फा चौडा पात (Marpha Broad Leaf)
यो २०५१ सालमा उन्मोचित भएको र तराई, मध्य पहाड र उच्च पहाडमा खेती गर्न सिफारिस गरिएको जात हो । यसका पातहरू हल्का हरिया, झुस नभएका, खुम्चिएका, ४०–५० से.मि. लामा र २०–३० से.मि. चौडा हुन्छन् । पातको डाँठ चौडा भएको, ढिलो डुकु आउने पछौटे जात हो । बेर्ना सारेको ५५–६५ दिनमा बाली लिन सकिन्छ । ताजा तरकारी उत्पादन २५–३० मे.टन./हेक्टर हुन्छ ।

- खुमल रातो पात (Khumal Red Leaf)
 यो जात २०५१ सालमा तराई, मध्यपहाड र उच्च पहाडमा खेती गर्न उन्मोचित भएको हो । यसका पात प्याजी रातो रंग मिश्रित हल्का हरिया, झुस नभएका, खुम्चिएका २५–३० से.मि. लामा र २०–२५ से.मि. चौडा हुन्छन् अनि पात र डाँठ हल्का बाङ्गिएका कप आकारका हुन्छन् । मार्फा र खुमल चौडा पातभन्दा ढिलो डुकु आउने पछौटे जात हो । बेर्ना सारेको ६०–७० दिनमा बाली लिन सकिन्छ । ताजा साग उत्पादन २५–३० मे. टन./हेक्टर हुन्छ ।

396126816Rayo-sag.jpeg

- ताङखुवा रायो (Tankhuwa)
यो जात २०५१ सालमा उन्मोचित भएको हो । यो जात मध्यपहाडमा खेती गर्न सिफारिस भएको छ । पात हल्का हरिया र नसा क्रिम रंगका हुने अगौटे जात हो । यसका पात नरम र किनार अलि खुम्चिएका हुन्छन् । बेर्ना सारेको ३३ दिनमा उत्पादन दिन सकिन्छ ।

- रेड जायन्ट (Red Giant)
 यो जात २०६६ सालमा पञ्जीकृत भएको हो । यो मध्यपहाडमा खेती गर्न सिफारिस गरिएको छ । यसका पात सजिलै बढ्ने, उच्च तापक्रममा छिटो डुकु नहाल्ने, विभिन्न वातावरणमा खेती गर्न सकिने जात हो । यो बोटको उचाइ १५–२० से.मि. हुन्छ । बेर्ना सारेको ३०–४५ दिनमा बाली लिन सकिन्छ ।

- माइक पर्पल जायन्ट (Mike Purple Giant):
यो मध्यपहाडमा खेती गर्न सिफारिस गरिएको जात २०६६ सालमा पञ्जीकृत भएको हो । यसको बोट १५–२० से.मि. अग्लो हुन्छ । यो उच्च तापक्रममा पनि चाँडै फुल्दैन र बेर्ना सारेको ३०–४५ दिनमा बाली लिन सकिन्छ ।

बाली लगाउने समय र लिने समयः
- हावापानीअनुसार रायो लगाउने समय फरक हुन्छ । उच्च पहाडमा फागुन देखि असारसम्म बीउ रोप्ने र बेर्ना सार्ने गर्न सकिन्छ ।

- जेठ देखि असोजसम्म बाली लिन सकिन्छ । मध्यपहाड र तराईमा क्रमशः साउन देखि मंसिरसम्म र असोज देखि मंसिरसम्म बीउ रोप्ने र बेर्ना सार्ने गरिन्छ ।

- मध्यपहाडमा असोज देखि र तराईमा कात्तिक देखि माघसम्म बाली लिइन्छ ।

जमिनको तयारीः
- गहिरो गरी जमिनलाई २–३ पटक जोत्ने, डल्ला फोर्ने र झार जिलाएर सम्याउनुपर्दछ ।

- तराई र मध्यपहाडमा अगौटे बाली लगाउँदा र उच्च पहाडमा पछौटे बाली लगाउँदा वर्षाको पानीको निकासका लागि ड्याङमा बेर्ना सार्ने र दुई ड्याङको बीचमा कुलेसो बनाउनुपर्दछ ।

saag-1.jpg

मलखादः
- एक रोपनी जमिनका लागि १००० के.जी. (४०–५० डोका) राम्ररी कुहिएको गोबर मल, ६ के.जी. युरिया, ४ के.जी. डी.ए.पी. र ३ के.जी. पोटास चाहिन्छ ।

- आधा भाग नाइट्रोजन बाँकी राखेर अरु सबै मल  जमिनको तयारी गर्ने बेलामा राखिन्छ ।

- बाँकी ३ के.जी. युरियालाई ३ बराबर भागमा बाँडेर पहिलो एक भाग बेर्ना सारेको २५–३० दिनमा दोस्रो ४५–५० दिनमा र तेस्रो ७०–८० दिनमा थप मल दिनुपर्दछ ।

बीउ दर तथा रोप्ने दूरीः
एक रोपनी जमिनका लागि ३० ग्राम चाहिन्छ तथा बेर्ना उत्पादन  तरिका काउलीमा जस्तै हुन्छ । हार–हारको फरक ४५ से.मि. र बोट–बोटको फरक ३० से.मि. मा बेर्ना सारिन्छ ।

गोडमेल सिंचाइः
थप मल तीन पटक दिँदा गोडमेल गरिन्छ । आवश्यक परेमा अरु १– २ पटक हल्का गोड्नुपर्छ । वर्षामा सिंचाइको आवश्यकता पर्दैन । राम्रो निकासको व्यवस्था गर्नुपर्दछ । बेर्ना सारेको ७ दिनसम्म हल्का दिनहुँ सिंचाइ गर्ने र त्यसपछि हिउँदमा ५–७ दिनको अन्तरमा हल्का सिंचाइ गर्नुपर्दछ ।

9DBA4518-43FF-4EC8-814C-ACA6E2E22550-1024x768.jpeg

रायोमा लाग्ने मुख्य रोगहरू
- अल्टरनेरिया थोप्ले रोग (Alternaria Leaf Spot Disease)
 शुरुमा स–साना हल्का खैरा थोप्लाहरू पातमा देखिन्छन् । पछि थोप्ला बढेर ठूला गोलाकार बन्दछन् । बीचको भाग चम्किलो रंगको हुन्छ र किनारा भने खस्रो र जीर्ण हुन्छ ।
रोकथाम
- डाइथेन एम –४५ थिराम २–३ ग्राम प्रति के.जी. बीउका दरले बीउको उपचार गर्नुपर्दछ ।

-  ब्लाइटक्स–५० वा डाइथेन एम–४५, २–३ ग्राम प्रतिलिटर पानीमा मिसाएर १०–१५ दिनको फरकमा छर्कनुपर्दछ ।

- सेतो सिन्दुरे रोग  (White Rust Disease)
 शुरुमा पातको तल्लो सतहमा स–साना सेता थोप्लाहरू देखापर्दछन् । पछि साना थोप्ला ठुला हुन्छन् । थोप्लामा सेतो चक रंगका ढुसीको धूलो भरिएको हुन्छ । इथेन एम–४५, २–३ ग्राम प्रतिलिटर पानीमा मिसाएर १२– १५ दिनको फरकमा छर्कनुपर्दछ । 

रायोमा लाग्ने मुख्य कीराहरूः
- रायोमा लाग्ने मुख्य कीरा लाही र झुसिलकीरा हुन् ।

- यिनको नियन्त्रण गर्न गाई–भैंसीको एक भाग पिसाबमा १० भाग पानी मिसाएर छर्कनुपर्दछ ।

- घरायसी झोल मल पनि एक भागमा १० भाग पानी मिसाएर छर्कन सकिन्छ ।

- मार्गोसम निमको झोल ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर छर्कन सकिन्छ ।

- सकभर साग बालीमा विषादी नछर्कनु उपयुक्त हुन्छ ।

बाली लिने तथा उत्पादनः
- बेर्ना सारेको २०–२५ दिनपछि पात टिप्न लायक हुन्छन् । बढेका कलिला पात टिप्दै जानुपर्दछ । रोग लागेका र बूढा पात हटाउनुपर्दछ । \

- पात टिप्दा बोटलाई चोट लाग्न र जरा खलबलिन दिनु हुँदैन । बजारका लागि रायो साझँपख टिपेर मुठा बनाएर राख्ने र बिहानै डोकामा राखेर स्थानीय बजार
लान सकिन्छ ।

- १२००–१५०० के.जी. हरियो पात प्रति रोपनी उत्पादन हुन्छ । 

स्रोतः कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा (कृषि तथा सहकारी मन्त्रालय)

थप समाचार