परिचय
यो एक प्रकारको सिउडी प्रजातिको विरुवा हो । यसलाई पितया (pitahaya-meaning "scaly fruit") को नामले पनि चिनिन्छ । यस्को वैज्ञानिक नाम Hylocereus undatus हो । यस्को लहरा ड्रागनको जिब्रो जस्तो हुने हुँदा यसलाई ड्रागन फल भनिएको हो । यस्को फल यसो हेर्दा प्याजको गानो जस्तो एक दुई पत्र भएको, वोक्रा भित्रको गुदि वास्नादार रातो तथा कुनै कुनै जातको भने सेतो, वैजनी तथा पहेलो गुदि हुन्छ । यसको फल ताजा सेवन गरिनुका साथै यसबाट जूस, वाइन तथा औषधि पनि बनाइन्छ ।
यस्को फलको स्वाद गुलियो तथा अमिलोपनाको मिश्रण भएको हुन्छ । फलको तौल २०० ग्राम देखि १२०० ग्राम सम्मको हुन्छ । यस्को खेति खास गरिकन थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेन्टिना आदिमा गर्ने गरेको पाईन्छ । यस्को फूल रातमा फक्रने भएकोले यसलाई रातकी रानी (Queen of the night or lady of the night or moon flower or noble woman) पनि भनिन्छ । यस्को विरुवा एक पटक लगाए पछि १५–२० वर्ष सम्म उत्पादन दिन सक्दछ ।
मध्य तथा दक्षिण अमेरिकाको आद्रतायुक्त उष्ण प्रदेशिय क्षेत्र यस्को उद्यगम स्थल मानिन्छ । जापानको ओकिनावा प्रिफेक्चरमा सहकारी तालिमको शिलसिलामा अध्ययन भ्रमणमा सहभागि हुदा त्यस क्षेत्रका कृषकहरुले ग्रिनहाउस भित्र र खुला क्षेत्रमा समेत यस्को खेति व्यापक रुपमा गरेको पाईयो । त्यस क्षेत्रमा सन् १९८० को दशकवाट यस्को खेति गरिदै आएको पाईन्छ । त्यहाको किसानको लागि यो राम्रो आम्दानीको श्रोत मानिन्छ । उचाई, तापक्रम, माटो तथा हावापानीको आधारमा हेर्दा नेपालको पुर्वि तथा मध्य तराई क्षेत्रमा यस्को खेति सम्भावना देखिन्छ ।
सिउडी फल द्रुत गतिमा बढ्ने, बाह्रमासे र साहारा चाहिने क्याकटी हो । यसको काण्ड त्रिकोणीय हुन्छ र यसको मुख्य काण्डबाट धेरै शाखा काण्डहरू पलाउँछन् । काण्डका प्रत्येक खण्डमा साना काँडाहरु हुन्छन् र साथै स साना जरा पनि रहेका हुन्छन् जसले केहि साहारामा समातेर माथि चढ्न र बढ्न मद्दत गर्दछन् । यसको फूल सेतो, अत्यन्त शोभायमान, खाद्य, सुगन्धित र घण्टी आकारको, करिब १ फिट लामो र ९ इन्च चौडा हुन्छ । यसको फूल रातमा फुल्छ । नखुलेका कलिला फूलहरू तरकारीको रूपमा पकाएर खान सकिन्छ भने फक्रेका फूलहरू चियाको लागि पनि प्रयोग गर्न सकिन्छ । सिउडी फल अण्डा आकारको बेरी प्रकारको फल हो । यो जात अनुसार रातो वा पहेंलो बोक्रा भएको हुन्छ । प्रजातिहरूकै आधारमा गुदी रातो वा सेतो पनि हुन सक्छ । यसका बीउहरू धेरै साना, असंख्य र कालो रंगका हुन्छन् ।
ड्रागन फलको महत्व :
१. यस्को सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मद्दत गर्दछ ।
२. यस्को नियमित सेवनले शरिरमा रहेको विशाक्त तत्वलाई हटाउछ । साथै रगतमा भएको उच्च कोलेस्टोरल घटाउनुको साथै उच्च रक्तचापलाई घटाउन मदत गर्दछ ।
३. यो फल दम तथा कफका रोगिलाई फाइदाजनक मानिन्छ ।
४. भिटामिन सि प्रशस्त मात्रामा पाउने हुदा अनुहारको छाला सुन्दर बनाउनुको साथै चोटपटक लागेर काटेको तन्तुलाई छिटो बढ्न मद्दत गर्नुको साथै रोग प्रतिरोधि शक्ति बढाउन सहयोग गर्दछ ।
५. यस्को फलमा भिटामिन वि वान, वि टु, वि थ्रि पाउनुको साथै अन्य भिटामिनहरु पनि पाइन्छन् र यसले भोक जगाउन पनि सहयोग गर्दछ ।
६. यस्को सेवनले आखाको तेज बढ्नुको साथै शरिरलाई तनावमुक्त बनाउछ मद्दत गर्दछ ।
७. यस्मा प्रशस्त मात्रामा क्याल्सियम, फोसफोरस पाईन्छ । यस्को नियमित सेवनले शरिरको हड्डी तथा दाँत बलियो बनाउनुको साथै तन्तुहरुको विकासमा मद्दत गर्दछ ।
८. यस्को नियमित सेवनले शरिरको तौल घटाउनुको साथै शरिरलाई शन्तुलित बनाई राख्न मदत गर्दछ । रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै मधुमेह–२ कम गर्दछ ।
हावापानी र माटो
हावापानी
यो एक प्रकारको उष्ण प्रदेशिय हावा पानीमा हुर्कने विरुवा हो । यो प्रजातिको विरुवा वर्षभरी एकनासको पानी पर्ने क्षेत्रमा राम्रोसंग हुर्कने गर्दछ । यस्को खेति समुन्द्र सतहवाट १०० देखि ८०० मिटर उचाई सम्मको क्षेत्रमा व्यवसायिक रुपमा गर्न सकिन्छ । पुर्णरुपमा सूर्यको प्रकाश लाग्ने स्थान यस्को लागि उपयुक्त मानिन्छ । प्रकाश कम परेको अवस्थामा विरुवाको बृद्धि विकास कम भएर जान्छ भने निरन्तर हावा चल्ने स्थानमा पनि यसको खेति गर्न गाह्रो पर्दछ ।
माटो
यस्को खेतिको लागि निकासयुक्त, प्रशस्त मात्रामा पं्रागारिक पदार्थ भएको वलौटे दोमट तथा चिम्टाइलो दोमट माटो उपयुक्त मानिन्छ । माटोको पि.एच मान ५.३ देखि ६.७ सम्म राम्रो मानिन्छ । पितयाको छोटो जरा (१५ देखि ३०से.मी.) हुने हुदा हल्का तथा मलिलो माटो हुनु अति आवश्यक हुन्छ । साथै बिरुवा लगाउँदा ४०–५० से मी उच्चा बेड बनाउनु राम्रो मानिन्छ ।
जातहरु
ड्रागन फलको खेति गरिने मुख्य प्रजातिहरु (variety of the dragon fruits):
१. रातो हुने जात :
१.१. हाईलोसेरिएस अनडाटस ( Hylocereus undatus)
-ठुलो फूल भएको, वास्नादार, राति फुल्ने, लहरे प्रजाति ।
-फलको तौल १ के.जी. वा सो भन्दा वढि हुने ।
-फलको वाहिरी वोक्रा चिल्लो रातो र भित्रको गुदि चिप्लो सेतो र मसिनो कालो वीया भएको ।
-काण्डमा साना मसिनो काँडा हुन्छ ।
१.२. हाईलोसेरिएस पोलिराइजस ( Hylocereus polyrhizus)
-फलको तौल १ के.जी. सम्म हुन्छ ।
-वाहिरी वोक्रा रातो भित्री गुदी गाढा रातो र कालो मसिनो विया भएको ।
-काण्डमा अलि अलि काँडा हुन्छ ।
१.३. हाईलोसेरिएस कोस्टारीसेन्सिस् ( Hylocereus costaricencis)
-वाहिरी वोक्रा बैजनी रातो र भित्री गुदी गुलाबी रातो हुन्छ ।
२. पहेलो हुने जात:
२.१. सेलेनिसेरेस मेगालान्थस ( Selenicereus megalanthus)
-फल केहि सानो पहेलो वोक्रा भित्र गुदि सेतो विया मसिनो कालो हुन्छ ।
-फलको स्वाद रातो प्रजाति केहि वढि गुलियो ।
-यसमा ज्भबचत तयलष्अस अबउतष्लभ पाईन्छ ।
विरुवा प्रशारण:
यस्को विरुवाको प्रशारण कलमि तथा विउवाट गरिन्छ । २—३ वर्ष पुरानो, गाढा हरियो करिब ४०—५० से.मि. लामो, राम्रा आँखा भएको, र कुनै क्षति वा किराको संक्रमण नभएको काण्डको टुक्रालाई पोलि व्यागमा रोपेर नर्सरीमा हुर्काईन्छ र ३ महिना पछि विरुवा रोप्न लायक हुन्छ । पोलि व्यागमा विरुवा तयार गर्दा माटो, वालुवा, प्राङ्गारिक मलको (१ः१ः१) मिश्रण बनाई कालो पोलि व्याग (९”×१३”) भर्नु पर्छ र विरुवा रोप्नु पर्छ । कटिङ् बाट विरुवा तयार गर्दा काण्डको फेदतिर छड्के काटिन्छ र छाहारी भएको ठाउँमा ५—७ दिन सम्म छाडिन्छ र यो कटिङ्लाई सिधा रोप्न पनि सकिन्छ । नर्सरीमा विउ रोपेर पनि विरुवा उत्पादन गर्न सकिन्छ । अथवा सोझै पोलको वरपर प्रति पोल ४ वाटा वीउ रोप्न पनि सकिन्छ । कलमि गरेको विरुवामा फल लाग्न १५ महिना लाग्छ भने सिधा बिउबाट तयार गरेको विरुवामा फल लाग्न ३ वर्ष सम्म लाग्न सक्छ । नर्सरीको विरुवालाई माटोको चिस्यान अवस्था हेरी पानी दिनु पर्दछ । तर वढि पानी भएमा विरुवाको जरा कुहिन सक्छ ।
जमिनको तयारी तथा विरुवा रोप्ने तरिका:
विरुवा लगाउने जमिनलाई राम्रोसंग खनजोत गरी प्रशस्त मात्रामा प्राङ्गारिक मल मिसाई माटो हल्का तथा वुरवुराउदो बनाउनु पर्छ । लाईन देखि लाईनको दुरी २.५—३ मिटर र वोटवाट वोटको दुरी २ मिटर हुने गरी रेखांकन गर्नु पर्दछ । यसरी विउ अथवा विरुवा लगाउदा १ हेक्टर क्षेत्रफलमा ६००० — ८००० विरुवा र १५०० — २००० पोल लाग्दछ । यसको विरुवालाई अडिनको लागि पोल वा खावोको आवश्यकता पर्दछ । चित्रमा जस्तै पोलहरुलाई डोरीले वाधेर विरुवा अडिन दिनु पर्छ । सिउडी विरुवाको उचाई १.५ मिटर सम्म हुन्छ ।
विरुवा अडयाउने पोलको लम्बाई ६—७ फिट भएको राम्रो मानिन्छ । पोललाई ५० से.मि. गाडेर दरो किसीमले अडयाउनु पर्छ । प्रत्येक पोलको वरीपरी ३० से.मि. फरक पर्ने गरी ४ वटा विउ वा विरुवा रोप्नु पर्छ । सोझै विउ रोप्दा ५ से.मि. गहिराईमा र कटिङ विरुवा रोप्दा भने पोलिथिन व्यागमा जति गहिराईमा विरुवा गढेको छ त्यसै अनुसार गाड्नु पर्छ र विरुवालाई केहि मात्रामा पोल तर्फ ढल्काएर रोप्नु पर्छ । यसको कटिङलाई सिधै १.५ — २ इन्चको गहिराईमा रोप्न पनि सकिन्छ ।
विरुवा सारी सकेपछि हल्का सिँचाई गरेर विरुवाको वरीपरी पराल वा खरको छापो दिनु पर्छ । जसले गर्दा माटोमा रहेको चिस्यानलाई जोगाएर राख्न मदत गर्दछ ।
मलखाद्य व्यवस्थापन:
विरुवा रोप्ने प्रत्येक खाल्डोमा ७–१० के.जी. राम्रो संग कुहिएको गोवर मल १००–२०० ग्राम वोकासि मल र ३० ग्राम डि.ए.पि, २५ ग्राम म्युरेट अफ पोटास, २५ ग्राम डर्सभान (क्लोरोपाइरीफस) धुलो मिसाई माटोलाई राम्रोसंग मिलाउनु पर्छ । वानस्पितिक वृद्धिको अवस्थामा नाईट्रोजनयुक्त मल दिनु आवश्यक हुन्छ भने विरुवाको सुषुप्त अवस्था तथा फूल फुल्न सुरु गरेपछि (डिसेम्वर देखि मार्च सम्म) मल दिन बन्द गर्नु पर्छ । वानस्पितिक बृद्धिको अवस्थामा २ हप्ताको फरकमा पातमा फोलियर स्प्रे गर्नु राम्रो मानिन्छ ।
तर फूल फुल्न सुरु गरे पछि भने बन्द गर्नु पर्छ । विरुवामा मल कति दिने र कसरी दिने भन्ने कुरा विरुवाको वृद्धि विकासको अवस्थामा भर पर्दछ । यसको जरा सतहमै रहने भएकाले पनि माटोमा दिइने रसाएनिक मल तथा सुक्ष्म तत्व यसले सजिलै लिन सक्दछ ।
-एक वा दुई वर्षको विरुवाको लागि (प्रति वोट) – नाइट्रोजन २०० ग्राम, फसफोरस १०० ग्राम र १५ ग्राम पोटास
-३ वर्षे विरुवाको लागि (प्रति वोट) – नाइट्रोजन ५०० ग्राम, फसफोरस २०० ग्राम र ४००–५०० ग्राम पोटास
-४ वर्षको लागे पछि (प्रति वोट) – नाइट्रोजन ८००–१००० ग्राम, फसफोरस ४००–५०० ग्राम र पोटास ५००–८०० ग्राम प्रति वोटमा दिनु पर्दछ । यसै मात्रालाई अन्य ५, ६ वर्षलाई पनि कायम गर्न सकिन्छ ।
काँटछाट तथा बोट व्यवस्थापनः
ड्रागन फलको काण्डमा जरा हुने भएका कारणले यो कुनै पनि प्राकृतिक वा कृत्रिम सर्पोटमा सजिलै चढ्न सक्दछ । यसको बोटको वृद्धि द्रुत र निरन्तर हुन्छ तर निकै चिसो वा खडेरी परेमा बोटको वृद्धि विकास रोकिन सक्छ । खेती व्यवस्थापन गर्न निकै गाह्रो हुने कारणले यसलाई बिना कुनै सर्पोट लगाउनु राम्रो मानिदैन ।
यसलाई विचमा खुला तथा छाता जस्तो आकार(Umbrella shape canopy) बनाउनु उपयुक्त हुन्छ । जब पोलको प्रयोग गरेर बिरुवा लगाइन्छ, छँटाई महत्त्वपूर्ण रहन्छ र बिरुवालाई पोलमा चढ्न बाध्य पार्ने गरी डाँठहरू चयन गर्नुपर्दछ । सबै पार्श्व वृद्धि र जमिन तर्फ फर्केका बोटका अंशहरू हटाइनुपर्दछ, जबकि मुख्य डाँठ र हाँगाहरू राखिन्छ (भुइँमा छोएकाहरू बाहेक) ।
प्रमुख काँटछाट रोपण पछिको पहिलो वर्ष गरिन्छ । पोल प्रयोग गर्दा वा कुनै अन्य सर्पोट भए पनि, मुख्य डाँठलाई यसमा क्लिपले जोड्नु पर्दछ । दोस्रो वर्षबाट गुच्छाको वृद्धिलाई सीमित गर्नका निम्ति छाँटकाँट गरिन्छ । सामान्य अभ्यासमा, छँटाई को सीमा सर्पोट सिस्टमको प्रकार र यसको शक्ति मा निर्भर गर्दछ । उदाहरण को लागी, ३ वर्षको बोटको तौल लगभग ७० केजी हुन्छ ।
यद्यपि यो तौल आफैमा बिभिन्न प्रकारका सर्पोट सिस्टमका लागि समस्या नभए पनि हाँगाहरू हावाहुरीको सामना गर्न सक्षम नहुन सक्छन्, त्यसैले नियमित काँटछाँट गर्नु आवस्यक रहन्छ । काँटछाँट गर्दा बिरुवाबाट सबै बिग्रिएको डाँठहरू हटाउनुको साथै एक अर्कामा अल्झिएको डाँठहरु पनि हटाउनु पर्दछ । फसल पश्चातको छाँटकाँटले नयाँ टुसाहरूको बृद्धिलाई प्रोत्साहित गर्दछ जसमा अर्को वर्ष फूलहरू फुल्दछन् ।
सिंचाई तथा निकास प्रवन्ध :
यस्को वोट निकै कम पानी भएको अवस्थामा पनि बाँच्न सक्दछ तर बोटको र फलको राम्रो वृद्धि विकासको लागि पानीको अभाव हुनु हुदैन । साथै बोटको फेदमा पानी जम्न पनि हुँदैन किनकी यसले जरा कुहिन सक्दछ । तसर्थ पानी सिंचाई गर्दा फेदमा नपर्ने गरी औठी आकारको कुलेसो वनाएर वरीपरी दिनु पर्दछ । गर्मि मौसममा ५–७ दिन विराएर पानी सिंचाई गर्नु पर्दछ । मलखाद्य दिए पछि सिंचाई दिनु अति आवश्यक हुन्छ । यस्को लागि सिंचाई व्यवस्था मेवा वालीको लागि जस्तै हो ।
धरै पानी भएको अवस्थामा विरुवाको जरा कुहिने र लामो समय सुख्खा भएमा विरुवा ओईलाउन थाल्दछ । यस्को मुख्य कारण भनेको जरा धेरै गहिराईमा नजानु हो । यसलाई सुख्खावाट जति प्रभाव पर्छ पानी जम्नाले त्यतिकै असर पार्दछ । तसर्थ यस्को लागि उचित सिंचाई व्यवस्थाको साथै राम्रो निकास व्यवस्था गर्नु पर्ने भएकोले निकास कुलो बनाएर पानी कटाउने व्यवस्था मिलाउनु पर्छ ।
भर्खर रोपेको विरुवामा चिस्यान वढि हुने गरेर पानी दिनु हुदैन वरु सुख्खा भए पछि मात्र पानी दिनु राम्रो मानिन्छ । यसका लागि थोपा सिंचाई जडान गर्नु उपयुक्त मानिन्छ जसले पानीको असमान वितरण साथै अधिक पानीको खर्चबाट जोगाउँछ ।
अन्य व्यवस्थापकिय कार्यहरु:
बोटको नजिकको झारलाई हातले नै हटाउनु पर्दछ । अन्तर पङ्क्तिमा रहेका झारका लागि झार नाषक विषादीको प्रयोग गर्न सकिन्छ । कुनै पनि मल प्रयोग गर्नु भन्दा अगाडी ठूला झार अनिवार्य रुपमा नियन्त्रण गर्नुपर्छ तर माटोको कभर पाउनका निम्ति साना झार छोड्न सकिन्छ जसले पानी र मलको वाष्पीकरण सीमित गर्दछ ।
अन्ततः हरेक पोष्टको फेद १० के.जी कोको पिटले कभर गरेको राम्रो मानिन्छ जसले मलको काम गर्दछ । वर्षाको मौसममा, विशेष गरी बलौटे माटो भएका क्षेत्रहरूमा परिपक्व फलहरू समयमै टिप्नुपर्दछ जसले फलहरूलाई अधिक पानी लिएर फुट्नबाट रोक्दछ । ग्रामोक्जीन वा अरु कुनै झार नासक विषादी प्रयोग गर्दा बिरुवालाई नोक्सानीबाट जोगाउन सिल्डको प्रयोग गर्नु पर्दछ ।
उत्पादन:
फल तयार भई सके पछि फलसंग जोडिएको टर्मिनल पेटल रातो भएर जान्छ र फलको तलको भाग सुनिएको जस्तो देखिन्छ । पहिलो चक्रको वालीको तयारी जेठ देखी कार्तिक सम्म हुन्छ भने दोस्रो चक्रको वाली मंसिर देखी जेठ सम्ममा तयारी हुन्छ । ड्रागनको फल, फूल लागेको ३०—५० दिनमा तयार हुन्छ । प्रति वर्ष ५–६ वाली चक्रको फसल लिन सकिन्छ (वैशाख देखी मंसिर सम्म) । फललाई ५ डिग्री सेल्सियस, तापक्रम र ९०५ सापेक्षिक आद्रताको अवस्थामा ४० दिन सम्म राख्न सकिन्छ ।
पहिलो वर्षमा प्रति पोल ८–१० वटा फल लाग्दछ । बोटहरुको घनत्वको आधारमा सिउडी फलको उत्पादन प्रति हेक्टर १०–३० टन सम्म हुने गर्दछ । विरुवामा १.५– २ वर्ष पछि फल लाग्न सुरु गर्दछ । एक पटक लगाएको विरुवाले १५–२० वर्षसम्म फल दिन सक्दछ ।
रोग किरा:
यस्को विरुवा कमलो हुने हुदा फल, काण्ड, पात, आँकुरा, फूल, जरा आदिमा विभिन्न किसीमका रोग कीराले आक्रमण गर्न सक्दछ । मुख्य रुपले लाग्ने कीराहरुमा धमिरा, थ्रिप्स, कमिला, कत्ले कीरा, मिलिवग, खपटे, चिप्ले कीरा, गवारो, नेमाटोड, फल कुहाउने झीगा, मुसा, चरा, तथा चमेरो आदि पर्दछन् । माटो भित्र बस्ने किराको लागि क्लोरोपाईरीफोस प्रयोग गर्न सकिन्छ । ढुसि जन्य रोगको लागि भने कपरयुक्त ढुसिनासक विषादिः कपर अक्सिक्लोराईड, डाइथेन एम ४५, म्यान्कोजेब, आदि प्रयोग गर्न सकिन्छ । फल तयार हुन लागे पछि कम्तिमा १५—२० दिन अगाडीबाट विषादी छर्न बन्द गर्नु पर्दछ ।
Source: AKC, Chitwan