कौसी तरकारी खेती जमिनको अभाव रहेको घना बस्ती शहर वा शहरोन्मुख क्षेत्रका परिवारका लागि उपायोगी हुन्छ । सानो क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न ठूलो मद्दत पुग्छ । घरको छत, बरण्डा, कौसी, पर्खाल र घरका खाली जग्गाहरूको सदुपयोग पनि हुने तरकारी किन्न लाग्ने पैसाको पनि बचत हुन्छ र घरलाई सुन्दर हरियाली पनि बनाउन सकिन्छ । हाल आएर नेपालको शहरी क्षेत्रमा यस प्रविधिको लोकप्रियता बढ्दै गएको पाइन्छ ।
कौसी खेतीको लागि स्थानको छनोट
कौसी खेतीको लागि प्रशस्त घाम लाग्ने तथा सजिलैसँग पानि दिन सकिने तथा गोडमेल गर्न सकिने र निकासको उचित प्रबन्ध भएका तल उल्लेखित ठाउँहरू उपयुक्त हुन्छन् ।
घरको छत घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुल्ला छतमा माटो वा अन्य बिरुवा हुर्काउने सकिने पदार्थहरू जस्तै कोकोपिट र माटो वा प्राङ्गारिक मलको मिश्रण राखी गर्न सकिन्छ ।
घरको बरण्डा पक्की घरमा घरअनुसार निकालिएका कौसीहरूमा उपयुक्त आकारका भाँडा गमला, फ्रेम, बाकस तथा अन्य संरचना राखी तरकारी खेती गर्न सकिन्छ ।
घरको कौसी
कौसी वा बरण्डाको रेलिङ्ग
घर–कम्पाउण्डको पर्खाल
कौसी खेतीको लागि संरचनाको छनोट
माटोको गमला, विस्कुटका खाली टिन, आधा काटिएका ड्रम, मालसामान प्याक भएर आएका काठका बाकस, माछा प्याकिङ् भएर आएका स्टाइरोफोम, पुराना बोरा र प्लाष्टिक थैला आदि कौसी खेतीमा प्रयोग गर्न सकिने संरचना हुन् ।
यी भाडाहरूको साइज र आकार फरक हुन सक्दछन् । त्यसैले लगाइने तरकारीको बोटको फैलावटका आधारमा भाडोको छनोट गरिनु पर्दछ ।
साधारणतयाः ३० से.मि. देखि ४५ से.मि. ब्यास भएको गमला वा प्लाष्टिकको थैला, बोरा आदि प्रयोग गर्नु बढी व्यावहारिक देखिन्छ । यी भाडाहरूको पिँधमा पानी निथ्रेर जाने स-साना प्वालहरू हुनु आवश्यक छ । खर्चको दृष्टिकोणले प्लाष्टिक थैला वा बोरा सबैभन्दा सस्तो पर्दछ । तर, यो एकपटक मात्र प्रयोग गर्न सकिन्छ । गमला, काठको बाकस र सिमेन्टका संरचना महङ्गो पर्दछन् तर पटक-पटक प्रयोगमा ल्याउन सकिन्छ ।
कौसी खेतीका फाइदाहरू
परिवारको इच्छाअनुसारको स्वच्छ एवम् ताजा तरकारी तथा फलफूल आपूर्ति हुने ।
दैनिक तरकारी तथा फलफूल किन्नको लागि लाग्ने पैसा तथा समयको बचत हुने ।
दैनिक भान्साबाट निस्कने कुहिने फोहेरमैलाबाट मल निर्माण गरी वातावरण प्रदुषण नियन्त्रण तथा कौसी तरकारी खेतीबाट हरित शहर निर्माणमा सहयोग पुग्ने ।
फुर्सदको समयको सदुपयोग हुने।
शारीरिक तथा मानसिक तन्दुरुस्ती मिल्ने ।
कौसी खेतीका लागि उपयुक्त केही फलफूल तथा तरकारीहरू
खेती गरिने स्थानको हावापानी तथा उपलब्ध संरचनालाई बिचार गरी कौसीमा निम्न प्रकारका फलफूल तथा तरकारी बालीहरू खेती गर्न सकिन्छ :
तरकारी बाली जात
गोलभेँडा मनप्रेकस, अभिनाश, मनिषा, सिर्जना लगायत सिफारिस गरिएका अन्य जातहरू ।
भण्टा पुसा पर्पल लङ, नूर्की, जुम्ली स्थानीय आदि ।
भेडेँ खुर्सानी ज्वाला, कर्मा ७४७, एन एस १६०१, अकबरे ।
स्विसचार्ड सुसाग, फोर्ड हुक जायनट ।
रायो खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात ।
तीते करेला पुषा दोमौसमी, कोयम्बटुर लङ्ग पाली आदि ।
काँक्रो जाप्निज ग्रीन लङ्ग, माइको ग्रीन लङ्ग, भक्तपुरे स्थानीय, मालिनी, निन्जा आदि ।
लौका स्थानीय, समर प्रलिफिक लङ्ग एन एस ४०१ जुनेकी ग्रे कोट, ग्रिनबल, सोण्डो भी आदि ।
काउली खुमल ज्यापु, सिल्भर कप, ह्वाइट कप, स्नो मिस्टिक आदि ।
बन्दा टी ६२९, ग्रीन कोरोनेट आदि ।
ब्रोकाउली ग्रीन स्प्राउटिङ्ग, प्रिमियम कप आदि ।
ग्याँठ गोभी सम्राट, ह्वाइट भियाना,पर्पल भियाना आदि ।
सिमी झाँगे, त्रिशुली (केन्टुकी वण्डर), चौमासे ।
बोडी मलेपाटन १, मिटर, खुमल तने, आकाश आदि
रामतोरिया अर्का अनमिका, पार्वती, जुली आदि ।
प्याज एग्री फाउन्ड डार्क रेड, रेड कियोल, एन५३ ।
सलगम काठमाडौँ रातो, पर्पल टप ।
मुला चालिस दिने, मिनो अर्ली, अल सिजन आदि ।
घिरौला स्थानीय, पुषा चिल्लो, कान्तिपुरे, नारायणी ।
यस बाहेक कौसीमा धनिया, लसुन, पालुंगो, जिरीको साग आदि जस्ता तरकारी बाली समेत लगाउन सकिन्छ ।
कौसी खेतीको लागि बालीको छनोट
कौसी खेतीमा लगाउने बाली छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरू निम्नानुसार छन् :
– जरा सकभर कम फैलने तथा जरा कम गहिराईमा सिमित रहने,
– छिटो उत्पादन दिने,
– लामो समयसम्म उत्पादन दिने,
– बोट धेरै नझाङ्गिने,
कौसी खेतीका लागि माटो व्यवस्थापन
कौसी खेतीमा माटो व्यवस्थापन पूर्व माटोका निम्नलिखित कुरामा जानकारी हासिल गर्न आवश्यक पर्दछ ।
१. माटोको प्रकार
वलौटे माटो–खेतीको लागि अयोग्य, वलौटे दुमट–मुला, गाजर, प्याज, दुमट–सबै खालको तरकारी लगाउन सकिने, चिम्टाइलो–माटो तरकारीको लागि त्यति उपयुक्त
नहुने ।
२. माटोमा उपलब्ध प्राङ्गारिक पदार्थ
यदि कौसी तरकारी खेती गर्ने हो भने लगाउने बाली अनुसारउपयुक्त माटोको छनौट गर्न आवश्यक छ ।
माटो उपयुक्त छैन भने पनि बजारमा उपलब्ध मधुमास तथा प्राङ्गारिक मलको प्रयोग गरी माटो सुधार गर्न सकिनुका साथै प्राङ्गारिक पदार्थको उपलब्धता बढाई माटोमा जैविक क्रियाकलाप बढाउन सकिन्छ ।
माटो बिरुवा अडिने आधार मात्र हो, तसर्थ त्यसमा बिरुवालाई आवश्यक खाद्यपदार्थ दिन सकेमा मात्र राम्रो उत्पादन लिन सकिन्छ भन्ने कुरामा ध्यान दिन सबै कौसी खेती गर्ने व्यक्तिले ध्यान दिन जरुरी छ । माटोमा वायुमण्डलीय नाइट्रोजनको मात्रा थप्न कौसीबालीको बाली चक्र अपनाएमा उत्पादकत्व गर्न सकिन्छ ।
कौसीमा तरकारी उत्पादनको लागि माटो व्यवस्थापनमा ध्यान दिनुपर्ने कुराहरू
– स्वस्थ्य र सफा ठाउँको राम्रो मलिलो माटो ल्याई डल्ला फोरेर सफा गरी झ्यास, छेस्काछेस्की, ठुटा, गिर्खा केलाई चालेर सफा गर्नुपर्दछ ।
– त्यसपछि ग्रेगर नमिसिएको राम्रो बालुवा र राम्रोसँग पाकेको कम्पोष्ट मल वा गोबर मल वा जङ्गलमा पतिङ्गर कुहिएर बनेको मल धुलो पारेर केलाई चाल्ने अथवा जालीले चाल्नुपर्दछ ।
– दुई भाग माटोमा एक भाग कम्पोष्ट मिसाउने, यदि बालुवा नभएको माटो छ भने एक बालुवा पनि मिसाउने ।
– भाडो वा संरचना समिश्रण भर्नुभन्दा पहिले साना साना इटका टुक्रा वा ग्रेगरले भाडोका प्वालको सतहसम्म पुग्ने गरी भर्नु पर्दछ ।
– प्लाष्टिक थैलामा दुई तिहाई मात्र समिश्रण भरेर एक तिहाई भाग उल्टाउदै लगेर समाउन सजिलो पार्नु पर्दछ ।
– भरेको समिश्रणलाई एक पटक हजारीले राम्ररी भिज्ने गरी पानी दिई केही ओभाएपछि बिरुवा सार्नु पर्दछ ।
– कौसी खेतीका लागि माटो छनौट गर्दा निम्न कुरामा ध्यान दिन आवश्यक हुन्छ ।
माटोको प्रकार तथा लगाउने बालीको आवश्यकता
माटोमा रहेको प्राङ्गारिक पदार्थको अवस्था (सामान्यतयाः माटाको रङ्गलाई बिचार गरेर)
माटोको अम्लियपन वा क्षारियपनाको अवस्था
माटोबाट सर्ने रोग तथा कीराको अवस्था (पहिला भएको बाली तथा तिनमा लागेको रोग कीराको अवस्था विश्लेषण गरेर) कौसी खेती कम माटोमा सघन रूपबाट तरकारी खेती गरिने प्रविधि भएकोले समुचित रूपमा मलखादको व्यवस्थापन गर्न अत्यावश्यक हुन्छ ।
मलखादको प्रयोग गर्दा लगाइएको तरकारी बालीको किसिम, आवश्यक मलखादको मात्रा आदि कुरालाई ध्यान दिन आवश्यक छ, अन्यथा अपेक्षित रूपमा उत्पादन लिन सकिदैन । कौसी खेतीको लागि खेर गएका सड्ने बस्तु कुहाई घरमै मल बनाउनको साथै बजारमा उपलब्ध विभिन्न प्रकारका प्राङ्गारिक मल तथा आवश्यकता खाद्यतत्त्व आपूर्ति गर्न रासायनिक मलको समेत प्रयोग गर्न सकिन्छ । कौसी खेती गर्दा मलखाद व्यवस्थापन गर्दा कोसेबालीको प्रयोग तथा बालीचक्र प्रणालीको अबलम्बनमा ध्यान दिन आवश्यक छ ।
खाद्यतत्त्व व्यवस्थापन
बिरुवाका आवश्यक खाद्य तत्त्वहरूको अभावमा बिरुवाले आफ्नो जीवन चक्र पुरा गर्न सक्दैन, एउटा तत्त्वको अभावमा त्यस तत्त्वले गर्ने काम अर्को तत्त्वले गर्न सक्देनन तथा ती तत्त्वहरूको बिरुवाको वृद्धि तथा विकासमा सोझै असर पार्दछन् तर्सथ बिरुवाको समूचित खाद्यतत्त्व व्यवस्थापन सदैव ध्यान दिन जरुरी हुन्छ । दुई चार पटक फल टिपिसकेपछि ५ ग्रामजति प्रतिबोट पर्ने गरी यूरिया डि.ए.पि.र पोटासको मिश्रण तथा एक मुठीजति हाडको धूलो वा पिना प्रयोग गरी हल्का सिँचाई दिनुपर्दछ ।
कौसी खेतीको आकार
कौसी बारीमा कुन तरकारी कति लगाउने भन्ने कुरा परिवारको आवश्यकता, उपलब्ध स्थान तथा श्रोत साधनमा भर पर्दछ सामान्यतः ४ देखि ६ जना परिवारको लागि ताजा तरकारी आपूर्तिको लागि ४०–५० वटा गमला वा अन्य संरचनाहरू र २५–३० वर्ग मिटर क्षेत्रफल बराबरको छत अथवा काठको ट्रे को आवश्यक पर्दछ ।
कौसी खेती बिस्तार गर्न आफूले बनाएको घरको संरचना कति बलियो छ र त्यसको कति भार बहन गर्न सक्दछ भन्ने कुरामा समेत बिचार पु-याउँन आवश्यक छ । यदि बरण्डा, पर्खाल लगायतका क्षेत्रहरू प्रशस्त छ भने सो क्षेत्रमा समेत तल्ले पद्धतिमा खेती गर्न सकिन्छ ।
कौसी खेतीमा हेरचाह तथा गोडमेल
गमला, प्लाष्टिक तथा संरचनामा सारेको बिरुवालाई बराबर हेरचाह र हल्का गोडाईको आवश्यक पर्दछ । बोटलाई साना साना करिब एक मिटर लामो बासको कप्टेरा वा लठ्ठी गाडी सहारा दिनु पर्दछ । लहरेबालीलाई डोरीको सहायताले बढ्न दिनु पर्दछ ।कौसीमा खेती गरिएका फलफूल र तरकारीहरूलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ । बढी सुख्खा र बढी पानी हुन दिनु हुँदैन । कहिलेकाही चर्को घाम लाग्दा प्लाष्टिक तथा भाडा तातेर बिरुवा ओइलाउन थाल्दछ । त्यो अवस्थामा छहारीतिर सार्नु पर्दछ ।
कौसी खेतीमा रोग तथा कीरा व्यवस्थापन
कौसी खेतीमा रासायनिक बिषादीको प्रयोग सकेसम्म नगर्नु राम्रो हुन्छ । स्थानीय स्तरमा उपलब्ध खरानी, साबुन पानी, बकैनो, निम आदिको झोल प्रयोग रोग तथा कीराको प्रकोप कम गर्न सहयोगी हुन्छन् । मानव मुत्र र पशु मुत्र पनि प्रयोग गर्न सकिन्छ । केही नलागेमा कम समयमै उडेर जाने र मानवको लागि सुरक्षित बिषादी सावधानीपूर्वक मात्र प्रयोग गर्नु पर्दछ । यदि बिषादी प्रयोग गर्ने हो भने बिषादी छरेपछि तोकिएको समयसम्म फलफूल र तरकारी टिपेर खानु हुँदैन ।