परिचय बेसार (Turmeric) को वैज्ञानिक नाम Curcuma longa L.हो र यो Zingibraceae परिवारको सदस्य हो । बेसारमा पाइने प्रमुख तत्व भनेको कुरकुमिन (Curcumin) हो, जसको कारण बेसार पहेंलो हुने गर्दछ ।
बेसारको गानोमा १.८ देखि ५.४ प्रतिशत कुरकुमिन पाईन्छ । त्यस्तै बेसारमा २.५ देखि ६.२ प्रतिशत बासनादार तेल पनि पाउन सकिन्छ । बेसार व्यावसायिक खेतीको लागि एक वर्षे बाली हो भने प्राकृतिक रुपमा यो एक बहुवर्षिय वानस्पतिक झार हो ।
हामीले प्रयोग गर्ने गरेको भाग चाँहि परिवर्तित काण्ड हो, जसलाई हामी बेसार भन्ने गर्दछौं ।यसको उत्पत्ति दक्षिणपूर्वी एशियाका देशहरुमा भएको पाइन्छ । नेपालमा सुनसरी, महोत्तरी, धादिङ्ग, काभ्रे, चितवन, बारा, पाल्पा, लमजुङ्ग, गोरखा, सल्यान, बाँके, बर्दिया, बझाङ्ग र कैलाली बेसार खेती गरिने मुख्य जिल्लाहरु हुन् । हाल आएर यसको विस्तार अन्य जिल्लाहरुमा पनि द्रुत गतिमा भैरहको छ ।
उपयोगिता एवं महत्व बेसार एक किसिमको बहुउपयोगी गुण भएको वनस्पति हो । मुख्यतया दैनिक मसलाको रुपमा बढी प्रयोग गरिन्छ । यसलाई पहेंलो रङ्ग, वासनादार मसला,श्रृङ्गार सामाग्री, औषधि एवं विभिन्न धार्मिक कार्यमा विभिन्न रुपमा प्रयोग गरिन्छ ।
बेसारलाई तरकारी, माछा, मासु, मिठाई रङ्ग्याउने चिज, अचार एवं विभिन्न खाद्य पदार्थमा चमक तथा बास्नादार बनाउनको लागि र गुणस्तर कायम राख्न पनि प्रमुख रुपमा प्रयोग गरिन्छ । यस बाहेक अन्य सामाग्रीहरु जस्तै कपडा रग्याउन, टिकाटाला गर्न अक्षता बनाउन वा टिका लगाउन, विभिन्न मिठाई तथा खाद्य पदार्थ आकर्षक बनाउन समेत यसको प्रयोग गरिन्छ ।
बेसारलाई परपूर्वकाल देखि नै विभिन्न रोगको उपचारार्थ प्रयोग गरिँदै आईरहेको छ । यसलाई विभिन्न किसिमका औषधिजन्य तेल, मलम, रुघाखोकी, पेटको समस्या, रगास शुद्ध पार्न, मधुमेह रोग सन्चो पार्न तथा महिलाहरुको तल्लोपेट खस्ने, सेतोपानी बग्नेजस्ता समस्याको लागि पनि सही सावित भएको छ ।
माटो र हावापानी बेसार उष्ण हावापानीमा हुने बाली हो । यसको खेती समुन्द्र सतहबाट १२०० मि. सम्मको उचाईमा गर्न सकिन्छ । बढी उत्पादनको लागि बलौटे दोमोट माटो र प्राङ्गारिक पदार्थ भएको रातो माटोमा यसको खेती राम्रो हुन्छ ।
यस बालीले तुषारो सहन सक्दैन । माटोको पि.एच. ५.५–६.५ राम्रो हुन्छ । सरदर वार्षिक १००० देखि १२०० सि.मि. वर्षा २०–३० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा बढी राम्रो उत्पादन पाइएको छ ।
जग्गाको तयारी र रोपण कार्य हिउँदे वर्ष पछि खनजोत गरी राखेको जमिनमा पुन चैत्र वैशाख तिर दोस्रो खनजोतको समयमा नै कम्पोष्ट मल प्रति रोपनी १–१.५ मे.टन., कुखुराको मल ५०० के.जी. र रसायनिक मल सिफारिस अनुसार माटोमा मिलाईसके पछि ड्याङ उठाई २०–२५ से.मी.को फरकमा ४–५ सेमी गहिरो हुने गरी कुटोको सहायताले आलु रोप्दा झैं रोप्नुपर्दछ ।
बीउको छनौट र उपचार विधि यसको वानस्पतिक प्रसारण गानोबाट हुने हुँदा बीउको छनोट गर्दा २–३ आँखा भएको गानो –जसको तौल ३०–५० ग्राम) लाई बीउको रुपमा छनौट गर्नुपर्दछ ।
बीउ उपचारको लागि रिडोमिल एम.जेड. २ ग्राम प्रति लि. पानीमा वा इण्डोफील वा डाईथेन र ओझेलमा सुकाइ सकेपछि मात्र रोप्नु पर्दछ ।
बीउको साईज हेरी प्रति रोपनी १५०–२०० के.जी. बीउको आवश्यकता पर्दछ ।
जातहरु बेसारको खासगरी हाईब्रीड जातहरु हाम्रो देशमा हालसम्म उन्मोचन भएको छैनन् । हाल खेती गरिँदै आएका स्थानीय जातहरुमा १. सुगन्धा रातो स्थानीय २. स्थानीय पहेंलो रेशारहित जात र अन्य रेसेदार जंगली जातहरु नै हुन् ।
छिमेकी देश भारतमा भने सुनगाभा, सुवर्ण, सुदर्शन, सुराना जातको उन्मोचन भईसकेको पाइन्छ तर नेपालमा भने सुगन्धा जातको बेसार (हलेदो) बढी चलनचल्तीमा आएको र बढी लोकप्रिय पनि छ ।
मलखादको प्रयोग बेसार खेतीको लागि प्रति रोपनी कम्पोष्ट मल १ देखि १.५ मे.टन र कुखुराको मल ५०० के.जी., डि.ए.पि. ८ के.जी. र पोटास ४ के.जी. जग्गा तयारीको समयमा राख्ने र यूरिया ६ के.जी. मध्ये ३ के.जी. जग्गा तयारीको समयमा र बाँकी ३ के.जी. रोपेको ४०–५० दिनपछि राखेर उकेरा दिने ।
लगाउने दुरी - समथर जग्गामा बिरुवादेखि बिरुवाको दुरी २०–२५ से.मि. र हार हारको दुरी ३० से.मि. राख्नुपर्दछ भने ४–५ सेमि गहिरोमा रोप्नुपर्दछ ।
- भिरालो जमिनमा जमिनको सतह हेरी आवश्यकता अनुसार रोप्न सकिन्छ ।
छापो हाल्ने - चैत्र–बैशाखमा रोपण कार्य हुने हुँदा माटोको चिस्यान जोगाउन र झारपात बढी मात्रामा आउन नदिन छापो दिनु अनिवार्य हुन्छ ।
- छापो विभिन्न किसिमबाट दिन सकिन्छ ।
- जस्तो धानको भुस, पराल, रुखपातको स्याउला, सल्लोको घुसान आदि जे उपलब्ध हुन सक्दछ ।
- जसको फाईदा माटोको चिस्यान बचाउनु, झारपात नियन्त्रण हुनु, छापो कुहिन गई माटोको उर्वराशक्ति बढाउनुको साथै उत्पादनमा वृद्धि हुनु आदि यसका सकरात्मक पक्षहरु हुन्।
सिँचाई तथा गोडमेल - यो वर्षे बाली भएको हुँदा खासै सिँचाईको आवश्यकता पर्दैन तापनि वर्षा अघि र पछि आवश्यकता अनुसार ५–७ पटक दिनुपर्दछ ।
- त्यस्तै राम्रोसँग छापो दिएको छ भने साधारण १–२ पटक झारपात हटाउनु पर्छ भने छापो नदिएको अवस्थामा ४–५ पटक राम्रोसँग गोडमेल गर्नुपर्दछ ।
बाली–चक्र तथा अन्तरबाली बेसारधेरैजसो मिल्किएको (Marginal) जमिनमा खेती गरिने हुँदा आँप, लिची, रुखकटहर, नरिवल, अम्बा आदिको बगैँचामा लगाउन सकिन्छ । जसले गर्दा दुवै बालीलाई फाईदा पुग्न जान्छ । लगातार एउटै जग्गामा एउटै खेती गर्दा उत्पादकत्वमा ह्रास आउने हुँदा बाली–चक्र अपनाउनु अनिवार्य हुन्छ । जस्तै मकै, भटमास, केराउ, झ्याँगे सिमी आदि ।
उत्पादन बेसार लगाएको ९–१० महिनामा यसको उत्पादन लिन सकिन्छ । राम्रो उत्पादन भएमा प्रति रोपनी १.५ देखि २ मे.टन उत्पादन लिन सकिन्छ वा प्रतिहेक्टर ३०–४० मे.टन उत्पादन हुन्छ ।
बीउ भण्डारण - १ मिटर गहिरो १ मिटर लम्बाईको र चौडाइको खाडल छायाँ पर्ने ठाउँमा बनाउने जुन खाड्लमा ढुसीनाशक विषादीले उपचार गर्ने र यस्तो खाडलमा करिब ३५० के.जी. बीउ भण्डारण गर्न सकिन्छ ।
- भण्डारण गर्दा खाडलको पिधँमा ३–४ से.मी. पराल वा भुस बिच्छ्याउने अनि बीउले भर्ने यसपाली पुन पराल वा भुसले ढाकी एक तह माटो वा बालुवाले पुरी दिने र माथिबाट पानी पस्न नदिन छाप्रो बनाउने, यसो गर्दा ४–५ महिनासम्म बेसारको बीउ चाउरिँदैन र गानो कुहिने डर पनि हुँदैन ।