बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

परवल लगाउने सबैभन्दा सजिलो तरीका

आइतबार, असार ३ २०८१
8 views
परवल लगाउने सबैभन्दा सजिलो तरीका

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय 
परवल बहुवर्षिय लहरे तरकारी हो । घिरौंला जस्तै परवलको पनि कलिला फलहरू तरकारीको रुपमा उपयोग गरिन्छ । परवल स्वास्थ्यबर्धक तरकारी हो । परवलमा २ प्रतिशत प्रोटिन, भिटामिन ए र सी तथा क्याल्सियम, फस्फोरस र फलाम प्रशस्त मात्रामा पाइन्छ । परवल मुटु र मानसिक रोगीहरूको लागि राम्रो तरकारी हो । परवल सजिलैसँग पच्छ र रक्त संचारमा सुधार ल्याउँछ ।

हावापानी 
परवल खेतीको लागि गर्मी तथा ओसिलो जलवायुको आवश्यकता पर्दछ । प्रशस्त वर्षा हुने र गर्मी तथा ओसिलो हावापानी पाइने नेपालका तराई प्रदेश तथा भित्री मधेसमा परवलको खेती राम्रो हुन्छ ।

माटो :
- परवल खेतीको लागि बलौंटे दोमट माटो सर्वोत्तम मानिन्छ । चिम्ट्याइलो माटो बाहेक अन्य सबै प्रकारको माटोमा परवल खेती गर्न सकिन्छ ।

- माटोमा प्रांगारिक मल प्रशस्त हुनु पर्दछ र पानी जम्न दिनु हुँदैन । परवलको लागि छानिएको जमिन सकेसम्म अग्लो र पानी नजम्ने हुनु पर्दछ ।

वानस्पतिक विवरण र जातहरू 
परवल बहुवर्षिय लहरे बाली हो । एक पटक रोपेको परवल ४–५ वर्षसम्म फल्दछ। शरद ऋतुमा परवल सुषुप्त अवस्थामा रहन्छ । बसन्तमा तापक्रम बढ्न थालेपछि परवलमा नयाँ लहरा पलाउन थाल्दछन् र यिनै नयाँ लहरामा फल लाग्दछ ।

परवलमा भाले बोट र पोथी बोट अलग–अलग हुन्छन् । भाले बोट केवल परागसेचनको लागि मात्र हो । यसमा फल लाग्दैन । राम्रो फल लाग्न ८५ देखि ९० प्रतिशत पोथी बोट र १०–१५ प्रतिशत भाले बोट हुनु आवश्यक छ ।

परवलको फुल रातको बिहानपख अथवा उज्यालो हुने समयमा फलदछ र ६–१२ बजे सम्ममा सेचन क्रिया हुन्छ । परवलको खास सिफारिशगरिएको जात छैन तापनि रङ्ग र आकार अनुसार निम्न किसिमका बाँड्न सकिन्छ ।

१. सेता धर्सा भएको लामो–यस किसिमको परवलको बीचको भाग मोटो र दुवैतिर चुच्चो परेको हुन्छ । लामो आधारको यस प्रकारको परवलको एक छेउदेखि अर्को छेउसमम सेता–सेता धर्साले ढाकिएको हुन्छ ।

२. हरियो लामो–यस प्रकारको परवलको पनि मध्य भाग मोटो र दुवै टुप्पो चुच्चे नै हुन्छ । तर यसमा सेता धर्सा हुँदैनन् र रङ्ग हरियो हुन्छ ।

३. हरियो गोलो–यस किसिमको परवलको आकार गोलो र रङ्ग हरियो हुन्छ ।

४. हरियो गोलो सेतो धर्सा भएको – आकार करिब–करिब गोलो नै हुन्छ र ६–७ वटा सेता धर्सा हुन्छन् ।

बाली लगाउने समय :
परवलको लहरा काटेर भाद्रदेखि कार्तिकसम्ममा सारिसक्नु पर्दछ । पुराना राम्रो फल लाग्ने स्वस्थ बिरुवाबाट ५० से.मि. लामो लहरा काटेर त्यसलाई गोलाकार बनाइन्छ ।

त्यो गोलाकार लहराको दुई तिहाई भाग माटो भित्र गाडिन्छ । त्यसबाट यही लहरा बढ्न थाल्दछ । कलमी रोप्दा प्रतिरोपनी २००–२५० कलमी बोटको आवश्यकता पर्दछ ।

मलखादको प्रयोग:
- मलखादको प्रयोग जमिनको उर्वरा शक्तिमा निर्भर गर्दछ तापनि पहिलो वर्ष प्रतिरोपनी ३ किलो नाइट्रोजन, २ किलो फोस्फोरस, २ किलो पोटास र १.५ टन राम्ररी कुहिएको गोबर वा कम्पोष्ट मलको प्रयोग गर्नु पर्दछ ।

- मलखादको प्रयोग कलमी सार्ने खाडल तयार गर्दा प्रतिखाँडल १० ग्राम नाइट्रोजन, पोटास, फोस्फोरस र १ के.जि. गोबर मल राम्ररी माटोमा मिल्ने गरी मिसाइदिनु पर्दछ ।

- नोटः दोश्रो वर्षदेखि असोज–कार्तिकमा गोडमेल गरेर प्रतिबोट ५० ग्राम युरिया र १ के.जि. गोबर मल दिनुपर्दछ ।

जमिनको तयारी :
- बहुवर्षिय बाली भएकोले पहिलो वर्ष परवल सार्ने जमिन गृष्ममा गहिरो जोताई गर्नुपर्दछ ।

- गर्मी र सुख्खा मौसममा गहिरो जोताई गर्नाले जमिनको अवस्था सुध्रिन्छ ।

- त्यसपछि कलमी सार्ने समयमा २–३ पटक खनेर जमिन राम्ररी तयार गरेपछि पंक्तिबाट पंक्तिको दुरी २ मिटर र बोटबाट बोटको दुरी १ मिटर हुने गरी पंक्तिमा लगाउनु पर्दछ ।

कलमी रोप्ने विधि :
(क) खाल्टो खनेर :
३०×३०×३० सेन्टिमिटरको खाल्टो खनेर सो खाल्टोमा १ के.जि. को दरले राम्ररी कुहिएको गोबर वा कम्पोष्ट मल, ५० ग्राम कम्प्लेक्सल र १५ ग्राम पोटास खाँडलमा हालेर राम्ररी माटोमा मिसाई खाँडल पुरीदिनु पर्दछ ।

त्यसपछि ५० सेन्टिमिटरको कलमी टुक्रालाई बेरेर गोलो बनाई, लहराको दुवै टुप्पो माटोको सतहबाट करिब १५–२० सेन्टिमिटर माथि हुने गरी रोप्नुपर्छ ।

माटोको सम्पर्कमा आएको लहराले केही दिनपछि जरा हाल्न प्रारम्भ गर्छ । जमिनदेखि माथि देखिएको लहरामा नयाँ नयाँ टुसाहरू पलाउन थाल्दछन् ।

(ख) लामो कुलेसो वा नाला खनेर :
- २५ सेन्टिमिटर चौडा र ३० सेन्टिमिटर गहिरो कुलेसो वा नाला खनेर, गोबर मल र माटोले पुरिसकेपछि १/ १ मिटरको फरकमा लहरा रोप्नु पर्दछ ।

- एक नालादेखि अर्को नालाको दुरी करिब २ मिटर नै राख्नुपर्छ ।

सिंचाई तथा गोडमेल :
- असोज–कार्तिकमा सारेको कलमी र माघ–फागुनमा रोपेको बीउ वा सारेको कलमीलाई आवश्यकता अनुसार ३–४ पटक सिंचाई गरी दिएको खण्डमा लहराको राम्रो बृद्धि हुन्छ ।

- परवललाई थाँक्रो दिने चलन नभएको र भुईमा नै फलाईने भएको हुँदा सिंचाई गर्दा खेतमा बढि पानी जम्न दिनुहुन्न ।

- जाडोमा परवलका लहराहरू पर्दछन् र बसन्तमा पुनः नयाँ मुनाहरू पलाउँदछन्।

- त्यसैले मंसिरको अन्त्यतिर सुकेका लहराहरू र मूल लहराको आधा मिटर बाहेक सबै लहराहरू काटेर फेदको माटो खुकुलो गराएर मलखादको प्रयोग गर्नु पर्दछ ।

- मूल लहराबाट धेरै नयाँ लहरा पलाएर परवल फल्दछन् ।

- खेतमा भएको घाँस र झारपातहरूलाई समय–समयमा सफा पार्नु आवश्यक छ । किनभने यी घाँस र झारहरूले परवलको वानस्पतिक बृद्धिमा बाधा पु¥याउँछन् ।

- प्रत्येक वर्ष ३–४ पटक गोडमेलको आवश्यकता पर्दछ ।

बाली संरक्षण :
- परवलको कुनै खास घातक रोग छैन । तर पात र फूललाई हानी पु¥याउने कीराहरू भने अवश्य हुन्छन् । मालिथियन वा निमजन्य बिषादि छरी यी कीरालाई नियन्त्रणमा राख्न सकिन्छ ।

बाली लिने समय :
परवलका हरिया र कलिला फल टिपेर तरकारीमा उपयोग गरिन्छ । परवल फागुनदेखि जेष्ठसम्म फलिरहने भएकाले लामो अवधिसम्म फल प्राप्त हुन्छ ।

- परवलको टिपाई हप्ताको दुई पटक गर्नुपर्छ । पहिलो वर्ष प्रतिरोपनी ३००–४००
के.जि., दोश्रो र तेश्रो वर्ष ६०० देखि ८०० के.जि. प्रतिरोपनी उत्पादन हुन्छ ।

बजार व्यवस्था :
परवल टोकरी, बास्केट वा बोरामा संवेस्टन गरेर टाढा–टाढाका शहरमा पठाइन्छन् । नेपालमा प्रायः सबै शहरमा परवलको बिक्री–वितरण हुन्छ । 

स्रोतः तरकारीबाली विकास केन्द्र, खुमलटार

थप समाचार