बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

आँप खेती, बगैचा व्यवस्थापन तथा प्रमुख रोगहरु

सोमबार, असार ४ २०८१
8 views
आँप खेती, बगैचा व्यवस्थापन तथा प्रमुख रोगहरु

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

नेपालका विभिन्न भागमा आँप खेती भईरहेको पाइन्छ । हावापानीको दृष्टिकोणले यसको खेती देशको तराईदेखि मध्य–पहाडसम्म गर्न सकिन्छ । पहाडी भेगका गर्मी ठाउँहरुमा लगाईएका आँपको बोटको वृद्धि तराई क्षेत्रमा गरिएको खेती भन्दा कम हुनुको साथै उत्पादन तथा फलको गुणस्तर पनि कम हुन्छ । उष्ण प्रदेशीय फलफूलहरु मध्ये आँपलाई प्रमुख फलको रुपमा मानिन्छ । त्यसैले यसलाई फलफूलको राजा पनि भनिन्छ । पाकेको आँपमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाईन्छ । पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ । 

उत्पति र वानस्पतिक विवरण

आँपको उद्गम स्थान दक्षिण–पूर्वि एसिया, खासगरी मलायन द्धीप समूह मानिन्छ ।डी कोन्डेल्ले तथा साथीहरुका अनुसार आँपको उद्गमस्थल हिन्द बर्मेली क्षेत्र हो । नेपालमा आँप खेतीको शुरुवात कहिलेदेखि भएको भन्ने एकिन नभएता पनि पुराना ऐतिहासिक मठ मन्दिर र राणाकालिन दरवारहरुमा अझै पनि देख्न सकिन्छ ।

आँपको वैज्ञानिक नाम म्याङ्गीफेरा इण्डिका (Mangifera indica) हो र यो एनाकार्डिएसी (Anacardaceae) परिवार अन्तर्गत पर्दछ । यसको वानस्पतिक विवरण निम्न बमोजिम रहेको छ ।

Kingdom: Plantae
Sub- kngdom: Angiosperms
Division: Magnoliophyta
Class: Magnoliopsida
Sub-Class: Rosidae
Order: Sapindales
Family: Anacardiaceae
Genus: Mangifera
Species: indica
Scientific Name: Mangifera indica L.

प्रमुख जातहरु

अगौटे जातहरु

१. बम्बई ग्रिन

२. बम्बई एलो 

३. गुलाबखास

 मध्यम जातहरु

१.दशाहरी 

२. माल्दह

३. लान्ग्रा 

४. अल्फंसो 

४. जर्दा 

हाइब्रीड जातहरु

१. अम्रपाली (दशहरी x निलम)

२. मल्लिका (निलम x दशहरी)

३. रत्ना (निलम xअल्फान्सो)

पछौटे जातहरु

१. चौसा 

२. कलकत्तिया

३. निलम

४. फजलिया 

उपयोग

 काचो हरियो फलहरुलाई अचार, चटनी र टुक्राहरुलाई घाममा सुकाएर अम्चुरबनाई प्रयोग गर्न सकिन्छ ।
 ताजा पाकेको फललाई सिधै खानमा प्रयोग गर्न सकिन्छ ।
 पाकेको आँपको टुक्रा र गुदीलाई डब्बामा बन्द गरेर वा जाम जेली बनाई संरक्षण गर्न सकिन्छ ।
 पाकेको आँपको रसलाई घाममा सुकाएर माडा वनाउन सकिन्छ ।
 ठूला ठूला रुखहरुका काठहरु घर तथा फर्निचर वनाउन सकिन्छ भने सुकेका
डांठहरुलाई दाउराको रुपमा प्रयोग गर्न सकिन्छ ।

आँपको बगैचा स्थापना र ब्यवस्थापन

आँप खेती हुने क्षेत्र

हावापानी

आँप उष्ण प्रदेशीय सदाबहार बहुवर्षीय फलफूल बाली हो । भौगोलिक अवस्था अनुसार समुन्द्र सतहदेखि २००–६०० मिटरसम्मको उचाईमा व्यवसायिक रुपमा आँप खेती गर्न सकिन्छ । नेपालमा यसको खेती उष्ण तथा उपोष्ण हावापानी भएको क्षेत्रमा राम्रो हुन्छ । यसले तुषारो र सुख्खा सहन सक्दैन । जाडो र बसन्त ऋतुमा तुषारो पर्ने ठाउँ आँप बगैचा बनाउन उपयुक्त हुदैन । वार्षिक औषत वर्षा १५०० –१८०० मि.मी (२५० से.मी.) र तापक्रम
२०–३० डि से हुने ठाँउमा यसको खेती राम्रोसँग गर्न सकिन्छ । जाडो महिनामा १० डि से र गर्मी महिनामा ४२ डि से सम्म हुने क्षेत्रहरुमा खेती गर्न सकिन्छ । तर कुनैकुनै पकेट क्षेत्रमा पाईने विशेष किसिमको सुक्ष्म जलवायुको कारणले गर्दा यो २००–६०० मी भन्दा तल वा माथि पनि खेती गर्न सकिन्छ । एउटै बिरुवाले कयौं दशकसम्म (३०–४० वर्ष) फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु पर्दछ । तसर्थ व्यवसायिक रूपमा खेती गर्दा निम्न पक्षहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।

माटो

आँपको मूल जरा गहिरो गरी जाने भएकोले आँप खेती गर्ने जग्गाको माटोको गहिराई २ मी. हुनु उपयुक्त मानिन्छ । जमीन मुनि ठूलो र कडा चट्टान नभएको, दोमट र मलिलो माटो राम्रो हुन्छ । कम मलिलोपना भएको माटोमा पनि उपयुक्त मलजलको ब्यवस्था गरी खेती गर्न सकिन्छ । पानी नजम्ने तथा निकासको ब्यवस्था राम्रो भएको माटोमा आँप खेती राम्रोसँग गर्न सकिन्छ । माटोको पि.एच. ५.५ – ७ सम्म भएको माटो उपयुक्त मानिन्छ । पि एच ५.५ भन्दा कम भएको माटोमा कृषि चुनको प्रयोग गरी माटोको अम्लियपन सुधार गर्नु पर्दछ ।


जग्गा रेखाड्ढन

आँप बगैचा स्थापना गर्दा जग्गाको कुन कुन ठाउँमा विरुवा लगाउने भनी पहिचान गर्ने कार्यलाई रेखाड्ढन भनिन्छ । रेखाड्ढन गर्ने विभिन्न तरिकाहरु भएकोले जग्गाको भू–बनावट हेरी उपयुक्त तरिकाको छनौट गर्नु पर्दछ र बोट कहाँ रोप्ने हो, त्यसको ठीक ठाउँ पत्ता लगाउनु पर्छ । किनकि रेखाड्ढन राम्रोसंग गरिएन भने बगैचा नराम्रो देखिनुका साथै बगैचामा गर्नुपर्ने कामहरुमा बाधा पुग्छ । रेखाड्ढन गर्दा बोट रोप्ने ठाउ पहिचान गरी सकेपछि सो ठाउँमा १ किला गाड्नु पर्दछ । रेखाड्ढन गर्ने निम्न तरिकाहरु छन् ।

वर्गाकार प्रणाली

mango layout.JPG
वर्गाकार तरिका

 वर्गाकार प्रणाली अन्य तरिकाहरुभन्दा रेखाङ्कन गर्न सजिलो तरिका हो र विशेष गरी समतल जग्गामा यो तरिका बढी चलन चल्तीमा रहेको छ ।
 यस प्रणालीमा बोटदेखि बोट बीचको दुरी र लाईनदेखि लाईन बीचको दुरी बराबर हुन्छ र प्रत्येक कुनामा एक विरुवा रोपिन्छ । यसरी तलको चित्रमा
देखाए जस्तै ४ विरुवाले एक वर्ग बनाउँछ ।
 यस प्रणालीमा दुबै दिशाहरुबाट जोत्न र सिँचाइ गर्न तथा अन्तरबाली लगाउन सजिलो हुन्छ । एक छेउबाट हर्को छेउसम्म देख्न सकिन्छ तथा विरुवाले प्रशस्त हावा र सूर्यको प्रकाश पाउन सक्छ ।
 रेखाड्ढन गर्दा पहिलो काम आधार रेखा खिच्नु हो । यो रेखा जग्गाको सिमानासँग समानान्तर हुने गरी खिच्नुपर्छ । आधार रेखा खिच्दा जग्गाको सिमाना र बोट लगाउने पहिलो लाईन बीचको दुरी प्रायः गरी दुई बोट बीचको दुरीको आधा हुन्छ । यो आधार रेखाको आवश्यक दूरी (दुरी देखि बोट बीचको दुरी अनुसार नाप गरी) किलाहरु गाडनु पर्छ ।
 आधार रेखामा किलाहरु गाडिसकेपछि सम्पूर्ण जग्गाको रेखाङ्कन सजिलैसँग गर्न सकिन्छ ।

आयताकार प्रणाली

Capture.JPG
आयताकार तरिका

यो तरिका वर्गाकार तरिकासँग मिल्दछ । वर्गाकार तरिकामा जस्तै आयातको ४ कुनाहरुमा एक एक विरुवा लगाइन्छ तर दुई लाइन बीचको दूरी बढी र
बोटदेखि बोटको दुरी कम हुन्छ । यस तरिकाबाट जग्गाको रेखाङ्कन गर्दा पनि खनजोत र सिँचाइ गर्न तथा अन्तरबाली लगाउन सजिलो हुन्छ । एक छेउबाट हर्को छेउसम्म देख्न सकिन्छ तथा विरुवाले प्रशस्त हावा र सूर्यको प्रकाश पाउन सक्छ । गोडमेलका लागि बढी जग्गा उपलब्ध गराउन यो विधि अपनाइन्छ ।

षट्कोणाकार प्रणाली

Capture.JPG
षटकोण तरिका 

 

 यसलाई त्रिकोणीय तरिका पनि भनिन्छ । किनकि यस तरिकामा त्रिभुज आकारमा विरुवा लगाइन्छ तर त्रिभुजका तीन वटै भुजाहरु बराबर (समबाहु) हुनुपर्दछ । त्रिभुजका हरेक कुनामा एक विरुवा रोपिन्छ र ६ वटा बोटले तल चित्रमा देखाए जस्तो गरी षट्कोण बनाउँछन् र ठीक बीचमा ७ औं विरुवा रोपिन्छ ।
 वर्गाकार तरिकाभन्दा यस तरिकाबाट रेखाड्ढन गर्दा १५५ बढी बिरुवाहरु रोप्न सकिन्छ । बिरुवाका हाँगाहरु करिब–करिब वृत्ताकार भई फिँजिन्छन् ।
यसले गर्दा तीन दिशाहरुबाट खनजोत गर्न सकिन्छ । साथै एक बोटले अर्को बोटलाई छाया पार्दैन ।
 यो तरिकाबाट रेखाङ्कन गर्दा पनि पहिले जग्गाको एक छेउबाट समानान्तरमा आधार रेखा तानेर गरिन्छ । उक्त आधार रेखामा फलफूलको किसिम अनुसार लगाउने दुरीको फरकमा चिन्ह लगाइन्छ । रेखाड्ढन गर्दा ३ वटा डण्डी÷लट्ठीमा बराबर नापका तीन वटा डोरी बाधिन्छ र डोरी तन्काएर
जग्गाको छेउमा खिचिएको आधार रेखालाई नै आधार रेखा मानेर संगैका दुई चिन्हबाट त्यही दुरी बराबरका दुई डोरीको छेउ जहाँ मिल्छ त्यस
ठाउँमा चिन्ह लगाई किला गाडिन्छ । एवं रितले बाकी जग्गाका रेखाड्ढन गरिन्छ । 

पंचवृक्षी प्रणाली

Capture.JPG
पंचवृक्षी तरिका

 यस प्रणालीमा पनि वर्गाकार तरिका झैँ बिरुवा लगाउन सकिन्छ, तर वर्गको बीचमा थप एक बोट लगाइन्छ । यो प्रणाली षट्कोणाकार तरिकासँग
मिल्दछ ।
 बीचमा लगाइने बोट छोटो अवधिको बाली हुनु पर्दछ । मुख्य बालीले फल दिन थालेपछि बीचको बोट हटाइन्छ । यस तरिकाबाट रेखाड्ढन गर्दा जग्गाको राम्रो सदुपयोग हुन्छ तर खनजोत गर्न अप्ठ्यारो हुन्छ ।

गह्रा कान्ला (कन्टुर) प्रणाली

Capture.JPG
कन्टुर तरिका

 यो विधिको प्रयोग पहाडको गह्रा—गह्रा परेको जग्गामा अपनाइन्छ । यदि जग्गाको ढलुवापन (भिरालोपन) १०५ भन्दा बढी छ भने कान्लाहरु बनाउनुपर्छ ।
 यस प्रणालीमा एक लाईनदेखि अर्को लाईन बीचको दूरी बराबर राखिन्छ, तर बिरुवादेखि बिरुवा बीचको दुरी भने जग्गाको भिरालोपनले गर्दा एकनासले कायम राख्न नमिल्ने हुदा फरक फरक हुन जान्छ ।
 रेखाड्ढन गर्दा सबभन्दा तल्लो भागको वरिपरिबाट एक समउच्च रेखा तयार पारिन्छ । यसलाई नै आधार रेखा मानेर निश्चित उचाईमा अरु रेखाहरु
खिचिन्छ र तिनै रेखाको निश्चित दुरीमा विरुवा लगाइन्छ । यस प्रणालीले माटो र वर्षाको पानीलाई संरक्षण गर्छ जसले गर्दा धेरै वर्षसम्म बोटको वृद्धि
र विकास भइरहन्छ ।

विरुवा लगाउने दूरी

Capture.JPG
दूरी

आँपको विरुवा ब्यवस्थापन

 विरुवा छनोट गर्दा निम्न पक्षमा ध्यान दिनु जरुरी पर्दछ ।
 बोट कलमी गरी तयार गरिएको पक्का हुनु पर्छ ।
 बेर्नाको जात स्पष्ट रुपमा खुलेको हुनुपर्छ । साथै जातीय शुद्धताको ग्यारेण्टी समेत हुनुपर्छ ।
 बेर्ना स्वस्थ हुनुपर्छ पातहरु हरियो, चिल्लो र रोग कीरा नलागेको हुनु पर्छ ।
 बेर्नाको उमेर बढी हुनुहुदैन । १ – २ वर्ष उमेर भएको विरुवा हुनु पर्दछ ।
 बोट सीधा बढेको हुनुपर्छ ।
 बेर्नाको जरा सकभर धेरै भएको र राम्ररी फैलिएको हुनुपर्छ ।
 बेर्नामा कलमी गरिएको ठाउँबाट २– ३ फिट उचाई भएको हुनुपर्छ ।
 बेर्नामा उखेल्दा बेर्नाको जरा धेरै काटिएको हुनुहुदैन ।


विरुवाको प्याकिन्ग  र ढुवानी

 बेर्नाको प्याकिङ्ग राम्रोसंग गरिएको छ÷छैन हेर्नु पर्दछ । बेर्नाबाट माटो नखस्ने गरी र जरा नहल्लिने गरी राम्रोसंग बाधिएको हुनुपर्छ ।

 बेर्ना ढुवानी सुरक्षित तरिकाबाट गरिनु पर्दछ । दिनको समयमा भन्दा रातमा ढुवानी गर्न उपयुक्त हुन्छ|

रोप्ने समय

 आँपको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय बर्षा याम (जेष्ठ–श्राबण) हो । बढी पानी पर्ने क्षेत्रहरु झापा, मोरङ र चितवनमा बर्षाको अन्त्यतिर रोप्न उपयुक्त हुन्छ । कम पानी पर्ने क्षेत्रहरुमा मनसुनको सुरुवात मै रोप्नुपर्छ ।
 बेर्ना रोप्ने सबैभन्दा उपयुक्त समय बेलुकीपख हो । दिउंसो रोप्दा पातहरुबाट पानी उडेर जाने हुँदा बोट ओइलाउंछ ।

विरुवा लगाउने तरिका

 कलमी बोटको जरामा भएको माटो पुरिने गरी खाडलको बीच भागमा राखिएको लठ्ठी झिकेर माटो निकाल्ने ।
 आँपको विरुवालाई माटोको गोला सहित खाडलको बीच भाग पर्ने गरी रोप्ने ।
 विरुवाको फेद वरिपरिको माटोलाई राम्ररी थिच्ने ।
 विरुवाको फेद वरिपरिबाट सानो बेसिन बनाएर बोटलाई सिंचाई गर्ने ।
 कलमीको जोर्नीलाई माटोमुनी पुर्नु हुदैन । कलमी गरेको भाग जमीनको सतहभन्दा १५ से.मी. माथि हुनुपर्दछ ।
 कलमीको बोटलाई हावाले भाँच्नबाट जोगाउन विरुवा नजिकै काठको टेको दिनुपर्छ र टेको र विरुवालाई अंग्रेजी आठ (ड) आकार बनाई जुटको डोरीले बाध्नु पर्दछ ।

Capture.JPG
विरुवा रोप्ने तरिका 


 सिंचाई

 आँपलाई वर्षभरी नै सिंचाई आवश्यकता नपरेता पनि वृद्दि विकासको खास समयमा आवश्यक मात्रामा सिंचाई दिनुपर्छ ।
 आँपको विरुवा राम्रोसँग नसर्दासम्म पटक–पटक सिचाई गर्नुपर्दछ । आँप रोपेपछि वर्षातको परिमाण हेरी सिचाई गर्नु उपयुक्त हुन्छ ।
 बलौटे माटो र कम पानी पर्ने क्षेत्रहरुमा बोटहरुलाई शरद ऋतुमा एकपटक राम्ररी सिंचाई गर्नुपर्छ । यस सिंचाइले फूल फुल्न मद्धत गर्छ ।
 फल झर्ने प्रक्रिया रोक्नका लागि फल लाग्ने बेलामा २–३ पटक सिंचाईको आवश्यकता पर्दछ ।
 बोट वरिपरि बेसिन अथवा रिङ्ग बनाएर सिंचाई गर्दा पानीको सदुपयोग हुन्छ ।

 मलखाद प्रयोग 

Capture.JPG
Capture.JPG
स्रोत: प्रशिक्षक म्यानुअल, उष्ण फलफूल, के.कृ.ता.के.,हरिहरभवन

आँपमा बर्ष बिराएर फल्ने बानी (Alternate bearing)

आँपमा एक बर्ष बढी फल्ने र अर्को बर्ष कम फल्ने वा फल्दै नफल्ने बानी हुन्छ । यस प्रकारको फल्ने बानीलाई आँपमा बर्ष बिराएर फल्ने बानी अथवा एकत्रो फल्ने बानी पनि भनिन्छ । फल बढी फलेको वर्षपछि कम फल्ने वा फल्दै नफल्ने वर्ष आउँदछ । कहिलेकाँही ३–४ वर्षमा एक वर्ष मात्र राम्रो बाली प्राप्त हुन्छ । जुन बर्ष आँप बढी फल्छ त्यस बर्षलाई फल्ने बर्ष (On Year) र कम फल्ने वा नफल्ने बर्षलाई नफल्ने बर्ष (Off Year) भनिन्छ । धेरैजसो जातहरु बेस्सरी फल्दछन् र १०–१२ वर्षको उमेरपछि प्रत्येक वर्ष फल्न असमर्थ हुन्छन् ।

बर्ष बिराएर फल्ने बानीमा असर गर्ने तत्वहरु

(क) बाह्य तत्वहरु– प्रकाश, तापक्रम, हावा, सापेक्षिक आद्रता, चिस्यान, रोग र कीरा आदि ।
(ख) आन्तरिक तत्वहरु– फिजियोलोजिकल, पोषण सम्बन्धि, लैङ्गीक अनुपात र हरमोनको असन्तुलन ।

ब्यवस्थापनका गर्ने उपायहरु
 नियमित फल्ने जातहरु, जस्तै – नीलम, मल्लिका र आम्रपाली जस्ता जातहरु छनोट गरि रोप्नुपर्छ ।
 बोट फराकिलो दुरीमा रोप्नुपर्छ र हावा रोक्ने रुखहरु लगाउनु पर्छ ।
 एक पटक अक्टूबरमा (असोज–कार्तिक) जोत्नुपर्छ । अर्को पटक डिसेम्बरमा (मंसीर–पुष) र तेस्रोपटक मे–जुनमा (वैशाख–जेष्ठ) जोत्नुपर्छ । पहिलो जोताईमा करिब ३००–४०० के.जी. गोबर मल वा कम्पोष्ट प्रतिकठ्ठा प्रयोग गर्नुपर्छ । माघ–फाल्गुणमा नया वानस्पतिक वृद्धिलाई प्रोत्साहित गर्न वयस्क बोटहरुमा जेष्ठमा १–२ के. जी. यूरिया प्रतिबोटका दरले प्रयोग गर्नुपर्छ ।
 फल लाग्नासाथ तुरुन्त सिंचाइ गर्नुपर्छ ।
 फूल पातलो पार्ने काम मौसमको प्रारम्भमा नै गर्नुपर्छ । यस प्रक्रियाबाट हाँगाहरुको वृद्धि उही मौसममा हुन्छ र अर्को वर्ष फल लाग्दछ ।
 कार्बोहाइड्रेट र नाइट्रोजनको अनुपात वृद्धि गर्न हाँगाहरुबाट बोक्राको चक्का हटाउने गर्नाले नफल्ने वर्षमा फल्न बाध्य गराइन्छ ।

 आँपका प्रमुख रोगहरु


१. कोत्रे रोग (Anthracnose)

यो रोग Colletotrichum gloeosporioides भन्ने ढुसीबाट लाग्दछ । नेपालमा यो रोग सबैतिर देखिएको छ ।

लक्षणहरु:

यो रोग कलिलो पात, मसिना हाँगाहरु, मुजुरा तथा फलहरुमा देखा पर्दछ । पातको सतहमा थुप्रै अण्डाकार वा आकारविहीन गाढा खैरो र सुकेको थोप्लाहरु देखा पर्दछन् । आद्र्र मौसममा यी थोप्लाहरु बढ्दछन् र आकारविहीन सुकेका थोप्लाहरु बन्छन् । यो रोग कलिला पातहरुमा बढी लाग्दछ । कलिला हाँगाहरुमा रोग लागेमा रोगी हाँगाहरु टुप्पाबाट मर्दै जान्छन् । रोगग्रस्त मसिना हाँगाहरुमा काला मरेका भागहरु देखिन्छन्, जुन टुप्पोबाट सुक्दै तलतिर आउँछ र यस्ता हाँगाहरुबाट पातहरु झर्छन् । कोपिलाहरु डढेको अवस्थामा आँपको मुजुराका फूलमा काला थोप्लाहरु
देखिन्छन्, जो सुक्छन् र झर्छन् । फलमा यो रोग लागेमा फलको सतहमा विभिन्न आकारका काला थोप्लाहरु देखिन्छ । यी थोप्लाहरु एक–आँपसमा जोडिएर ठूला थोप्लाहरु बन्छन् र अन्तमा पूरै फललाई ढाक्दछ । रोग लागेका झर्दछन । रोगी थोप्लाहरुको ठीक तलको गुदी प्रायः साह्रो (कडा) हुन्छ । 
रोगको स्रोत
रोग लागेर भुइँमा झरेको पात तथा मसिना हाँगाहरुमा लामो समयसम्म बाँच्न सक्दछ र अन्य बोटमा रोग सर्ने माध्यमको रुपमा काम गर्दछ ।
रोग लाग्ने उपयुक्त समय/अवस्था आद्र्र तथा कुइरो लाग्ने अवस्थाहरुमा रोग लाग्ने अति उपयुक्त समय हो । सापेक्षिक आद्र्रता ९५५ भन्दा कम भएमा ढुसी बढ्दैन ।

ब्यवस्थापनका तरिकाहरु :
 गर्मी याममा उपयुक्त मलखाद तथा सिंचाइको प्रयोगबाट बिरुवाको स्वास्थ्य कायम राख्छ । यसले मसिना हाँगाहरुलाई रोगबाट टाढा राख्छ ।
 रोग लागेका मसिना हाँगाहरुलाई काँटछाँट गरी झरेका पातहरुसहित जलाई दिनुपर्छ ।
 काँटछाँट गरेपछि उपयुक्त रोगनाशक विषादिहरु, जस्तै– १५ को (५ः५ः५०) बोर्डो मिश्रण, ब्लाइटक्स–५० अथवा क्याप्टान १.५ ग्राम प्रतिलिटर पानीमा मिसाई दोस्रो हप्तासम्ममा ४ देखि ५ पटकसम्म छरेको खण्डमा यो रोग सन्तोषजनक रुपमा व्यवस्थापन गर्न सकिन्छ ।

२. खराने /सेतो धूले ढुसी ((Powdery mildew)

यो रोग Odium mangiferae (Berth) भन्ने ढुसीबाट लाग्दछ । आँपका बोट–बिरुवामा लाग्ने ढुसी रोग मध्ये खराने रोग प्रमुख हो । यो रोग आँप उत्पादन हुने सबै ठाउँमा नै फैलिएको पाइन्छ ।

लक्षण

रोग लागेको पात, फूलका कोपिलाहरु, फूलको भेट्नो, फूलहरु तथा स–साना कलिला फलहरुमा सेतो–खैरो रङ्गको पाउडर अथवा धुलो देखिन्छ । रोग लागेको ठाउँमा खरानी छरे जस्तो देखिने हुदा यस रोगलाई खराने रोग पनि भनिन्छ ।रोगको लक्षण पहिले मुजुराको टुप्पोमा देखिन्छ र तलतिर फैलिन्छ । यसरी फूलको भेट्नो, मुजुराको भेट्नो, कलिला पातहरु तथा कलिला डाँठहरुलाई ढाक्छ । यसले गर्दा पातहरु केही राता हुन्छन् र दोब्रिन्छन् । रोग धेरै लागेका फूल तथा कलिला फलहरु सुक्छन् र नपाक्दै झर्छन् । रोग लागेको भागहरुको कोषभित्रबाट ढुसीले रस चुसेर लिने हुदा रोगी
भाग सुकेर कालो भई फल लाग्न सक्दैन ।

रोगको स्रोत

यो रोग हावाको माध्यमबाट सर्ने भएकोले हावा लागेको दिशातिर यो रोग बढ्दै जान्छ । रोगको प्रकोप मंसिरदेखि फाल्गुनसम्म बढी हुन्छ । तातो आद्र्र
मौसम तथा ठन्डी रातहरुमा रोगका जीवाणुहरु रोगी ठाउँबाट अर्को ठाउँमा फैलिन मदत पुग्दछ । फूल खेल्ने बेलामा यदि हावामा बढी आद्र्रता छ र बदली मौसम भई तापक्रम बढन गएको खण्डमा पूरै बोटमा यो ढुसी लाग्न सक्छ र रोगको प्रकोप बढेर फल लाग्न नै दिदैन फलस्वरुप उत्पादनमा पूरा ह्रास आउन सक्छ ।

ब्यवस्थापनका तरिकाहरु:
 खेतबारीको सरसफाई: रोगी मसिना हाँगाहरुले महत्वपूर्ण स्रोतको काम गर्न सक्छ । अतः रोगी मसिना हाँगाहरु काँटछाँट गरी झरेका पात तथा मसिना हाँगाहरुसहित जलाइ दिनुपर्छ ।
 फूल फूलेपछि केराथेन नामक ढुसीनासक विषादि १ लिटर पानीमा २ मि.लि. राखी छर्ने । त्यस पछि १५ दिनको फरकमा एक वा दुईपटक छर्नु पर्दछ ।
 मसिनो गरी पिंधेको (३२५ मेसको) गन्धकको धूलो पनि यस रोग विरुद्ध छर्न सकिन्छ ।
 कार्वोन्डाजिस (बेविस्टीन) ०.५–१ ग्राम प्रति लिटर पानीमा मिसाई आँपमा फूल खेल्नु अगाडि एक पटक छर्नु पर्छ । फूल प्रशस्त फुलेको अवस्थामा अर्काेचोटि र त्यसपछि फल लागि सकेपछि १५ दिनको अन्तरमा १–२ चोटि छर्नुपर्छ । यदि विषादीहरु छरेपछि पानी परेमा पानी पर्न बन्द भएपछि पुन छर्नु उचित हुन्छ ।


३. आँपको बिकृति रोग (Mango malformation)

यो एउटा जटिल प्रकारको विकृति हो । यो Fusarium Moniliforme Var. Subglutinans भन्ने ढुसीको कारण लाग्दछ ।

लक्षण

यसको मुख्य लक्षणमा मुजुराहरु गुजमुज्ज परेको नपुंसक फूलहरुका झुप्पामा परिणत हुन्छ । केही समयपछि मुजुरा परिवर्तन भई स–साना पात आकारका बनौटहरु देखिन्छन् । यो रोग लागेको बोटमा पातहरु साना–साना हुन्छन् र हाँगाहरु झुप्पामा परिणत हुन्छन् ।

ब्यवस्थापनका तरिकाहरु :

 रोग लागेका कलिला हाँगाहरु र फूलका गुच्छाहरुलाई काँटछाँट गरी हटाउने र जलाइ दिने ।
 काँटछाँट गरेपछि, ढुसीनाशक विषादि क्याप्टान १.५ ग्रा. वा वेमिष्टिन १ ग्राम एक लिटर पानी टाँसिने पदार्थको मिश्रण बनाई पूरै रुखमा छर्नुपर्छ । विषादी छर्ने काम प्रत्येक १० दिनको फरकमा दोर्उयौनुपर्छ ।

स्रोत: आँप खेती प्राविधिक पुस्तिका, राष्ट्रिय फलफूल विकास केन्द्र, काठमान्डौ|

थप समाचार