बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

खुमल–१० धान खेती कसरी गर्ने?

बुधबार, असार ६ २०८१
7 views
खुमल–१० धान खेती कसरी  गर्ने?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

खुमल–१० धान, खुमल–५ र आइ आर–३६ जातको क्रसबाट विकसित गरिएको हो । जसमा आइ आर ३६ को जस्तो रोग सहने क्षमता र पोखरेली मसीनोको जस्तो बोट, धान र चामल हुने गुण छ । यसको बोट र धान पोखरेली मसिनो जस्तो तर चाँडो पाक्छ ।

अनुसन्धानको क्रममा यो जातको ६० दिनसम्मको छिप्पिएको बुढो बेर्ना रोप्दा पनि प्रचलित जात खुमल–४ भन्दा राम्रो उत्पादन दिएकोले बदलिंदो मौसमी प्रतिकुलतामा असिंचित क्षेत्रहरुका लागि पनि उपयुक्त हुन्छ । खुमल–१० लाई खेतमा छरुवा धानको रुपमा पनि खेती गर्न सकिन्छ ।

जातीय गुण
- सिंचित र असिंचित दुबै क्षेत्रमा समयमै वा ढिला गरी (श्रावण पहिलो हप्ता सम्म) रोप्दा पनि प्रचलित जात खुमल–४ ले भन्दा बढि उत्पादन दिन्छ ।

- यसको बोट दरो भएकोले नढल्ने, चाँडै पाक्ने, बढि फल्ने, चामल पर्ने, पोखरेली जस्तै दाना मसिनो र खाना स्वादिलो हुनुको साथै पराल पनि बढि हुने र गाईभैंसीले मन पराउने हुन्छ ।

रोप्ने तरीका
- मध्य पहाडी क्षेत्रको ८००–१५०० मिटर उचाईसम्मका कम मलिलो, टार तथा कान्ले खेतमा लगाउन सकिन्छ ।

- जेठ अन्तिमसम्म ब्याड राखी आषाढ अन्तिमसम्म रोपी सक्नु पर्छ । राम्रो र स्वस्थ धान उत्पादनको लागि धानलाई अनिवार्य रुपले बीउ उपचार गरेर मात्र ब्याड राख्नु पर्दछ ।

- बीउ उपचारको लागि छर्नु भन्दा अगाडी साफ, सफल, वेभिष्टिन वा डेरोसाल पाउडर विषादी ३ ग्राम प्रति किलोग्राम धानका दरले मिसाउने र राम्ररी
चलाएर बन्द भाँडामा राख्नुपर्छ ।

- यसरी उपचार गरेको ४–५ दिन पछि व्याडमा बीउ छर्नु पर्दछ । रोप्न ढिलो
गरेमा उत्पादनमा कमी आउँछ । धान रोप्न २०–२५ दिनको बेर्ना उपयुक्त हुन्छ ।

- बुढो बेर्ना रोप्दा सर्न ढिलो हुने र गाँज कम हाल्ने भएकोले उत्पादनमा कमि आउँछ ।

- बेर्ना उखेलेर सकेसम्म चाँडै रोप्नु पर्दछ । रोपाई गर्दा हार देखि हार २० से.मी. र बोटदेखि बोटको दुरी १५ से.मी. को फरकमा २–३ वटा बेर्ना २–३ से.मी.
गहिराईमा रोप्नु पर्दछ ।

गोडमेल र सिंचाई
- धान रोपेको ४–५ दिनमा बुटाक्लोर नामक झारनासक विषादी १.२५ किलो प्रति रोपनीका दरले सवै खेतमा पर्ने गरी छरेमा झारको प्रकोप कम हुन्छ । तर यसरी झारनासक विषादी प्रयोग गर्दा खेतमा छिपछिपे पानी हुनु पर्छ ।

- रोपेको २५–३० दिनमा र ५०–६० दिनमा गरी दुई पटक धान खेतमा आएका झारपात निकाली दिनु पर्दछ ।

- धान रापेको ५–६ दिनपछि १५–२० दिन सम्म ३–५ से.मी. र त्यसपछि धान पाक्नु भन्दा १५–२० दिन अगाडी सम्म ५–७ से.मी. पानी जमाउनु पर्दछ । पानी जमाई राख्दा झारपातको प्रकोप कम हुन्छ ।

- सिंचाई र निकासको राम्रो व्यवस्था भएमा धानको गाँजहाल्ने अवस्थामा ५–७ दिनको अन्तरमा पानी जमाउने र सुकाउने गरेमा उत्पादनमा वृद्धि गर्न सकिन्छ ।

मलखाद व्यवस्थापन
- जग्गाको पहिलो जोताई अगाडी राम्ररी पाकेको कम्पोस्ट मल ५–१० डोको प्रति रोपनीका दरले राख्नु पर्दछ ।

- धान रोप्ने वेलामा वाउसे गरी सकेपछि डि.ए.पि. ४.५० र पोटास २.५० किलो प्रति रोपनीका दरले सबै जमीनमा एकनासले पर्ने गरी छर्नु पर्दछ ।

- धान रोपेको २५–३० दिनमा र ५०–६० दिनमा प्रत्येक पटक गोडमेल पछि २ किलो यूरीया प्रति रोपनीका दरले टपडे«स गर्नु पर्दछ ।

- मल प्रयोग गरेपछि २४ घण्टासम्म खेतवाट पानी वगेर जान दिनु हुँदैन ।

रोग कीरा व्यवस्थापन
अनुसन्धानको क्रममा यो जातमा किराको प्रकोप त्यति देखिएको छैन । तर मौसमको प्रतिकुलता वा ठाउँ विशेषमा मरुवा र फेद कुहिने रोग लाग्न सक्छ ।

- त्यसैले ब्याड राख्नु अगाडि बीउको उपचार गरेको खण्डमा रोपेको ३०–४० दिनसम्म रोगबाट बचाउन सकिन्छ ।

- त्यसपछि रोगको लक्षण देखिएमा हिनोसान १.५ मि.लि. वा कासु बि बिषादी २ मि.लि. वा विम पाउडर १ ग्राम प्रति लिटर पानीमा मिसाइ गजाउने र पोटाउने बेलामा सवैवोटमा पर्ने गरी छर्दा मरुवा रोगवाट बचाउन सकिन्छ ।

- विषादी छर्दा शित ओभाएको र हावा नचलेको समय मिलाएर छर्नु पर्दछ ।

उत्पादन तथा भण्डारण
धानको माथिल्लो पात पहेंलिएपछि र वालाका करिव ८०–९० प्रतिशत दाना पंहेलिएपछि धान काट्न सकिन्छ । यो जातको धान व्याड राखेको १३५–१४० दिनमा पाक्दछ ।

- धान झारेपछि ३–४ घाम सुकाई केलाई गरेर भण्डारण गर्नु पर्दछ । राम्ररी नसुकेको धान भण्डारण गरेमा कुहिने, किरा लाग्ने र चामल टुक्रिने हुन्छ । यो
जातको सरदर उत्पादन २४० किलो ग्राम प्रति रोपनी छ भने बढिमा ४०० किलोग्राम सम्म उत्पादन भएको पाइएको छ ।

स्रोतः कृषि विकास शाखा, गौमुल गाउँपालिका

थप समाचार