परिचय
मेशिनले धान रोप्ने प्रविधि (Mechanical Rice Transplanting Technology) विशेष प्रकारले तयार गरिएको कलिलो बेर्नालाई आधुनिक मेशिनको सहायताले रोपाई गर्ने प्रविधि हो ।
परम्परागत तरिकामा ३०–४० दिनसम्मको नर्सरीवाट उखेलिएको, जरा पखालिएको र जरामा असर पुगेको बेर्ना रोप्ने गरिएकोमा यस प्रविधिमा १५–२० दिनको (माघमा राखिएको नर्सरीमा २५ दिनसम्म) कलिलो बेर्ना रोपिन्छ ।
आधुनिक प्रविधिको रुपमा भित्रिएको धान रोप्ने मेशिन खर्चिलो र कष्टपुर्ण मानव श्रमलाई यन्त्रद्वारा बिस्थापन गर्ने माध्यम हो । यस प्रविधिमा प्लाष्टिक ट्रे वा म्याट नर्सरीमा उत्पादन भएको धानको बेर्नालाई मेशिनको प्रयोगबाट रोप्ने गरिन्छ ।
धान रोप्ने मेशिनको प्रयोग गर्नाले खेतमा धानको विरुवा बिच निश्चित दुरी कायम हुन्छ, जुन पछि गरिने झार गोड्ने, मलखादको प्रयोग तथा धान काट्ने समयमा पनि अन्य मेशिनहरु प्रयोग गर्न सजिलो हुने गर्दछ । स्वस्थ बिरुवा विकासको लागि आवश्यक मात्रामा हावाको प्रवाह हुनु जरुरी हुन्छ जुन कुरालाई मेशिनबाट धान रोप्दा सहयोग गर्दछ ।
मेशिनले धान रोप्दा हुने फाइदाहरु
१. लाइनमा मिलाएर रोप्ने हुनाले हावा, घाम र पानीको उचित व्यवस्थापन हुने तथा कलिलो विरुवा (१५–२० दिनको) रोपिने हुनाले विरुवाको वृद्धि भई उत्पादकत्व बढ्छ ।
२. लाइनमा रोपेर झार निकाल्न मेशिन तथा औजारहरुको प्रयोग गर्न सकिन्छ ।
३. औसतमा २२ जना श्रमिकले एक हेक्टर धान रोप्ने गरेकोमा ६ लाईनमा रोप्ने चार पाङ्ग्रे मेशिनबाट प्रति घण्टा १५ कठ्ठाका दरले दिनमा ४–५ हे. सम्म धान रोप्न सकिने हुन्छ । अर्थात, एउटा मेशिन र ३ जना श्रमिकले दिनमा करिव ८०–१०० जनासम्म श्रमिकको कार्य गर्न सक्छ ।
४. बेर्नाको जरामा कुनै क्षति नहुने, नर्सरीको माटोसँगै जमिनमा रोपिने हुनाले रोपिसकेपछि छिटो बढ्छ ।
५. धानको उत्पादन लागत घटाउँछ ।
६. मेशिनको प्रयोग युवा मैत्री हुन्छ, व्यवसायिकता वृद्धि हुन्छ र खेती प्रणालीमा
आधुनिकता थपिन्छ ।
मेशिनले धान रोप्न ध्यान दिनुपर्ने मुख्य विषयहरु
- विशेष प्रकारको नर्सरी राख्नुपर्छ ।
- मेशिनको उपलव्धता सुनिश्चित गर्नुपर्दछ ।
- मेशिनसँग मिल्ने प्रकारको नर्सरी ट्रे, नर्सरी राख्ने दिन र रोपाईको क्यालेण्डर बनाउनु पर्दछ ।
- सिंचाई र गह्रामा बढी भएको पानीको निकासको प्रवन्ध गरिनुपर्दछ । छिपछिपे पानी भएको हिलोमा रोप्न सहज हुन्छ ।
- नर्सरी ट्रेको विकल्पमा प्लाष्टिक म्याट नर्सरी बनाउँदा २ से.मी. भन्दा बाक्लो मोटाई बनाउनु हुँदैन ।
- रोपाई लगत्तै झार उम्रिनु पुर्व प्रयोग गर्ने विषादीको उचित प्रयोग गर्नुपर्छ ।
४. विशेष प्रकारको नर्सरी
मेशिनमा प्रयोग हुने यो नर्सरी प्लाष्टिक विच्छाएर स–साना प्वाल बनाई फ्रेमको हायताले माटोको चटाई तयार गरी वा मेशिनसँग मिल्ने साईजको ट्रेमा बेर्ना राखी (गुन्द्रि, चटाई, म्याट) तयार गर्नुपर्दछ ।
विशेष प्रकारको नर्सरीको लागि बीउ र माटो तयारी
बीउ व्यवस्थापन तथा बीउ उपचार
- बीउको काम उम्रने मात्र हो भन्ने दृष्टिकोण हटाउनु पर्दछ ।
- गुणस्तरिय बीउवाट गुणस्तरिय बिरुवा तयार गर्नुपर्छ ।
- बीउ खरिद गर्दा सुचिकृत जातको बीउ खरिद गर्नु र भरपर्दो स्रोतवाट ल्याउनु महत्वपूर्ण हुन्छ ।
नुन पानीको घोलमा बीउ उपचार/छनौट बिधी :
- बाल्टिनमा आधा बाल्टिन पानी लिनुहोस् ।
- बाल्टिनमा अण्डा राख्नुहोस् जुन सुरुमा डुब्छ ।
- अव पानीमा नुन राख्दै घोल्दै जानुहोस् ।
- जब अण्डा नुनपानीमा उत्रिन थाल्दछ घोल तयार भयो ।
- अण्डा निकाल्नुहोस् र बीउ पानीमा हालेर चलाउनुहोस् ।
- ५–१० मिनेटमै उत्रिएको दानालाई निकालेर डुबेको बीउ छुट्याउनुहोस् ।
- नुनपानीमा डुबेको स्वस्थ बीउलाई निकालेर ३–४ पटक राम्रोसँग पखालेर छायाँमा सुकाई छर्नुहोस् ।
बीउ उपचार कसरी गर्ने ?
१. धानको बीउलाई नुन पानीले छनौट गरेर राम्ररी पखालीसकेपछी गर्मी मौसममा १२–२४ घण्टा सम्म र जाडो मौसममा राखिने बीउमा करिब २४– ४८ घण्टा पानीमा पुरै भिजाउने ।
२. पानीले ढाडिएको बीउ बाहिर निकाली छायाँमा हल्का ओभानो बनाउने ।
३. ढुसीको प्रकोप हुनसक्ने भएकोले कार्वेन्डाजिम ५०% डब्लु.पी. र मेन्कोजेब ७५% डब्लु.पी. वा ट्राईसाक्लाजोल ७५% डब्लु.पी. विषादी २–३ ग्राम प्रति १ के.जी. बीउका दरले ढाडिएको तर नफुटेको बीउलाई उपचार गर्ने ।
४. यसरी उपचार गर्दा २–३ ग्राम विषादी करिब ५ मि.लि. पानीका दरले आवश्यकता अनुसारको लेदो बनाउने ।
५. विषादीको लेदो सबै बीउमा पर्ने गरी मिलाउने र आवश्यकता अनुसार चलाउने।
६. केही समय छायाँमा सुकाएर हल्का फुट्न लागेको बीउ छर्ने ।
याद गरौं ! ढुसीनासक बिषादि टुसा उम्रिसकेको बीउमा प्रयोग गर्दा झन् हानी हुनसक्ने भएकोले ढाडिएको तर नफुटेको बीउमा मात्र प्रयोग गरौं ।
बीउको आवश्यक परिमाण
- प्रति ट्रे अनुमानित ७० ग्राम (मसिनो जातको ६० ग्राम देखि मोटा धानको बढीमा ८० ग्राम सम्म प्रयोगमा ल्याउन सकिने वा,
- प्रतिकठ्ठा: न्युनतम ५०० ग्राम देखि ८०० ग्राम सम्म वा,
-. प्रति बिघा : अनुमानित १० के.जी.देखि १६ के.जी.सम्म
नर्सरी ट्रे
हाल मेशिन अनुसारका प्लाष्टिक ट्रेहरु प्रयोगमा रहेका छन् । ट्रेहरु केही फरक प्रकृतिका पनि हुन सक्छन् । यसको साईज २८ से.मी. â ५८ से.मी. â २–२.५ से.मी. रहेको छ । ट्रेको पिंधमा स–साना प्वालहरु बनाइएका हुन्छन् । ट्रेको सतह साधारण Normal Type देखि सामान्य खाल्डाहरु भएको Bubble Type हुन्छन् ।
माटो तयारी
अघिल्लो सिजनमा धान खेती नभएको क्षेत्रको मलिलो माटो नर्सरीका लागि उपर्युक्त मानिन्छ । यसलाई सामान्य जालीले छान्नुपर्ने हुन्छ । सामान्य बालुवा छान्ने जाली वा मोटर जडित स्वचालित जाली भएको मेशिनले पनि माटो छान्न सकिन्छ ।
नछाने के हुन्छ ?
यदि नछानेको माटो प्रयोग गर्ने हो भने मेशिनको रोप्ने भागमा ढुङ्गा अड्किने, रोप्ने भाग (Planting Arms) बिग्रने हुनाले अनिवार्य छान्ने व्यवस्था गर्नुपर्दछ ।
हिलो माटो छान्न सकिन्छ ?
निरन्तरको वर्षाको कारण यदि धुलो माटो छान्न समस्या भएमा राम्रोसँग हिल्याएको माटो पनि छानेर प्रयोगमा ल्याउन सकिन्छ । तर यो धुलो माटो छानेजस्तो सहज हुँदैन ।
माटो र मलको मिश्रण बनाउने
एउटा नर्सरी ट्रेको साईजमा करिब ४ के.जी. सुख्खा र जालीबाट छान्न मिल्ने माटो र मलको परिमाण प्रयोग गर्न सकिन्छ । यदि प्रशस्त प्राङ्गारिक पदार्थ भएको मलिलो हल्का बलौटे दोमट माटो प्रयोगमा छ भने नर्सरीका लागि उपर्युक्त हुन्छ ।
यदि खेती गरिएको जमिनमा भएको माटो छ भने चार भागको एक भाग (२५%) कुनै गुणस्तरिय मल (गड्यौले मल, राम्रोसँग पाकेको गाईवस्तुको मल वा धुलो बनाईएको कुखुराको सुली वा यस्तै प्रकृतिका मलहरु) प्रयोगमा ल्याउँदा बेर्नाको विकास राम्रोसँग हुन्छ ।
एक दुई महिना अगावै त्यस्तो मल माटोको व्यवस्थापन गरी सुरक्षित राख्दा अझ उपर्युक्त हुनेछ । तयार गरिएको माटो र मलको समिश्रणमा करिब प्रति ट्रे २.५–३ ग्राम डि.ए.पी. धुलो बनाएर राम्ररी मिसाउँदा पनि उपर्युक्त हुने देखिएको छ ।
नर्सरीका लागि बीउ छर्ने मेशिन
म्यानुअल सिडर मेशिन
लाइनमा मिलाएर राखिएको ट्रेमा मेशिनको पाङ्ग्रा गुड्न मिल्ने गरी बनाइएको फ्रेममा यो मेशिनलाई गुडाएर आवश्यकता बमोजिम बराबर बीउ छर्न सकिन्छ । कतिपय मेशिनहरुमा मिटर समेत जडित हुन सक्छ ।
मिटर जडाननभएको मेशिनमा ढिलो छिटो फ्रेममा मेशिन गुडाउँदा पनि केही मात्रामा बीउको परिमाण तलमाथी पार्न सकिन्छ ।
स्वचालित सिडर मेशिन
यो मेशिन विद्युतबाट चल्ने मेशिन हो । ट्रेमा माटो भर्ने, पानी मिलाउने, बीउ छर्ने र बीउलाई हल्का पुर्नेसम्मको कार्य गर्ने गरी स्वचालित भएको यो मेशिनको
व्यवस्थित प्रयोगले प्रतिघण्टा ६०० सम्म ट्रेमा तयारी अवस्थामा नर्सरीमा राख्न सकिन्छ । माटोको पुर्व तयारी भएमा तथा सामुदायिक नर्सरी राख्ने स्थानमा यो मेशिन सवैभन्दा प्रभावकारी हुन्छ ।
समुदाय मिलेर नर्सरी राख्न चाहेमा एक ठाउँमा यो मेशिनको कार्य पुरा गरी तयारी ट्रेको ढुवानी गर्ने व्यवस्था मिलाएर पनि यसको प्रयोग गर्न सकिन्छ ।
नर्सरी राख्न गर्नुपर्ने पुर्व तयारी
- बालुवा छान्ने जालीबाट माटो छान्ने र मल मिलाउने ।
- ट्रेमा राख्ने भएमा ट्रेमा बिटमुनिसम्म (करिब १.९ से.मी.) जति माटो भरी हल्का थिचेर खँदिलो बनाउने अथवा फ्रेममा राख्ने भएमा फ्रेमको उचाई (करिब १.९ से.मी.) जति माटो भर्न पुग्ने माटो तयार गर्ने ।
- ट्रेलाई जसरी फिल्डमा राख्ने हो त्यसरी मिलाएर लाइनमा राख्ने ।
- भिजाएर छर्न योग्य बीउलाई ओभानो बनाउने ।
- मेशिन आवश्यकता बमोजिम सेटिङ्ग भए नभएको परिक्षण गर्न लाईन वाहिर प्लाष्टिक वा बोरा वा कपडा विच्छाएर गुडाई बीउ खसेको परिमाण हेरेर वा वाक्लो वा पातलो भएको भए मिलाउने ।
- धुले बीउ राख्दा यदि माटो सुख्खा छ भने सिडर मेशिनबाट पनि माटोले बीउ राखेजस्तै गरी पुर्न सकिन्छ । यसो गर्दा बीउ राख्ने माटो भन्दा छोप्ने माटो बढी सुख्खा आवश्यक हुने भएकोले छुट्टै बढी सुकेको माटो छोप्नका लागि तयार गर्ने ।
नर्सरी ट्रेमा स्वचालित सिडर मेशिनको प्रयोगमा बीउ राख्ने
यो तरिका सामुदायिक नर्सरी वा चक्लाबन्दी खेती प्रणालीमा सवैभन्दा छिटो र कम खर्चमा बेर्ना राख्ने आधुनिक प्रविधि हो ।

नर्सरी राख्ने तरिका
- विद्युतको सुविधा भएको काम गर्न सहज हुने खुला स्थानमा कार्य व्यवस्थापन गर्ने ।
- पानीको सानो धारा निरन्तर हुने गरी व्यवस्था मिलाउने ।
- माटो र बीउ लगातार सम्बन्धित भाँडोमा राखिरहने तथा ट्रेको लोड अनलोड सहज हुने गरी श्रमिक व्यवस्थापन गर्ने ।
- कति ट्रेको प्रयोग गर्ने हो, ती ट्रेहरुलाई मेशिनको ट्रे लोड गर्ने भागमा चाँङ् लगाएर राख्ने ।
- मेशिनबाट माटो बीउ भरिएको ट्रे निस्केपछी कहाँ व्यवस्थापन गर्ने भन्ने स्थान
मिलाउने ।
- यदि माटो बीउ भरिएको ट्रे पछि व्यवस्थापन गर्ने हो भने चाँङ् लगाएर केही घण्टा राख्न पनि सकिन्छ ।
- ट्रे लोड गरिसकेपछि माटो, पानी र बीउ राम्रोसँग खसे–नखसेको हेरी मिलाउने ।
- माटो पानी र बीउ भरिएको ट्रेलाई लेभल मिलेको जमिन वा संरक्षित संरचनामा
राखी व्यवस्थापन गर्ने ।
नर्सरी ट्रेमा म्यानुअल सिडर मेशिनको प्रयोगमा बीउ राख्ने
मेशिनको साईज अनुसार व्यवस्थापन गरिएको नर्सरी ट्रेमा बीउ राख्न सकिन्छ । यो कृषकको लागि मेशिनले धान रोप्न सबैभन्दा सजिलो बेर्ना तयार गर्ने तरिका हो ।
नर्सरी राख्ने तरिका
- हजारी वा हल्का पानी दिन मिल्ने अन्य विधिबाट माटो भिज्ने तर पानी नबग्ने गरी लाईनमा मिलाएर राखिएका ट्रेहरुलाई सिंचाई गर्ने ।
- सिडर मेशिन गुडाउन मिल्ने फ्रेमलाई मिलाएर राख्ने ।
- अब लाइनमा भएका ट्रेमा मिलाईएको फ्रेममा सिडर मेशिन गुडाएर बीउ खसाउने ।
- बीउ खसाउँदा मिलेको वा नमिलेको चेक गर्ने र नमिलेको ठाउँमा थप गर्ने वा एकै ठाउँमा धेरै खसेको भए सतह नबिग्रने गरी निकालिदिने ।
- बीउ छोपिने तर वाक्लो नहुने गरी हल्का माटोले छोपिदिने ।
- गर्मी सिजनमा जुटको बोरा वा सामान्य छापोको प्रयोगरी ढाक्ने र जाडो मौसममा प्लाष्टिकले छोपिदिने वा गुमोजमा राख्नाले छिटो उम्रिने हुन्छ । तर सतहमै ढाकेको खण्डमा टुसा आईसकेपछि तत्काल छापो हटाईदिनु पर्दछ ।
नर्सरी ट्रेको विकल्प
- प्लाष्टिक म्याट नर्सरी : प्लाष्टिकमा म्याट बनाई ट्रेमा जस्तै साना साना प्वालहरु पारी काठको लिस्टिकको फ्रेम बनाएर नर्सरी राख्दा रोप्ने बेला आवश्यक साईजमा चक्कुले काटेर प्रयोगमा ल्याउन मिल्छ ।
नर्सरी राख्ने तरिका
- नर्सरी ट्रेको साईज (भित्रि भाग २८ से.मी. x ५८ से.मी. x २–२.५ से.मी.) हुने गरी एक ईन्चको काठको लिस्टिकबाट फ्रेम तयार गर्ने ।
- जमिनको आवश्यक क्षेत्रमा लेभल मिलाउने ।
- प्लाष्टिकलाई जमिनमा विच्छाउने र त्यसको माथी फ्रेमलाई मिलाएर राख्ने ।
- करिब २ से.मी. उचाई माटोको मिश्रणले भरी हल्का थिचेर खँदिलो बनाई लेभल
मिलाउने ।
- हजारी वा हल्का पानी दिन मिल्ने अन्य विधिबाट माटो भिज्ने तर पानी नबग्ने गरी
सिंचाई गर्ने ।
- सिडर मेशिन गुडाउन मिल्ने फ्रेमलाई मिलाएर राखी गुडाएर बीउ खसाउने ।
- बीउ खसाउँदा मिलेको वा नमिलेको चेक जाँच गर्ने र नमिलेको ठाउँमा थप गर्ने वा एकै ठाउँमा धेरै खसेको भए सतह नबिग्रिने गरी निकालिदिने ।
- बीउ छोपिने तर वाक्लो नहुने गरी हल्का माटोले छोपिदिने ।
- गर्मी सिजनमा जुटको बोरा वा सामान्य छापोको प्रयोग गरी ढाक्ने र जाडो मौसममा प्लाष्टिकले छोपिदिने वा गुमोजमा राख्नाले छिटो उम्रिने हुन्छ । तर सतहमै ढाकेको खण्डमा टुसा आईसकेपछि तत्काल छापो हटाईदिनु पर्दछ ।
फलामको फ्रेममा नर्सरी : ट्रेको साईजमा वनाईएको फ्रेम स–साना प्वालहरु पारिएको प्लाष्टिकमाथी राख्ने, हरेक फ्रेममा माटो र मलको मिश्रण भरी नर्सरी राख्दा रोप्ने बेला ट्रेमा नै राखि वा डल्ला बनाएर प्रयोगमा ल्याउन सकिन्छ ।
नर्सरी राख्ने तरिका
- नर्सरी ट्रेको साईज (भित्रि भाग २८ से.मी. â ५८ से.मी. â २–२.५ से.मी.) हुने गरी एक ईन्चको फलामको चेप्टो पत्तिको १०–१२ ट्रे साईज (वा सहज ह्याण्डलिङ्ग गर्न सकिने गरी) फ्रेम तयार गर्ने ।
- करिब २ से.मी. उचाई माटोको मिश्रणले भरी हल्का थिचेर खँदिलो बनाई लेभल
मिलाउने ।
- हजारी वा हल्का पानी दिन मिल्ने अन्य विधिवाट माटो भिज्ने तर पानी नबग्ने गरी
सिंचाई गर्ने ।
- सिडर मेशिन गुडाउन मिल्ने फ्रेमलाई मिलाएर राखी मेशिनबाट बीउ खसाउने ।
- बीउ खसाउँदा मिलेको वा नमिलेको चेक गर्ने र नमिलेको ठाउँमा थप गर्ने वा एकै ठाउँमा धेरै खसेको भए सतह नबिग्रिने गरी निकालिदिने ।
- बीउ छोपिने तर वाक्लो नहुने गरी हल्का माटोले छोपिदिने ।
- फ्रेमलाई माटोको सतह नबिग्रिने गरी दुवैतिरबाट उचालि निकाल्ने ।
- भूंईको प्लाष्टिकको बिटलाई हल्का पट्याएर छेउबाट माटोको सतहलाई आडेस दिने ।
- २ दिनसम्म पानी राख्दा होसियारीपुर्वक भिजाउने ।
- गर्मी सिजनमा जुटको बोरा वा सामान्य छापोको प्रयोग गरी ढाक्ने र जाडो मौसममा प्लाष्टिकले छोपिदिने वा गुमोजमा राख्नाले छिटो उम्रिने हुन्छ । तर सतहमै ढाकेको खण्डमा टुसा आईसकेपछि तत्काल छापो हटाईदिनु पर्दछ ।
सिडर मेशिनको विकल्प
सानो स्केलमा गर्ने कृषकले अन्य सामाग्रीको व्यवस्थापन गर्ने समयमा उपयुक्त व्यक्तिले हातले नै मेशिनले जस्तै गरी छरेर पनि नर्सरी स्थापना गर्न सकिन्छ । माथी उल्लेखित तरिकावाटै नर्सरी स्थापनाका तरिका मिलाएपछि बीउ छर्न सकिन्छ ।
नर्सरी स्थापना गर्दा केहि ढिलो भई मेशिनले राम्रोसँग राख्न/छर्न नमिल्ने भएमा पनि हातले छर्नुपर्ने हुनसक्छ । यसरी हातले छर्दा एक बर्ग से.मी.मा औसत ३ वटा बीउ पर्नेगरी छर्न प्रयत्न गर्नु पर्दछ ।
बीउ छर्ने अवस्था
- हल्का टुसाएको बीउ (फुटेको मात्र) मेशिनबाट छर्न सकिन्छ ।
- यदि धेरै टुसा निस्किसक्यो भने मिलाएर हातले छर्नुपर्दछ ।
हल्का माटोले पुर्ने
धुले ब्याड राख्दा बीउ छोपिने तर धेरै बाक्लो नहुने गरी हल्का माटोले पुर्ने गर्नुपर्छ ।
नर्सरीको सुरक्षा
- वर्षे धानको नर्सरी जोगाउनेः तत्काल पानी पर्न सक्ने हुनाले बीउको सतह जोगाउन टुसालाई असर नपर्ने गरी जुटको बोराले ढाक्ने र चिस्यानलाई सन्तुलित राख्ने गर्नुपर्दछ ।
- दुई दिनमा पर्याप्त उम्रिएपछि तत्काल जुटको बोरा हटाइदिनु पर्दछ । यसरी म्याट नर्सरी राख्दा माटोको परिमाण कमी हुने हुँदा छिटो चिस्यान सुक्ने भएकाले चिस्यानलाई सन्तुलित राख्न ४–५ दिनसम्म पटकपटक सिंचाई दिने, राम्रोसँग उम्रेपछि पर्याप्त सिंचाइ दिने र बेला बेलामा पानी सुकाउने गर्दा बिरुवाको राम्रो विकास हुन्छ ।
चैते धानको नर्सरीमा चिसोबाट बचाउने : चैते धानको नर्सरी माघको तेस्रो हप्ताबाट राख्न सुरु गरिन्छ । न्युन तापक्रमका कारण विरुवा समयमा पर्याप्त नबढ्ने भएकाले गुमोज बनाएर छिटो नर्सरी राख्न सकिन्छ । यसरी नर्सरी राख्दा चैते सिजनका ढिला हुने जातहरु पनि जेष्ठ महिना भित्रमा नै भित्राउने गरी तयारी गर्न सकिन्छ । तापक्रम बढेपछी गुमोज हटाउनु पर्दछ अन्यथा बेर्ना डढ्ने समस्या देखिन सक्छ ।
ब्याडको सुरक्षा : बीउ नर्सरी जोगाउन आवश्यक छेकवार गर्नुपर्दछ । बेर्ना हानी
नोक्सानी भई ट्रेमा समान रुपमा उपलव्ध नभएमा मेशिनबाट रोप्दा ठाउँठाउँमा खाली हुनसक्ने हुनाले चरा, जनावर वा अन्य बाह्य कारणहरुबाट नर्सरीमा क्षति पुग्नबाट जोगाउनु धेरै नै महŒवपूर्ण रहेको छ ।
संरक्षित संरचनामा नर्सरी
चैते सिजनको नर्सरी चिसो मौसममा पर्ने र वर्षासिजनको नर्सरी पानी पर्ने सिजनमा तयार गर्नुपर्ने भएकोले चिसोवाट जोगाउन र वर्षावाट खलल पार्न नदिन
संरक्षित संरचनामा पनि नर्सरी राख्न सकिन्छ । यसरी नर्सरी राख्दा चिस्यान सन्तुलित राख्न चुनौती हुन सक्छ ।
नर्सरीमा आईपर्ने समस्याहरु र समाधान
- यदि प्रयाप्त चिस्यान हुँदाहुँदै बेर्ना पँहेलो देखिएमा प्रतिलिटर पानीमा ५ ग्राम युरीया अर्थात १० वटा ट्रे बराबर ५ लि. पानीमा २५ ग्राम युरियाको घोल बनाई पात र जरा समेतमा पर्ने गरी भिजाउने वा उपलव्ध मलको प्रकृति अनुसार सिफारिस मात्रामा रासायनिक मल तथा सुक्ष्म खाद्यतत्व पनि प्रयोग गर्न सकिन्छ ।
- ढुसीको समस्या धेरै देखिने हुनाले ढुसीनासक विषादीको प्रयोग गर्ने । प्रायजसो युरिया छरेपछी ढुसीको समस्या बढ्ने हुनाले युरिया राख्नु अघी ढुसीनासक विषादीको प्रयोग गर्नुपर्छ ।
- यदि नर्सरीमा विरुवा अघिपछि उम्रिएमा ढिलो उम्रेको विरुवाबाट रोग लाग्न सुरु गर्ने भएकोले एकनासले उम्रने वातावरण बनाउन चिस्यान राम्रोसँग व्यवस्थापन गर्नुपर्दछ । ट्रेको सतह नमिलेमा पनि चिस्यानको सन्तुलन बिग्रिएर अघिपछि उम्रिने समस्या देखिन सक्ने भएकोले सतह राम्रोसँग मिलाएर ट्रेलाई राख्नुपर्दछ ।
- घाम लाग्ने समयमा छिटो सुख्खा हुने र सुख्खा भएको छोटो समयमै बेर्ना डढ्ने समस्या देखिने भएकोले छाया वा पर्याप्त चिस्यान पु¥याइ डढ्न नदिने वातावरण बनाउनु पर्दछ ।
रोपाईंका लागि जमिन तयारी तथा व्यवस्थापन
रोपाई गर्ने खेतमा पानीको नियन्त्रण हुनु अनिवार्य हुन्छ । आवश्यकता अनुसार पानी लगाउन मिल्ने र धेरै पानी भएमा निकास दिन सक्ने गरी तयारी गर्नुपर्छ । उर्वरशक्ति दिगो बनाउन तथा झारपातको संख्या नियन्त्रण गर्न एकपटक माटो पल्टाउने गर्नु राम्रो हुन्छ ।
पानीको उचित प्रयोग गर्न लेजर ल्यान्ड लेभलर वा जमिन समाउने प्रविधिको समेत उपयोग गर्दा उत्पादकत्व बढाउन सहयोगी हुन्छ । कम्तिमा २४ घण्टा अगावै करिव ५–७ से.मी. गहिरो गरी कल्टीभेटर वा रोटाभेटर वा ह्यारो लगाएर सम्याएपछि हिलो जम्न दिनु पर्दछ ।
जमिनमा छिपछिपे पानी बनाउनु राम्रो हुन्छ । जमिनको लेभल मिलेको हुनुपर्छ । चार पाङ्ग्रे मेशिनले पानी ढल मिलेको छिपछिपे जमिनमा सजिलै रोप्न सकिन्छ । बलौटे माटो भएमा खेत हिलाउन अनिवार्य हुन्छ भने दोमट, चिम्ट्याइलो माटोमा भिजाएर नहिल्याइ पनि रोपाई गर्न सकिन्छ ।
रोपाई गर्ने समयमा जमिनमा पानी सुकिसकेको छ भने हल्का सिंचाई दिने वा बढी भएमा कटानी गर्नु पर्दछ । रोपाई गर्ने समयमा जमिनमा पानी सुकिसकेको छ भने हल्का सिंचाई दिने वा बढी भएमा कटानी गर्नु पर्दछ ।
रोपाई सुरु गर्ने स्थान नजिक ट्रे वा डल्ला बनाईएको विरुवा ढुवानी गरि मेशिन नरोकिईकन रोपाई हुने व्यवस्था मिलाउनु पर्दछ । गराको बिचमा मेशिनमा बेर्ना नसकिने गरी मेशिनमा लोड गर्ने वा आवश्यकता अनुसार अर्को छेउमा समेत लगेर राख्नुपर्ने हुनसक्छ ।
विरुवा ढुवानी
सामुदायिक नर्सरीमा राखिएको वा एक ठाउँमा तयार गरी अर्को ठाउँमा रोपाई गर्नुपर्ने अवस्थामा ढुवानी साधनको व्यवस्थापन गरी ढुवानी गर्न सकिन्छ ।ढुवानीलाई सहज बनाउन बेर्नाको म्याटलाई डल्लो बनाउन सकिन्छ ।
झारपात व्यवस्थापन
यस प्रविधिमा छिपछिपे हिलोमा रोपाईं गरिने भएकोले धेरै पानी पट्याएको परम्परागत भन्दा केही बढी झार उम्रिन सक्ने चुनौती हुन्छ । तसर्थ, प्राविधिक सल्लाहमा झार उम्रिनु पुर्व प्रयोग गर्ने विषादीको समयमै प्रयोग गर्नुपर्छ ।
लाईनमा रोपिने भएकाले साना झार गोड्ने औजारहरु तथा मेशिनको पनि प्रयोग गर्न सकिन्छ । उत्पादन लागत कम गर्न झारपात व्यवस्थापनमा औजार र मेशिनको प्रयोग गर्नुपर्छ ।
मेशिनहरुको परिचय
धान रोप्ने मेशिन कृषि कार्यमा धान रोप्नको लागि प्रयोग गरिने आधुनिक प्रविधि साथै यन्त्र हो जुन प्रविधिमा प्लाष्टिकको ट्रे वा म्याटमा उत्पादन भएको धान नर्सरीलाई मेशिनको प्रयोगबाट रोप्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा धेरै प्रकारका धान रोप्ने मेशिन प्रयोगमा रहेका छन् । हातले चलाएर २ लाइन रोप्नेदेखि ईन्जिन जडित हिँडेर रोप्ने र ८ लाइनसम्म रोप्ने सवारी प्रकारका मेशिनहरु प्रचलनमा रहेका छन् ।
दुइपाङ्ग्रे मेशिन (हिँड्ने प्रकार/Walking Type) : ईन्जिन चालित यो मेशिनका लागि रोप्ने श्रमिकले मेशिनलाई हातले अड्याउने तथा नियन्त्रण गर्ने र मेशिनको पछाडि हिड्दै रोपाई गर्नुपर्ने हुन्छ । ठूलो पाङ्ग्रा भएको यो मेशिन हिलो फिल्डमा सजिलै व्यवस्थापन गर्न सकिने प्रकृतिको छ । एक पटक हिड्दा ४ लाईनदेखि ६ लाईनसम्म रोप्न सकिने गरी बनाइएको छ । यो मेशिनबाट प्रति घण्टा करिब ३ कठ्ठादेखि ४ कठ्ठासम्म धान रोप्न सकिन्छ ।
खरिद लागत कम पर्ने हुनाले कृषक आफैँले व्यवस्थापन गर्न यो मेशिन सबैभन्दा उपयुक्त हुन्छ । यो प्रविधिमा हिलोमा टेकेर रोपाई गर्नुपर्ने र शारीरिक श्रम बढी लाग्ने भए पनि हलुका तथा सामान्य पिकअप गाडिमा पनि ढुवानी गर्न सकिने हुनाले कृषकमैत्री हुन सक्छ ।
एकपाङ्ग्रे चढ्न मिल्ने मेशिन (राईडिङ्ग टाईप राइस ट्रान्सप्लाण्टर/Riding Type Rice Transplanter) : यो मेशिन ८ लाईनसम्म रोप्न सक्ने गरी बनाइएको हुन्छ । एउटा पाङ्ग्रा भएको यो मेशिन इन्जिन चालित सवारी प्रकारको छ । यसमा f Reverse Gear नहुने भएकोले अगाडि मात्र चलाउन सकिन्छ ।
यस मेशिनको प्रयोगबाट प्रतिघण्टा ४ देखि ६ कठ्ठा धान रोप्न सकिन्छ । नेपालमा सुरुवातमा नै प्रयोगमा आएको यो मेशिन धेरै ठाउँमा हिलोमा फँस्ने, बिग्रिने लगायतका समस्या बढी देखिएकाले व्यवसायिक बन्न सकेको छैन । यसमा ४ पाङ्ग्रे मेशिनको ट्रे साइजभन्दा सानो साइजको ट्रे प्रयोग हुन्छ ।
चारपाङ्ग्रे धान रोप्ने मेशिन (उच्च गति राईडिङ्ग टाईप राईस ट्रान्सप्लाण्टर/High Speed Riding Type Rice Transplanter):
यो छिटो गतिमा धान रोप्न सक्ने मेशिन हो । अन्य व्यवस्थापन उपयुक्त भएमा यो मेशिनले दिनमा सहजै ४–५ हे. धान रोप्न सकिन्छ । चारपाङ्ग्रे यो मेशिनमा Reverse Gear समेत रहेको छ ।
मेशिनको मेलो मिलाउने
रोपाई निश्चित गरिएको गह्रामा पुरा रोपाई हुने, नदोहोरिने तथा कसरी कम समयमै पुरा गह्रा रोप्ने भन्ने मिलाउन रोपाईको मेलो मिलाउनु पर्दछ । यसका लागि चालकले आँफै गह्रा हेरी व्यवस्थापन गर्न सक्छन् ।
चारपाङ्ग्रे धान रोप्ने मेशिनबाट रोपाइ व्यवस्थापनका केही जानकारीहरु
- लाईनको दुरी ३० से.मी. र लाईनमा विरुवाको दुरी न्युनतम १२ देखि २६ से.मी. सम्म ६ वटा विकल्पमा मिलाउन मिल्छ । अर्थात लाईनमा बाक्लो पातलो बनाउन मिल्छ ।
- रोप्ने गहिराई समेत व्यवस्थापन गर्न सकिन्छ । यदि पानीको मात्रा केही बढी छ भने गहिरो बनाएर रोप्ने तथा माटो कम जमेको र हल्का छ भने रोप्ने गति घटाउनु पर्ने हुन्छ ।
- यदि हामीले अझै गहिरो गरि रोप्न चाहेमा Planting Control Lever लाई १ नम्बर को दिशा तिर लैजान सकिन्छ । यदि हामीले माथिल्लो भागमै रोप्न चाहेमा planting नियन्त्रण भिखभच लाई ५ नम्बर को दिशा तिर लैजान सकिन्छ । सामान्यतया २–३ से.मि. गहिराईमा धानको बिरुवा रोप्ने गरिन्छ ।
रोपाई क्यालेण्डर
मेशिन कति घण्टा चलाउन सकिने हो र कुन दिन आफुले मेशिनको सुविधा प्राप्त गर्न सकिने हो भन्ने सम्वन्धित कस्टम हायरिङ्ग वा उपलव्ध गराउने सेवा प्रदायकसँग निश्चित गर्नु पर्दछ । हाल मेशिनको उपलव्धता सिमित भएकोले ट्रेमा राखेको बीउ छिटो बढ्ने हुनाले कति गते बीउ राख्ने, र कति गते रोपाई गर्ने समेत निश्चित गरी बीउ राख्नुपर्छ ।
स्रोत: PMAMP (चितवन)