बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

लौका खेति कसरी गर्ने ?

सोमबार, असार ११ २०८१
8 views
लौका खेति कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

जातहरु
काभेरी F1: यो बर्णशङ्कर जात हो । यसका फलहरु हरियो रङका, छोटा र मोटा हुन्छन । बेर्ना रोपेको ४५ देखि ५० दिनमा फल टिप्न सकिने यो जात कौसी खेतीका लागि समेत उपयोगी छ । यो जात तराई तथा पहाडी क्षेत्रमा खेती गर्न सिफारिस गरिएको छ ।

एन.एस. ४२१ः यो बर्णशङ्कर जात हो । यसको बोटको उचाई १५० देखि १६० सेमी हुन्छ । बेर्ना रोपेको ४५ देखि ५० दिनमा फल टिप्न सकिने यो जातको उत्पादन क्षमता ४४ देखि ५६ टन प्रति हेक्टर छ । यो जात तराई तथा पहाडी क्षेत्रमा खेती गर्न सिफारिस गरिएको छ ।

एन.एस. ४४३ः यो बर्णशङ्कर जात हो । यसको बोटको उचाई १५० देखि १६० सेमी हुन्छ । बेर्ना रोपेको ४३ देखि ५० दिनमा फल टिप्न सकिने यो जातको उत्पादन क्षमता ३० देखि ४० टन प्रति हेक्टर छ । यो जात तराई तथा पहाडी क्षेत्रमा खेती गर्न सिफारिस गरिएको छ ।

अनमोलः यो बर्णशङ्कर जात हो । बेर्ना रोपेको ६० दिनमा फल टिप्न सकिने यो जातको उत्पादन क्षमता १२ टन प्रति हेक्टर छ । यो जात तराई, मध्य तथा उच्च पहाडी क्षेत्रमा खेती गर्न सिफारिस गरिएको छ ।

हावापानी र माटो
लौका न्यानोमौसमको लहरेतरकारी बाली हो। यसले तुसारो सहन सक्दैन । लहराको वृद्धिविकासका लागि २४ देखि २७ डिग्री सेल्सियसको तापक्रम उपयुक्त हुन्छ । कम तापक्रम, छोटा दिन र ओसिलो मौसममा पोथी फुलको सङ्ख्या बढी हुन्छ । भारी वर्षा र लामो समय बादल लाग्ने मौसममा रोगको प्रकोप बढ्ने र उत्पादन घट्ने हुन्छ ।

तापक्रम १० डिग्री सेल्सियस भन्दा कम भयो भने बिउको उमारशक्ति कम हुनुको साथै लहराको विकास पनि हुँदैन । दोमट र बलौटे दोमट माटो लौकाको लागि उपयुक्त हुन्छ । यसको खेतीको लागि माटोको पी.एच. मान ६.० देखि ७.० हुनु उपयुक्त हुन्छ ।

रोप्ने समय
उच्च पहाडः बैशाख – जेष्ठ
मध्य पहाडः फाल्गुण – बैशाख
तराई तथा खोंच/बेसीः माघ – जेष्ठ

बिउदर
१०० ग्राम बिउ वा १२५ बेर्ना प्रति रोपनी (२००० ग्राम बिउ वा २५०० बेर्ना प्रति हेक्टर)

रोप्ने दुरी
२०० x २०० सेमी (लाईन–लाईन x बोट–बोट)

मलखाद
लौका खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

1.JPG


नाईट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्नेबेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजन लाई आधा आधा गरेर लहरा छुट्न थालेपछि र फुल फुल्न थालेपछि टपड्रेस गर्नुपर्दछ ।

गोडमेल र सिँचाई
सिधै बिउ रोपेको बालीमा बेर्ना उम्रेर २–३ पाते भएपछि हल्का गोडमेल गरी सिँचाईको कारण जमेको माटो खुकुलो बनाईदिनुपर्दछ जसले गर्दा जराको राम्रो वृद्धिविकास हुन्छ । बोटबाट लहरा छुट्न थालेपछि नाइट्रोजन मलको पहिलो टपड्रेस गरी बोटको वरिपरि हल्का माटो चडाईदिनुपर्दछ ।

त्यसैगरी बिरुवामा फुलखेल्न थालेपछि दोश्रो पटक नाइट्रोजन मल टपड्रेस गर्नुपर्दछ । यसपछि फल टिप्न थालेपछि हरेक दोस्रो फल टिपाईपछि माथिअनुसारकै मात्रामा नाईट्रोजन मल टपड्रेस गरेमा उत्पादन बढाउन सकिन्छ । यसका अलावा हरेक पटक फल टिपेपछि गाईभैंसीको गहुँत १ भागमा ४ भाग पानी मिसाएर बनाएको झोल १ देखि २ चियागिलास प्रतिबोटको दरले हाल्नु राम्रो हुन्छ ।

लौका बालीमा थांक्रा दिनु अनिबार्य हुन्छ । यसरी थांक्रा दिदा माथितिर मात्र चढ्नेगरी अग्ला थांक्रा दिनुभन्दा जमीनबाट ५ देखि ७ फिटमाथि बाँसको भाटा वा डोरीले टाँड बनाएमा गोडमेल गर्न तथा फल टिप्न सहज हुन्छ । मुख्य लहराको लम्बाई एक मिटर पुगेपछि मुन्टो चुडेर शाखा लहरा बढाएमा पोथी फुलको सङ्ख्या र उत्पादन बढाउन सकिन्छ ।

गर्मी मौसमको बालीमा प्रसस्त सिँचाईको आवश्यकता पर्दछ । माटोको सुख्खापन हेरी ७ देखि १० दिनको फरकमा सिँचाई दिनुपर्दछ । बिरुवामा मल राखेर गोडमेल गरेलगत्तै हलुका सिँचाई गर्नु आवश्यक हुन्छ । बर्षा मौसमको बालीलाई सिँचाई दिनुपर्दैन तर पानीको निकासको व्यवस्था गर्नुपर्दछ ।

फुल फुल्ने समयलाई सिँचाईका हिसाबले संबेदनसिल अवस्था मानिन्छ । यो अवस्थामा पानीको कमी भयो भने उत्पादन ठुलो मात्रामा घट्न सक्छ ।

image.jfif

उत्पादन
फल कलिलो अवस्थामा छदै भेट्नो समेत काटी बाली लिनु उपयुक्त हुन्छ । फल छिप्पिंदै गएपछि सेतो रङ चड्दै जान्छ । उपयुक्त जात र व्यबस्थापन गरिएको बालीबाट सरदर २००० देखि २५०० केजी प्रति रोपनी वा ४० देखि ५० टन प्रति हेक्टर सम्म उत्पादन लिन सकिन्छ । 

बाली संरक्षण
काँक्रोमा लाग्ने किरा तथा रोगहरू नै लौकामा पनि लाग्नसक्ने हुनाले काँक्रोमा जस्तै किरा–रोगहरू पहिचान र व्यवस्थापन विधि अपनाउने ।

स्रोतः राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटार

थप समाचार