बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

चना खेती गर्ने सोचमा हुनुहुन्छ ? यसरी गर्न सकिन्छ खेती

सोमबार, असार ११ २०८१
9 views
चना खेती गर्ने सोचमा हुनुहुन्छ ? यसरी गर्न सकिन्छ खेती

समाचार शेयर गर्नुहोस्

Share this news

बालीको परिचय
कोसेबाली अन्तर्गत नेपालमा चना बाली उत्पादन र क्षेत्रफलको हिसाबले पाँचौ स्थानमा रहेको छ । यसले जम्मा दलहन बालीको २.९२% क्षेत्रफल र २.७९% उत्पादन ओगटेको छ ।

चनाबालीको खेती कुल ९९८२ हेक्टरमा भई १.१३ टन प्रति हेक्टर उत्पादकत्वको हिसाबले ११२८५ टन उत्पादन भएको देखिन्छ । वैज्ञानिक वर्गीकरणका आधारमा चना बालीलाई दुई प्रकार देशी/खैरो (Cicer arietinum) र काबुली/सेतो (Cicer kabulium) मा वर्गीकरण गरिएको छ ।

चनालाई दालहरुको राजा भनेर पनि चिन्ने गरिन्छ । पोषणतत्वको हिसाबले हेर्दा १०० ग्राम चनामा ५२-७०% कार्बोहाइड्रेट, १८-२२% प्रोटिन, ४-१०% चिल्लो पदार्थ, ११ ग्राम पानी, १४९ मिलिग्राम क्याल्सियम, ७.२ मिलिग्राम फलाम तथा अन्य राइबोफ्लेवीन, नियासिन आदि पाइन्छ ।

चनालाई मुख्यतः दाल एवं बेसनको रुपमा प्रयोग गरिन्छ भने चनालाई सातु बिस्कुट, रोटि र मिठाई (लड्डु) बनाउनमा समेत प्रयोग गरिन्छ । चनाको कलिला मुन्टा तथा हरियो पात तरकारीको रुपमा प्रयोग गरिन्छ । यसको भुसालाई पोषिलो आहारको रुपमा गाइवस्तुलाई खुवाउन सकिन्छ ।

चनाले खाद्य सुरक्षा प्रवर्द्धन र कुपोषण न्युनिकरण गर्नमा ठुलो भूमिका खेल्दछ । चना एक कोसेबाली भएकोले यसको जरामा भएका गिर्खामा हुने राइजोबियम ब्याक्टेरियाहरुले नाइट्रोजन स्थिरीकरण गर्दछन् । १ हे. को चनाका बिरुवाले वायुमण्डलबाट १०३ किलो नाइट्रोजन माटोको जरा वरपर स्थिरीकरण गर्न सक्छ ।

चना खेती प्रविधि

हावापानी र माटो
चना खेतीका लागि सुख्खा तथा चिसो हावापानी भएको हिउँदे ऋतु उपयुक्त हुन्छ । न्यानो उपत्यका तथा पहाडको खोचमा समेत यसको खेती गर्न सकिन्छ । चना खेतीको लागि मध्यम ६०-९० से.मी. वार्षिक वर्षा राम्रो मानिन्छ भने बिरुवामा फूल फुल्दा र फुलिसकेपछि पानी पर्नु हानिकारक हुन्छ ।

चना खेतीको लागि दैनिक तापक्रम ३५ D. C. भन्दा बढीर न्युनतम औसत १५ D. C.भन्दा कम हुनु हुँदैन । अत्यधिक न्युन र अधिकतम तापक्रम दुबैले फूल झारेर कोसा लाग्नमा बाधा पुऱ्याउँछन् । चना विभिन्न प्रकारको माटोमा उत्पादन गर्न सकिन्छ तर धेरै मसिनो देखि लिएर हल्का बलौटे माटो राम्रो मनिन्छ ।

चना खेतीको लागि धेरै मलिलो माटो राम्रो हुँदैन । माटोको अम्लीयपन र क्षारियपन सम्बन्धमा ६.० देखि ८.० सम्मको पी.एच. मान भएको माटोमा चनाको खेती उपयुक्त हुन्छ ।

448506027_439362415577993_6734343868095273581_n.jpg
448518753_360956347014430_9070451494771948090_n.jpg

बाली चक्र र खेती प्रणाली
साधारणतया बर्षे बाली काटी सकेपछि चना एकल तथा मिश्रित बालीको रुपमा खेती गरेको पाइन्छ। मिश्रित खेती गर्दा चनासँग तोरी २स्१ को अनुपातमा लगाइन्छ। चना खेती गर्दा पानी नजम्ने र राम्रो जल निकास भएको जग्गा छनौट गर्नु पर्दछ।

बर्षेबाली काटीसकेपछि माटोमा चिस्यान हुँदै राम्रोसँग जोतेर पाटा र हेंगा लगाई खेत तयार गर्नुपर्छ। सकेसम्म पूर्व बालीका अवशेष र झारपातहरु हटाएमा रोग तथा कीराको प्रकोप कम हुनुका साथै बीउ राम्रोसँग उम्रन्छ ।

बाली लगाउँदा असिंचित क्षेत्रमा असोज तेस्रो हप्तादेखि कार्तिक पहिलो हप्तासम्म रोप्दा उपयुक्त हुन्छ र सिंचित क्षेत्रमा मंसिर पहिलो हप्तासम्म लगाई सक्नुपर्दछ। कम्तिमा ७५% उमारशक्ति भएको ६० के.जी. बीउ एक हेक्टर क्षेत्रफलका लागि आवश्यक पर्दछ ।

चनाको बीउ उपचार गर्दा कीटनाशक, ढुसीनाशक र जैविक मलले उपचार गर्नुपर्दछ । सबै भन्दा पहिले कीटनाशक विषादी मालाथियन ५ प्रतिशत धुलो २० ग्राम प्रति के.जी. बीउका दरले उपचार गर्नुपर्छ। त्यसपछि रोगको व्यवस्थापनको लागि दैहिक विषादी प्रति किलोग्राम २-३ ग्रामका दरले बीउ उपचार गर्नुपर्छ र अन्त्यमा जैविक मलले उपचार गर्नुपर्छ ।

जैविक मल राइजोबियमले उपचार गर्दा चिनी वा खुदोको १० प्रतिशत घोलमा ५ ग्राम राइजोबियम बीउमा मोलेर उपचार गर्नुपर्दछ । उपचार गरिसकेपछि छायाँमा सुकाएर रोप्नु पर्दछ ।

चना लहरमा रोप्दा उपयुक्त हुन्छ । एउटा लहर देखि अर्को लहरको दुरी ४० से।मी। र बोट देखि बोटको दुरी ८-१० से.मी. राखी बीउलाई ५ देखि ८ से.मी. को गहिराइमा रोपी हल्का माटोले पुर्नुपर्दछ ।

सिंचाई
चना मुख्यतः असिंचित क्षेत्रमा लगाउने बाली हो तापनि सिंचाई सुविधायुक्त स्थानमा पहिलो सिंचाई बाली झाँगिने बेलामा र दोस्रो सिंचाई दाना लाग्ने समयमा दिनु राम्रो मानिन्छ ।

मलखाद व्यवस्थापन (रासायनिक, जैविक)
साधारणतया २०:४०:२० के.जी. ना.फा.पो. प्रति हेक्टरका दरले चना लगाउने खेतमा सिफारिस गरिएको छ। यसको लागि उक्त मात्रा पुरा गर्न ९.५ कि.ग्रा. युरिया, ८७ कि.ग्रा. डीएपी. र ३३ कि.ग्रा. पोटास प्रति हेक्टरको दरले खेत तयारीको अन्तिम पटकमा माटोमा मिसाउनुपर्छ। राम्रो उत्पादनको लागि सुक्ष्म तत्व सल्फर, बोरोन, जिंक र फलाम पनि हाल्ने गरिन्छ ।

खेतीमा अन्य समस्या (अजैविक र सामाजिक) र तिनको व्यवस्थापन
- उच्च तापक्रमः फूल फुल्ने समयमा ३००० भन्दा धेरै तापक्रम भएमा फूल झर्ने हुन्छ, त्यसैले बाली रोप्ने उपयुक्त समय भन्दा ढिला गरि लगाउनु हुँदैन।

बाली भित्र्याउने समय (समय, बाली पाकेको पहिचान (Maturity Indices) , कटानी तथा भण्डारणका उपायहरु आदि)
चनाको पात पहेंलिएर झर्न थालेपछि, कोसा पुष्ठ भई पाक्न थालेपछि, बोट सुक्न थालेपछि र चलाउदा कोसाभित्र दाना हल्लिने आवाज आउन थालेपछि बाली काट्नुपदर्छ । काटेको बालीलाई ३-४ घाम सुकाएर दाना छुटाउनु पर्दछ । राम्रोसँग केलाएर सुकाइ चिस्यान ८-९ प्रतिशतमा ल्याएर भण्डारण गर्नुपर्दछ ।

बीउ प्रमाणीकरण
बीउ प्रमाणीकरणका लागि खेत छनौट गर्दा गएको वर्ष चना लगाएको खेत हुनु हुँदैन, भएमा जात यकिन गरि सोहि जात उक्त खेतमा लगाउनु पर्दछ । चना स्वसेंचित बाली भएकोले मूल बीउको लागि १० मि. र प्रमाणितको लागि ५ मि. पृथकता दूरी कायम गर्नु पर्दछ ।

खेत निरीक्षण कम्तिमा दुई पटक गर्नुपर्छ । बीउ उत्पादन गर्दा फ्युजारियम विल्ट (ओइलाउने रोग) लागेको खेतबाट उत्पादित चनाको बीउ प्रयोगका लागि उपयुक्त हुँदैन । खेत निरीक्षण निम्नानुसार दुई पटक गर्न सकिन्छ:

- पहिलो निरीक्षण फूल फुल्ने बेलामा वा फूल फुल्नु अघि गर्नु पर्छ।
- दोस्रो निरीक्षण कोसा लागेदेखि कोसा पाक्ने समय सम्ममा गर्नु पर्छ।

बालीको नमुना प्रयोगशाला परीक्षणबाट प्राप्त बीउको गुणस्तरको न्यूनतम् आधार भएपछि प्याकिंग गरि विक्री वितरण गर्नुपर्दछ ।

खेतीमा अबलम्वन गरिएका नयाँ प्रविधि
चना खेती गर्दा धनिया बालीको अन्तरबालीको रुपमा प्रयोग, खेतको बीच- बीचमा टि (T) आकारको लठ्ठी को प्रयोग, खेतको छेउ छाउमा सूर्यमुखी र सयपत्री फूल लगाउँदा र हेलिलुर राखेर मोहनी पासो राख्दा चनाको मुख्य कीरा गवारो व्यवस्थापन गर्न मद्दत पुगेको पाइन्छ।

स्रोत: बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर

थप समाचार