बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

लगाउने होइन त सखरखण्ड खेती

मंगलबार, असार १२ २०८१
11 views
लगाउने होइन त सखरखण्ड खेती

समाचार शेयर गर्नुहोस्

Share this news

जातहरु
नेपालमा सखरखण्डका दुई उन्मोचित जात र अन्य केही उन्मोचन उन्मुख
जातहरु निम्नानुसार छन ।

1.PNG

हावापानी र माटो
सखरखण्ड गर्मी र आद्र हावापानी भएको ठाउँमा हुने बाली हो । यसले हिउँ र तुसारो सहन सक्दैन । यो एक उष्ण प्रदेशीय बाली भए तापनी समशितोष्ण क्षेत्रमा बर्षे बालीको रुपमा खेती गर्न सकिन्छ तर कम्तिमा पाँच तुसारोमुक्त महिना उपलब्ध हुनुपर्दछ ।

राम्रो उत्पादनको लागि २४ डिग्री सेल्सियस तापक्रमको आवश्यकता पर्दछ भने चिसो मौसम र १० डिग्री सेल्सियस भन्दा कम तापक्रम भएमा बिरुवाको वृद्धि बिकासमा अबरोध आउँदछ । बढी बर्षा र लामो दिनले लहरा बढाउँछ भने ठिक्क बर्षा र प्रसस्त घामले जरा बढाउँछ ।

बार्षिक ७५० मिलिमिटर बर्षा यसको लागि उपयुक्त हुन्छ । नेपालमा यसलाई तराई देखि मध्य पहाडको १६०० मिटर उचाई सम्म खेती गर्दै आएको पाईए तापनि २००० मिटरको उचाईसम्म सफलतापूर्वक खेती गर्न सकिन्छ ।

सखरखण्ड खेती विभिन्न प्रकारको माटोमा गर्न सकिने भए तापनि बलौटे दुमट वा हल्का बलौटे माटो उपयुक्त हुन्छ । चिम्ट्याईलो गह्रौ माटो र पानीको उचित निकास नभएको जमिनमा यसको खेती राम्रो हुदैन ।

माटोको पी.एच. मान ५.६ देखि ६.६ हुनु राम्रो मानिन्छ । मध्य पहाडका कम उर्बराशक्ति भएका र खेतीयोग्य नमानिएका जग्गाहरुमा पनि सखरखण्डको खेती गर्न सकिन्छ ।

रोप्ने समय
मध्य पहाड: फाल्गुण – आषाढ
तराई तथा खोंच/बेसी  फाल्गुण – चैत्र र भाद्र – आश्विन

बिउ र बेर्ना
२७०० देखि २८०० कटिङ वा कटिङ बाट तयार गरिएका बिरुवाहरु प्रति रोपनी (५४००० देखि ५६००० कटिङ वा कटिङबाट तयार गरिएका बिरुवाहरु प्रति हेक्टर)

रोप्ने दुरी
६०x ३० – ४० सेमी (लाईन–लाईन ह् बोट–बोट)

आवस्यक मलखाद

सखरखण्ड खेतीका लागि निम्नानुसारको मलखाद प्रयोग गर्नु पर्दछ ।

11.PNG

नाइट्रोजन मलको आधा भाग र अन्य सबै मलखाद जमिन तयारी गर्ने बेलामा प्रयोग गर्नुपर्दछ । बाँकी नाईट्रोजनलाई गोडमेल गर्दा माटोमा मिसाउनु उपयुक्त हुन्छ । यो बालीलाई पोटासियम तत्व बढी आवश्यक पर्ने हुनाले माटोमा खरानीको प्रयोग पनि राम्रो मानिन्छ ।

90399968_856375051503069_1186570670700494848_n.jpg

गोडमेल र सिँचाई
सखरखण्डको बिरुवालाई सुरुवाती दिनहरुमा झारपातले धेरै सताउने गर्दछ । त्यसैले बिरुवा सारेको एक महिनापछि झारपात गोडमेल गरी नाईट्रोजन मल समेत राखेर माटोमा मिलाई बिरुवाको वरिपरी माटो चढाईदिनुपर्दछ ।

बिरुवा सानो छँदा आवश्यकता अनुसार झारपात हटाउँदै जानुपर्दछ र बिरुवाको लहरले जमिनको सतह ढाकेपछि झारपात आफैँ नियन्त्रण हुँदै जान्छ ।

गर्मीयाममा माटोको सुख्खापन हेरी ७ देखि १० दिनको फरकमा सिँचाई दिनुपर्दछ । बर्षायामको वालीमा खासै सिँचाईको आवश्यकता पर्दैन तर पानी नजमोस भनेर निकासको प्रबन्ध मिलाउनुपर्दछ ।

बिरुवामा मल राखेर उकेरा लगाएलगत्तै सिँचाई गर्नु आवश्यक हुन्छ । सखरखण्डले केही हदसम्म सुख्खा सहन सक्ने भएतापनि रोपेको ५० देखि ६० दिनमा सिँचाईका
हिसाबले संवेदनशील अवस्था मानिन्छ । यो अवस्थामा पानीको कमी भयो भने उत्पादन ठुलो मात्रामा घट्न सक्छ ।

उत्पादन
साधारणतया रोपेको ५ देखि ६ महिनामा सखरखण्ड खन्न तयार हुन्छ । पातहरु स्वाभाविक रुपमा पहेंलिएर सुक्न थालेपछि बाली तयार भएको मान्न सकिन्छ । सखरखण्डका सुन्तले जातहरुको उत्पादकत्व १५ देखि ३० टन प्रति हेक्टर सम्म पाइएको छ भने स्थानीय जातहरुको उत्पादकत्व ५ देखि १० टन प्रति हेक्टर पाईएको छ ।

उपयुक्त जात, क्षेत्र र तरिकाले खेती गरेमा १००० देखि २००० केजी प्रति रोपनी वा २० देखि ४० टन प्रति हेक्टर उत्पादन लिन सकिन्छ ।

मुख्य किराहरु

- सखरखण्डमा लाग्ने घुन

क्षतिको प्रकार

परिपक्व घुनहरुले पात, लहरा तथा भण्डारण जराको सतही भाग खाने गर्दछन । बिकसित लार्भाहरुले लहरा र भण्डारण जरामा सुरुङ बनाई क्षति गर्दछन । उक्त
जराहरु कुरूप तथा कडा हुनुका साथै फुट्दछन जुन खानका लागि उपयुक्त हुदैनन।

व्यबस्थापन

- स्वस्थ र घुनको सङ्क्रमणरहित बिरुवा मात्र लगाउने ।

-  खेतबारीको सरसफाई गरी अनावश्यक बिरुवा र बालीका अवशेषहरु हटाउने ।

- बाली निकालेपछि पानीले जग्गा भिजाउने ।

-  बिरुवाको वरिपरी माटोले उकेरा लगाउने ।

-  डर्सवान (क्लोरपाईरीफस १०% दाना) विषादी १ कि.ग्रा. प्रति रोपनीका दरले बेर्ना सार्नु अघि माटोको उपचार गर्ने ।

-  इमिडाक्लोप्रिड १७.८ एस.एल १ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्ने ।

-सखरखण्डको गवारो
पातको तल्लो भाग तथा काण्डका केही भागमा गवारोले अन्डा पार्दछ । लार्भाहरुले मुख्य काण्डमा सुरुङ बनाउँदै जान्छन र बिरुवाहरु ओइलाएर मर्दछन ।

व्यबस्थापन

- उकेरा लगाई साधारण सतह भन्दा केही उचाईमा बिरुवा लगाउने ।

-  इमिडाक्लोप्रिड १७.८ एस.एल १ मिलिलिटर प्रति लिटर पानीमा मिसाएर छर्ने ।

- सखरखण्डमा लाग्ने खपटे
खपटे किराहरुले पातको तल्लो भागमा अन्डा पार्दछन । यो खापटेका लार्भा र परिपक्व खपटेले पातमा गोलाकार प्वालहरु पार्दछन । क्षति धेरै भएमा पात तथा डाँठहरु नै सुकेर जान्छन ।

व्यबस्थापन
- निममा आधारित विषादी (एजाडीरेक्टिन १५०० पी.पी.एम.) ५ मि.लि. प्रति
लिटर पानीमा मिसाई छर्ने ।

- मालाथिन ५०% ई.सी. २ एम एल प्रतिलिटर पानीमा मिसाएर छर्ने ।

मुख्य रोगहरु

बिरुवा मर्ने र जरा कुहिने रोग (Phytophthora sp., Rhizoctonia sp., Pythium sp., Fusarium sp.)

लक्षणहरु
गाना वा कटिङबाट बिरुवा उम्रेर सतहमा आउनु अगाडि नै ढुसीले आक्रमण गर्दछ र बिरुवा सडेर जान्छन वा सतहमाथि निस्केका बिरुवा मरेर जान्छन । बिशेष गरेर
जमिन सतहका कोषहरू काला भएर जान्छन र फेद तथा जरा सड्दछन्।

 व्यबस्थापन
- नर्सरी ब्याडमा कटिङ लगाउनु अघि बेभिष्टिन २ ग्राम प्रतिलिटर पानीका दरले केही
दिन अगाडि माटो उपचार गर्नुपर्दछ ।

-  बेभिष्टिन २ ग्राम वा डाईथेन यम– ४५, २.५ ग्राम प्रतिलिटर पानीका दरले बिरुवा पुरै भिज्नेगरी छर्नु पर्दछ ।

- बिरुवा रोपेपछि माटोलाई खुकुलो बनाइ राख्नुपर्दछ ।

स्रोतः राष्ट्रिय बाह्य अनुसन्धान केन्द्र, खुमलटार

 

थप समाचार