बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

तरकारी खेतीका लागि ग्रीन हाउस किन ?

मंगलबार, असार १२ २०८१
40 views
तरकारी खेतीका लागि ग्रीन हाउस किन ?

समाचार शेयर गर्नुहोस्

Share this news

हरितगृहमा तरकारी खेती
बाह्रै महिना तरकारी उत्पादन गर्न तापक्रम, सापेक्षिक आद्रता, बर्षा, हावाको प्रबाह आदिको नियन्त्रण गरी बिरुवालाई अनुकूल वातावरण बनाउनु पर्दछ । यसका लागि हरित गृह एक मुख्य प्रविधिको रूपमा रहेको छ ।

हरित गृह भित्र तापक्रम, पानी र किराहरुको क्रियाकलाप समेत नियन्त्रण गर्न सकिने
हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिन्छ । लगानी गर्न सक्ने क्षमताको आधारमा विभिन्न प्रकारका हरितगृह प्रविधिको प्रयोग गर्न सकिन्छ ।

संरक्षित खेतीको लागि विभिन्न प्रकारका हरितगृहहरु प्रयोग भइरहे तापनि तिनिहरुको बनावट र सञ्चालन प्रविधिका आधारमा निम्न प्रकार वर्गिकरण गर्न सकिन्छ ।

१. साधारण प्लास्टिक घरः साधारण प्लास्टिक घरको निर्माण बाँस, डोरी, किला र प्लास्टिकको प्रयोगवाट गर्न सकिन्छ । प्लास्टिक घर छाँया पर्ने ठाउँमा बनाउनु हुँदैन । मौसम अनुसार प्लास्टिक घर भित्रको तापक्रम घटाउनु वा बढाउनुपर्ने हुन्छ । प्लास्टिक घर भित्रको तापक्रम ३५ डिग्रि सेल्सियस पुग्न लागेपछि तापक्रम घटाउन प्लास्टिक घर वरिपरिको प्लास्टिक पुरै खोलिदिने, वोटको वरिपरि चिसो पानीले सिँचाई गर्ने र वोटको फेदमा छापोको व्यवस्था गर्न सकिन्छ । त्यसै गरी चिसो मौसममा तापक्रम बढाउन प्लास्टिक घर प्लास्टिकले पुरै हावा नछिर्ने गरी छोप्नुपर्दछ।

२. अर्ध नियन्त्रित हरितगृह :  यस प्रकारको हरितगृहको ढाँचा फलामको फ्रेमबाट निर्माण गरिन्छ । यस्तो संरचनामा सिसा वा परावैजनी किरण छानेर अरु किरणलाई मात्र घरभित्र पठाउने किसिमको प्लास्टिक प्रयोग गरिन्छ । यस्तो हरितगृहमा तापक्रम नियन्त्रण गर्न पंखाहरु प्रयोग गरिएको हुन्छ ।

३. पूर्ण नियन्त्रित हरितगृह : यस्तो हरितगृहमा तापक्रम, सापेक्षिक आद्रता र समग्र घर भित्रको वातावरणलाई नियन्त्रण गर्न सक्ने व्यवस्था हुन्छ । यसमा विरुवालाई चाहिने मल र पानीको पनि स्वचालित रुपमा वितरण गर्ने सेन्सर पनि लगाइएको हुन्छ।

प्लास्टिक घरमा भेंडे खुर्सानी खेती
- भेंडे खूर्सानीको बिउ १८ डिग्रि सेल्यिस देखि माथिको तापक्रममा उम्रन्छ ।

- २५ डिग्रि सेल्सियस भन्दा माथि तापक्रम भएमा बिउ छिटो उम्रन्छ ।

- विरुवाको राम्रो वृद्धि र उत्पादनको लागि २४ देखि २७ डिग्रि सेल्सियस तापक्रम उपयुक्त हुन्छ ।

- करिव ९–१० घण्टा दिनको उज्यालो भएको समय उपयुक्त मानिन्छ ।

- भेंडेखुर्सानीले धेरै वर्षा सहन सक्दैन ।

जातहरु
नेपालमा प्रचलित जातहरु क्यालिफोर्निया, सागर, एन एस ६३२

बेर्ना सार्ने दूरी
हार देखि हार ६० सेमी. र वोट देखि वोट ४५ से.मी.

मलखाद
प्रतिवोट निम्न वमोजिमको मल राख्नुपर्छ ।
पाकेको गोवरमल- ३ के.जी.
युरिया- १० ग्राम
डि.ए.पि.- २५ ग्राम
पोटास-  १५ ग्राम
वोकासी- १०० ग्राम
पिना- ५० ग्राम

काटछाँट
प्लास्टिक घरभित्र भेंडे खुर्सानीको उचित काटछाँट गर्नुपर्दछ । वेर्ना हुर्किसकेपछि सुरुका हाँगाहरु हटाउनुपर्दछ । पहिलो हाँगाको मुन्टा सानो अवस्थामानै चुँडेर फालिदिने अनि यसवाट दुईवटा मुख्य हाँगाहरु पलाउँछन ।

यी दूई हाँगाहरु बढ्दै गएपछि पुनः दुवैको मुन्टाहरु चिमोटिदिने गरेपछि राम्रा
फल उत्पादन गर्न सकिन्छ ।

फल टिप्ने
वेर्ना सारेको करिव ६० देखि ९० दिन पछि फल टिप्न तयार हुन्छन २–३ के.जी. प्रति वोट फल टिप्न सकिन्छ ।

प्लास्टिक घरमा गोलभेँडा खेती
गोलभेँडा खेतीको लागि तापक्रमको महत्वपर्ण भूमिका हुन्छ । त्यसमा पनि रातको न्युनतम तापक्रम १३ डि.से. भन्दा कम र २१ डि.से. भन्दा बढी भएमा फुल झर्ने र फल नलाग्ने हुनसक्छ । 

उपयुक्त जातहरु
सृजना र मनिषा

मलखाद
पाकेको गोवरमल- ५ केजी प्रतिवोट
युरिया- १० ग्राम प्रतिवोट
डि.ए.पि.- २५ ग्राम प्रतिवोट
पोटास- १० ग्राम प्रतिवोट
जिङ्क र वोरेक्स- १.५ ग्राम प्रतिवोट

बेर्ना सार्नेदूरी
मिटर चौडा ब्याडमा पंक्तिबाट पंक्ति ६० से.मी. र बोट देखि बोट ६० से.मी.को दूरीमा बेर्ना रोप्नुपर्दछ । एक ब्याडदेखि अर्को ब्याड बिचमा ६० से.मी.को बाटो राख्नुपर्दछ ।

पूनः मलखाद दिने मात्रा
गोलभेँडा धेरै पटक टिपाई हुने हुँदा दुई–तिन पटक टिपेपछि तपशिलको मल
दिनु पर्दछ ।

गोठेमल-  १ के.जी. प्रतिवोट
युरिया- १० ग्राम प्रतिवोट
डि.ए.पि.- १० ग्राम प्रतिवोट
पोटास- १० ग्राम प्रतिवोट
बोरेक्स- १ के.जी. प्रतिरोपनी
जिङ्क - १ के.जी. प्रतिरोपनी
विरुवाको जरामा असर नपर्ने गरी हारको समानान्तरमा कुलेसो खनि माथि भने अनुसारको मलखाद कुलेसोमा हाली माटोले पुरी दिनुपर्दछ ।

थाँक्रा दिने
थाँक्रा दिँदा गोलभेँडाको प्रत्येक लहरमा ३ वोटको वीचमा वाँसको मोटो भाटा १७० से.मी. लामो गाड्नु पर्दछ । उक्त भाटामा ३० से.मी. को फरकमा पहिलो साटा र अन्य ३० से.मी. कै फरकमा साटा बाँध्नु पर्दछ । अनि उक्त साटामा गोलभेडाको डाँठ सुतलीले हलकासँग बाँध्नुपर्दछ ।

बोटको काटछाँट
वोट बढ्दै जाँदा तल्लो भागको पहेँला र रोगी पातहरु हटाउँदै जानु पर्दछ । बोटमा पातको कापवाट पलाएका मुना देख्ने वित्तिकै हटाउनु पर्दछ । मुना हटाउँदा सवभन्दा माथिका मुनाहरु भने हटाउनुहुंदैन बोट धेरै झाँगिएको छ भने बिच बिचबाट पातहरु हटाई दिनुपर्दछ । जसले गर्दा बोटहरुको बिचमा हावा खेल्ने ठाउँ हुन्छ र रोग किराको प्रकोप कम हुन जान्छ ।

फल टिप्ने
साधारणतया विरुवा रोपेको ८० देखि ११० दिन सम्म टिप्न सुरु हुन्छ । राम्रो मलखाद र उचित व्यवस्थापन भए अग्लो जातवाट १०–१५ के.जी. सम्म उत्पादन लिन सकिन्छ ।

प्लास्टिक घरमा काँक्रो खेती
काँक्रो बिउ उम्रनको लागि उपयुक्त तापक्रम २५–३० डिग्री सेल्सियस हो । राम्रो उत्पादन लिनको लागि दिनको तापक्रम १८–२४ डिग्री सेल्सियस र रातको तापक्रम १५–१८ डिग्री सेल्सियस चाहिन्छ । तर तापक्रम ३५ डिग्री सेल्सियस भन्दा बढी र १५ डिग्री सेल्सियस भन्दा कम भएमा उत्पादन र वृद्धि दुवै रोकिन थाल्छ । राम्रो उत्पादन लिन र बाली फस्टाउन ७०–७५ प्रतिशत सापेक्षिक आद्रता चाहिन्छ ।

उपयुक्त जातहरु
भक्तपुर स्थानीय, मालिनि F1, डाईनेष्टि F1, बेली F1

वेर्ना सार्ने दूरी
प्लास्टिक घरको चौडाई तिरवाट लम्वाई सँग सामानान्तर हुने गरी लाईन तान्नु पर्दछ । ५ मिटर चौडाईको प्लास्टिक घर भित्र ६ वटा लाईन वरावरको दूरीमा बेर्ना रोप्नुपर्दछ । एउटा मुख्य हाँगामा मात्र फल उत्पादन गर्नको लागि बोटदेखि बोटको दूरी ३० से.मी राख्नुपर्दछ ।

मलखाद
प्रतिबोट निम्नानुसारको मल माटोमा मिलाउनुपर्छ ।
पाकेको गोबरमल- ३ के.जी
युरिया- १० ग्राम प्रतिवोट
डि.ए.पि.- २० ग्राम
पोटास- १५ ग्राम
वोकासी- १०० ग्राम
पिना- ५० ग्राम
माथिका मलहरु विरुवा लगाउनुभन्दा ७ दिन अगाडि नै खाडलमा राख्नुपर्ने
हुन्छ ।

थाँक्रा दिने
काँक्रा लहरा जाने बाली भएकोले यसलाई टेको दिनुपर्ने हुन्छ ।

बोटको तालिम र काटछाँट
गुणस्तरिय र धेरै उत्पादन लिन काँक्राको काटछाँटको निकै महत्व हुन्छ । दुई वटा अथवा ३ वटा मुख्य हाँगा राख्नेर अन्य सहायक हाँगाहरुलाई सुरुबाटै हटाउँदै जानुपर्दछ । यसरी सहायक हाँगाहरु हटाउँदै जाँदा राखिएका मुख्य हाँगा र त्यसमा लागेका फलको वृद्धिमा निकै मद्धत पु¥याउँछ ।

त्यसकारण हरेक २–३ दिनमा प्रत्येक बोटको निरिक्षण गरी नयाँ पलाउन लागेका
सहायक हाँगाहरुलाई हटाउदै जानुपर्छ । साथै पुराना र पहेँला पातहरु पनि हटाउँदै जानुपर्दछ ।

सेचनकृया
खासगरी मौरी र भमराले काँक्रोको सेचनकृयामा सहयोग पु¥याईरहेका हुन्छन । तर प्लास्टिक घर भित्र राम्रो उत्पादन लिन भाले फुलको पराग पोथी फुलहरुमा राम्रोसँग सेचित गर्न ब्रसको सहायताले हातले नै पराग सार्ने काम गर्नुपर्दछ ।

उत्पादन
राम्रो जात र उचित व्यवस्थापनमा सय वर्ग मिटरको प्लास्टिक घर वाट ७०० देखि ८०० किलोसम्म काँक्रोफलाउन सकिन्छ ।

प्लास्टिक घर भित्र रोग किरा व्यवस्थापन
प्लास्टिक घर भित्र विशेष गरेर व्याक्टेरिया, ढूसी, भाईरस नेमाटोट जन्य रोगहरुले आक्रमण गर्दछन ।

ब्याक्टेरियाः गोलभेडा, भेंडेखुर्सानीहरुमा फुलफुलने अवस्था आउने वेला ओइलाएर मर्दछन् । यसको रोकथाम गर्न वर्षातको वेलामा ड्याङ्ग अग्लो वनाएर रोप्ने, कम्पोष्टमल बढि प्रयोग गरी विरुवालाई स्वस्थ बनाउने गर्नुपर्दछ ।

ढूसीः डढुवा पातको थोप्ले रोग, ओइलाउने रोग, खराने ढूसी, एन्थाक्नोज आदि रोगको रोगथाम गर्न प्लास्टिक घर भित्रको सरसफाईमा विशेष ध्यान दिनु पर्दछ । डाईथेन एम–४५ (३ ग्राम) र क्रिल्याक्सिल (१ ग्राम) प्रतिलिटर पानीका दरले मिसाई छर्न सकिन्छ ।

भाईरसः रोग लागेका बोटका पात सानो र मसिनो हुने बटारिने, पातको सतह पहेँलो अथवा छिर्केमिर्के हुने गर्दछ । यसको लागि विरुवालाई प्लास्टिक घर भित्र सारी सके पछि एक पटक भाईरस रोग विरुद्ध प्रिभेन्टल नामक विषादि १० ग्राम प्रति लिटर पानीका दरले छर्कने । रोग सार्ने सेतो झिँगा र लाहि किरा नियन्त्रण गर्ने र भाईरस लागेका बोट उखेलेर गाड्ने गर्नुपर्दछ ।

किराहरुको व्यवस्थापन
सेतो झिँगा र लाही : सेतो झिँगा प्लास्टिक घर भित्र लगाईने बालीको मुख्य समस्या हो । रासायनिक विषादि रोगर १ मिलीलिटर प्रतिलिटर पानीमा मिसाएर छर्नुपर्दछ ।

फलमा प्वाल पार्ने किरा : यी किराको आक्रमण हरिया फलहरुमा प्वाल पार्ने हुन्छ । साईपरमेथ्रिन र रोगर पालैपालो गरेर १ मिलीलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने ।

थप समाचार