बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

फलफूलको फल छेड्ने र चुस्ने सुड़े मोथ–पुतली

बिहीबार , असार १४ २०८१
8 views
फलफूलको फल छेड्ने र चुस्ने सुड़े मोथ–पुतली

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

फल छेड्ने र चुस्ने सुँडे मोथ–पुतलीको समस्या एशिया, अफ्रिका र अष्ट्रेलियाका मुलुकहरुमा एकनासकै छ । यो एकखालको रात्रिचर पुतली हो । यसले
चालिसभन्दा बढी व्यावसायिक फलफूल बालीहरु जस्तै सुन्तलाजात फलफूल, अम्बा, मेवा, आँप, केरा, हलुवावेद, भुइँकटहर, तरबुजा, खरबुजा, अंजिर, भण्टा, गोलभेंडा, आदिमा क्षति पुर्याउदछ। सिन्धुली जिल्लाको जुनार बगैंचामा २०७६ सालमा क्षतिको तहमा देखिएको यो कीराले हाल (२०८० भाद्र महिना देखि) पनि सोही ठाउँमा व्यापक क्षति पुर्याएको पाइएको छ ।

कीराको चिनारी र क्षतिको प्रकार

भाले वयस्क मोथ–पुतलीहरुको अघिल्तिरका एक जोडी पखेटाहरु हल्का खैरो रङ्गका हुन्छन् भने पोथी वयस्कका गाढा खैरो पखेटाहरु हुन्छन् । तर दुबै वयस्कका पछिल्तिरका जोडी पखेटाहरु सुन्तले रङ्गका, पखेटाको बाहिरी किनारमा कालो धब्बा हुन्छ भने भित्री किनारामा अर्ध विराम आकारका एक एक वटा काला धब्बा हुन्छन् ।

वयस्क सुँडे मोथ–पुतलीहरुको खाने मुख कुँडुलो पारिराखेको लामो दरिलो सुँड आकारको हुन्छ । सुँडको अघिल्लो भागमा तल माथि रहेका मसिना करौंटेहरुको मद्दतले फलमा प्वाल पारी रस चुस्ने गर्दछन् । यी कीराहरु रात्रीचर प्रकृतिका भएकाले रातको समयमा (विशेषगरी साँझदेखि आधा रातसम्म) फल चुसेर खाने गर्दछन् । यस कीराले जुनारका फल छेड्ने याममा भदौ महिनाको बाफिलो वातावरण हुने भएकोले(Bhumannavar and Viraktamath, 2012; Leong and Kueh, 2011) फलमा यस कीराले पारेको प्वाल वरपर ढुसी तथा अन्य जीवाणुहरुको संक्रमण भई त्यो ठाउँ गोलाकार तरिकाले कुहिँदै जान्छ।

यी सुँडे मोथ–पुतलीहरुको संख्या बगैँचामा धेरै भए रुख मुनि कुहिएका फलहरु यत्रतत्र देखिन्छन्। सुँडे मोथ–पुतलीको वयस्क पोथीले बगैंचाको किनारमा उम्रेका जंगली आहार वनस्पतिहरुका पातहरुमा अण्डा पारिदिन्छन्। सो अण्डाहरुबाट तीन दिन पछि पहिलो अवस्थाका लाभ्रेहरु निस्कन्छन् (Heng et al. 2012)। पाँचवटा लाभ्रेको अवस्था रहने यस कीराको जम्मा लाभ्रे अवस्था दुई देखि तीन हप्ता अवधिको हुन्छ (Heng et al. 2012)। जंगली वा वैकल्पिक आहार वनस्पतिहरुमा लाभ्रे अवस्था पुरा हुन्छ । लाभ्रे र वयस्कको खानाको स्रोत नै फरक पर्ने भएकोले पनि यस कीराको नियन्त्रण चुनौतिपूर्ण छ ।

आहार वनस्पतिहरु र आश्रय लिने ठाउँ अनुसार लाभ्रेको रंगमा फरक पर्न सक्दछ। कहिलेकाहीँ रंगमा हुने फरकपनाले पनि कीरा पहिचानमा समस्या उत्पन्न हुन्छ । तर लाभ्रेका विशेष शारीरिक बनावटलाई आधार मानी पहिचान गर्नुपर्ने हुन्छ । यो कीराको लाभ्रे बित्ते कीरा जस्तो हुन्छ जो हिँड्दा पछाडिको पेट खण्ड अर्ध गोलाकार हुने गर्दछ । छातीमा तीन जोड सक्कली र पेटतर्फ दुई जोड नक्कली खुट्टाहरु गरी जम्मा पाँच जोड खुट्टाहरु हुन्छन्
र पेटतर्फको पछिल्लो भाग केही उठेको हुन्छ ।

अन्तिम अवस्थाका लाभ्रेहरु सुक्खा पातलाई धागोजस्तो पदार्थले बेरेर आहार वनस्पतिहरुमै वा जमिनमा गई प्यूपा (अचल अवस्था) बन्दछन् । अचल अवस्था गाढा रातो वा खैरो कालो रंगका हुन्छन् । अचल अवस्थाका कीराहरु हिउँदको जाडो छल्नको लागि सुषुप्त अवस्थामा जान्छन् र उपयुक्त तापक्रम पाउने वित्तिकै वयस्क मोथ–पुतलीमा परिणत हुन्छन् । उपयुक्त वातावरणीय अवस्थामा भने अचल अवस्थाको कीराको अवधि करीव दुइ–तीन हप्ता जतिको हुन्छ (Heng et al. 2012)। अचल अवस्थाबाट वयस्क निस्कने वित्तिकै माथि उल्लेखित फलफूलमा आफ्नो दरिलो सुँडले प्वाल पारी रस चुस्न शुरु गर्छन् । यस कीराको वयस्कहरुको जीवन अवधि करीव ३–४ हप्ताको हुन्छ (Heng et al. 2012)।

अनुगमन र व्यवस्थापनका उपायहरु

यस कीराको जीवन–चक्रका विभिन्न अवस्थाहरु, विभिन्न बोटविरुवा वा बालीनालीहरुमा बेग्लाबेग्लै हुने भएकोले यसको व्यवस्थापन चुनौतीपूर्ण मानिन्छ । व्यवस्थापनका विधिहरु एकीकृत रुपमा सामूहिक तवरले अपनाएर यस कीराको क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ ।

१. वैकल्पिक आहार वनस्पतिहरुमा लाभ्रेको अनुगमन: यस कीराको माउ मोथ–पुतलीले वैकल्पिक आहार वनस्पतिका पातहरुमा अण्डा पार्ने भएकोले त्यस्ता बोटबिरुवाको अनुगमन र पहिचान यस कीराको नियन्त्रणको पहिलो महत्वपूर्ण कदम हो । नेपालमा सुन्तलाजात फलफूलको वरपर यस्ता बोट विरुवाहरु पहिचान भइसकेको नभएता पनि अन्य देशहरुमा भएका अनुसन्धानका नतिजा अनुसार जुनार बगैंचामा वा बगैंचाका छेउछाउ वा जंगलमा भएका पानको पातका आकार भएका बोटविरुवाहरु जस्तै चिल्लो बाटुलपाते, गुर्जो, गिठा, भ्याकुर, कंसे लहरो र अन्य जंगली बोटविरुवामा यस कीराले अण्डा पार्ने र लाभ्रे पनि सोही स्थानमा नै हुर्कने पाइएको छ ।

तसर्थ, यस्ता विरुवाको पहिचान गरी त्यहाँ रहेका यस कीराका अण्डा तथा लाभ्रेहरुलाई नियन्त्रण गर्न सकियो भने जुनार बगैंचामा आउने माउ मोथ–पुतलीको स्रोत नै मास्न सकिन्छ । हिउँदको अत्यधिक चिसो पार गर्ने वित्तिकै सुषुप्त अवस्थामा रहेका अचल अवस्थाबाट वयस्क निस्कने भएकोले सोही समयदेखि वयस्कको अनुगमन र लाभ्रेहरुको नियन्त्रणमा ध्यान दिनुपर्ने हुन्छ ।

२. वयस्क सुँडे मोथ–पुतलीको अनुगमन: हिउँदे सुषुप्ति पछि जागेका अचल अवस्थाबाट वयस्क बन्ने भएकाले सोही समयदेखि नै वयस्क को नियमित अनुगमन र नियन्त्रण जरुरी हुन्छ । वयस्क सुँडे मोथ–पुतलीका भाले–पोथी दुबैलाई फलफूलको चारोयुक्त पासोमा बल्झाई अनुगमन तथा नियन्त्रण गर्न सकिन्छ । केरा, भुइँकटहर, आदि यस कीरालाई असाध्यै मन पर्ने फलफूलहरु हुन्  (Reddy and Muniappan, 2007)।

३. चारोयुक्त पासो बनाउने तरिका: राम्ररी पाकेको केरा वा अन्य फलफूलको टुक्राहरुलाई एक लिटर पानीमा १०० ग्राम गुँड वा सख्खर र १० एम.एल. मालाथियन ५० ई.सी.को घोलमा राखी जमिनको सतहबाट करिब ६०–१०० से.मि.को उचाइमा बाटा आकारको भाँडामा राख्दा यसमा सुँडे मोथ–पुतलीहरु आकर्षित हुन्छन् र विषाक्त चारो खाई मर्दछन् । यस्तो पासोमा प्रयोग गरिएको केरा वा फलफूलको चारोलाई हरेक ३–४ दिनमा परिवर्तन गर्नुपर्दछ र चारोयुक्त पासो रोपनीमा एउटाका दरले राख्नु उचित हुन्छ ।

तर, अन्य चरा वा जनावरले विषाक्त चारो नखाउन भन्ने हेक्का राख्नुपर्दछ । हरेक दिन २–३ भन्दा बढी सुँडे मोथ–पुतली प्रति पासोमा बल्झेको खण्डमा अन्य व्यवस्थापनका उपायहरु अपनाउनु पर्ने समय भयो भन्ने सम्झनु पर्छ । त्यस्तै, साँझदेखि मध्यरातसम्ममा यी मोथ–पुतलीहरु सक्रिय हुने हुँदा सो समयमा टर्च लाइट वा चर्को लाइटको प्रकाशमा यसका आँखा रातो रंगले टल्कन्छ । यी पुतलीहरु अत्यधिक प्रकाशमा निष्क्रिय हुने हुँदा समाउन वा मार्न पनि सकिन्छ । यदि मोथ–पुतलीहरु यसरी देखा परेमा पनि व्यवस्थापनका उपायहरु अपनाउनु पर्दछ ।

३. चर्को प्रकाशले विकर्षण गर्ने: सुँडे मोथ–पुतलीहरु साँझ पर्ने वित्तिकै देखि मध्यरातसम्म सम्म सक्रिय रहन्छन् । सो समयमा बगैंचामा चर्को प्रकाशको व्यवस्था गर्दा यस कीराको क्रियाकलाप घट्छ वा निष्क्रिय भएर बस्छन् । यस्तो प्रकाशमा यस कीराका आँखाहरु रातो टल्कने हुन्छन् जसलाई मार्न पनि सकिन्छ (Fay and Halfpapp, 1995)।

४. बगैंचामा धुवाँ–उपचार: बगैंचामा धुवाँ लगाउँदा पनि यस कीराले फल नचुसेको पाइएको छ । सुकेका पात पतिङ्गर र हरियो स्याउलाहरु मिसाएर बाल्दा बढी धुवाँ आउँछ । धुवाँले जुनार फलबाट निस्कने बासनालाई दबाइ दिन्छ र सुड़े मोथ–पुतलीहरुले जुनार फल पहिचान गर्न सक्दैनन् । साथै, धुवाँले यी कीराहरुलाई धपाउने काम पनि गर्दछ ।

५. फललाई ढाक्ने प्रविधि: विकसित देशहरुमा फललाई कागज वा प्लाष्टिकले ढाक्ने प्रविधि पनि व्याप्त छ । यसो गर्दा सुँडे मोथ–पुतलीहरु लगायत अन्य फल छेड्ने र चुस्ने कीराहरुबाट जुनारका फललाई जोगाउन सकिन्छ ।

६. नेटजालीले बार्ने:  प्रत्येक बोट वा वगैंचालाई नेटजालीले बारेर पनि यो कीराबाट जुनारलाई जोगाउन सकिन्छ । तर असाध्यै खर्चिलो हुने भएकोले आर्थिक रुपमा प्रभावकारी नहुन सक्छ । त्यसैगरी, यो कीरालाई जालीनेटले पक्रेर मार्न सकिन्छ ।

७. घरेलु वानस्पतिक विषादीको प्रयोग:खरानी, टिमुरको पात वा गेडा, तितेपाती, हात्तीबार, केतुकी, बविस (माछा मार्ने झार), धतुरोको पात, असुरो, आदि जस्ता तितो, टर्रो, पिरो हुने वनस्पतिहरुलाई टुक्रा पारी गहुँतमा एक महिनासम्म ड्रममा कुहाएर घरेलु विषादी तयार गर्न सकिन्छ । तयारी
घरेलु विषादीलाई राम्ररी छानेर एक भागमा ४–५ भाग पानी मिसाई जुनारको पुरै बोट भिज्ने गरी ७–१० दिनको फरकमा स्प्रे गर्दा यो कीराको क्षति कम हुन्छ ।

यसैगरी, नीम र बकाइनोको पानीमा अर्क तयार पारी यसको प्रयोग गरेर पनि जुनारका फलहरुलाई धेरै हदसम्म यस मोथ–पुतलीहरुबाट बचाउन सकिन्छ । चार (४) किलोग्राम नीम वा बकैनोका कलिला मुन्टा, पातहरु र फलहरु (काँचो वा पाकेको कुनै पनि) एकै ठाउँमा राखी १० लिटर पानीमा मिसाई आधा घण्टा उमालेर अर्क तयार पार्ने । यस अर्कलाई कपडछान गरी एउटा भाँडोमा राख्ने र बाँकी रहेको कसरलाई खेतबारीमा प्रयोग गर्ने । यस प्रकार तयार पारिएको अर्कको १२ मि.लि. मात्रा १ लिटर पानीमा मिसाई घोल तयार पारी फलहरुमा पर्नेगरी हरेक सात दिनको अन्तरमा राम्ररी छर्कने ।

८. कीटनाशक विषादीको प्रयोग: यदि फलहरु टिपेर तत्काल बजारीकरण गरिने अवस्था छैन भने केही थरिका कीटनाशक विषादीहरुको प्रयोग गर्न सकिन्छ । सुँडे मोथ–पुतलीहरु बगैंचामा देखिएमा क्लोरान्ट्रानिलिप्रोल १८.५% एस.सी. (प्रति १० लि. पानीमा ३ एम.एल. का दरले) वा फ्लुबेण्डामाइड ३९.३४% एस.सी. (प्रति ४ लि. पानीमा १ एम.एल. का दरले) आलोपालो १५ दिनको फरकमा बोटमा स्प्रे गर्न सकिन्छ । तर बेच्नयोग्य फलमा यी विषादी
प्रयोग गर्नु हुँदैन ।

लाभ्रेको लागि पनि यी विषादीहरु उपयुक्त हुन्छन् तर लाभ्रे लक्षित स्प्रे मात्रै वातावरणमैत्री हुन्छ । केही दिनमा नै बजारीकरण गरिने जुनारका फलहरु छन् भने खनिज तेल जस्तैः एग्रो सर्भो तेल वा हर्टिकल्चर तेल १०–१५ एम.एल. प्रति लि. पानीमा मिसाई स्प्रे गर्न सकिन्छ । यसको प्रयोगले सेतो चुसाहा, कत्ले कीरा, आदिलाई पनि नियन्त्रण गर्दछ (Leong and Kueh, 2011)।

९. झरेका फलहरुको व्यवस्थापन: झरेका फलहरुलाई तुरुन्तै संकलन गरी प्लाष्टिकका थैलामा हावा बन्द हुनेगरी बाँधेर कुहाइदिने गर्नुपर्दछ । यसो गर्नाले फल भित्र रहेका अन्य कीराहरुका लाभ्रेहरु (जस्तै चाइनिज सिट्रस फ्लाईका औंसाहरु) पनि मर्दछन् र अर्को वर्ष अन्य कीराको जोखिम पनि घट्न पुग्दछ । झरेका बासी फलहरुको बासनाले सुँडे मोथ–पुतलीहरुलाई झनै आकर्षित गर्छ र फलस्वरुप बगैंचामा यस पुतलीहरुको उत्पात शिखरमा
पुग्छ । तसर्थ सुँडे मोथ–पुतली लगायत अन्य कीराको नियन्त्रणका लागि पनि झरेका फलहरुको व्यवस्थापन महत्वपूर्ण हुन्छ ।


१०. सामुदायिक नियन्त्रण प्रयास: एक दुई जना जुनारखेती गर्ने किसानले मात्रै यी उपायहरु अपनाउँदा सुँडे मोथ–पुतली नियन्त्रणमा आउन मुस्किल छ । तसर्थ, यस कीराको समुचित नियन्त्रणको लागि समुदाय स्तरको अभियानको रुपमा क्षेत्रगत नियन्त्रण कार्यक्रम सञ्चालन आवश्यक छ ।

 

स्रोत: सुन्तलाजात फलफूलको फल छेड्ने र चुस्ने सुड़े मोथ–पुतली, PMAMP, Lalitpur |

 

थप समाचार