बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कसरी गर्ने झुसेतिल (फिलुङ्गे) खेती ?

बुधबार, असार २० २०८१
10 views
कसरी गर्ने झुसेतिल (फिलुङ्गे) खेती ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
झुसेतिल अर्थात फिलुङ्गे एउटा तेलवाली हो। यसको वैज्ञानिक नाम Guizotia abyssinica Cass हो । यो कम्पोजिटी परिवार अन्तर्गत पर्दछ । यसको बोट दहो र १.०-१.५ मिटरसम्म अग्लो हुन्छ । मूल डाँठबाट आएका हाँगाहरु माथि फैलिन्छन ।

बोटको डाँठ हरियो रङको गोलो हुन्छ र बाली पाके पछि डाँठ पहेंलो रङको हुन्छ । यसमा मूलजरा तल जाने र फैलिने हुँदा केही सुख्खा पनि सहने साथै बढी वर्षाले पनि असर गर्दैन । यसमा सयपत्री फूलका थुङ्गा जस्तै पहेला फूलहरु निस्कन्छन ।

प्रत्येक बोटमा २०-४० बटा सम्म फूलहरु फुल्छन । फूललाई पूर्ण रुपमा फक्रन करिब ७-८ दिन लाग्छ । एउटा फूलको थुङ्गामा २५-५० वटा सम्म बीउहरु लाग्छन ।

बीउको आकार सूई जस्तो लाम्चो र कालो चम्किलो रङको हुन्छ । झुसेतिलमा खास
विविधता देखिदैन । यो बालीको उत्पति अफ्रिकामा भएको मानिन्छ । भारत झुसेतिलको सबै भन्दा ठुलो उत्पादक देश हो। यसको खेती परम्परागत रुपमा नेपालको मध्ये पहाडी जिल्लाहरुमा हुने गर्थ्यो।

हाल आएर फाटफुटरुपमा मात्र यसको खेती हुने गरेको छ। मोरङ, झापा, सिन्धुली,
नुवाकोट, नवलपरासी पूर्व, चितवन आदि जिल्लामा खेती हुँदै आई रहेको छ । आ.व. २०७८-७९ को तथ्याक अनुसार १८४८ हेक्टर जमिनमा मात्र झुसेतिलको खेती भई २०२१ मेट्रिक टन मात्र उत्पादन भएको छ।

झुसेतिलको बीउमा ४०-५० प्रतिशतसम्म तेलको मात्रा हुन्छ । यसको तेल खाना पकाउन, शरीरमा मालिश गर्न, साबुन, श्रृंगारका सामाग्री, रंगरोगन आदि बनाउनमा प्रयोग गरिन्छ । नेपालको पहाडी जिल्लाहरुमा खाना पकाउन र टुकी (बत्ती) बाल्न प्रयोग गरिन्छ ।

यसको पिनामा २१ प्रतिशत प्रोटिन पाइने हुँदा पशुको आहारमा निकै पोषिलो मानिन्छ । यसको पिना पूर्वी पहाडमा अचार, चटनीको रुपमा पनि प्रयोग गरिन्छ। विगतका वर्षहरुमा झुसेतिल नेपालबाट विदेश निर्यात गरिन्थ्यो। यसको बीउ अमेरिका, बेलायत, जर्मनी, फ्रान्स आदि देशमा चराचुरुङ्गीको दानाको लागि निकासी गरी बर्षेनी करौडौंको विदेशी मुद्रा आर्जन हुने गरेको थियो ।

यसको बोटमा प्रशस्त पातहरु हुने हुँदा बाली कटानीको बेला सुकेका पातहरु खसेर माटोमा प्रशस्त प्राङ्गारिक पदार्थ थपिन गई माटोको उर्वराशक्ति कायम राख मद्दत गर्छ।

यसको फूलबाट मौरीले मह संकलन गर्ने हुँदा मौरीपालकलाई पनि फाइदा हुन्छ र मौरीको आगमनले फूलहरु परसैचित हुने हुँदा राम्रोसँग बीउ लाग्न गई उत्पादन बढने हुन्छ । एक हेक्टर खेती गरेको जमिनमा ६९८ वटा मौरी घारहरु राख्दा दोहोरो फाइदा हुन्छ ।

हावापानी
यसको सफल खेतीको लागि उष्ण तथा समशितोष्ण प्रदेशीय जलवायु उपयुक्त हुन्छ । नेपालमा यसको खेती समुन्द्र सतहबाट १४०० मिटरको उचाईसम्म हुने गरेको छ । यसको बीउ उम्रनको लागि ३५ डिग्री सेल्सियस तापमान आवश्यक हुन्छ ।

सालाखाला १८-२३ डिग्री सेल्सियस भन्दा बढी तापमानले यसको फूल फुल्ने बेलामा नराम्रो असर पार्दछ । यसको खेतीलाई १०००-१३०० मि.मि.वर्षा भए पुग्छ ।

बढी वर्षा हुने ठाउँ यसको खेतीको लागि उपयुक्त हुँदैन । प्रशस्त चम्किलो घाम लाग्ने, न्यानो तापक्रम र मध्यम खालको वर्षा हुने ठाउँ यो खेतीको लागि उपयुक्त हुन्छ ।

माटो
नेपालमा यसको खेती पाखोबारीको कमसल माटोमा जस्तै पत्थरिलो माटो, बलौटे माटो आदिमा गरिन्छ। यसको लागि हल्का रातो र खैरो दोमट माटो राम्रो मानिन्छ । प्रशस्त गहिरो, बलौटे दोमट माटो सबभन्दा उपयुक्त हुन्छ ।

माटोको पी.एच. ५.२-६.२ उपयुक्त हुन्छ । पानीको राम्रो निकास भएको गहुड्ङ्गो माटोमा पनि यसको खेती गर्न सकिन्छ । तुम्लिङ्गटार (संखुवासभा) को रुखो रातो माटोमा समेत यसको खेती हुँदै आईरहेको छ ।

बाली चक्र, खेती प्रणाली
यो बाली वर्षायाममा लगाइने हुँदा मध्य पहाडमा मकै भाँचेपछि चोखो बालीको रुपमा जग्गा तयार गरी छर्ने चलन छ। मकैसँग घुसुवा बाली लिंदा मकैलाई उकेरा लगाउने बेला झुसेतिलको बीउ छरिन्छ ।

मकै भाचे पछि वाली हलक्क बढेर फूल खेल्छ र फल्छ । तराईतिर चोखो बालीको रुपमा पनि खेती गरिन्छ । कोदो, मास, गहत, तिल, बदाम, बोडीसँग मिश्रित खेती गर्ने पनि चलन छ । तराईका जिल्लाहरुमा धान बाली काटेपछि झुसेतिल चोखो बालीको रुपमा छर्ने चलन छ ।

जातहरु
नेपालमा हालसम्म एउटा मात्र झुसेतिलको उन्नत जात खेतीको लागि सिफारिस गरिएको छ । प्रायः जसो स्थानीय जातहरु नै खेती हुँदै आएको छ । तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुर सर्लाहीमा झुसेतिलमा जातीय छनोट अध्ययन परीक्षण भई रहेको छ ।

हालसम्म गरिएको परीक्षण नतिजाको आधारमा ए.सी.सी. ५३५५ (६८० कि.ग्रा. रहेक्टर) ले बढी उत्पादन दिने पाइएको छ । ए.सी.सी. ५३५५ लाई नवलपुर झुसेतिल १ नामाकरण गरी खेतीको लागि सिफारिस गरिएको हो।

यो जात तराई तथा पहाड दुवै क्षेत्रमा खेतीगर्न सिफारिस गरिएको छ। यो जात सरदर १०३ दिनमा तयार हुन्छ । यस जातमा सरदर प्रति बोट ४० फूलका थुगा तथा प्रति थुगाा १८ वटा बीउ हुन्छ ।

यसको हजार दानाको तौल ३.८ ग्राम र बीउको रंग कालो हुन्छ। बोटको उचाई १२५ से।मी। हुन्छ र सरदर ५४१ किलो प्रति हेक्टर उत्पादन दिन्छ । यसको उत्पादन क्षमता ६५० किलोग्राम प्रति हेक्टर भन्दा बढी रहेको छ।

यसमा तेलको मात्रा ३३ प्रतिशत तथा प्रोटिनको मात्रा ३२ प्रतिशत रहेको छ। यो जात जेष्ठ देखि श्रावण महिनाको दोश्रो सप्ताहमा लगाउन उपयुक्त हुन्छ । 

जमिन तयारी
जमिन दुई तिन पटक जोतेर पाटा लगाउँदा बीउ छर्न लायक हुन्छ । खनजोत गर्दा झारपात हटाउनु पर्छ र जमिन समथर पारी मिलाउनु पर्छ । अन्य वालीसँग मिश्रित खेती गर्दा मुख्य वालीको लागि गरिएको जग्गा तयारी नै यसको लागि पनि प्रयाप्त हुन्छ ।

मलखाद
साधारणतया झुसेतिलको खेतीमा गोबरमल वा रसायनिक मल त्यति प्रयोग गर्ने गरेको पाइदैन । कम्पोष्ट वा गोबरमल उपलब्ध भएसम्म प्रयोग गर्दा उत्पादन बढी हुन आउँछ ।

रसायनिक मलको हकमा ४०:३०:२० कि.ग्रा. नाईट्रोजन, फस्फोरस, पोटास प्रति हेक्टरका दरले प्रयोग गर्न सिफारिस गरिएको छ । मलखादको सबै मात्रा अन्तिम जोताई गर्ने बेलामा माटोमा मिलाउनु पर्छ ।

अरु वालीसँग मिश्रित खेती गर्दा मुख्य बालीलाई हालेको मलबाट नै यसको निर्वाहा हुने हुँदा थप मलखाद दिई रहनु पर्दैन ।

बाली लगाउने समय
यो वर्षायाममा लगाइने वाली हो। झुसेतिलको लागि फूल खेल्ने बेला प्रकाशको अवधि छोटो (छोटो दिन) हुन आवश्यक छ । चाँडो लगाइएको वाली अग्लो हुने र झाँगिने गर्छ, तर बीउ लाग्ने काम चाही कम हुन गई उत्पादन त्यति राम्रो हुँदैन ।

वर्षातको अन्त तिर लगाउँदा बोट पनि त्यति नबढने, नझाँगिने तर दाना प्रशस्त लाग्ने हुँदा उत्पादन बढी हुने गर्छ । तसर्थ यस बालीलाई पहाडमा मकै पाके पछि खनजोत गरी अथवा मकै भित्र भदौ-असोजमा छरिन्छ भने तराईमा पनि वर्षातको अन्त तिर यानि भदौमा लगाउने गरिन्छ ।

तेलबाली अनुसन्धान कार्यक्रम नवलपुर, सर्लाहीमा गरिएको परीक्षण नतिजा अनुसार मध्य तराईमा श्रावण पहिलो हप्ता देखि दोश्रो हप्तासम्म बाली लगाउँदा बढी फल्ने (४००-६०० कि.ग्रा. प्रति हेक्टर) पाइएको छ ।

बीउको दर र लगाउने तरिका
झुसेतिललाई चोखो बालीको रुपमा छरुवा तरिकाबाट लगाउँदा ८-१० कि.ग्रा. प्रति हेक्टर (४००-५०० ग्राम प्रति रोपनी) बीउ लाग्छ । लाईनमा लगाउँदा ५-६ कि.ग्रा. प्रति हेक्टर (२५०-३०० ग्राम प्रति रोपनी) भए पुग्दछ ।

प्रायःजसो यस बालीलाई छरुवा विधिबाट नै लगाउने चलन छ । यदि लाइनमा वा हलोको पछाडि बीउ लगाएमा उत्पादन बढी हुने र गोडमेल, छटनी, रोग कीरा नियन्त्रण आदि गर्न सजिलो हुन्छ।

लाइनमा लगाउँदा बीउ पनि कम लाग्ने र एकनाशले उम्रने हुँदा बोटको संख्या प्रति ईकाई जमिनमा बढी हुन आउँछ । बीउ लगाउँदा ३० से.मी.को फरक पारी लाइनमा छर्नु पर्छ र बीउ खसाल्दा ३-५ से.मी.को गहिराईमा पर्ने गरी खसाल्नु पर्छ । वाक्लो विरुवालाई समयमा नै (छरेको १५-२० दिनमा) वेडाउनु पर्छ । जस्ले गर्दा बोट दह्रो हुन जान्छ ।

बीउको छनोट तथा उपचार
छर्नको लागि प्रयोग गरिने बीउ स्वस्थ, ठुलो, पुष्ट दाना भएको छान्नु पर्छ । बीउलाई निफनेर सफा गरी ठुला ठुला बीउ छानी थिराम वा वेभिष्टिन विषादी २ ग्राम प्रति कि.ग्रा. बीउका दरले उपचार गरेर मात्र छर्नुपर्दछ ।

गोडमेल र छटाई
बीउ छरेको १५-२० दिन पछि लाइनमा लगाएको खेतीमा बाक्लो बोटहरु १५ से.मी. को फरकमा पर्ने गरी वेडाउनु पर्छ। धेरै बाक्लो विरुवा भएमा फूलमा दाना वा बीउ कम लाग्ने भई उत्पादन घट्न जान्छ ।

वर्षायाममा यो बालीको खेती हुने हुँदा झारपात बढी आउने भएकोले नियन्त्रणको लागि कम्तिमा एक पटक बाली लगाएको १ महिना भित्र गोडमेल गर्नु पर्छ । लाइनमा लगाएको बालीमा २ लाइनको बीच खाली जमिनमा कुटो वा कोदालोले खनजोत गरी झारपात नियन्त्रण गर्न सजिलो हुन्छ ।

सिँचाइ
वर्षायाममा खेती गरिने हुँदा खास सिँचाइको आवश्यकता पर्दैन । आकासे पानीको भरमा यसको खेती गरिन्छ । यसको जरा गहिरोसम्म जाने हुँदा केही हदसम्म सुख्खा सहन सक्छ ।

यदि सुख्खा पर्न गयो भने ५,६ पात आई सके पछि, फूल खेल्ने बेला र दाना लाग्ने बेलामा गरी ३ पटक सिँचाइ दिनु पर्छ ।

बाली पाकेको पहिचान, काटने, चुट्ने र भण्डारण
झुसेतिलको बोट र ७५-८० प्रतिशत फूलका थुङ्गाहरु पहेंलिन थाले पछि र पातहरु झर्न थाले पछि बाली पाकेको बुझिन्छ र वाली हसियाले फेदैवाट काटनुपर्छ । सकभर विहानपख शित छँदै कटानी गरेमा बीऊ झर्नबाट बचाउन सकिन्छ ।

यो बाली कार्तिक मंगसिर तिर पाकेर तयार हुन्छ । बीउ छरे देखि पाक्न करिब १००-११० दिनको समय लाग्दछ । सबै फूलका थुङ्गाहरु एकै चोटी पाक्दैनन् । समयमा नै वाली कटानी गरी बीउ झर्नबाट जोगाउनु पर्छ ।

बाली कटानी गरेपछि मुठा पारी करिव १ हप्तासम्म खलिहानमा थुप्रो पारी राख्नु पर्छ । जसले गर्दा हरिया फूलहरु पनि छिप्पिन जान्छन् र दाना झार्न सजिलो पर्छ । त्यस पछि थुप्रोलाई खोलेर २-३ दिन घाममा सुकाउनु पर्छ ।

राम्ररी सुकेपछि लठ्ठीले चुटी बीउ छुट्याउनु पर्छ । बीउलाई निफनेर सफा गर्नु पर्छ। त्यस पछि २-३ दिन घाममा राम्ररी बीउ सुकाई भण्डारण गर्नु पर्छ ।

उत्पादन
झुसेतिल खेतीबाट सरदर २ क्विन्टल बीउ प्रति हेक्टर उत्पादन हुने गरेको पाइन्छ । राम्रो व्यवस्थापन गरी खेती गरिएमा करिव ६ क्विन्टल बीउ प्रति हेक्टरसम्म उत्पादन गर्न सकिन्छ ।

स्रोतः बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुर 

थप समाचार