परिचय ओल (Amorphophallus paeniifolius) पौस्टिक दृष्टिकोणले महत्वपूर्ण तरकारी बाली हो । ठाउँ अनुसार यसलाई बिभिन्न नामले चिनिन्छ । तराइमा ओल पहाडमा बाँको वा सर्पको मकैको नामले चिनिन्छ ।
जङ्गली अवस्थाका ओल खान स्वादिलो भएतापनि कोक्याउने भएकोले त्यति रुचाइदैन । ओल पिंडालु आदिमा एक किसिमको कोक्काउने रसायन पाइन्छ जुन क्याल्सियम अक्जालेट हो ।
जसलाई पकाएर वा रात भरि पानीमा भिजाएर कम गर्न सकिन्छ । क्याल्सियम अक्जालेटका कारण मिर्गौलामा पत्थरीको समस्या भएका रोगीहरूले ओल पिंडालु कम खादा नै राम्रो मानिन्छ ।
भारतवाट आयत गरिएका उन्नत जातको ओलमा कोक्याउने अवगुण त्यति नभएकोले बढि लोकप्रिय छन । तराइका जिल्लाहरूमा सिराहा, सप्तरी धनुषा सुनसरी, नवलपरासीका केही क्षेत्रहरूमा व्यवसायिक रूपले खेती गरेको पाइएको छ ।
यसको प्रयोग तरकारीको रुपमा मात्र नभइकन आयुर्वेदिक औषधीको रूपमा पायल्स, रगतमासी, दम, फोक्सो सुनिएमा, बान्ता भएमा,पेट दुखेमा र रगत सफा गर्नेमा प्रयोग गरेको पाइएको छ ।
माटो र हावापानी ओल खेती तराइदेखि मध्य पहाडी हावापानीमा गर्न सकिने सम्भावना देखिएको छ । प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दुमोट र पानीको राम्रो निकास भएको माटोमा यसको उत्पादन बढि हुने भए पनि पाँगो माटोमा पनि यसको खेती गर्न सकिन्छ ।
यसको लागि २५ देखि ३० डि.से. तापक्रम र बढि आद्र्रता भएको मौसममा यसको बोटको बृद्धि हुने र सुक्खा मौसममा गानो बढ्ने गर्दछ ।
रोप्ने समय र विधि ओल बानस्पतिक प्रसारण गरिने बाली हो । यसलाई चैत महिनाभर लगाउन सकिन्छ । एक बोटदेखि अर्को बोटको दुरी एक मिटर र एक लाईनदेिख अर्को लाईनको दुरी एक मिटरको फरकमा ५० से.मि. लम्बाइ, चौडाइ र गहिराइका खाडल खन्नु पर्दछ ।
प्रति खाडल ५ के.जी. राम्ररी पाकेको गोबरमल र माटो मोलेर खाडल भर्नु पर्दछ । यसको गानो ठुलो हुने भएकोले बीउ रोप्दा एक/दुई आंखा भएको भाग करिब आधा के.जी. देखि एक किलो सम्मको टुक्रा काटेर र आंखा माथि पट्टि पारेर १५ से.मि.को गहिराईमा बीउ रोप्नु पर्दछ ।
रोग र कीरा यो बालीमा रोग र कीराको प्रकोप खासै नदेखिए पनि पानी बढी पर्ने पोखरा आसपासका क्षेत्रमा साउन भदौमा बोटको फेदको भाग कुहिने पाइएको छ ।
जसका लागि निकाशको उचित प्रवन्ध मिलाउने र थप नियन्त्रणको लागि बेभिस्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर १५/१५ दिनको फरकमा २/३ पटक ड्रेन्चिङ गर्दा प्रभावकारी पाइएकोछ ।
खन्ने समयः ओल रोपेको ६ देखि ६.५ महिनामा खन्नको लागि तयार हुन्छ । प्रायः चैतमा लगाएर कात्तिकमा खन्न सकिन्छ । यस केन्द्रमा लगाइएकोमा बढिमा ११ के.जी सम्मको गानो उत्पादन लिन सकिएको छ ।
बेमौसमी निकाल्ने भए केही अगाडिनै खन्न पनि सकिन्छ । बीउको लागि राख्ने हो भने नखनिकन माटोमा नै राख्दा भन्डारण गर्ने झन्झट हुदैन । बागवानी अनुसन्धान केन्द, मालेपाटनमा गरिएको सम्भाब्यता अध्ययनको नतिजा अनुसार ३०– ४३ मे टन उत्पादन पाइएकोछ ।
तर यसको उत्पादन क्षमता भने ५० देिख १०० मे.टन प्रति हेक्टर उल्लेख गरेको पाईन्छ ।