बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

छरुवा धान खेती प्रविधि

बुधबार, साउन ९ २०८१
7 views
छरुवा धान खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

नेपालमा धान खेती गरिने कुल क्षेत्रफलको करीव ९०% मा हिल्याएर रोपाई गरिन्छ । नेपालको खेती प्रणाली मन्सुनी वर्षामा आधारित रहेको र जलवायु परिवर्तनका कारण हालैका वर्षहरुमा मन्सुनको शुरुवात ढिलो गरी हुने क्रम बढ्दै गएको हुनाले धान रोप्ने समय पनि ज्यादै ढिलो हुने गरेको छ ।

यसले धानको उत्पादनका साथै समग्र बाली प्रणालीमानै नकारात्मक असर पारेको सन्दर्भलाई मध्यनजर गर्दै नेपाल कृषि अनुसन्धान परिषद्ले विकल्पको रुपमा छरुवा धान खेती प्रविधिको विकास गरेको छ । छरुवा धान खेती गर्ने औजार (जिरो टिल सिड ड्रिल), झारपात व्यवस्थापन, उन्नत जात, उपयुक्त लगाउने समय, मलखाद आदिको उपयुक्त प्रयोग गर्न सकिएको खण्डमा यो प्रविधिद्वारा उत्पादन लागत कम गरी धानको उत्पादन बढाउन सकिन्छ ।

छरुवा धान खेती प्रविधिबाट हुने फाईदाहरु

• रोपाई गरिने धान खेतीको तुलनामा २५-३०% श्रम शक्ति कम लाग्दछ ।

• माटो हिल्याउन नपर्ने भएकोले लगभग २०% पानी वचत हुनका साथै सिंचाई कम गर्नुपर्छ । 

• सिडड्रिल मेशिनको प्रयोग गर्दा करिब ४-५ घण्टामा १ हेक्टर जमिनमा बीउ छर्न सकिन्छ । 

• महिलाहरुलाई हिलोमा लामो समयसम्म निहुरेर रोपाई गर्दा स्वास्थ्य पर्न सक्ने प्रतिकूल असर न्यूनिकरण गर्न सकिन्छ ।

• रोपाई गरेको धान भन्दा छरुवा धान ७-१० दिन छिटो पाक्दछ ।

बीउ छर्ने समय र तरीका : 

मध्य पहाडमा जेठ महिनाको पहिलो हप्तामा पर्याप्त चिस्यान भएको जग्गामा ३०-३५ किलोग्राम बीउ प्रति हेक्टरको दरले सिधै छरुवा, हलोको पछाडि वा सिडड्रिल मेसिनबाट छर्न सकिन्छ । हलोको पछाडी वा सिडडिलबाट छरेको धानमा गोडमेल गर्न सजिलो  हुन्छ । बीउ २-३ सेन्टिमिटर गहिराई माटोमा रोपिनु पर्दछ । धान छरेको २-३ हप्ता भित्र खाली ठाउँ देखिएमा बाक्लो बेर्ना भएको ठाउँबाट उखेली खाली ठाउँमा सार्न सकिन्छ ।

मलखाद ब्यवस्थापन : 

छरुवा धानलाई माटोको उर्वराशक्ति र जातको आधारमा १००-१२० किलोग्राम नाईट्रोजन, ४० किलोग्राम फस्फोरस र ३० किलो ग्राम पोटासियम प्रति हेक्टर अर्थात एक रोपनीमा १०-१३ किलोग्राम युरिया, ४ किलो ग्राम डि.ए.पी र २.५ किलोग्राम पोटासका दरले हाल्नु पर्दछ । युरिया बाहेकका अन्य सबै मल बीउ रोप्ने बेलामा हाल्नु पर्दछ । युरिया मललाई तीन भाग गरी गाँज हाल्न शुरु हुने, फूल फुल्नु अघि र फूल फुलेको बेलामा प्रयोग गर्नु पर्दछ ।

जात : 

छरुवा धान खेती प्रविधिका लागि पहाडमा खुमल- ४, खुमल-८ र खुमल-१० र तराईको लागि सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, तरहरा-१, हर्दिनाथ-२, धैया-२, राधा-४ र बिन्देश्वरी उपयुक्त हुन्छन् ।

झारपात ब्यवस्थापन : 

छरुवा धानको सफल उत्पादनको लागि झारपात ब्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो । छरुवा धानमा झारपातको अत्यधिक प्रकोप हुने भएकाले समयमै नियन्त्रण नगर्ने हो भने धानको उत्पादनमा शत प्रतिशत सम्म क्षति भएको पाइएको छ ।

छरुवा धान खेतीमा समस्याको रुपमा देखिने प्रमुख झारहरुमा गन्धे, पटपटे, भिरिंगी, लट्टे, लुंडे, काँडे, काने, भृंगराज, चिंतलाँगे, लेउ, दूबो, बन्सो सामा, कोदे, घोडेबन्सो, मोथे, झिरुवा, सुइरे इत्यादि हुन् । गोडमेलबाट झारको व्यवस्थापन गर्न सम्भव नभएको अवस्थामा झार मारें विषादीको प्रयोगबाट नियन्त्रण गर्न सकिन्छ । छरुवा धानमा झारपातको व्यवस्थापन निम्न अनुसारको काम समयमा नै गर्नु अति आवश्यक छ ।

झारपात व्यवस्थापन तरिका : 

•  धानमा झारका बीउ मिसिएको भए रोप्नु अगाडि निकाल्ने ।

•  धान छरेको २५-३० दिनभित्र पहिलो गोडाई गर्ने र झारपात बढी देखिएमा दोश्रो गोडाई गर्न उपयुक्त हुन्छ ।

•  धान छरी सकेपछि पराललाई छापोको रुपमा प्रयोग गर्नाले शुरुमा आउने झारहरु कम हुनुको साथै माटोमा चिस्यान कायम रहन्छ ।

•  छरुवा धान र बैंचाको मिश्रित खेती गरेको अवस्थामा झारपातको प्रकोप कम हुने र ३५- ४० दिनमा झारनाशक विषादी २,४-डी प्रयोग गर्दा ढँचासँगै अन्य झारपातहरु पनि मर्दछन् र हैंचाले मलको पनि काम गर्दछ ।

स्रोतः नेपाल कृषि अनुसन्धान परिषद्‌को कृषि प्रविधि संग्रह-४ बाट विस्तृत जानकारीको लागि बाली विज्ञान महाशाखा, खुमलटार, ललितपुर 

सम्बन्धित विषय

थप समाचार