परिचयः
सतावरी सदावहार, अग्लो, दरोलहरा भएको कांडादार झाडी जस्तो विरुवा हो । यसका पाताहरु मसिना, घुम्रेका र सियो जस्ता हुन्छन् । फूल धेरै सानो वास्ना आउने २–३ मि.मि. चौडा, फिक्का हरियो, सेतो रंगको हुन्छ । फूल वैशाख–असार महिना सम्म फुल्छ । फल सानो गोलो आकारको हुन्छ । यसको जरा करीब ५–१० लामो, ०.५–१ से.मि. चौडाई भएको दुई छेउमा सुकेको र वीचमा फुकेको, फिक्का पहेंलो रंगको हुन्छ । यो गन्ध रहित एवं खाँदा अलि तीतो र मीठो स्वादको हुन्छ ।
फूल फुल्ने समयः वैशाख—असार
प्राकृतिक बासस्थान :
यो प्रजाति भारत, मलेशिया, अष्ट्रेलिया, अफ्रिका लगायत नेपालको १५० देखि २१०० मीटर सम्म फैलिएको पाइन्छ । तराई देखि हिमाली भागसम्म विभिन्न प्रजातिका सतावरी / कुरिलो पाइन्छन् ।
उपयोगिताः
प्रत्येक चैत्र–वैशाखमा काण्डबाट टुसाहरू पलाउँदछन् । टुसाहरुलाई तरकारीको रुपमा उपयोग गर्न सकिन्छ भने औषधीमा सतावरीको जराको महत्वपूर्ण स्थान रहेको छ । यसले कफ र रगतको दोषलाई शान्त गर्दछ । आमाशय, हृदय रोग र आँखाको लागि यसले फाईदा गर्दछ । यो तागतिलो हुनाको साथै दूध बढाउँदछ ।
संकलन समय र विधि :
कार्तिक –मंसीरमा वीउ पाकेपछि संकलन गर्नु पर्दछ । जंगलमा संकलन गर्ने हो भने जरालाई जमीनमा राम्ररीवीउ झरी सकेपछि संकलन गर्नु पर्दछ । प्रत्येक ३–३ वर्षमा अथवा विरुवा रोपेको दुई वर्षपछि जरा संकलन गर्न सकिन्छ । जरा संकलन गर्दा टुसा पल्हाउने जराको भागलाई वा २–३ वटा टुसा सहितका जरा जमीनमानै माटोले छोपेर छोडिदिनु पर्दछ । जरा प्रशोधन गर्न संकलित जरालाई पानीले धोएर सफागर्नु पर्दछ । त्यसपछि ठूलो भाँडोमा राखेर उमालनु पर्दछ । यसरी पाकेका जारहरुको वीचमा रहेको डांठ र जराको वाहिरी छाला समेत फाली बाँकी भाग मात्रै राख्नु पर्दछ । यसरी प्रशोधन गरेको जराहरुलाई राम्रोसँग घाममा सुकाई भण्डारण तथा बजारमा लानु पर्दछ ।
प्रसारण विधिः
सतावरी/ कुरीलो वीउ र जरा दुवैबाट प्रसारण गर्न सकिन्छ । वीउबाट प्रसारण गर्दा समय अलि बढी लाग्दछ । जराबाट प्रसारण गर्दा बाली संकलन पश्चात विरुवाको एक दुई वटा जरा गाँजमा रहने गरी छाड्ने गर्दा त्यसबाट प्रसारण हुन सक्दछ । त्यसलाई केही समय गोबर माटोमा पुरेर राख्दा मुना पलाएर आउन थाल्छ । त्यसपछि विरुवा रोप्न सकिन्छ ।
प्रमुख रसायनिक तत्वः
सतावरी/ कुरिलोमा मुख्यतया एसपारागोसाईड I (Asparagoside I,) एसपारासापोनिन् II (Asparasaponin II) , सारासापोजिनिन् (Sarasapogenin) , क्वुरसिटिन–३–ग्लुक्युरोनाइड (Quercetin-3-glucuronide) आदि वनस्पतिक रसायन पाइन्छ ।
Source : वन तथा भू–संरक्षण मन्त्रालय , वनस्पति विभाग