बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

टनेलभित्र गोलभेँडा खेती कसरी गर्ने ?

शुक्रबार, माघ ५ २०८०
9 views
टनेलभित्र गोलभेँडा खेती कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news


टनेलभित्र गरिने खेतीको इतिहासलाई कोट्याउँदा प्राचिन रोमन समयमा माइकाको पातलो च्यादरले छोपेर विरुवाहरू खाल्डोमा रोपेको पाइन्छ । सन् १३८५ मा फ्रान्समा सीसाघरमा खेती गरिएको थियो । १९ औं शताब्दीमा युरोपमा ग्रीन हाउसमा खेती गरिन्थ्यो । हाल इजरायलले अपनाएको प्रविधि संसारमै अति नै उच्च मानिएको छ । नेपालमा २०३५/३६ सालतिर एफएओले प्लास्टिक टनेलको सुरुवात गरेको पाइन्छ ।

प्लास्टिक घर व्यवस्थापन

प्लास्टिक घरको बिचमा ५०—७५ से.मी.को बाटो लम्बाईको समानान्तर हुने गरी राख्ने ।

धुलो मैलो जमेर प्रकाश कम हुने हुँदा प्लास्टिक घरको सरसफाइ गर्ने ।

गर्मीको मौसममा हप्ताको १ पटक र जाडोमा १५ दिनको फरकमा वर्षे पानी संकलन गरी वा थोपा सिंचाई विधि वा फोहोरा विधि वा पाईप प्रयोग गरी सिंचाइको व्यवस्था गर्ने ।

प्लास्टिक घरको फाइदाहरू

प्लस्टिकले प्रतिकुल वातावरणबाट  विरुवालाई बचाउँछ ।

बाली लिने समय मिलाउन सकिन्छ ।

रोग कीराहरूबाट विरुवा बचाउन र विषादी कम प्रयोग हुन्छ ।

पानीको सदुपयोग हुन्छ ।

बालीको आयु बढी हुन्छ ।

उत्पादकत्व ३ देखि ५ गुणा बढी भई आम्दानी धेरै हुन्छ ।

प्राय अफसिजनल खेती गर्न सकिन्छ ।

प्लास्टिक घरको निर्माण सामग्री खम्बाका लागि पाकेको तारुका बाँस, भाटाको लागि तामा बाँस, बलोका लागि तामा वा तारुका बाँस वा उपलब्ध हुन सक्ने बाँस, भाटा बाँध्न प्लास्टिकको डोरी, किला, ५०० गेजको पूर्ण पारदर्शी प्लास्टिक, प्लाष्टिक जोड्न वा गाँस्न टेपकोसमेत प्रयोग गरिन्छ ।

प्लाष्टिकको घर कस्तो हुनुपर्छ ?

दुई पाखे छानाको ढलान ‘स्लोप’ प्रशस्त भएको र घरको उचाई क्षेत्र अनुसार हुनुपर्छ ।  प्लास्टिकको घर ज्यादै भिरालो ठाउँमा, वर्षात्मा पानी पस्ने र पानी जम्ने, धेरै हुरी बतास लाग्ने ठाउँमा हुनु हुँदैन। छहारी भएको ओझेल पर्ने स्थानमा हुनुहुँदैन । घर पनि धेरै लामो हुनु हुँदैन । भएमा बिचको तापक्रम बढी हुने हुन्छ । 

प्लाष्टिकको घरको वरीपरी कुलेसो काट्नु पर्दछ । एक घरबाट अर्को घर ५० सेमीको फरकमा हुनुपर्छ । घरभित्र ७५ सेमीको बाटोको व्यवस्था हुनु पर्दछ । तापक्रम हेर्न घरभित्र थर्मोमिटर राख्नु पर्दछ ।

हावापानी

जमिनको बनावट अनुसार पहाड, खोंच, बेसी (५००मि. देखि २५०० मि.) सम्मको हावापानी भएको जग्गामा टमाटर खेती राम्रो हुन्छ ।

रातको तापक्रम कम्तिमा १३ डिग्री तथा बढीमा तापक्रम २० डिग्री भन्दा माथि हुनुहुँदैन ।

उपयुक्त तापक्रम भने दिनको २०-२५ डिग्री से. र रातको १५-२० डिग्री से. हो ।

प्लाष्टिकको घरमा प्रशस्त प्राङ्गारीक पदार्थ भएको मलिलोमाटो, पानीको निकासको व्यवस्था भएको, राम्रोसँग हावा खेल्न सक्ने दुमट माटो गोलभेंडा खेतीको लागि उपयुक्त हुन्छ ।

पि.एच. ५.५ देखि ६.५ सम्म भएको माटोमा खेती राम्रोसँग हुन्छ । कडा र चिम्टाइलो माटो भएमा बालुवा गोबर मल प्राङ्गारीक पदार्थ आदि मिलाई २०–४० से.मि. माटो राम्रो दुमट बनाउनु पर्दछ ।

माटोको उपचार

माटोमा कम्पोस्ट मल मिसाई कम्तीमा १ बित्ता गहिराईसम्म सिंचाई गरी प्लास्टिकले १-२ महिनासम्म छोप्ने अथवा फर्मालिन १ मि।लि।प्रति १० लिटर पानीमा घोली माटो भिजाउने र प्लास्टिकले १५ दिन छोप्ने अथवा माटोमा यति बेला नै १ ग्राम बेभिष्टिन प्रति १ लिटर पानीमा घोली माटोको उपचार गर्नु पर्छ ।

बिउ दर

गुणस्तरीय र भरपर्दो बिउ भएन भने उत्पादनमा ह्रास आउँछ । त्यसैले बिउ छनौट गर्दा गुणस्तरीय र भरपर्दो स्रोतमा बिशेष ध्यान दिनु पर्दछ । गुणस्तरीय भरपर्दो बिउ भएन भने उत्पादनमा ह्रास आउँछ ।

उन्नत प्रविधि अपनाई आवश्यकता अनुसार सम्पूर्ण सामग्रीका साथै आवश्यकता अनुसार कृषि विशेषज्ञद्वारा सुपरिवेक्षण गरि उत्पादन गरेको प्रयोग गरिएमा उत्पादन तथा उत्पादकत्व बढाउन सकिन्छ । सामान्यतया प्रतिरोपनी १०–१५ ग्राम बिउ लाग्दछ ।

जातहरू

अग्लो हुने वर्णशंकर जातहरूमा सृजना (८०—१०० ग्राम को फल)

होचो हुने वर्णशंकर जातहरूमा विशेष, दक्ष (७०—९० ग्रामको फल)

सी एल एन ११३१ (२५—३० ग्रामको फल)

सी एल एन २०२६ सि र डि (६५—८० ग्राम को फल)

गोलभेंडाको नर्सरी व्यवस्थापन र बिउ रोप्ने समय

प्लाष्टिकको घर भित्र पनि गोलभेँडाको नर्सरी राख्न सकिन्छ अथवा प्लाष्टिकको घर भित्रको जस्तै गरि बाहिर खुला ठाउँमा पनि माटोको उपचार गर्नुपर्छ ।

बाहिर खुला ठाउँमा सामान्यतया तल्लो तथा मध्य पहाडी क्षेत्रहरूमा पुष—माघदेखि फागुनसम्म, असारदेखि साउनको शुरूतिर टमाटरको नर्सरीमा बिउ छर्न उपयुक्त हुन्छ । जग्गा तयार गर्ने, बाली लगाउने ठाउँमा गोबर मल, तोरीको पिना बायोजाइम मल्टिप्लेक्स आदि प्रयोग गर्नुपर्छ ।

बाहिर खुलाठाउँमा ब्याडको चौडाईभन्दा डेढी लामो बाँस वा निगालोको डण्डी बनाई अर्धचन्द्राकार ड्याङ्गको किनारामा गाडी प्लास्टीकले छोप्नु पर्दछ। नर्सरी १ मी × २ मी × १५ सेमी साइजको १०×३ सेमी दुरीको फरकमा सानो छेस्काले २ सेमी गहिरो धर्साहरु बनाउनु बनाएर गर्नुपर्दछ ।

त्यति तयार गरिसकेपछि बालुवा फुको माटो वा खरानीले पुर्नुपर्दछ । ब्याडलाई पराल वा सुकेको खरले छोपी हजारी वा कुनै साधरण धारा छुट्ने भाँडोले पानी दिनु पर्दछ । बिउ उम्रनासाथ छाप्रो हटाउने, ब्याडलाई निरन्तर चिसो राख्ने तर पानी जम्न दिनु हुँदैन । 

जाडो मौसममा टनेलको प्लाष्टिक नहटाउने र बर्षादको मौसममा छानोको प्लाष्टिक बाहेक दिनको र चर्को घाम र बढी तापक्रम भएको बेलामा वरिपरिको प्लाष्टिक खोल्ने गरिरहनुपर्छ ।

क्षेत्रफलको आधारमा आवश्यकता अनुसार बेर्ना ४–५ पाते भएपछि फेरि युरिया पानीमा मिसाई बेर्नामा स्प्रे गर्ने ।

बाली लगाउने समय बाहिर खुलाठाउँमा बेमौसमी गोलभेँडा लगाउने समय तल्लो तथा मध्य पहाडी क्षेत्रहरूमा फागुनदेखि चैतसम्म, यस्तै, असारदेखि  साउन महिनामा बेर्ना सार्न सकिन्छ ।

जग्गा तयारी तथा लगाउने तरीका

बाहिर खुला ठाउँमा जमिन तिन/चार पटक जोतेर वा खनेर झारपात हटाएर र आवश्यक ठाउँबाट पानी तर्काउने कुलेसो बनाई पानी नजम्ने ब्यवस्था मिलाउनु पर्दछ । 

सामान्यतयाः गोलभेँडा खेतीका लागि ४० डोको वा २००० केजी कम्पोष्ट वा गोठे मल प्रतिरोपनी आवश्यक हुन्छ। कम उर्बराशक्ति भएको माटोमा प्राङ्गारिक तथा सुक्ष्म जैविक मलको मात्रा बढाउनु पर्दछ ।

बाहिर खुला ठाउँमा होचो हुने जातको लागि १२० से.मी. साइजको प्लटमा २० सेमी उचाईमा २ हार बेर्ना ६० से.मी.को दुरीमा रोप्ने ।

बाहिर खुलाठाउँमा अग्लो हुने जातको लागि १४० से.मी.साइजको प्लटमा २० से.मी. उचाईमा २ हार बेर्ना ६० से.मी.को दुरीमा रोप्ने । प्रत्येक प्लटपछि बाटोको लागि ४०÷५० सेमी खाली ठाउँ छोडनु पर्दछ । प्लाष्टिकको घरभित्र भने १÷१ मि।हारमा बेर्ना १ मी.को दुरीमा रोप्ने ।

तालिम र काँटछाँट

होचो बोट हुने गोलभेँडामा सुरुमा आएका १ फिट उचाईसम्मका मुनाहरूलाई हटाउने र १ मि. अग्लो टेका दिने ।

अग्लो बोट हुने गोलभेँडामा २ मि. अग्लो टेका २-२ मि. को फरकमा गाड्ने र तल्लो  भाटा वा डोरी जमिनको सतहभन्दा १५० से.मि.माथि र दोस्रो भाटा वा डोरी जमिनको सतहभन्दा २ मि. माथि दिने ।

अग्लो बोट हुने गोलभेँडामा सुरुदेखि मुख्य काण्डमा ४५ सेमी उचाईसम्मका मुनाहरूलाई हटाउने । त्यसपछि २ वटा मुना राखि भाटोको दुबैतर्फ पठाउने र मुख्य काण्डलाई माथि जान दिने । बोट बढ्दै गएपछि तल्लो भागका पहेँला पातहरू हटाई दिनु पर्दछ ।

सिँचाई बाहिर खुलाठाउँमा र पाखो बारीमा बर्षायाममा गोलभेँडा खेती गरिएको छ भने सिँचाइको आवश्यकता पर्दैन तर माटोमा चिस्यानको मात्रा कम छ भने सिँचाई दिन जरुरी हुन्छ । प्लास्टिक घरभित्र पनि आवश्यकता हेरी सिँचाइ गर्नु पर्दछ । यसको लागि हाल बजारमा उपलब्ध थोपा सिँचाइ प्रयोग गर्दा राम्रो हुन्छ ।

गोलभेंडामा झार नियन्त्रण

झारको प्रकोप हेरी २–३ पटकसम्म झार उखेल्नु पर्दछ ।

गोलभेंडाको बेर्ना सारेको २०-२५दिनमा र ४०-४५ दिनमा गोडमेल गर्ने र गोडमेल गर्दा हल्का उकेरा दिन जरुरी हुन्छ ।

गोडमेलको दुबै समयमा र प्रत्येक पटक फल टिप्दा सिफारिस अनुसार मलखाद दिनुपर्दछ ।

बाहिर खुलाठाउँमा गोलभेँडाले पानी जमेको सहन सक्दैन, २० से.मी. उच्च ड्याङ् उठाई जातअनुसार एक डेढ मिटर चौडा प्लटमा गोलभेँडा लगाई निकासको राम्रो व्यबस्था मिलाउन सकिन्छ ।

मलखाद

बाहिर खुला ठाउँमा ड्याङ् बनाइसकेपछि बेर्ना रोप्नु भन्दा ७ दिन अगावै तपशिलका मलखाद ड्याङ्मा छरी माटो भित्र पुर्नुर्पदछ । 

डयाङको माथिल्लो सतहमा देखिनु हुदैन । मलखादको मात्रा २,००० के.जी गोबर मल अन्तिम जोताईमा रासायनिक मल ना.फ.पो.१०ः १०ः ७.५ केजिप्रति रोपनी वा गेडा मल (डिएपि ०२० के.जी पोटाससँग ११ के.जी साथै जिंकसल्फेट १ के.जी बोरेक्स तत्व १ के.जी प्रतिरोपनी प्रयोग गरी माटोमा मिलाउनु पर्दछ ।

गोठे मल प्रतिबोट ३-५ के.जी पर्ने गरी राख्ने ।

गेडा मल (डिएपि) प्रतिबोट २५ ग्राम पर्ने गरी राख्ने ।

पोटासप्रति बोट १० ग्राम पर्ने गरी राख्ने ।

वायोजाइम, जिङ्गक सल्फेट बोरेक्स प्रतिबोट १.५ ग्राम पर्ने गरी राख्ने ।

बेर्ना रोपेको २०-२५ दिन भित्र पहिलो पटक तपशिलका मल दिनुपर्दछः

गोठे मोल प्रतिबोट ३ केजि पर्ने गरी राख्ने ।

गेडा मल (डिएपि) प्रतिबोट १० ग्राम पर्ने गरी राख्ने ।

पोटास प्रतिबोट १० ग्राम पर्ने गरी राख्ने ।

युरीया प्रतिबोट १० ग्राम पर्ने गरी राख्ने ।

बोरेक्स प्रतिरोपनी ७०० ग्राम पर्ने गरी राख्ने ।

जिङ्गक सल्फेट प्रतिरोपनी ७०० ग्राम पर्ने गरी राख्ने ।

वायोजाइम प्रतिरोपनी १ केजि पर्ने गरी राख्ने ।

प्रत्येक पटक फल टिप्दा सिफारिस अनुसार प्रतिरोपनी ४ केजि युरीया मल बेलुकीपख राख्नु पर्दछ ।

गोलभेँडा तरकारीको उत्पादन र बजार

साधारणतया वैशाख भित्र रोपिएका गोलभेँडामा ५५-६० दिनदेखि पहिलो फल टिप्न लायक हुन्छन् । व्यवसायीक रूपमा रोपेको गोलभेँडामा ८०-११५ दिनसम्म फल पाक्न मध्य हुन्छ । विगतका केहि वर्षको आँकडा हेर्दा असारको २० देखि मंसिरसम्म राम्रो भाउ प्राप्त गर्न सकिन्छ । टाढाको वजार पुर्याउनु छ भने २५५ पहेँला हुँदा टिप्ने, नजिकको बजार भए ५०५ पहेँला हुँदा र गर्मी समयमा बजार ज्यादै नजिक भए पुरै फल रातो भएपछि टिप्ने ।

थप समाचार