बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

कुनै पनि वालीको स्वस्थ  विरुवा तयार गर्न वा उमार्नको लागी सर्वप्रथम त बीउ नै स्वस्थ्य हुनु जरुरी हुन्छ । त्यसपछि उम्रन र स्वस्थ तरिकाले बढ्नको लागि माटो पनि स्वस्थ हुनु त्यति नै महत्वपूर्ण हुन्छ । यदि माटोमा रोगका जीवाणु कीराको साथै झारपातको उपस्थिति छ भने उम्रदै गरेको कलिलो विरुवालाई तिनीहरुले सजिलै आक्रमण गर्दछन् । जसको कारण स्वस्थ विरुवा तयार गर्न सकिदैन। यदि विरुवा नै स्वस्थ भएन भने त्यसले दिने उत्पादन पनि सन्तोषजनक हुन सक्दैन । हामीले कुनै पनि बालीको बीउ उमार्नको लागि नर्सरीमा बीउ छर्दछौ ।

त्यस नर्सरीमा हामीले छरेको बीउको विरुवा उम्रनु अगावै हामीले छर्दै नप्छरेको अनावश्यक झारपातका विरुवा उम्रन थाल्दछ । यो हामीले देख्दै र भोग्दै आएको समस्या हो । माटोमा रहेका झारपातको समस्याको साथै कीराहरु र रोगका जिवाणु समेतको समस्याबाट छुट्‌कारा पाउनको लागि गरिने माटोको उपचारमा सोलराईजेशन प्रविधि अति उपयोगी सावित भएको छ ।

यो प्रविधिबाट माटो उपचार गर्ने कार्य मोरङ जिल्लाका धेरै कृषकहरुले प्रयोगमा ल्याइ सकेका छन् । यस प्रविधिमा कुनै रासायनिक पदार्थ वा विषादीको प्रयोग गरिदैन । माटोमा रहेका हानिकारक जिवाणु, कीराहरु वा कीराका फुलको साथै अनावश्यक झारपातका बीउहरुलाई नर्सरी व्याडको माटोमा नै सेतो पारदर्शी प्लाष्टिकको प्रयोग गरी तापक्रम बढाएर डढाई दिनु वा मार्नुलाई नै माटो सोलरईजेसन भनिन्छ । यसरी उपचार गरी तयार पारेको नर्सरी व्याडमा नर्सरीबाट तयार गर्नु पर्ने जुनसुकै बालीका विरुवाहरुलाई पनि उमार्न वा तयार गर्न सकिन्छ ।

माटो सोलराईजेसन गर्ने विधि निम्न बमोजिम रहेको छ ।

- नर्सरी बनाउनको लागि दिनभरी जसो सूर्यको प्रकाश पर्ने घमाइलो ठाउँ भएको जग्गाको छनौट गर्ने ।

- जग्गालाई २ देखि ३ पटकसम्म खनजोत गरी डल्ला फुटाई वा पाटा लगाई सफासंग नर्सरी व्याड बनाउने । यदि जग्गा सुख्खा छ भने हल्का सिंचाई दिने ।

- व्याड बनाउँदा १.२५ मिटर चौडाई भएको र आवश्यकता अनुसार लम्वाई भएको बनाउनु पर्दछ । व्याडलाई १५ से.मी. अग्लो पारेर बनाउनु राम्रो हुन्छ । आफ्‌नो आवश्यकता बमोजिमको नर्सरी व्याडलाई ढाक्ने वा छोप्ने खालको ३०० गेजको सेतो पारदर्शी प्लाष्टिकको व्यवस्था गर्ने ।

- सो प्लाष्टिकले छोप्ने वा ढाक्ने नर्सरी व्याड तयार गर्ने । व्याड तयार गर्दा १५ से.मि. गहिरो र १५ से.मि. चौडाई भएको कुलेसो नर्सरी व्याडको चारैतिर बनाउने । नर्सरी व्याडको माटो बुर्बुराउँदो बनाएर सम्याएको हुनु पर्दछ ।

- तयार भएको नर्सरी व्याडको साथै वरिपरिको कुलेसो समेत ढाक्ने गरी प्लाष्टिकले छोप्ने र वरिपरिको कुलेसोमा परेको प्लाष्टिकलाई माथिबाट माटोले पुर्ने र सो माटोलाई हल्कासंग खुट्टाले थिच्ने । यसो गर्दा व्याडभित्र हावाको आवत जावत बन्द हुनुको साथै सूर्यको प्रकाशको तापले व्याड भित्रको माटोमा अत्यधिक तापक्रम बढ्दछ । सोही तापक्रमको कारण माटोमा रहेका सम्पूर्ण हानिकारक जिवाणु, झारपातका बीउ र कीराहरु नष्ट हुन्छन् ।

- प्लाष्टिकले व्याडलाई छोपेको पहिलो हप्तामा माटोमा भएका झारपातका बीउहरु उम्रिएर माथि आउँदछन् । तर दोश्रो तेश्रो हप्ता पुग्दा नपुग्दै ती झारका विरुवाहरु डढेर नष्ट भईसक्छन् ।

- व्याडको उपचार गर्दा व्याडमा प्लाष्टिक कम्तिमा २१ दिनदेखि लिएर २८ दिनसम्म राख्न सकिन्छ । सोलराईजेसन हुने अवधि गर्मी महिनामा कम र जाडो महिना बढी लाग्ने हुँदा जाडोको समयमा कम्तिमा २८ दिन सोलराईजेशन गर्नु पर्दछ । व्याडमा रहेको प्लाष्टिक फुट्न वा च्यातिनबाट जोगाउन व्याडको वरिपरि वार बन्देजको व्यवस्था गर्नु पर्दछ ।

- व्याड छोपेको प्लाष्टिक फुटे वा च्यातिएमा राम्रोसंग सोलराइजेशन हुँदैन । प्लाष्टिक फुटेको अवस्थामा प्लाष्टिक भित्र देखिने बाफको सतह देखिदैन । त्यस्तो देखिएमा फुटेको ठाउँ पत्ता लगाएर टाल्ने काम गर्नु पर्दछ ।

- उपचार  अवधि पूरा भएपछि व्याडबाट प्लाष्टिक हटाई कुटोले हल्कासंग माटोलाई चलाई दिने र एक दिनसम्म त्यसै खुल्ला छोड्नु पर्छ । भोलिपल्ट माटोलाई राम्ररी सम्याएर बीउ छर्न सकिन्छ । यसरी सोलराईजेशन गरेर तयार पारेको नर्सरीमा बीउ छर्दा सोलराइजेशन नगरेको ठाउँको माटो सो व्याडमा पार्नु हुँदैन ।

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, ललितपुर 

 

सम्बन्धित विषय

थप समाचार