बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

मौरी मैन उत्पादन, प्रशोधन, भण्डारण र उपयोगिता

मंगलबार, साउन १५ २०८१
9 views
मौरी मैन उत्पादन, प्रशोधन, भण्डारण र उपयोगिता

समाचार शेयर गर्नुहोस्

Share this news

मौरीपालन गरी त्यसबाट मौरीपालकहरुले प्रत्यक्ष र अप्रत्यक्ष गरी विभिन्न किसिमबाट फाइदा लिन सक्छन् । तर प्रायः जसो मौरीपालकहरूले मह मात्र उत्पादन गर्ने उद्देश्यले मौरीपालन गरी रहेको पाइन्छ । जबकी मौरीजन्य उत्पादनहरु मध्ये वजनको हिसाबले सबैभन्दा कम मूल्य पर्ने वस्तु मह नै हो। मह उत्पादन सँगसँगै मैन उत्पादन भए तापनि मैनलाई उत्पादनको रुपमा लिइदैन ।

त्यसकारण मह चाका निचोरेर मह झिकिसकेपछि मैनलाई वास्ता नै नगरी खेर फाल्ने गरिन्छ भने पुरानो कालो मैन चाकालाई वास्ता नै गरिदैन। तर यसरी मह झिकिसकेपछि खेर गइरहेको मैन तया कालो पुरानो आधारचाका र मैनका टुक्राहरुलाई जतन गरी राखेर त्यसलाई प्रशोधन गरी शुद्ध मैन निकाली महंगो मूल्यमा बेचबिखन गरी वा पुनः आधारचाका निर्माण गर्न प्रयोग गरी थप आय आर्जन गर्न सकिन्छ । मैन एउटा बहुमूल्य वस्तु हो जसको मूल्य महको मूल्य भन्दा तेब्बर पर्छ ।

मैन कर्मी  मौरीको मैनग्रन्थीबाट रसाएर निस्कने एक प्रकारको लेसिलो पदार्थ हो । यसको रङ्ग फिंका पहेंलोदेखि लिएर ध्वाँसे रङ्गको हुन्छ । कर्मी मौरीको १२ देखि १८ दिनको उमेरमा पेटको तल्लो भागको ४-७ खण्डमा रहेको ४ जोडी मैनग्रन्थीहरु सक्रिय हुन्छन् ।

त्यही मैनग्रन्थीहरु श्रवण भएर तरल रुपमा मैनको निस्काशन हुन्छ र हावाको सम्पर्कमा आएपछि मैन कडा भई पेटको तल्लो भागमा सानो कत्लाको रुपमा देखिन्छ । यसलाई मैन तख्या पनि भनिन्छ । त्यही मैन कर्मी मौरीले आफ्‌नो खुट्टा र बङ्गाराको मद्दतले कोतर, चपाएर चाका बनाउँछन्, छाउरा र मह कोषहरु बन्द गर्दछन् तथा चाकाहरु चर्केका फुटेका वा घारमा प्वाल परेको ठाउँमा टाल्न समेत प्रयोग गर्छन् ।

मैन पानीमा अघुलनशील र इयर, क्लोरोफर्म, बेन्जीनमा पूर्ण रुपले घुलनशील हुन्छ । यो ६३० से. देखि ६५° से. को तापक्रममा पग्लन्छ । मैनको रासायनिक संरचना मौरीको जात अनुसार फरक-फरक भए तापनि सामान्य रुपमा यसमा पानी-१%, अल्काइल इष्टर-७२%, कोलेष्टराइल इष्टर-०.८%, ल्याक्टोन -०.६%, तेजाब-१३.३%, हाइड्रोकार्बन-१२.३% हुन्छ ।

मैन प्रश्शोधन : 

मह निकाली सकेको मैन तथा पुरानो चाका वा मैन टुक्रा आदिलाई संकलन गरी त्यसबाट शुद्ध गुणस्तरयुक्त मैन निकाल्ने तरिकालाई मैन प्रशोधन भनिन्छ   प्रशोधन गर्न आवश्यक पर्ने सामाग्रीहरु

१. पुरानो मैन चाका वा मैन टुक्रा

२. मैन पगाल्ने भाँडो

३. मैन जमाउने भाँडो

४. कपडाको झोला वा बोरा

५. मसिनो कपडा

६. बाल्टिन वा गाग्री

७. पानी

८. स्टोभ वा चुलो

मैन प्रशोधन गर्ने तरिका : 

* मह झिकिसकेको चाका, पुराना चाका, मैनका टुक्रा आदि संकलन गरी सानो-सानो टुक्रा बनाई २४ घण्टासम्म पानीमा भिजाई नरम पार्नुपर्छ । यसरी पानीमा भिजाउँदा मैनमा बाँकी रहेका मह, कुट तथा फोहोरहरु पानीमा मिसिन्छ । साना-साना मैनका टुक्राहरुलाई २-३ पटकसम्म पानीले राम्ररी सफा गर्नुपर्छ ।

* सफा गरिसकेको मैनका चाकाहरुलाई अर्को कुनै भाँटो (डेक्ची) मा राखी चाकाको टुक्राहरु भएको तहसम्म वा अलिकति माथिसम्म सफा पानी भरी डेक्चीलाई स्टोभ वा चुलोमा राखेर काठको दाबिलो वा लौरोले चलाउँदै बिस्तारै तताउनुपर्छ । विशेषगरी जब मैन र पानी बेसरी तात्न थाल्छ त्यस बेला चलाउन छोड्नु हुँदैन ।

* मैनका चाकाहरु पग्लिसकेपछि खुकुलोसँग बुनेको झोला वा जुटको बोरालाई मैन जमाउने भाँडो मायि राखेर तताएका सबै झोल झोलामा खन्याउनु पर्छ। यसरी खन्याउँदा झोलामा भएको छोका र फोहोर जति झोलामा नै रहने र पग्लेको मैनसहित पानी तल झर्ने गर्दछ । झोलामा रहेको सम्पूर्ण झोल राम्रोसँग झार्न २ वटा ल‌ट्ठीले च्यापेर निचोर्नु पर्छ ।

* त्यसपछि तल जम्मा भई सकेको मैन सहितको पानीलाई आफूले चाहेको भाँडोमा खन्याई धेरै हावा नलाग्ने ठाउँमा बिस्तारै चिसो हुन दिनु पर्छ । मैन पानी भन्दा माथि तैरेर जम्ने गर्छ ।

* ५-६ घण्टापछि जमेको मैनको ढिक्का मुनि कुनै किसिमको फोहोर मैला रहेमा चक्कु वा खुकुरीले तासेर फोहोर हटाउनु पर्छ ।

* सो मैन राम्रोसँग सफा नभएमा पुनः उपरोक्त बमोजिम पगालेर छान्न सकिन्छ।

मैन प्रशोधन  गर्दा ध्यान  दिनुपर्ने कुराहरु  : 

• मैनलाई सिधा आगोमा कहिलै पनि तताउनु हुँदैन । पानीमा राखेर ६५० से. मा अप्रत्यक्ष रुपमा तताएर पगाल्नु पर्छ ।

• मैन अलि अम्लीय हुने भएकोले तामा, पित्तल, जस्ता वा फलामका भाँडाकुडा कहिले पनि प्रयोग गर्नु हुँदैन। किनभने मैनसँग रसायनिक प्रतिक्रिया भएर मैन धमिलो हुन जान्छ । त्यसकारण मैन प्रशोधन गर्दा टिन, सिल्वर, स्टील वा प्लाष्टिकको भाँडो प्रयोग गर्नु पर्छ ।

• मैनले वरपरको गन्ध सोस्ने भएकोले धेरै सुगन्ध, बास्ना वा दुर्गन्धित ठाउँबाट टाढा राखी प्रशोधन तथा भण्डारण गर्नु पर्छ ।

मैन भण्डारण गर्ने तरिका  : 

मैनको भण्डारण निम्न बमोजिम गर्न सकिन्छ ।

• मैन भण्डारण गर्ने कोठा सुख्खा र हावा छिर्ने हुनु पर्छ । कोठाको तापक्रम १५ डिग्री सेल्सियस भन्दा कम भए उपयुक्त हुन्छ ।

• मैनबाट बनेको आधार चाकाहरु संचय गर्दा प्लाष्टिकमा राख्नु हुँदैन । आधार चाका जत्रो आकारको कागज वा अखबारका टुक्रा प्रत्येक आधार चाकाको बीचमा राखी आधी वा एक के.जी. वजनको प्याकेट बनाई कागज वा जुटको बोरामा प्याकिङ्ग गरी समतल सतह वा ऱ्याकमा राख्नुपर्छ ।

•मैन पुतलीले मैनमा आक्रमण गर्ने हुनाले पाप डाइक्लोरो बेन्जिम (PDB) वा सेल्फस प्रति प्याकेट १ चक्की राखेर सफा स्यानमा मैन र चाकाहरु बन्द भाँडामा भण्डारण गर्नु पर्दछ । 


• औषधि प्रयोग गरिएका चाकाहरु पुनः प्रयोग गर्नु भन्दा २४ घण्टा अगाडि औवधिहरु सिकेर सो चाकालाई खुला हावामा राखेर मात्र घार वा गोलामा प्रयोग गर्नु पर्छ ।

मैनको उपयोगिता : 

मौरी वैज्ञानिक डी.पी. अवरोलका अनुसार मौरीको मैनबाट ३०० भन्दा बढी वस्तुहरु बनाउने गरिन्छ ।तर मुख्य-मुख्य यस प्रकार छन् -

• मौरीले मैनबाट चाका निर्माण गर्छ, छाउरा र मह कोषहरु बन्द गर्छन् तया चाकाहरु चर्केका, फुटेका वा घारमा प्वाल परेका ठाउँमा टाल्न समेत प्रयोग गर्छन् ।

• श्रृङ्गारका सामाग्रीहरु, विभिन्न किसिमका पालिसहरु, गोला बारुद निर्माण, भाँडाको ढलोट गर्न, प्लाष्टिक उद्योग, विभिन्न मसी र रङ्गरोगनहरुमा मैनको प्रयोग गरिन्छ ।

• त्यस्तै मौरीको मैनलाई चकलेट, चुइगम, मैनबत्ती आदि बनाउन पनि प्रयोग गरिन्छ ।

• विभिन्न धार्मिक एवं सांस्कृतिक पर्वहरुमा पनि मैनको प्रयोग गरिन्छ । खासगरी रोमन क्यायोलिक चर्चहरुमा क्रिसमसमा मौरीको मैन प्रयोग गरिन्छ ।

• मैनलाई विभिन्न किसिमका औषधिहरु बनाउन पनि प्रयोग गरिन्छ । मौरी मैनबाट बनाइने केही मल्हमहरु यस प्रकार छन् -

• हात, खुट्टा, ओठ फुट्‌नबाट बचाउने मल्हम

• कीराले नटोक्ने मैन मल्हम

• भिक्स मैन मल्हम

• घाउको लागि मैन मल्हम

• मसाज मैन मल्हम

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, ललितपुर

सम्बन्धित विषय

थप समाचार