सस्तो र गरीबहरुको साथी हो- आलु । आलु नचिन्ने सायद कमै हुनुहुन्छ होला । आलु बहूउपयोगि कन्दमूल अर्थात् तरकारी बाली हो । तरकारीको रुपमा प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । नेपाली भान्सामा पनि आलुले महत्वपूर्ण हिस्सा ओगट्छ । धेरै तरकारी आलु बिना अधुरो हुन्छन् ।
अर्को कुरा आलु मन नपराउने मानिस पनि सायदै हुन्छन् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीभन्दा तुलनात्मक रुपमा सस्तो पनि पर्ने भएकाले आलु धेरैको रोजाइमा पर्ने गरेको छ । आलु पोषक र बलवर्द्धक खाध्य पनि हो । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी, २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ ।
आलुलाई तरकारीको राजा भनिन्छ । आलुबाट बनेको हरेक परिकार स्वादिष्ट हुन्छ । आलुबाट २०० भन्दा बढी परिकार बनाउन सकिन्छ । नेपालमा लोकप्रिय आलुका परिकारमा आलुको तरकारी, अचार, आलुदम, फ्रेन्च फ्राइ, आलु परौठा, समोसा, चिप्स, भुजिया, आलुचप, पकौडा, आलु निम्की, आलु जिरा, आलु चाट, दही आलु, पोलेको आलु, आलुको सलाद, आलु तन्दुरी, आलुको सुप, शेर्पाको रैथाने परिकार रेल्दोक लगायतका परिकार हुन् । त्यसैले पनि आलु सबैभन्दा धेरै खपत हुन्छ ।
यदि तपाई नेपालमै बसेर व्यवसाय गर्न चाहनुहुन्छ भने आलु खेती तपाईका लागि सबैभन्दा उत्तम व्यवसाय हुन सक्छ । किनकी तरकारीको राजा मानिने आलु जताततै उत्पादन गर्न सकिन्छ । आलु चिसो मौसममा फष्टाउने बालीली हो भने चिस्यान मुक्त मलिलो माटोमा पनि राम्रो फल्छ । नेपालका धेरै ठाउँमा आलु खेती गरिन्छ । त्यसैले आलुखेतीबाट राम्रो आम्दान गर्न सकिन्छ । यस वालीको नेपालमा धेरै महत्वपूर्ण स्थान छ, किनकी तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रमा यसको प्रयोग तरकारीको रुपमा प्रयोग गरिन्छ भने उच्च महाडी क्षेत्रमा खाद्यान्न र तरकारीका रुपमा प्रयोग गरिन्छ । तर, तपाईले आलु खेती गर्दा विभिन्न कुरामा ध्यान दिनुपर्छ । यदि तपाई आलु खेती गर्न चाहनुहुन्छ भने यो लेख पुरै पढ्नुहोला । जसले गर्दा तपाईलाई खेती गर्न सहज हुनसक्छ ।
हावापानी : आलु चिसो मौसमको बाली हो । यो उपयुक्त चिस्यान भएको र मलिलो माटोमा राम्रो हुन्छ । आलु खासगरी १५ डि.से. देखि २० डि.से. सम्म राम्रो भएको पाइएको छ । गर्मीमा पातबाट संश्लेषित खाना उपयोग गर्ने हुनाले आलु साना तथा कम फल्दछन् ।
जग्गा तयारी :
आलुको जरा कमजोर र माटोमुनि फल्छ । त्यसैले आलु लगाउने खेतबारीलाई गहिरो जोतेर ढुङ्गा तथा झारपात हटाई डल्ला फुटाएर माटो बुरबुराउँदो बनाउनुपर्छ । त्यसपछि मात्रै बीउ रोप्नुपर्छ । राम्रोसँग तयार पारेको माटोमा जमिनभित्रको पानी सजिलैसँग बिरूवालाई उपलब्ध हुन्छ र जमिनमाथि भएको बढी पानी पनि सजिलैसँग जमिनभित्र निकास हुन्छ । आलु खेतीका लागि बढी चिम्ट्याइलो माटो राम्रो हुँदैन । जमिन तयारी गर्दा धेरै मसिनो धूलो पनि बनाउनु हुँदैन । मसिनो माटोमा हावा खेल्ने प्रशस्त ठाउँ हुँदैन र धेरै पानी परेमा माटो जम्न गई साह्रो पनि हुन्छ ।
मलको प्रयोग कति गर्ने ?
आलु रोप्नु भन्दा पहिले मलको प्रयोग गर्न सकिन्छ । आलु रोप्नुभन्दा पहिले सतहमा मल छर्ने र सामान्य खनजोत गर्ने गर्नुपछ । यसपछि आलु लगाउने समयमा ड्याँगमा गोठेमलका साथै नाईट्रोजन र यूरिया प्रयोग गर्न सकिन्छ । अलुमा विषेश गरि नाईट्रोजन, यूरिया र पोटासको मिश्रण गराई प्रयोग गर्नु उपयुक्त हुन्छ ।
आलु लगाउँदा तल दिएको मात्राअनुसार राम्रोसँग पाकेको कम्पोस्ट वा गोबर मल राख्नुपर्दछ । नपाकेको कम्पोस्ट–गोबर मल प्रयोग गरे बिरूवाले पूर्णरूपमा खाद्यतत्व लिन पाउँदैन साथै यसमा हानिकारक कीराका फुल, प्यूपा र लाभ्रेहरू हुने हुँदा नपाकेको मल प्रयोग गर्नु हुँदैन । आलुबालीमा रासायनिक मल आवश्यकतानुसार प्रयोग गर्नुपर्दछ । बढी भएको खण्डमा आलुबालीलाई हानी पु¥याउँछ र उत्पादन खर्च पनि बढ्न जान्छ । आलुबालीबाट राम्रो उत्पादन लिन यसप्रकार मलखाद प्रयोग गर्नुपर्दछ ।
आलु खेती गर्दा मलखाद प्रयोग गर्ने बेलामा एकदमै ध्यान दिनुपर्छ । प्राङ्गारिक मल तथा रासायनिक मल दुवै आलु लगाउने लाइनमा राख्नेुपर्छ । लाइनमा राखेको मलबाट बिरूवाले उम्रनासाथ सजिलैसँग खाद्यतत्व पाउँछ साथै माटोलाई हल्का र खुकुलो बनाइदिन्छ । साथै लाइनमा राखेको नाइट्रोजनयुक्त रासायनिक मल ग्यासको रूपमा उडेर र चुहिएर बढी नोक्सान हुन पाउँदैन ।
यसरी मलदादको प्रयोग गर्नुभयो भने आलु खेती गर्दा थोरै मलखादको प्रयोगबाट धेरै उत्पादन लिन सकिन्छ । लाइनमा मल राखी आलु लगाउँदा रोप्नका लागि तयार पारिएको कुलेसोमा सबभन्दा पहिले रासायनिक मल (तलबाट) त्यसभन्दा माथि कम्पोस्ट–गोबर मल हाली त्यसमाथि आलु रोप्नुपर्दछ । रासायनिक मलमाथि आलु रोप्दा कुहिन्छ ।
नेपालको मध्यपहाडी क्षेत्रमा लगाउन सकिने जातहरु कुन–कुन हुन् ?
- डिजिरे
- जनकदेव
- खुमल सेतो–१
- खुमल लक्ष्मी
नेपालको उच्च पहाडी क्षेत्रमा राम्रो उत्पादन दिन सक्ने जातहरु कुन–कुन हुन् ?
- कुफ्रि ज्योति
- जनकदेव
- खुमल सेतो–१
- खुमल लक्ष्मी
आलु कति दुरीमा रोप्ने ?
साधारणतया २५–५० ग्राम तौल भएको आलु रोप्दा प्रति रोपनी ७५–१०० के।जी। तथा प्रतिकठ्ठा ५०–७५ के।जी। बीउ चाहिन्छ । आलुको बीउ कति लाग्छ भन्ने कुरा बीउको साइज र रोप्ने दूरीमा भर पर्दछ । आलु रोप्ने दूरी फलाउन चाहेको आलुको साइज, लगाउने सिजन, माटोको मलिलोपन जस्ता कुरामा भर पर्दछ ।
कसरी रोप्ने आलु ?
- आलु ड्याङ बनाएर लाइनमा रोप्ने ।
- आलु लगाउँदा टुसालाई माथि फर्काएर लगाउने ।
आलु लाइनमा रोप्दाका फाइदाहरूः - गोडमेल तथा माटो चढाउन र औषधि छर्न सजिलो हुन्छ । - मलखाद, पानी, सूर्यको प्रकाश आदिको उचित प्रयोग हुन्छ । - आलु खन्ने काम सजिलो र कम नोक्सान हुन्छ । -उत्पादन धेरै लिन सकिन्छ ।
सिंचाई
आलुको फसल तयार हुन्जेल सम्म ३ देखि ५ पटक सम्म सिचाई गर्न सकिन्छ । सिचाईको मात्रा मिलाउनमा त्यहाँको माटोमा निर्भर रहने कृषि विज्ञहरु बताउँछन् । आवश्यकता भन्दा वढि सिचाई भए आलुको फल कुहीएर नष्ट हुने डर हुने भएकोले आलुको सिचाई गर्दा विषेश ध्यान दिनुपर्ने हुन्छ ।
आलु रोप्ने ठाउँको माटो सुख्खा छ भने बीउ रोप्नुभन्दा पहिले एकपटक हल्का सिंचाइ गर्नुपर्दछ । आलुको त्यान्द्राको विकास हुने समयमा र दाना लाग्ने समयमा धेरै मात्रामा पानीको आवश्यकता पर्दछ । माटो चढाएपछि माटोको चिस्यान हेरी आवश्यकतानुसार सिंचाइ गर्नुपर्दछ । सिंचाइ गर्दा ड्याङको उचाइको आधा देखि दुई–तिहाइ भागमात्र पानीले भर्नुपर्दछ । तर, आलु खन्ने दुई हप्ताअघि देखि आलुबारीमा सिंचाइ गर्नु हुँदैन ।
गोडमेल तथा उकेरा कसरी दिने ?
साधारणतया आलुबारीमा गोडमेल तथा माटो चढाउने काम आलु उम्रेको २०–२५ दिनमा अर्थात् आलुको बोट एक बित्ता जति अग्लो हुनासाथ पहिलो पटक र आलु रोपेको दुई महिनापछि दोस्रो पटक गरी दुईपटक गर्नुपर्दछ । माटो चढाउँदा मूलकाण्डको वरिपरि, त्यान्द्रा र नयाँ फलेका दानालाई नोक्सान नहुने गरी चढाउनुपर्दछ ।
गोडमेल तथा उकेरा दिँदा माटोमा हावाको सञ्चार राम्रो हुन्छ । यस्तै, माटो हलुका हुन्छ र नयाँ आलुका दानाहरू अवरोधबिना बढ्न सक्दछन् । साथै आलुका दानालाई घामको प्रकाशबाट बचाउन सकिन्छ । यदि आलुका दाना घामको प्रकाशमा सोझै पर्न गएमा दाना हरियो हुन्छ ।
आलुका दाना लाग्ने त्यान्द्राहरू माटोबाहिर निस्कन दिन हुँदैन । यदि बाहिर आएमा आलुको दाना नलागी त्यान्द्राको टुप्पाबाट बोटको विकास हुन्छ । यसले झारपातको नियन्त्रण हुन्छ ।
आलु बालीमा लाग्ने मुख्य रोगहरू र तिनको रोकथामः
डढुवा रोगः
यो ढुसीको कारणबाट हुने रोग हो । यो रोगको फैलावट चिसो आद्र जलवायु भएको समयमा बढी हुन्छ । वायुमण्डलको तापक्रम १०–१५ं से. र सापेक्षिक आद्रता ८० प्रतिशतभन्दा बढी भएमा यो रोग फैलिन्छ । रोगका लक्षणः सुरूमा खैरा काला दागहरू पातमा देखा पर्दछन् । बिहान हेर्दा भएको पातको तल्लो सतहमा सेता खरानीजस्ता ढुसीहरू प्रशस्त देखिन्छन् । रोगको प्रकोप बढ्दै गएपछि ती दागहरू फैलिदैं पूरै बोट कालो भई मर्दछ । डाँठबाट जीवाणुहरू दानामा समेत पुग्छन् । दाना काटेर हेर्दा गुदीमा काला–खैरा धब्बाहरू स्पष्ट देखिन्छन् ।
रोकथामः - रोग अवरोधक तथा सहन सक्ने जातहरू (HPSII/67, I/13 / 7/67), खुमल रातो–२, खुमल सेतो–१, एन.पी.आई.–१०६ जस्ता जातहरू लगाउने ।
- रोगग्रस्त क्षेत्रमा उत्पादन गरेको बीउ प्रयोग नगर्ने ।
- कुहिरो लाग्नु, केही दिन घाम नलाग्नु र सिमसिमे पानी पर्नु रोग फैलाउन सहयोग पु¥याउने वातावरण हुन् । यस्तो वातावरण सुरू हुने सम्भावना देखि ए इन्डोफिल एम–४५, २–३ ग्राम वा क्रिनोक्सिल गोल्ड वा रिडोमिलजस्ता ढुसीनाशक धूलो विषादी १–१.५ ग्राम प्रतिलिटर पानीमा मिसाई पातको तल्लो सतहमा समेत पर्ने गरी रोगको प्रकोप हेरेर ७ देखि १० दिनको फरकमा २–३ पटक छर्ने ।
खैरो पिप चक्के रोगः यो रोग ब्याक्टेरियाबाट हुने रोग हो । सबभन्दा पहिले बोटको कुनै एउटा डाँठबाट ओइलाउन शुरू हुन्छ र विस्तारै सबै डाँठहरू ओइलाएर मर्दछ । रोगी आलु काटेर हेरेमा खैरो चक्र देखिन्छ र कडा आक्रमण भएमा आलु थिच्दा चक्रबाट सेतो पिप निस्कन्छ ।
यो रोग लागेको तपाईले सहजै पहिचान गर्न सक्नु हुनेछ । यदि ओइलाएको बिरूवाको डाँठको तल्लो भागको ५ से।मि। लामो टुक्रा वा रोगी आलुको सानो टुक्रा सफा पानीमा ५ मिनेटसम्म राखेमा डाँठको फेंदबाट वा आलु काटेको भागबाट धागोजस्तो सेतो पिप झरेको देखिन्छ ।
रोकथामः - सोलानेसी परिवारका बालीहरू जस्तै–सुर्ती, गोलभेंडा, भान्टा, खुर्सानीबाहेक अन्य बालीहरू धान, मकै, गहु“, जौ आदि समावेश गरी ३ वर्षको बालीचक्र अपनाई आलुबाली लगाउने ।
- निरोगी बीउ मात्र लगाउने ।
- बीउ आलु नकाटी सिङ्गै रोप्ने ।
- रोगी बोट उखेली खाल्टोमा पुरिदिने ।
- रोगी बोट उखेलेको ठाउँको माटोलाई १० प्रतिशत फर्मालिनको झोलले करिब १ फिटसम्म भिजाई प्लास्टिकले हावा नपस्ने गरी एक हप्तासम्म छोपिदिँदा यो रोग नियन्त्रण हुन्छ ।
कालो खोस्टेः यो रोग ढुसीजन्य रोग हो । यो रोग लागेमा आलुको बोक्रामा विभिन्न आकारका अस्पष्ट साह्रो किसिमका काला खोस्टाहरू देखिन्छन् । यो रोग लागेमा उम्रन लागेका मुनाहरू मर्छन् । रोगी बोटमा दाना लागेमा डाँठमा गुचमुच्च परी लाग्दछ ।
रोकथामः रोकथामका लागि बीउ आलु टुसाउनुभन्दा पहिले डेरोसाल ५० प्रतिशतको धूलो विषादी १–१।५ ग्राम प्रतिलिटर पानीमा मिसाई बनाएको घोलमा ३ मिनेटसम्म वा ३ प्रतिशतको बोरिक एसिडको घोलमा बढीमा १० मिनेटसम्म डुबाउने र त्यसपछि फिंजाएर टुसाउन लगाउने ।
आलुको ऐँजेरु रोग कसरी फैलन्छ र यसबाट वच्न के गर्नुपर्छ ?
यो ढुसीको मध्यमवाट फैलने रोग हो । यो रोग लागि सकेपछि यसका जीवाणु माटोमा १०–१५ वर्ष सम्म वाँच्न सक्दछन् । यो रोग आलुको जरा वाहेक यसको छाना, त्यान्द्रा तथा डाँठहरुमा अनावश्यक वृद्धि भई काउलीको फूल जस्तो देखिन्छ । यसवाट वच्नको लागि दुषित क्षेत्रमा उत्पादीत वीउ नलगाउने, लामो घुम्ती वाली चक्र अपनाउने तथा रोग अवरोधक जानको खेती गर्ने जस्ता विधिहरु अपनाउन सकिन्छ ।
आलुको खैरो पिप चक्के रोग लागेमा के गर्ने ?
यो रोग नलागोस भन्नका लागि लामो घुम्ती वाली चक्र पद्धति अपनाउन राम्रो हो तर दुषित माटोलाई उपचार गर्नको लागि १०% फर्मा्लिनको झोलले करीव १ फीट सम्म भिजाई प्लाष्टिकले हावा नपस्ने गरी १ हप्तासम्म छोपिदिँदा यसका जीवाणुहरु मर्दछन् र रोग लाग्ने सम्भावना कम हुन्छ।
आलुमा लाग्ने भाइरसजन्य रोगहरू कसरी नियन्त्रण गर्ने ?
आलु बालीमा विभिन्न किसिमका भाइरस रोग लाग्छन् । यी रोगहरू लाही कीरा र खेतमा काम गर्ने मानिस तथा कृषि औजारहरूबाट एक बोटबाट अर्को बोटमा फैलिन्छन् ।
पात दोब्रिने भाइरसः बिरूवाका माथिल्लो भागका पातहरू माथितिर फर्किएर दोब्रिन्छन् । पात बाक्ला र कडा हुने र त्यस्ता पातहरू हातले चलाउँदा सुकेका पातहरूको जस्तै आवाज आउने हुन्छ । रोगी बोटहरू होचो हुने, नझाङ्गिने तथा पातहरू पहेंला हुने पनि यस रोगका अन्य लक्षण हुन् ।
हल्का मोजाइकः आलुका पातहरूमा पहेंला वा हल्का हरिया दागहरू देखिन्छन् । पातको किनारा बाङ्गोटिङ्गो परेको हुन्छ र झट्ट हेर्दा स्पष्ट देख्न सकिँदैन ।
कडा मोजाइक भाइरसः पातमा देखि ने पहेंलोपन हल्का मोजाइकभन्दा निकै प्रस्ट देखिने हुन्छ । पातहरू प्रायः अनियमित आकारका हुन्छन् ।
भाइरसजन्य रोगहरूका रोकथामका उपायहरूः
भाइरसमुक्त बीउ आलु प्रयोग गर्ने ।
लाही कीराको नियन्त्रण गर्ने ।
आलुको फेद काट्ने कीराबाट कसरी वच्ने ?
यस कीराले जमीनमुनी वसी आलुलाई क्षति पुर्या उँदछ । यसले चिस्यान भएको ठाउँमा भन्दा सुख्खा र ओसिलो जमिनमा फूल पार्दछ र पछि गएर वढी क्षति पुर्याउउँदछ। यसको व्यवस्थापनको लागि वयस्क पुतलीहरु वत्तीमा आकर्षित हुने हुँदा वत्तीको पासो थाप्ने, काँचो गोवरको प्रयोग गर्नु हुदैन ।
रातो कमिला कसरी व्यवस्थापन गर्ने ?
यसको उचित व्यवस्थापन हेतु राम्ररी कुहिएको ९पाकेको० गोवर मल मात्र प्रयोग गर्ने जमीनमा सिचाई गरी चिस्यानको मात्रा कायम राखी राख्ने, आलु रोप्नु अगाडी तीतेपाती, केतुकी, वनमारा असुरो आदिका टुक्राहरु डयाङ्ग राखी दिन, गाईको गहुतमा छ भाग पानी मिसाई जरा भिजाउने तथा आलुमा गाजर मिसाई खेती गर्नु पर्दछ ।
राम्ररी व्यवस्थापन गरे आलु कति उत्पादन गर्न सकिन्छ ?
आलुको उत्पादनरउत्पादकत्व जमीनको उर्वरा शक्ति व्यवस्थापन तथा लगाईएको जातम फरक पर्दछ । औसतमा भन्नु पर्दा १५–४० मे.टन प्रति हेक्टर उत्पादन भएको पाइएको छ ।
कहिले खन्ने आलु ? आलुको बोट पहेंलिएर सुक्न थालेपछि वा बाली पाक्ने अवधि पूरा भएपछि बोक्रा छिप्पिइसकेको भए आलु खन्न सकिन्छ । दानामा चोटपटक नलाग्ने गरी होसियारीका साथ आलु खन्नुपर्दछ । आलु खनिसकेपछि आलुलाई चिसो ठाउँमा (१५–२० से.तापक्रम) करिब एक हप्तासम्म बोक्रा छिप्याउन र खन्दा काटिएको घाउ पुर्नका लागि फिंजाएर राख्नुपर्दछ ।
भण्डारण कसरी गर्ने ?
आलु भण्डारण गर्नुभन्दा पहिले आलु खनिसकेपछि राम्ररी छहारीमा सुकाउनुपर्दछ । यसरी सुकाइसकेपछि आलुका दानाहरूलाई चिसो ठाउँमा राख्नुपर्दछ । तर तुषारोबाट भने राम्रोसँग बचाउने प्रयास गर्नुपर्दछ । भण्डार गरिएको ठाउँमा हावाको संचार राम्रो हुनुपर्दछ । यसरी भण्डारण गर्ने काम गर्दा खायन आलुलाई अ“ध्यारो ठाउँमा बीउ आलुलाई सोझै सूर्यको प्रकाश नपर्ने गरी उज्यालो ठाउँमा राख्नुपर्दछ ।
जनसम्पर्क क्षेत्र र विस्तार कसरी तपाईले आलु खेती सम्बनिध जानकारी पनि लिनुभयो सामान्यतया खर्च र आम्दानी के कति हुने बुझ्नु भयो भने अब बजारीकरण गर्न वा थप ज्ञान बुझ्न यी संघ सस्थाबाट सहयोग लिन पनि सक्नु हुन्छ । यस्तै आफ्नो पालिकाको कृषि शाखा, तालिम केन्द्र वा जिल्लामा रहेका कृषि ज्ञान केन्द्रहरुमा पनि सम्पर्क गर्न सकिन्छ ।
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र (खुमलटार, ललितपुर) - फोन नं.: ०१-५४२३१४१, १६६००१६६६६०
सन्दर्भ सामग्रीहरु - वीकीपेडिया - कृषि ज्ञान केन्द्र - अर्थ डबली - विभिन्न वेभ तथा फेसबुकका उपयुक्त सामग्री - व्यवसायीहरु - तरकारीबाली विकास केन्द्र, खुमलटार- कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्याङ्क महाशाखा, काठमाडौं