पछिल्लो समय सबैभन्दा धेरै युवाहरुमा उब्जिएको प्रश्न हो- नेपालमा बसेर के गर्नु ? सरकारले नेपालमा बस्ने वातावरण सिर्जना नगरेकै कारण आफ्नो भविष्यको खोजीमा विदेसिने युवाहरुको जमात ठुलो छ । सर्वसुलभ शिक्षा, रोजगारको ग्यारेन्टी, आधारभूत आवश्यकताको परिपूर्ति, भौतिक पूर्वाधारको विकास गरिदिने हो भने कोही पनि आफ्नो जन्मभूमिलाई छोडी बसाइँसराइ नै गरी विदेश पलायन हुने थिएनन् होला।
गाई हरियो घाँस जँहा देख्छ त्यही चर्न जान्छ भनेझै जहाँ सम्भावना र सुरक्षीत भविष्य देख्छन् युवापिढीं त्यतै पलायन हुनु स्वाभाविकै पनि हो । आज विदेशिएका र विदेशिन लागेका हरेक नेपाली नागरिकलाई किन देश छोडेको भनेर प्रश्न गर्दाको एउटै उत्तर आउँछ – नेपालमा बसेर के गर्नु ? तर, जहाँ समस्या त्यहाँ सम्भावना पनि उत्तिकै हुन्छ भने जस्तै चुनौति जति छन्, सम्भावना पनि त्यत्तिकै रहेका छन् । पछिल्लो समय यस भनाईलाई धेरैले प्रमाणित पनि गरेका छन्, जो कृषि व्यवसायमा लागेका छन् ।
नेपालमै बसेर धेरै गर्न सकिन्छ भन्ने वातावरण युवा माझ बन्दै गएको छ । सपना र जपना हुने हो भने नेपालमै सुन फलाउन सकिन्छ भन्ने उदाहरण धेरै छन् । तपाई पनि नेपालमै बसेर केहि व्यवसाय गर्ने सोचाईमा हुनुहुन्छ भने कृषि व्यवसाय तपाईका लागि उपयुक्त हुनसक्छ । तर, कृषिमा पनि कुन व्यवसाय गर्ने त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो ।
आज हामी नेपालमा बसेर के व्यवसाय गर्न सकिन्छ भनेर एउटा आइडिया दिन्छौं । त्यो हो- गड्यौली मल व्यवसाय । गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने एउटा व्यवसाय हो । रासायनिक मलले उत्पादन पनि घटाउने, महँगो पनि हुने, मल अभाव पनि हुने भएकाले पछिल्लो समय किसानहरुको रोजाईमा गड्यौला मलको प्रयोग बढ्दै गएको छ ।
गड्यौला मलको प्रयोगले उत्पादनसमेत बढाउने भएकाले किसानहरुको रोजाईमा गड्यौला मल बनेको छ । तर, उत्पादन एकदमै कम छ । त्यसैले तपाईले गड्यौला मल उत्पादन गरेर बिक्री वितरणबाट मनग्य आम्दानी गर्न सक्नुहुन्छ । गड्यौला मल उत्पादन कसरी गर्ने ? के के कुरामा ध्यान दिने हामी सबै कुराको जानकारी दिन्छौं । तपाईले यो लेख पुरै पढ्नु भयो भने गड्यौला मल उत्पादनको विषयमा धेरै जानकारी पाउन सक्नुहुने छ ।
के हो गड्यौला मल ? गँड्यौला मल (भर्मि कम्पोष्ट) भनेको विशेष प्रजातिका गँड्यौलाको प्रयोग गरी प्राङ्गारिक फोहोरबाट बनाइएको गुणस्तर र पौष्टिक तत्त्वयुक्त कम्पोष्ट मल हो । गँड्यौलाको प्रयोग गरी मल बनाउने प्रविधिलाई भर्मिकल्चर (Vermiculture) भनिन्छ । खेर गएको पातपतिङ्गर जम्मा गरेर त्यसमा गड्यौला राखेर गड्यौला मल बनाउन सकिन्छ । चिलाउने, काभ्रो, साललगायत रूखका पातलाई एक ठाउँमा जम्मा गरेर त्यसमा गड्यौला राखिन्छ । उक्त पातपतिङ्गर खाएर गड्यौलाले बनाएको धुलो नै मलका रूपमा प्रयोग हुन्छ । विशेषगरी नरम खालका पात राख्नु उपयुक्त हुन्छ ।
पातपतिङ्गर राखेको ६ महीनापछि मल तयार हुन्छ । गड्यौले मल प्राङ्गारिक खेतीका लागि अति उत्तम मल हो ।गँड्यौली मलको उपयोगले दिगो प्राङ्गारिक खेतीको विकास गर्न सकिन्छ । गँड्यौली मल बनाउन विभिन्न प्रजातीका राता, सेता, निला रङ्गका गँड्यौलाहरूको प्रयोग गरिन्छ । गँड्यौली मलमा बाली/बिरुवाको विभिन्न रोगहरूसँग लड्न सक्ने क्षमता बढाउने गुणका साथै तिनको छिटो बृद्धि विकास गराउन सक्ने इन्जाइमहरू भएको पाइएको छ ।
गँड्यौली मल व्यवसायका फाइदा के कस्ता छन् ?
– साधारण तरिकाले बनाएको कम्पोष्ट मलमा भन्दा यो मलमा मुख्य खाद्य/पोषकतत्त्वहरूको मात्रा बढी (२–३% नाइट्रोजन, १.५५–२.२५% फस्फोरस १.८५–२.२५% पोटास) हुनुका साथै सुक्ष्मतŒवहरू, भिटामिन, हर्मोन, एन्टीबायोटिक र इन्जाइम आदि बालीनालीलाई उपलब्ध हुन्छन् ।
– माटोको रासायनिक तथा भौतिक गुणहरूमा सुधार आइ त्यसको उर्बराशक्तिमा वृद्धि हुन्छ, त्यसैले पछिल्लो समय यो मल किसानहरुको रोजाईमा पर्न थालेको छ ।
– विभिन्न बालीको बिउको उमार शक्ति बढाउनुका साथै माटोको अम्लियपनमा पनि सुधार ल्याउँछ ।
– यो मल प्रयोग गर्दा माटोमा हानीकारक किराहरूको सङ्ख्या कम गर्नुका साथै रोग ल्याउने जीवाणुहरूको सङ्ख्या घटाउनमा पनि मद्दत पुग्दछ ।
– गँड्यौली मल बनाउदा अन्य साधारण कम्पोष्ट मलमा जस्तो खाल्टोमा धेरै ओर्काइ फर्काइ गरिरहनु पर्दैन । जसका कारण कम ज्यामिको प्रयोगले सस्तोमा राम्रो र गुणस्तरीय मल तयार पार्न सकिन्छ ।
– यो मल कालो, गन्ध नआउने र बुर्बुराउँदो हुन्छ । त्यसैले काम गर्न पनि सहज हुन्छ ।
– साधारण तरिकाले बनाएको कम्पोष्ट मल भन्दा यो मल थोरै प्रयोग गर्न सकिन्छ अर्थात थोरै भए पनि पुग्छ ।
– खेतीबारीको र घरेलु फोहर वस्तुहरूबाट यो मल बनाइने हुँदा फोहर व्यवस्थापन हुनछ ।
– यो मलमा गँड्यौलाको अण्डा पनि हुने भएकोले मल सँगसँगै गँड्यौलाको सङ्ख्या पनि बढ्दै जान्छ । मलसँगसँगै गँड्यौला बिक्रीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ ।
– गँड्यौलालाई राम्ररी पखाली सुकाएर माछाको दानामा मिसाएर खुवाउनुका साथै बढी उत्पादन भएमा हाँस र कुखुरा आदिको आहारा बनाउन पनि सकिन्छ ।
– यसलाई पानीमा मिसाएर घोल बनाई बोटबिरुवाहरूको जराको वरिपरी प्रयोग गर्न सकिन्छ, जसलाई ‘वर्म टी’ भनिन्छ ।
प्रयोग गरिने गँड्यौलाका प्रजातीहरू :
एण्डोजेइक प्रकारका गँड्यौलाहरू जमिनको भित्री भागमा पाइने र माटो मात्र खाने हुँदा यी प्रजातीलाई गँड्यौला मल बनाउन प्रयोग गरिदैन । इपिजेइक प्रकारका गँड्यौला मात्र मलको लागि प्रयोग गर्ने गरिन्छ ।
- इसेनिया फोइटिडा
- युड्रिलस युजिनियल
- पेरियोटक्स एक्स्याभेट
- लुव्रिकस रेवेलस
- ल्यामपिटो म्याउरिटी
इसेनिया फोइटिडा (Eisenia foetida) भर्मिकल्चरको लागि सबैभन्दा राम्रो खालको गँडयौला मानिन्छ । यस प्रजातीको गँड्यौलाहरू अरु प्रजातीको गँड्यौलाको भन्दा खानेकुराहरू छिटो खाने, पचाउने क्षमता बढी भएको र छिटो कम्पोष्ट मल उत्पादन गर्ने भएकोले भर्मिकल्चरमा यसको प्रयोग बढी हुने गरेको छ ।
मल बनाउन के कस्ता वस्तु आवश्यक पर्छ ?
- गोठेमल
- माटो, पानी र जुटको बोरा
- बिउको रूपमा गँड्यौला
- गँड्यौला पाल्ने उपयुक्त भाँडो/सिमेन्ट वा वाटर प्रुफ बेड
- ओछ्यानको लागि काठको धुलो, कागज वा पुरानो कपडा
कस्तो स्थानम गँड्यौला पालन गर्ने ? गँड्यौला कुन ठाउँमा कसरी पालन गर्ने यो सबैभन्दा महत्वपूर्ण कुरा हो । गँड्यौलाहरूलाई घरभित्र वा खुल्ला ठाउँ दुवैमा पाल्न सकिन्छ । घरभित्र गँड्यौला पाल्दा कुनै पनि भाँडा जस्तै काठको बाकस, बाँसको टोकरी, बाटा, सिमेन्टको टप, डालो आदि प्रयोग गरेर पाल्न सकिन्छ । गँड्यौला पाल्ने भाँडाहरू विभिन्न आकार प्रकार र क्षमताको भएता पनि तिनको चौडाइ र उचाइ १–१ फिट भएको हुनुपर्छ । साथै पिँधमा पानी चुहिने व्यवस्था भएको हुनुपर्दछ ।
घर बाहिर खुल्ला ठाउँमा गँड्यौलाहरू पाल्दा छायाँ भएको वा छानाको व्यवस्था भएको गर्न सकिने ठाउँ हुनुपर्छ । व्यावसायिक रूपमा गँड्यौलाहरूले कम्पोष्ट मल उत्पादन गर्न पानीको निकास भएको करीब ३ फिट लम्बाइ, २ फिट चौडाइ र १.५ फिट उचाइको ट्याङ्कीको व्यवस्था गर्नुपर्दछ । नभए तपाईले व्यवसायिक रुपमा गँड्यौला पालन गर्न सकनु हुँदैन ।
गड्यौलाका लागि कस्तो घर बनाउने ?
- सामान्यतयाः ८ मिटर लम्बाई ५.५ मिटर चौडाइ भएको टहरा निर्माण गर्ने ।
- बेडको लम्बाई ७ मिटर, चौडाइ १ मिटर र उचाइ ०.५ मिटर भएको बनाउँदा ७–८ वटा बेड बनाउने ।
- यस्तो बेडको लागि प्रतिबेड १५ किलोग्राम गँड्यौलाको आवश्यकता पर्छ ।
- जसबाट प्रतिबेड ३५ क्विन्टल जति काँचो मल उत्पादन गर्न सकिन्छ ।
- ३–४ इन्च जति बाक्लो जुट, पराल, नरिवलको जटा, सुतीको कपडा, काठको धुलो जस्ता वस्तुको प्रयोग गरी नरम ओछ्यान वा सोतरको व्यवस्था गर्ने ।
- गोबर शिशु गँड्यौलाहरूको आहारा हुने र पुरानो मलमा भएको सुक्ष्म जिवाणुहरूले फोहरलाई छिटो कुहाउन मद्दत गर्ने हुँदा गोबर अथवा पुरानो मल २–३ मुठी ओछ्यान माथि छर्की दिने ।
- ओछ्यान वा सोतर र गोबरलाई पानीले राम्ररी भिजाउने ।
- सुख्खा वा बढी पानी भए तिनीहरू पानीमा डुबेर मर्नसक्ने तथा बढी सुख्खा भएमा पनि सुकेर मर्न सक्छन् । त्यसैले पानी राख्दा एकदमै ध्यान दिने ।
- यसरी बनाइएको ओछ्यान वा सोतरमाथि एक हात उचाइसम्म जैविक फोहर हाल्ने ।
- सबैभन्दा राम्रो जैविक फोहरलाई दुई हप्ता जति कुहाएर फोहर गँड्यौलालाई प्रयोग गर्दा राम्रो हुन्छ ।
गँड्यौली मल बनाउने विभिन्न बिधिहरू :
थुप्रो पारेर
- सुख्खा तथा पानी नजम्ने हावादार छहारी भएको ठाउँमा गड्यौला मल बनाउन सकिन्छ ।
- १ टन अर्थात १० कुन्टल कम्पोष्ट मल बनाउन राखिएका वस्तुहरू, जस्तै : गोबर (३ भाग), झारपात (१ भाग) तथा पराल र छ्वाली (१ भाग) राम्ररी पानीले भिजाएर थुप्रो बनाउने ।
- गँड्यौलाको लागि ओछ्यानरबेड बनाउन विभिन्न किसिमका प्राङ्गारिक पदार्थहरूलाई मिलाएर राख्ने ।
- यस्तो थुप्रोमा केही दिनपछि तापक्रम ६०–६५ डि.से.सम्म पुग्दछ र कम्पोष्ट मल बनाउन राखिएका वस्तुहरू गलेर नरम हुन्छ ।
- सबै अनावश्यक जीवाणुहरू र कीराहरू मरेपछि कम्पोष्टको थुप्रो पनि बिस्तारै सेलाएर जान्छ ।
- त्यसपछि थुप्रोमा २०० वटा गँड्यौला प्रतिक्युविक फिट (१ फुट लम्बाइ, १ फुट चौडाइ र १ फुट उचाइ) को खाडलरबेडका दरले राख्ने ।
- गँड्यौलाहरूले उपलब्ध गराइएको प्राङ्गारिक पदार्थहरू खाएर ४५–६० दिनमा आफ्नो सङ्ख्या बढाएर प्रति क्युविक फिट ६०० वटा पु-याउँछन् ।
- त्यसपछि त्यति नै दिनमा गँड्यौली कम्पोष्ट मल तयार हुन्छ ।
टंकी बनाएर :
- १० फिट लम्बाई, ६ फिट चौडाइ र २–३ फिट उचाइको खाडलको पिँधमा इँट्टा तथा ढुङ्गा राखेर पक्की टंकी बनाउने ।
- टंकीको पिँधमा गलेको गोबर हाल्ने र त्यसको माथि अलिकति गलेकै कम्पोष्ट बनाउन राखिएको वस्तुहरू राख्ने ।
- त्यसमा २०० वटा (औषतमा २५० ग्राम) गँड्यौलाहरू प्रति क्युविक फिटको दरले वा २–३ के.जी. गँड्यौला प्रतिटन अर्थात १० क्विन्टल प्राङ्गारिक पदार्थको दरले छोडिदिने ।
- कम्पोष्ट मल बनाउन राखिएको वस्तुहरू ९०५ सम्म कुहिएपछि पानी राख्नु हुँदैन ।
- त्यसपछि कम्पोष्ट मललाई तह तहमा निकाली एक ठाउँमा थुपारी गँड्यौलाहरूलाई छुट्याउने ।
- गँड्यौलाहरूलाई चाल्नीमा चालेर पनि छुट्याउने ।
- छुट्याइएका गँड्यौलाहरूलाई फेरी अर्को बेडिङ्ग सामाग्री भएको टंकीमा राख्ने ।
- चालेर आएको कम्पोष्ट मललाई केही क्षण फिजाएर सुख्खा पार्ने ।
- सुख्खा भइसकेपछि १ केजीको दरले प्लाष्टिकको झोलामा राखी प्याकिङ्ग गर्ने तथा आवश्यकता अनुसार प्रयोग गर्ने वा बिक्री गर्ने ।
गँड्यौली मल तयार भएको कसरी थाहा पाइन्छ ?
– कालो बुर्बराउँदो भएमा ।
– चियापत्ती जस्तो धुलो भएमा ।
– खानेकुराहरूको रेसा नभएमा ।
– बोरा वा झोलामा मल हाल्दारकोच्दा तापमान बढेर तातो हुने अवस्था नभएमा ।
– मलमा तोरीको गेडा छर्दा १ हप्तामा टुसा पलाउने भएमा ।
कसरी गँड्यौला मल सङ्कलन गर्ने ?
सामान्यतयाः गँड्यौला पालेको ३–४ महिनापछि यस्तो मल सङ्कलन गर्न सकिन्छ । भर्खर निकालेको मल कालो, चिप्लो खालको र सानो पोतेको दाना जस्तो देखिन्छ । तपाईले गँड्यौला मल संकलन गर्न एकदमै ध्यान दिनुपर्ने हुन्छ ।
मल सङ्कलन गर्ने बेला सबैभन्दा पहिले ढकनी हटाएर खानेकुरा सबै झिक्नुपर्छ । त्यसपछि प्लाष्टिक वा कपडा वा कागज केही बेर ओछ्याइ त्यसमाथि भाँडामा भएको गँड्यौलासहितको मल घोप्ट्याउनु पर्छ । उक्त मललाई चुली पारेर थुपार्नु पर्दछ ।
५ मिनेट जति थुप्रोमा प्रकाश पर्न दिनुपर्छ । त्यो गरेमा प्रकाशले गर्दा गँड्यौलाहरू तल्लो भागमा जम्मा हुन्छन् । त्यसपछि मललाई माथिबाट अञ्जुलीले झिकेर एउटा भाडामा राख्नुपर्छ । यसरी मल मात्र झिकी सकेपछि फेरी उक्त गँड्यौलाहरूको पालन गर्न सकिन्छ ।
योसँगै अर्को तरिकाबाट पनि तपाई उक्त मललाई छुट्याउन सकनु हुनेछ । ढकनी हटाएर सतहको खानेकुरा सबै झिकेर गँड्यौलासहितको मल भाँडाको एक छेउबाट सारेर अर्कोतिर थुपार्ने र बाँकी भाग खाली गर्नुपर्छ । खाली ठाउँमा पुरानो वा नयाँ ओछ्यान राखेर त्यसमाथि गोबर र जैविक फोहर मिसाइ एक हात उचाइसम्म राख्नु पर्दछ । पुरानो थुप्रोमा खानेकुरा नपाएर गँड्यौलाहरू आफैँ नयाँ थुप्रोतिर आँउदछन् ।
१०–१५ दिनमा पुरानो थुप्रोतिर मल बाँकी रहन्छ । त्यसपछि मल झिकेर गँड्यौलाको फुल ९कोकोन०बाट बच्चा निकाल्न अर्को भाँडामा सङ्कलन गर्नुपर्दछ । मल तयार भएको १–२ महिनापछि मात्र प्रयोग गरेमा गँड्यौलाको काकोनहरूबाट बच्चा गँड्यौलाहरू सङ्कलन गरी फाइदा लिन सकिन्छ ।
गड्यौला पालन गर्दा के के कुरामा ध्यान दिने ?
- अमिलो जातको फलफूल नराख्ने ।
- कमिला (रातो कमिला) गड्यौलाको शत्रु भएकोले भरसक गुलियो खानेकुरा पनि नराख्ने ।
- माछा मासुजन्य खानेकुरा वा तिनबाट निस्केको फोहर प्रयोग नगर्ने ।
- तेलजन्य खानेकुरा नराख्ने ।
- फोहर फाल्दा सकेसम्म टुक्राएर वा काटेर प्रयोग गर्नु पर्दछ ।
- गँड्यौलाहरू धेरै सुख्खा वा धेरै चिस्यान भएको ठाउँमा वस्न नसक्ने भएकोले सकेसम्म ओसिलो बनाउने ।
- गँड्यौलाका लागि १०–३२ डि.से. भएको तापक्रम बनाउने ।
- कम्पोष्ट तयार पार्न राखिएका वस्तुहरू लचक्क भिजेको हुनु पर्छ ।
- गोबरमल तथा हरियो घाँसपात प्रयोग गर्दा १०–१५ दिन कुहिन दिएर प्रयोग गर्ने ।
- कम्पोष्ट बनाउने ठाउँमा घामपानी नपर्ने व्यवस्था मिलाउने ।
जनसम्पर्क क्षेत्र र विस्तार कसरी तपाईले गड्यौली मल उत्पादन कसरी गर्ने भन्ने विषयमा जानकारी पनि लिनुभयो । अब बजारीकरण गर्न वा थप ज्ञान बुझ्न यी संघ सस्थाबाट सहयोग लिन पनि सक्नु हुन्छ । यस्तै आफ्नो पालिकाको कृषि शाखा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय वा विज्ञसङ सम्पर्क गर्न सक्नु हुन्छ। तपाईले यी माथि उल्लेखित कार्यालयको फोन नम्बर आफ्नो जिल्ला र प्रदेश अनुसार गुगलमा गएर सर्च गर्नु भयो भने सबै कार्यालयले आफ्नो वइवसाइडमा राखेका हुन्छन् । तपाई केही जानकारी लिन चाहनुभयो भने सम्पर्क गर्न सक्नुहुने छ ।