बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

नेपालमा मौरीपालन ब्यवसाय सम्भावना र चुनौति

बिहीबार , पुस ४ २०८१
13 views
नेपालमा मौरीपालन ब्यवसाय सम्भावना र चुनौति
<p><strong>नेपालमा मौरीपालन ब्यवसायको सम्भावना के छ ? यसका चुनौतिहरु के कस्ता छन् भन्ने सन्दर्भमा यो समग्री प्रस्तुत गर्न लागेका छौं ।&nbsp;</strong></p>

समाचार शेयर गर्नुहोस्

Share this news

नेपालमा ठूलो परिमाणमा महको माग रहेको छ । तर माग अनुसार मह उत्पादन नभएको कारण विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । भारतबाट मात्रै वार्षिक ५ हजार टन मह आयात हुने गरेको छ ।  नेपालमा मह उत्पादनको प्रशस्त सम्भावना हुँदा हुँदै पनि उत्पादनतर्फ ध्यान नदिँदा विदेशबाट आयात गर्नुपर्ने बाध्यता भएको हो । मौरीपालन ब्यवसाय गर्दै आएका किसानहरुलाई पनि मौरीपालनबारे पूर्ण रुपमा जानकारी नहुँदा उत्पादन बढाउन नसकेको गुनासो गरिरहेका छन् । 

साँच्चिकै नेपालमा मौरीपालन ब्यवसायको सम्भावना के छ ? यसका चुनौतिहरु के कस्ता छन् भन्ने सन्दर्भमा यो समग्री प्रस्तुत गर्न लागेका छौं । 

bee farm2.jpg
मौरी चरनका लागि तोरीबारीमा राखिएको घार 

नेपालमा मौरीको वर्तमान अवस्था 

नेपालमा १३ हजारको हाराहारीमा व्यवसायीक रूपमा मौरीपालन गर्ने किसान छन् । परम्परागत रुपमा मौरीपालन गरिँदै आएकोमा पछिल्लो समय भने एपिस मेलिफेरा मौरीपालन गर्ने गरिएको छ । मेलीफेरा मौरी एक लाख ३० हजार तथा सेरना मौरी एक लाख १७ हजार गरी दुई लाख ४७ हजार गोला मौरी रहेको छ । केही बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा उत्पादन भएका मह खरिद गर्न थालेपछि यहाँका किसानहरु निकै उत्साहित भएका थिए । 

डाबर नेपाल, पतञ्जली जस्ता कम्पनीले केही वर्ष नेपालको मह खरिद गर्ने गरेका थिए, तर उनीहरुले अहिले बाहिरको मह खरिद गर्ने गरेका छन् । बाहिरी मुलुकबाट मह आयात हुँदा नेपालमा उत्पादन भएका स्वदेशी महले मूल्य नपाएको गुनासो किसानहरुले गर्दै आएका छन् । तर यस्ता बहुराष्ट्रिय कम्पनीहरुले भने नेपालमा माग अनुसारको उत्पादन नभएकाले विदेशबाट आयात गर्नुपरेको बताउँदै आएका छन् । एक केजी मह उत्पादन गर्न मात्रै चार सय ३२ रूपैयाँ लागत लाग्ने किसानको अनुमान छ । तर नक्कली महको बिगबिगीले गर्दा

नेपालमा मह विक्री हुन भएको मौरीपालन ब्यवसायीहरु बताउँछन् । नेपालमा मह उत्पादनका लागि स्र्र्र्र्र्र्र्र्रोतहरु पनि नभएका होइनन्, तर त्यसको उचित संरक्षण भने हुन सकेको छैन । जामुन, सिसौ, चिलाउने, कटुस, मियल, पैंयू, रुदिलोका साथै तोरी, चिउरी, फापर, मसला मह उत्पादनका स्रोत हुन् । जामुन, सिसौँ, चिलाउने, कटुस, मियलजस्ता रुखविरुवाको संरक्षण भने हुन सकिरहेको छैन । 

परम्परागत मौरीपालन 

नेपालमा परापूर्व कालदेखि परम्परागत मौरीपालन गरिँदै आएको छ । हालसम्म पनि स्थानीय एपिस सेराना  जातको घरपालुवा मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन प्रायः सबै क्षेत्रहरूमा यथावत रहेको पाइन्छ । परम्परागत रुपमा मौरीपालन गरिने भएकाले ब्यवसायिक उत्पादनतर्फ ध्यान पुग्न सकेको छैन । झण्डै ५ दशकदेखि नै सरकारले मौरीपालन कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । 

मौरीपालन सम्बन्धी सरकारको कार्यक्रम 

वि.स. २०३२ सालदेखि व्यावसायिक कीट विज्ञान आयोजनाअन्र्तगत नेपालमा मौरीपालन कार्यक्रमहरू सञ्चालन हुँदै आएको छ । तर त्यसको झण्डै एक दशक सम्मपनि मौरीपालनको छुट्ट्रै कार्यालय सञ्चालन हुन सकेन । २०४३ सालमा मौरीपालन केन्द्र स्थापना गरियो ।  वि.स. २०४४ श्रावणमा मौरीपालन तालिम तथा प्रसार सेवा आयोजना लागु भएको थियो । २०५२ सालदेखि बल्ल मौरीपालनलाई ब्यवसायिक उत्पादनमा जोड दिने उद्देश्यका साथ सरकारले योजनाहरु अघि बढाउन थाल्यो । २०५२ सालमा मौरीपालन विकास शाखाको  स्थापना भइ हालसम्म मौरीपालन सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले मौरीचरन, मौरीका वंश सुधार, मौरी प्रजाति  संरक्षण, परागसेचन क्षमता अध्ययन तथा पुस्तक, पुस्तिका प्रकाशन आदि सम्बन्धित कार्यक्रमहरू गर्दै  आएको छ । नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाहरूले पनि मौरीपालन तथा  परागसेचन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

नेपालको भौगोलिक बनोट र यसमा भएको प्राकृतिक स्रोत मौरीका लागि उपयुक्त छन् । नेपालमा मौरीलाई उपयुक्त हुने बोटबिरुवाको बाहुल्यता छ । नेपालको वन जङ्गल, खेतीप्रणाली र चरनक्षमतालाई समेत हेर्दा लगभग १० लाखसम्म  मौरीगोला पालन गर्न सकिने अनुमान गरीएको छ ।

bee farm1.jpg
मौरीको चाका 

नेपालमा पाइने मौरीका जातहरू 

नेपालमा एपिस मेलिफेरा मौरी भित्रिएपछि परम्परागत मौरीपालन पद्धतिमा क्रमशः परिवर्तन आई  व्यावसायिक रूपमा मौरीपालन सुरुवात भएको हो । मौरी सामाजिक एवं लाभदायक कीरा भएकोले हाम्रो मित्र हो । नेपालमा धेरै किसिमका मौरीहरू  पाइन्छन् । यिनीहरूले बोटविरुवामा भएको फूलको रस खाई जीवन बिताउने गर्दछन् ।

खास गरी पूmलबाट रस बटुल्ने र सङ्कलन गर्ने कामका हिसाबले मौरीलाई भँवरा, पुत्का र महमौरी गरी तीन किसिममा विभाजन गरिन्छ । मह  सङ्कलन गर्ने हिसाबले भने मौरीलाई ५ जातमा विभाजन गर्न सकिन्छ । 

१. कठ्यौरी मौरी (एपिस प्mलोरिया) 
२. खागो मौरी (एपिस डोरसाटा) 
३. भीर मौरी (एपिस लेवोरिओसा)
४. स्थानीय मौरी÷सेराना मौरी (एपिस सेराना)  
५. युरोपियन मौरी÷मेलिफेरा मौरी (एपिस मेलिफेरा) 

कठ्यौरी मौरी (एपिस प्mलोरिया)ः 
कठ्यौरी मौरी आकारमा मह मौरीहरूमध्ये सबैभन्दा सानो हुन्छ । यो मौरी समुद्र सतहदेखि करिब १२०० मिटर उचाइसम्मका क्षेत्रमा पाइन्छ ।  यो मौरीले आफ्नो चाका खुला ठाउँ तर घाम कम लाग्ने साना रूखका हाँगा र बुट्यानमा बनाउँछ । यो मौरी चाकाको हत्केलाजत्रो सानो र एउटा मात्र हुन्छ ।  यिनीहरू स्थान र स्रोत उपयुक्त नभएमा पटकपटक स्थानान्तरण गरिरहन्छन् । यसले वार्षिक प्रतिगोला लगभग १ केजी मह उत्पादन दिन्छ र यसको मह औषधिको लागि अति उपयोगी मानिन्छ । 
खागो मौरी (एपिस डोरसाटा)ः 
खागो मौरी समुद्र सतहदेखि करिव १००० मीटर उचाइसम्मका क्षेत्रमा पाइन्छ । यसले खुला ठाउँ मन पराउँछ । यो मौरी ठूला घरका छतमुनि, अग्लो रूखको हाँगामा एउटै ठूलो चाका बनाई बस्छ । यिनीहरू गर्मी मौसममा भित्री मधेसका खोँचतिर र जाडो मौसममा तराईतिर स्थानान्तरण हुने गर्छन् । यस जातका मौरी बढी रिसाहा हुन्छन् । एउटा गोलाबाट बार्षिक ३० देखि ५० किलोग्रामसम्म मह उत्पादन हुने गर्छ । यो मौरी अन्नवाली तथा फलफूलमा परागसेचनको लागि अति उपयुक्त मानिन्छ ।  

भीर मौरी (एपिस लेवोरिओसा)ः 
भीर मौरी समुद्र सतहदेखि करिव १२०० देखि ३००० मिटर उचाइसम्मका क्षेत्रमा पाइन्छ । झट्ट हेर्दा खागो मौरीजस्तो देखिने तर अलि गाढा रङको र रिसाहा हुन्छ । यो जातको मौरीले खुल्ला तथा ताजा हावा मन पराउने हुँदा ठूला–ठूला भीरपहराहरूमा एउटा गोलामा एउटा ठूलो चाका लगाएर बस्छ । यसले बनाएका चाका खागो मौरीको भन्दा ठूलो हुने हँुदा मह उत्पादन पनि धेरै हुन्छ । वार्षिक  सरदर ६० केजी प्रतिगोला उत्पादन हुन्छ । यसले पनि एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण गर्ने गर्दछ । यो मौरी जङ्गली वनस्पतिको लागि राम्रो परागसेचक हो । 

स्थानीय मौरी/सेराना मौरी (एपिस सेराना)ः  
स्थानीय तथा सेराना मौरीलाई परम्परादेखि नै घरपालुवाको रूपमा पालिदँै आइएको छ । यो मौरी समुद्र सतहदेखि ३४०० मिटर उचाइसम्मको क्षेत्रमा पालेको पाइन्छ । तराई र भित्री मधेसमा पाइने मौरी पहाडी भागको मौरीभन्दा सानो आकारको हन्छ । प्राकतिक रूपमा रूखको टोड्को, भिरपहराको अँध्यारो ओडारमा र घरको खोपामा पनि चाका बनाएर बस्दछ । यसलाई मुढा, खोपा र आधुनिक घारमा पाल्न सकिन्छ । यसले गोला बनाउँदा आफ्नो सङ्ख्याअनुसार एकभन्दा बढी समानान्तर चाका बनाउँछ । यसलाई व्यावसायिक रूपमा पाल्न सकिन्छ । राम्रो व्यवस्थापन गरेमा वार्षिक प्रतिगोला सरदर  १५–२० केजी मह उत्पादन लिन सकिन्छ । एक स्वस्थ गोलामा मौरीको सङख्या २५–३० हजारसम्म हुन्छ । यो मौरीले आफ्नो गोलादेखि करिब १ हजार मिटरसम्मको दुरीभित्रको रस, कुट र पानी ओसार्न  सक्छ । साधारणतया सेराना जातका मौरीमा बढी हुल निर्यास, गृहत्याग, लुटलडाइँजस्ता जातीय अवगुणहरू हुने भएकोले यी कुरामा बढी ध्यान दिई छनोट प्रक्रियाबाट उत्कृष्ट गोला (माथिका अवगुणहरू नभएको) छानी पाल्ने गरेमा बढी फाइदा हुन्छ । यिनीहरू फलफूल, खाद्यान्न, तेलहन र अन्य वाली एवं बोटबिरुवाहरूका लागि राम्रा परागसेचक  हुन् ।  

युरोपियन मौरी/मेलिफेरा मौरी (एपिस मेलिफेरा)ः 

युरोपियन वा मेलिफेरा जातको मौरीको उत्पत्ति अफ्रिकी मुलुकमा भएता पनि युरोप हुँदै संसारभर फैलिएकोले यसलाई  युरोपेली मौरी भनिएको हो । नेपालमा पनि यो जातको मौरी व्यावसायिक रूपमा पालन भइरहेको छ । सेराना मौरीले जस्तै यसले पनि एकभन्दा बढी समानान्तर चाका निर्माण गर्दछ । यस मौरीलाई रोग तथा परजीवी (सुलसुले, आदि) हरूले धेरै आक्रमण गर्दछन् । त्यसैले मेलिफेरा मौरी पाल्न उपयुक्त प्रविधि (ज्ञान र सीप) को आवश्यकता पर्दछ । यिनीहरूमा हुल निर्यास, गृहत्याग जस्ता अवगुणहरू सेराना मौरीमा भन्दा कम हुन्छन् ।  यो मौरीबाट वार्षिक सरदर ४० किलोग्राम प्रति गोला मह उत्पादन लिन सकिन्छ । महको उत्पादकत्व बढाउनको लागि यस मौरीलाई स्थानान्तरण गर्नु पर्दछ । यसले पुष्परस, कुट, पानीका साथै चोप (प्रोपोलिस) सङ्कलन गर्ने गर्दछ । एक स्वस्थ र बलियो मोरीगालोमा मौरीको सङ्ख्या ६०–७० हजारसम्म हुन्छ । यस मौरीले आफ्नो गोलाबाट ५ किलोमिटर टाढासम्म गई पुष्परस, कुट, पानी र चोप सङ्कलन  गर्ने गर्छ ।  यिनीहरूले पनि सेराना मौरीले जस्तै फलफूल, खाद्यान्न, तेलहन र अन्य बाली एवं बोटविरुवाहरूमा परागसेचनको कार्य अति राम्रो गर्छन् ।  

मौरीको जीवनचक्र 
मौरीको जीवनचक्र चार अवस्थामा पूरा हुन्छ । फुल, लार्भा, प्युपा र वयस्क गरी मौरीको जीवनचक्र पूर्ण  हुन्छ । मौरीका ३ वर्ग रानु, कर्मी र भाले हुन् । यी तीनै वर्गका मौरीहरूको जीवनचक्र चार अवस्थामा  विभाजित भए तापनि फुल अवस्था वाहेकका अवस्थामा यिनीहरूको उमेर, अवधि फरकफरक हुन्छ । 

अन्त्यमा, मौरीपालन ब्यवसायलाई प्रवद्र्धन गर्नका लागि सरकारले महको उचित बजार ब्यवस्थापन गर्न जरुरी छ । विदेशी नक्कली महको आयात रोकेर स्वदेशी उत्पादनको उति मूल्य निर्धारण गर्नुपर्छ । लाखौं युवाहरु विदेशी मरुभूमीमा कृषि उत्पादनका लागि पसिना बगाइरहेका छन् । आफ्नो भूमिमा उत्पादन गर्न लागि सरकारले प्रोत्साहन गर्दै बजारको ग्यारेन्टी गर्न सकेमा स्वदेशमै मौरीपालन ब्यवसाय सञ्चालन गरी थुप्रै युवाहरुले अर्थोपार्जन गर्न सक्नेछन् । 

थप समाचार