बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

प्लान्ट क्लिनिक के हो र किन?

बुधबार, असार २० २०८१
7 views
प्लान्ट क्लिनिक के हो र किन?

समाचार शेयर गर्नुहोस्

Share this news

बाली उपचार शिविर  को सुरुवात संयुक्त अधिराज्यबाट सन् २००२ मा भएको हो । बाली उपचार शिविर हाल आएर २५ भन्दा बढी देशहरूमा करिब ८० भन्दा बढी नियमित तथा पाइलट शिविरहरूको रूपमा संचालनमा रहेको छ । मानिस, जनावरको रोग एवं समस्याहरूको उपचारको लागि हरेक देशमा यथेष्ट मात्रामा अस्पताल र क्लिनिकहरू खुलेका देखिन्छन् तर बाली बिरुवाको लागि कहीँ पनि त्यस्तो देखिदैन  । बोलिभिया पहिलो देश हो जसले बाली उपचार शिविरको सोचलाई लागू गर्यो  । फरक फरक ढंगबाट बाली उपचारका तरिकाहरू अपनाइएता पनि उचित समस्याहरू को समाधानाका लागि बाली उपचार शिविर निकै उपयुक्त देखिन्छ । यसमा अपनाइएका तरिका र एकिकृत समस्या समाधान प्रकृया महत्वपूर्ण र प्रभावकारी साबित भइसकेको परिप्रेक्ष्यमा यसलाई कार्यान्वयनमा ल्याउनु नेपाल जस्तो विकासोन्मुख देशका लागि झनै प्रभावकारी देखिन्छ । नेपालको परिवेशमा हेर्ने हो भने केन्द्रीय तहमा बाली संरक्षण निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद्, क्षेत्रीय तहमा क्षेत्रीय कृषि निर्देशनालय, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला हुँदै जिल्ला तहमा जिल्ला कृषि विकास कार्यालय अन्तर्गत बाली संरक्षण अधिकृत र कृषि सेवा केन्द्र तथा उप केन्द्रहरूमा जे.टि. र जे.टि.ए. हरू बाली उपचारमा संलग्न देखिन्छन् ।

ग्लोबल प्लाण्ट क्लिनिक  ले बाली उपचार शिविरहरू संचालन र स्थापना गर्न सहयोग गरेपछि विभिन्न देशहरू जस्तैः बंगालादेश, बेनिन, बोलिभिया, क्यामारुन, क्यूवा, कंगो, गिनि, भारत, इन्डोनेशिया, केन्या, माली, नेपाल, निकारागुवा, पाकिस्तान, पेरु, युगाण्डा, भियतनाम, सेरा लियोन, श्रीलङ्का आदि देशहरूका किसानहरूले प्रत्यक्ष फाइदा पाइरहेको देखिन्छ । ग्लोबल प्लाण्ट क्लिनिकले सन् २००४ मा बाली उपचार शिविरको सुरुवात गरेको पाइन्छ । बोलिभियाले पहिलो पटक प्लान्ट हेल्थ पोष्ट सुरु गरेको छ भने निकारागुवाले आफ्नो औपचारिक शिक्षामा प्लान्ट डाक्टरको कोर्स सन् २००५ मा राखेको पाइन्छ ।

नेपाल नवांै स्थानमा पर्दछ बाली उपचार शिविर नियमित संचालन गर्ने देशहरूमा सन् २००८ को डिसेम्बरमा प्लान्ट डाक्टर कसरी बन्ने भन्ने शिर्षकमा वल्र्ड भिजन इन्टरनेशनल नामक एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले ग्लोबल प्लान्ट क्लिनिकका इरिक बोर रोब हलिङबाट पहिलो मोडयुलको तालिमबाट २३ जना मानिसहरूलाई तालिम दियो । त्यसपश्चात उक्त संस्था र सेकार्ड नामक अर्को गैर सरकारी संस्थाबाट नियमित रूपमा बाली उपचार शिविर सुरुवात गरेको पाइन्छ । त्यसपछि लमजुङ्ग स्थित वातावरण तथा आर्थिक विकास केन्द्र (सिड नेपाल), वातावरण तथा सामाजिक विकास केन्द्र (सेकोड नेपाल) नामका दुई गैर सरकारी संस्थाहरूले पनि लगातार यस बाली उपचार शिविर संचालन गरेको पाइन्छ । यसको इतिहासलाई हेर्ने हो भने सोहि वल्र्ड भिजन इन्टरनेशनलले ग्लोबल प्लान्ट क्लिनिकका रोब प्लान्ट क्लिनिक  हलिङबाट पुनः पहिलो मोडयुलको तालिम बुटवलमा गराएको पाइन्छ र दोस्रो र तेस्रो मोडयुलको तालिम लमजुङ्ग जिल्लामा गराएको पाइन्छ । नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत बाली संरक्षण निर्देशनालयले सन् २०११ मा आएर आफ्ना अधिकृत स्तरका कर्मचारीहरूलाई यसको तालिम गराएको पाइन्छ ।

बाली उपचार शिविर किन ?
प्रायः सबै देशहरूमा किसानहरूले बाली बिरुवाहरूका समस्याको सहि उपचार प्राप्त गरिरहेका छैनन् । किसानहरू एग्रोभेट वा बाली रोग विशेषज्ञहरूमा बिरुवाको उपचारका लागि भर पर्नु पर्ने देखिन्छ । अझै जिल्ला कृषि विकास कार्यालय अन्तर्गत बाली संरक्षण अधिकृत र कृषि सेवा केन्द्र तथा उप केन्द्रहरूमा जे.टि. वा जे.टि.ए.हरू मा भर परेका किसानहरूले समयमै र सहि तवरले बाली उपचार पाएको देखिदंैन । यसो हुनुमा एउटा सेवा केन्द्रले धेरै गा.वि.स. हरू हेर्नुपर्ने, जिल्ला सदरमुकाममा रहेको जिल्ला कृषि विकास कार्यालयसम्म किसानहरू पुग्न नसक्नु र प्रर्याप्त ज्ञान र सिपको अभावमा सेवा केन्द्रबाट प्राविधिक सहयोग पुग्न नसक्नु जस्ता कारणहरू रहेका छन् । यसबाहेक किसानहरूले समयमै बाली बिरुवाको रोग, कीरा, माटो, पोषण तथा अन्य समस्याहरू सम्बन्धी उचित सेवा, सल्लाह पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ किसान र क्षेत्रीय बाली संरक्षण प्रयोगशालाहरू एवं जिल्ला वा केन्द्रमा रहेका नेपाल कृषि अनुसन्धान परिषद्का कार्यालयबीच समन्वयकारी संस्थाको अभाव रहेको छ । एग्रोभेटबाट दिइने सेवा हेर्ने हो भने किसानले भनेको मौखिक भरमा र बिना कुनै निरीक्षण तथा परीक्षणबाट विषादीहरू दिइने गरेको पाइन्छ । उक्त विषादी कति मात्रामा प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने ज्ञान सिपको अभावमा अन्धाधुन्द विषादी छर्दा एकातर्फ किसानहरूको लगानी खेर गइरहेको छ भने अर्काेतर्फसमस्या समाधान पनि नहुने र विषादीको प्रयोगले मानिस, जीवजन्तु र वातावरणमा नकारात्मक असर परिरहेको अवस्था छ । तसर्थ एउटा परिक्षण तथा सत्य तथ्यमा आधारित गुणस्तरीय एवं भरपर्दो बाली उपचार पद्दतिको आवश्यकता टड्कारो छ जसको समाधान भनेको बाली उपचार शिविर नै हो ।

डा. युबक ध्वज जी. सी

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, काठमाडौँ 

 

थप समाचार