बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

नेमाटोडजन्य जैविक विषादीको विन्यास, गुण तथा प्रयोग विधि

बुधबार, असार २० २०८१
6 views
नेमाटोडजन्य जैविक विषादीको विन्यास, गुण तथा प्रयोग विधि

समाचार शेयर गर्नुहोस्

Share this news

नेमाटोड्स ४० भन्दा बढी प्रजातीहरूका कीरा मार्नका लागि उपयोगी भएको कुरा विभिन्न अनुसन्धान बाट पत्ता लागेको भएतापनि दुई प्रजातीहरूः हेटेरोरहयावडा्इटीस (Heterorhabditis)  र स्टाइानरनेमाडिस  (Steinernematids)  लाई विकशीत राष्ट्रहरूले हानीकारक कीरा जस्तै गलेरीया (Galleria mellonella), भण्डारणमा लाग्ने घुन, पुतलीका बच्चा (Larva)  का शरीरमा वृद्धि गराई पानीमा संचित गरी विभिन्न नामहरू जस्तैः नेमागन डि.डि १३६, नेमाटीड्स इत्यादी नामले बिक्री वितरण गरेको पाईन्छ । यी नेमाटोड्सहरूले कीरालाई आक्रमण गर्नु परेमा तिखो सुड वा साधनद्वारा कीराको दिसा गर्ने भाग (Anus) वा सास फर्ने भाग  (Spriacles)   वा कुनै पनि प्रकारको प्राकृतिक खुल्ला भाग  (Natural openings) इत्यादी मार्फत  कीराको शरीरभित्र प्रवेश गर्दछन् र कीरा मरेपछि पुनः उक्त सकृय नेमाटोडको बच्चा  (Infective Juveniles, IJ3)   फेरी माटोमा स्वतन्त्र रूपमा बस्दछन् र कीराहरूको खोजीमा रहिरहन्छन् । कीराहरुको लार्भाहरू सम्पर्कमा आउनासाथ नेमाटोड कीराको शरीरमा प्रवेश गरी पुनः जीवनी सुरु गर्दछन् । यो नेमाटोड भाले तथा पोथी दुबै अङ्ग सहितको (Hermaphrodite)  हुन्छ जसको मैथुनिक र अमैथुिनक कृयाबाट सन्तान बढ्दै कीराको शरीर र बाहिरी माटोमा विकास भइरहन्छ । माटोमुनी बसी क्षती गर्ने कीराहरू खास गरी खुम्रे, धमीरा, रातो कमिलालाई, फेँद  कटुवाका लार्भाहरूलाई बढी मात्रामा यस्ता सुक्ष्म जीवहरूको प्रयोग गर्न सकिन्छ । 

हाम्रो देश नेपालमा पनि यी जीवहरू प्रशस्त भएको र यिनलाई गलेरीया कीराको शरीरमा राखी माटोबाट आकर्षण  (Trapping)  गरी उत्पादन गर्ने सम्बन्धी अध्ययन पूरा भइसकेको र उच्च स्तरको जनशक्ति तयार हुने अवस्था रहेकोले भविष्यमा यसवारे काम अगाडि बढ्ने सहज आशा
गरिएको छ ।
यी सुक्ष्मदर्शक यन्त्रले मात्र देख्न सकिने अति नै उपयोगी सुक्ष्म जीवहरू हुन  । यिनीहरूको बासस्थान
मुख्यतयाः माटो नै हो तर यिनको वद्धि र विकास हुनको लागि चिसो उपयुक्त माटोको साथसाथै कीराका लार्भाहरू पनि चाहिन्छन । यस्ता सुक्ष्म जीवहरूलाई माटोको माध्यमबाट संकलन गर्न सकिन्छ । तसर्थ नेमाटोडजन्य जैविक विषादी उत्पादन गर्न खेती गरिएको वा नगरिएको स्थानबाट माटो संकलन गरी ल्याउने र उक्त बट्टामा पुतली वा खपटे कीराका लार्भा पुतलीको तेश्रो वा चौथो अवस्था र खपटेका (तेश्रो अवस्थाका) लार्भाहरूसग राखी उक्त कोठाको तापक्रम १८–२० डि.से.गे  २२ डि.से.ग. सम्म बनाई राख्न सकिन्छ । ४–६ दिन जतिमा उक्त लार्भाहरू मरिसक्छन  मरेको लार्भाहरुलाई सेतो पासो (White Trap) मा पानी सहित पर्ने गरी राखी पुनः उत्पादन गरिन्छ ।

मरेका लार्भाका शरीरभित्र नेमाटोडको गर्भाधारण भई आफ्ना अनगिन्ती सन्तान उत्पादन गर्दछन् । पानीमा लाखौं लाख साना साना जुभेनाइलहरू घुमिरहेका हुन्छन् । यसरी तयार गरिएको १ थोपा मात्र झोलमा लाखौं कण हुने भएकोले निकै सानो बुंद मात्र  एउटा जीवित कीरामा पार्न सकिए पनि उक्त जीवित कीरा मर्न जान्छ । यसरी माटोदेखि संकलन गरिएका सुक्ष्म नेमाटोडहरू कीराको शरीरमा उत्पादन गर्दै रेफ्रिजेरेटरको सामान्य तापक्रममा भण्डारण गरिन्छ र आवश्यक परेको बेलामा कीराको शरीरमा पर्ने गरी कुनै मसिनो मुख भएको साना प्वाल भएको स्प्रेयरको नोजलबाट प्रयोग गरिन्छ । नेमाटोडजन्य जैविक विषादीलाई उत्पादन गर्न माटो संकलन, माटोबाट नेमाटोड आकर्षण, नेमाटोड वृद्धि र उत्पादन, नेमाटोड भण्डारणका विभिन्न अवस्थाहरू हुन सक्छन् ।

नेमाटोडजन्य जैविक विषादी र तिनका गुणहरू
नेमाटोडमा आधारित जैविक विषादीहरू खासगरी हाम्रो देश नेपालमा बिगत वर्षसम्म अनुसन्धान स्तरमा मात्र सिमीत थिए । यद्यपि यिनको प्रयोग युरोपेली देश र अमेरिकामा भने राम्रैसँग भएको पाईन्छ । यसमा आधारित विषादी भन्नाले खासगरी स–साना सुक्ष्म नेमाटोड्समा प्रजातीहरू पानीमा घुलाई तयार गरिएको हुन्छ । जुन प्रयोग गरिसकेपछि पुलती, बारुला, झिंगा तथा खपटे समूहका बच्चा कीराहरूको शरीरमा यिनले प्रवेश गर्दछन् । यी माइक्रास्कोपले देख्न सकिने सुक्ष्म जीवहरू कीराको शरीरमा प्रवेश गरेर आफनो  कारणले मार्नुभन्दा पनि यिनले जेनोरहयावड्स  (Xenorhabdus)
र फोटोरहयावड्स  (Photorhabdus) भन्ने ब्याक्टेरीया (Bacteria)  को कारणले कीरालाई मार्दछन् । यसको मतलब यी व्याक्टेरीयाहरू नेमाटोडको शरीरको भित्री भागमा रहेका हुन्छन् । जब नेमाटोड हानीकारक कीराका लार्भाका शरीर भित्र प्रवेश गर्दछ तव यिनले सँगै लिएर गएको ब्याक्टेरीया पनि कीराको लार्भाको शरीरको रगत बग्ने भाग  हुँदै पछि गएर कीराको विभिन्न प्रणालीहरूमा असर गर्दछन् ।
नेमाटोड र ब्याक्टेरीयाबीचको यस प्रकारको सम्बन्धलाई सिमबायोटीक सम्बन्ध (Symbiotic relation)  भनिन्छ । सामान्यतया यी नेमाटोडहरूले कीराको लार्भाको शरीरभित्र प्रवेश गरेपछि २४–७२ घण्टा भित्र कीरा मार्दछन् । कीरा मर्ने कारण ब्याक्टेरीया भएकोले यसलाई Bacterimia   र बिस्तारै मर्ने भएकोले यस प्रकारको मुत्युलाई सेप्टीसेयामिक मृत्यु (Septiciamic death)  भनिन्छ । यी नेमाटोडसहरूले कीरामा सम्पर्क (Contact) विधिबाट असर गर्दछन् ।

प्रयोग गर्ने तरिका
जैविक विषादी एकै प्रकारका पनि हँदैनन् र एउटै प्रकारका कीरा वा रोगहरूलाई पनि असर गर्दैनन् तर यिनको असरको प्रकृति भने एउटै प्रकारको हुन्छ । अर्थात् यिनीहरूको असर सामान्यतया सम्पर्क (Contact mode of action)  प्रकृतिको हुन्छ । यसको मतलब यिनीहरूलाई उत्पादन गरेदेखि प्रयोग नगरुन्जेलसम्म उपयुक्त रूपमा भण्डारण गरी जीवितै राख्नु पर्दछ र उक्त जीवित अवस्थाका जीवहरूलाई जीवित कीराको शरीरमा सम्पर्क हुने गरी नजिकैबाट वा उपयुक्त
माध्यमबाट प्रयोग गर्नु पर्दछ । यदि कीराको शरीरसम्म पुग्ने गरी सम्पर्क गराइएन भने यिनीहरू उपयुक्त तापक्रम वा चिस्यान वा सापेक्षिक आर्द्रता वा आफ्नो कीराको अभावमा मर्दछन् किनकी हरेक जैविक विषादीहरूले आफ्नो राम्रो प्रभाव देखाउनको लागि उपयुक्त वातावरण र रोग शंक्रमण हुन उपयुक्त कीराको आश्रय पाउनु पर्दछ । साथै जैविक विषादीहरूलाई सूर्यको प्रकाश (चर्को घाम) तथा सुख्खा वातावरणले असर गर्ने हुनाले उपयुक्त वातावरण मिलाउनु पर्दछ र मार्न चाहेको कीराको शरीरसम्म पुग्ने गरी प्रयोग गर्नु पर्दछ । यसो गर्नको लागि एकै तरिकाको प्रयोग भने गर्न सकिंदैन
किनभने कीराहरूले पनि एकै तरिकाले जीवनी गुजार्ने वा आफ्नो गतिविधि बोट बिरुवामा नगर्ने भएकोले यिनको जीवनी अनुसार प्रयोग पनि फरक फरक तरि काले गर्नु पर्छ । मुलतः यिनको प्रयोग लक्षित गरिएका कीराहरू समक्ष पुग्ने गरी प्रयोग गर्नुपर्दछ ।

जैविक विषादीहरू प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू
जैविक विषादीहरू जीवीत वस्तुमा आधारित वस्तु भएकाले यिनको उत्पादन पश्चात प्रयोग गर्ने अवस्था
सम्म होशियारीका साथ राख्नुपर्दछ । यसको मतलब यिनीहरूलाई कम तापक्रम र बढी सापेक्षिक आद्र्रताको आवश्यकता पर्दछ । त्यसो हुनाले भण्डारण गर्दा सकभर कम तापक्रम भएको स्थान वा रेफ्रिजेरेटरमा राख्नु पर्दछ र प्रयोग गर्दा अपरान्हको समयमा स्प्रेयरद्वारा प्रयोग गर्नु वेश हुन्छ । यस्ता जैविक पदार्थहरू प्रयोग गरिएको बालीमा अन्य रासायनिक विषादीहरू प्रयोग गर्नुहुँदैन । प्रयोग गर्नैपर्ने भएमा कम्तिमा अर्को दिन पछि वा केही दिनको अन्तरमा मात्र प्रयोग गर्नुपर्दछ । जैविक पदार्थहरू प्रयोग भएको ठाउँमा उपयुक्त चिस्यानको व्यवस्था मिलाउनु पर्दछ । सापेक्षिक आद्रता
बढी र तापक्रम ४० डिग्री से. भन्दा कम भएमा यसको प्रभावकारीता पनि राम्रो हुन्छ । नेपालमा छिटफुट रूपमा देखापर्ने जैविक विषादीहरूलाई विषादी सरह भण्डारण तथा प्रयोग गर्नुले यिनको प्रभावकारीता र विश्वसनियतामा शंका गर्ने ठाउँ रहेको छ र कुनै कुनै स्थान र समयमा कृषिमा संलग्न निकायले हप्की समेत  खानु परेका घटना समेत हाम्रा सामु छन् । त्यसैले यिनलाई लामो समयसम्म प्रभावकारी बनाउन उपयुक्त तापक्रममा भण्डारण गर्नु पर्दछ ।

जैविक विषादी प्रयोग गर्ने साधनहरू : 
सामान्यतया जैविक विषादीलाई अन्य विषादीहरू जस्तै प्रयोग गरिने स्प्रेयर र माध्यमबाट प्रयोग गर्न सकिन्छ तर पनि प्रयोग विधि यिनीहरूको बिन्यास र उपलब्ध भएका रूपको आधारमा गरिन्छ । जैविक विषादीहरू मुख्यतया तरल रूपमा उपलब्ध हुन्छन् र केही धुलोमा त केही दानादार रूपमा । तरल रूपमा उपलब्ध हुने जैविक विषादीहरू मध्ये भाइरस तथा वनस्पतीमा आधारित झोलहरू एवं ढुशीमा आधारीत झोलहरूलाई हाते स्पे्रयर, मरुत स्पे्रयरको माध्यमबाट प्रयोग गर्न सकिन्छ ।

विकसित राष्ट्रहरूमा यिनलाई ठूलो मेसीनहरू  (Foot Sprayer) तथा हेलिकोप्टर वा ड्रिलीङ्ग मेसिन वा ट्याक्टरबाट समेत प्रयोग गरेको पाईन्छ । हाम्रो देश नेपालमा भने उक्त प्रविधि नौलो लाग्नु स्वभावीकै हो । तसर्थ झोल रूपमा उपलब्ध जैविक विषादीलाई स–साना हाते स्प्रेयर देखि मरुत स्पेयरले बोटको सबै भागमा रहेका कीराको सबै शरीरमा पर्ने गरी छर्नुपर्दछ ।

त्यस्तै धूलो रूपमा उपलब्ध जैविक विषादीहरूमध्ये कुनै कुनै प्रजातीका ढुशी वा ब्याक्टेरीयालाई पनि पानीमा घुलाइ स्प्रेयरहरूको माध्यमबाट प्रयोग गर्नुका अलावा हातद्वारा जमिन खनजोत गर्दा वा जमिनमा बीउ छर्दा वा रोप्दा समेत प्रयोग गर्न सकिन्छ । धूलो रूपमा उपलब्ध जैविक विषादीलाई धूलोमा नै उपलब्ध रासायनिक विषादी जस्तो डस्टरको सहयाताबाट प्रयोग गरिदैंन कारण धूलोलाई
पानीमा घुलाएर यसमा भएका कणहरू कीराको शरीरमा सार्न सकिन्छ यदि धूलोमा नै प्रयोग गरेमा यसमा भएका कणहरू कीराको शरीर सम्म पुग्दैनन् ।

नेमाटोडजन्य जैविक विषादी प्रयोग भने अन्य जैविक विषादीको तुलनामा फरक छ किनभने यी सुक्ष्म जीवाणुहरू अत्यन्तै साना भएकाले २.५ ह १०९ जीवांणु प्रति हेक्टरका दरले हुने गरी सिंचाइ दिंदा वा अत्यन्तै साना प्वाल भएका नोजलबाट प्रयोग गर्नुपर्दछ । जैविक विषादीहरूलाई प्रयोग गर्न सामान्यतया धेरै महङ्गा सामानहरूको आवश्यकता पर्दैन बरु ढुशी, ब्याक्टेरिया जस्ता पदार्थलाई खेती गर्ने समयमा हातले समेत प्रयोग गर्न सकिन्छ ।

डा. युवक ध्वज जी.सी

Source : फणीन्द्र प्रसाद न्यौपाने. २०५८. तरकारी बालीहरूमा लाग्ने कीराहरूको एकिकृत व्यवस्थापन, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, काठमाडौँ  

थप समाचार