कक्सीडियोसिस प्रोटोजोवाबाट लाग्ने कुखुराको एक प्रमुख रोग हो । यसले ४ देखि ६ हप्ताको चल्लालाई प्रमुख रुपमा असर पार्दछ । रगत मिसिएको घेर्ने यस रोगको मुख्य लक्षण हो। रोगी कुखुराको सूलीबाट अनगिन्ती उसिष्ट झर्दछन् । जुन विभिन्न प्रक्रियाबाट स्पोरुलेटेड उसिष्ट बन्दछ । यो हानिकारक अवस्था हो। जब दाना, पानी र सोत्तरमा मिसिएको स्पोरुलेटेड उसिष्ट स्वस्थ पंक्षीले खान्छ, तब त्यो पंक्षी कक्सीडियोसिस रोगबाट पिडित हुन्छ । मृत्युदर ५० प्रतिशतसम्म पुग्दछ । यो रोग साधारणतया कुखुरा, विभिन्न पंक्षीहरु र खरायोमा लाग्दछ । नेपालमा यो रोगले निकै सताउने गरेको कुखुरापालन व्यवसायीलाई राम्ररी थाहा छ। हिजो आज गम्वोरो रोग लागे पछि पंक्षीमा रोग निरोधक क्षमता नष्ट भई कक्सिडियोसिस रोगले पनि सताउने गरेको पाइएको छ। यस्तो समस्या विशेष गरी ब्रोईलर कुखुरामा बढी देखिन आएको छ।
रोगको कारण :
कुखुरालाई विभिन्न ७ जातका प्रोटोजोवा परजीवी आइमेरीया (Eimeria) बाट रगत छेर्ने रोग लाग्दछ, यसैलाई कक्सीडियोसिस भनिन्छ । कक्सीडिया स्पोरोजोवा वर्गमा पर्दछ । यसको दुई मुख्य हाँगामा आइमेरिया र आइसोपोरा पर्दछन् । यी दुई जेनेरामा निम्न अन्तर छन् ।
आइमेरीयाः यसको उसिष्टमा ४ स्पोरोसिष्ट हुन्छन्, प्रत्येक स्पोरोसिष्टमा २ वटा स्पोरोज्वाईट हुन्छन् । आइसोपोराः यसको उसिष्टमा २ वटा स्पोरोसिष्ट हुन्छन् । प्रत्येक स्पोरोसिष्टमा ४ वटा स्पोरोज्वाइंट हुन्छन् । उसिष्ट कक्सीडियाको प्रतिकार गर्न सक्ने चरण हो, साथै स्पोरोज्वाइंट संक्रमण गर्न सक्ने हानिकारक अवस्था हो ।
लक्षण :
विभिन्न लक्षणहरु तथा असर गरेको आधारमा कक्सिडियोसिसलाई २ भागमा विभक्त गरिएको छ ।
१. आन्द्राको हाँगाको कक्सिडियोसिस :
यो रोग १२ हप्तासम्मका चल्लालाई लाग्दछ । यो आइमेरीया टेनेला नामक प्रोटोजोवाले गर्दा हुने रोग हो । यसले सिकाको भित्री सतहमा आक्रमण गर्दछ, जसले गर्दा सूलीमा रगत मिसिएको हुन्छ । यसलाई रक्तपूर्ण कक्सिडियोसिस पनि भनिन्छ । चल्ला एकै ठाउँमा रहने, दानापानी खान मन नगर्ने, सिउर र लोतीको रङ्ग फुस्रो हुने र सूलीमा रगत मिसिएको देखिन्छ । तसर्थ चल्ला दिन प्रति दिन दुष्लाउदै जान्छ ।
२. सानो बान्द्राको एक्सिडियोसिस :
यसले साधारणतया ४ महिना उमेरसम्मका कुखुरामा बढी आक्रमण गर्दछ । यो रोग तीक्ष्ण वा जीर्ण खालको हुन सक्छ । तीक्ष्ण खालको रोगमा मृत्युसंख्या बढी हुन्छ । पखेटामा सूली टाँसिएको चुच्चोको रङ्ग फुस्रो र कुखुरा झोक्राइरहन्छ । ५-७ दिनभित्रमा कुखुरा मर्दछ। जीर्ण खालको रोगमा कुखुरा बुब्लाउने, रातो घेर्ने गर्दछ । फुल पार्ने कुखुरीको फुल उत्पादन घटदछ । यसका अतिरिक्त शारीरिक वृद्धि राम्रो हुँदैन ।
मरेको कुखुरालाई चिरेर हेर्दा :
१. सिकाको आकार ठूलो भएको हुन्छ । सिका भित्र रक्तश्राव भई रातो भएको रगत जमेको स्पष्ट देखिन्छ । यस्तो आन्द्राको हाँगाको कक्सिडियोसिसबाट मरेको कुखुरामा देखिन्छ । २. सानो आन्द्राको अगाडि र वीचको भागमा रक्तश्राव भई आन्द्रा वाक्लो भएको पाइन्छ । कहिलेकाहीँ आन्द्राको यो भागमा रगत मिसिएको हुन्छ। आन्द्रामा सेतो र फुस्रो रङ्गको थोप्लाहरु देखिन्छ । यस्तो परिवर्तन E. necatrix कारण सानो आन्द्राको कक्सिडियोसिस 'भई मरेका कुखुराहरुमा देखिन्छ ।
उपचार विधि :
निम्न मध्ये कुनै एक औषधी पशु चिकित्सक वा पाराभेटनरीयनको सिफारिसमा खुवाउनु उत्तम हुन्छ । औषधीको मात्रा निर्माताको निर्देशन वा सम्बन्धित उपचारकर्ताको सिफारिस अनुसार हुनु उत्तम हुन्छ ।
१. एम्प्रोसोल २० प्रतिशत औषधी
२. सल्कोप्रिम, डुवाप्रिम वा सल्फाडाइजीन र ट्राइमेयोप्रीम मिसिएको औषधी मध्येमा कुनै एक औषधी खुवाउने ।
३. सुपरकक्स
४. चेकक्स
५. कक्सिकिल
६. जुरीकक्स आदि ।
कक्सिडियोसिस रोगको रोगथामको उपाय :
१. कक्सिडियोसिस रहित श्रोतबाट चल्ला खरिद गरी ल्याउनु पर्दछ ।
२. सोत्तरमा कुखुरापालन गर्दा यो सधै सफा, ओभानो र सुख्खा राख्नु पर्दछ ।
३. कुखुराको घरमा र कोठामा समेत हावा राम्ररी खेल्ने वातावरण बनाउनु पर्दछ वा भेण्टिलेशनको राम्रो व्यवस्थापन हुनु पर्दछ ।
४. दानामा नियमित तबरले कक्सिडियोस्टाट औषधी प्रयोग गर्नु पर्दछ । १२ हप्तासम्म नियमित रुपमा कुखुराको दानामा कक्सिडियोस्टाट औषधी राख्नुपर्दछ । कक्सिडियोस्टाट प्रत्येक १ वा २ बर्षमा परिवर्तन गर्दै खुवाउनु पर्दछ । साथै दानामा राम्ररी मिसाउनु पर्दछ ।
५. बेला बेलामा कुखुराको सूली जाँच गराएर औषधी खुवाउनु पर्दछ ।
६. सोत्तर चिसो भएमा १ के.जी. चून १५ वर्गफिट क्षेत्रमा छर्कनु पर्दछ ।
७. कुखुरा घरको क्षमताभन्दा बढी कुखुरा राख्नु हुँदैन् ।
८. विभिन्न उमेर वा समूहका कुखुरालाई छुट्टा छुट्टै राख्नु पर्दछ ।
९. एक बथानमा प्रयोग गरिएको भाँडा उपकरण अर्को बथानमा लग्दा पूर्ण रुपमा संक्रमण मुक्त गरेर मात्र लग्नु पर्दछ ।
१०. उचित सर सफाइको व्यवस्था हमेशा गर्नु पर्दछ ।
डा. बशि शर्मा
Source : कृषि सूचना तथा प्रशिक्षणक केन्द्र, हरिहरभवन , ललितपुर ( कृषि पत्रिका )