बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

केराको पानामा विल्ट ( Panama wilt Fusarium oxysporium f.sp. cubense–Foc) व्यवस्थापनमा प्राङ्‍गारिक तरिका

शुक्रबार, साउन ४ २०८१
7 views
केराको पानामा विल्ट  ( Panama wilt Fusarium oxysporium f.sp. cubense–Foc) व्यवस्थापनमा प्राङ्‍गारिक तरिका

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : 

 यो रोग सर्वप्रथम १९५० को दशकमा अमेरिकाको पानामा भन्ने देशमा देखिएको हुँदा सोही देशको नामबाट पानामा विल्ट नाम रहन गएको हो । यो रोगको जिवाणु पानी, माटो, सङ्क्रमित विरुवा, बाली अवशेषहरू तथा कृषि औजारहरूको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा सजिलैसँग फैलन सक्दछ । माटोमा पानीको राम्रो निकास नभएको र तापक्रम बढी भएको अवस्थामा यो रोगको ढुसी बढी सक्रिय भई सञ्चार कोशिकाको (Vascular Tissue) माध्यम हुँदै गाना थाम र नयाँ कोषमा सर्दछ ।

रोगका लक्षणहरू : 

- पुराना पातहरू छेउतिरबाट मुख्य नसा (Mid rib) तिर पहेंलिदै जान्छन् ।

- पहेंलिने क्रम माथिका पातहरूमा सदै जान्छ र अन्त्यमा गुभोको पात पनि पहेंलिन्छ ।

- पातहरू फेदबाट भाँचिएर थामको वरिपरि झुन्डिएर रहन्छन् ।

- थामहरू फेदतिरबाट ठाडो तरिकाले (Longitudinal cracks) फुट्छन् ।

- थामहरू सञ्चार केशिकाहरूमा पहेंला वा खैरा धर्साहरू देखिन्छन् । यस्ता धर्साहरू गाना र घरीको डाँठमा समेत हुन सक्छन् । यसलाई भाष्कुलर विल्ट (Vascular wilt) पनि भनिन्छ ।

 रोगको व्यवस्थापन : 

यो रोगको व्यवस्थापन त्यति सजिलो छैन । सबै प्रकारका रसायनबाट यो रोग व्यवस्थापन गर्न कठिनाइ भएकोले प्राङ्गारिकका सबै विधि अपनाउन सके मात्र यो रोग व्युवस्थापन गर्न सकिन्छ । एक पटक आक्रमण गरेपछि यो ढुसी माटोमा वषौंसम्म सक्रिय रहन सक्ने भएकोले यस्तो जग्मा तीनदेखि पाँच वर्षसम्म केरा खेती नगर्न राम्रो हुन्छ । तथापि केरामा भविष्यमा देखा पर्न पालको चितवन जिल्लामा झापा जिल्लाबाट ल्याइएको झापाली मालभोग जातमा सुरुवातको चरणमा देखा परेको पाइन्छ ।

तर विस्तारै माथिको अवस्था सिर्जना भएको स्थानमा क्रमशः फैलँदै गएको पाइन्छ । यो रोग बिस्तारै नेपालका विभिन्न स्थानमा फैलँदै गएको र कुनै पनि रसायनले नियन्त्रण हुन नसकेको कृषकहरूको भनाइ रहेको छ ।  


अवस्थालाई मध्यनजर गरी नयाँ बगैंचा लगाउँदा निम्न बमोजिमका कार्य गरेमा यसको सहजै व्यवस्थापन गर्न सकिन्छ ।

१. माटो जाँच र पिएच व्यवस्थापन अम्लिय माटोमा Fusarium oxysporium तथा अन्य हानिकारक ढुसीहरूको वृद्धि छिटो गतिमा हुने र ट्राइकोडर्मा (Tricoderma) जस्ता फाइदाजनक ढुसीहरूको वृद्धि रोकावट हुन जाने भएकाले फाइदाजनक ढुसीको वृद्धि र विकासका लागि बिरुवा रोप्नु अगाडि नै माटो जाँच गरी सिफारिस गरेमुताबिक कृषि चुनको प्रयोग गरी तटस्थ (Neutral) गराउनुपर्दछ । केरा खेतीको लागि ६.५ देखि ७ पिएच मान भएको माटो आवश्यक पर्ने भएकाले ६.५ भन्दा कम पिएच मान भएको माटोमा केरा खेती नगरेकै राम्रो हुन्छ ।

२. खाडलमा चार्ज गरेको बायोचारको प्रयोग : केरा रोप्नुभन्दा १ महिनापहिल्यै ६० घन सेमीको खाडल खन्नुपर्छ । उक्त खाडलहरूलाई १ हप्ताजति खुल्ला छोडिदिने र त्यसपछि त्यस खाडलमा सिफारिस गरिएको मलको साथमा प्रतिबोट कम्तीमा ५०० ग्राम गाईभैसीको पिसाबबाट चार्ज गरिएको बायोचार प्रतिखाडलका दरले विरुवा रोप्नुभन्दा पहिले राख्नुपर्छ । वायोचार आफै मल होइन तर माटोमा रहेका सूक्ष्म जीवाणुहरूको असल खाना हो र यसले पानी धारण गर्ने क्षमता तीन गुणा बढाउनुका साथै हामीले दिएको मलखाद चुहिन र उड्न नदिई बाँधेर राख्छ । जसको कारणबाट हामीले दिएको मलमा भएको सबै पौष्टिक तत्त्व विरुवाले लिन सक्छ र रोगको जिवाणुसँग लड्न सक्ने बोट बनाउँछ । बायोचार प्राप्त नभएमा ५ केजी गाईभैसीको पिसाबबाट चार्ज गरिएको खरानी प्रतिखाडलका दरले राख्नुपर्छ ।

३. खाडलमा ट्राईको कम्पोस्टको प्रयोग : खाडलमा अन्य प्राङ्गारिक मलको सट्टामा ट्राइकोडर्माले उपचार गरिएको कम्तीमा १५ केजीसम्म प्राङ्गारिक मल राख्ने ।

४. विरुवा सार्नुअघि ट्राइकोडर्माबाट सकर उपचार : स्वस्थ विरुवा रोप्ने तर माटोमा फाइदाजनक जिवाणुको वृद्धि गराउन विरुवा सार्नुअघि सकरलाई ट्राइकोडर्मा ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएको झोलमा कम्तीमा ५ मिनेट सकरलाई डुवाएर मात्र खाडलमा विरुवा रोप्ने । जसले गर्दा ट्राइकोडर्माको सङ्ख्या वृद्धि भई हानिकारक ढुसीको सङ्ख्या कम गराउन मद्दत गर्दछ ।

५. माटोमा माइकोराइजाको प्रयोग : स्वस्थ बोट बनाउन माइकोराइजाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । माइकोराइजाले बिरुवाको जरामा बसी विरुवालाई फस्फोरस लगायत नाइट्रोजन क्याल्सियम जिंक तथा म्याग्नेसियम उपलब्ध गराउनुका साथै विरुवाको रोगसँग लड्न सक्ने शक्ति प्रदान गर्दछ । यसका लागि High yielding Technology बाट उत्पादन भएको Enda mycor- rhiza प्रतिबोट ५० ग्राम प्रतिवर्ष प्रतिबोट प्रतिवर्षका दरले प्राङ्गारिक मलको साथमा प्रयोग गर्नुपर्दछ ।

६. थोपा सिँचाइमार्फत ट्राइकोडर्माको प्रयोग : फाइदाजनक ढुसीको माटोमा वृद्धि गर्न कम्तीमा ३ पटक प्रतिवर्ष थोपा सिंचाइको माध्यमबाट ट्राइकोडर्मा प्रयोग गर्नुपर्दछ वा थोपा  सिँचाइ सम्भव नभएमा ट्राइकोडर्मा ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएको झोल प्रतिबोट २०० मिलिलिटर पर्ने गरी हरेक बोटमा प्रतिवर्ष ३ पटक प्रयोग गर्नुपर्दछ ।

७. ८ थोपा सिँचाइमार्फत आईपी एग्रोलिक्युडको प्रयोग :

आईपी एग्रोलिक्युड विभिन्न प्रकारका फाइदाजनक व्याक्टेरियाको मिश्रणबाट तयार गरिएको झोल हो । यसको प्रयोगबाट बिरुवालाई रोग प्रतिरोधी क्षमता वृद्धि गराउन मद्दत गर्दछ र बोट निरोगी हुन्छ । बोटमा अप्टिमस झोल स्प्रे : अप्टिमस एक अर्यागिक एमिनो एसिड हो । यसमा एमिनो एसिडको साथमा फलाम, म्यागनिज, कपर तत्त्वहरू रहेका हुन्छन् जसले प्रकाशसंश्लेषणमा भूमिका खेल्दछ र बिरुवा स्वस्थ हुन्छ । यसका साथै यो एक प्रकारको प्राङ्गारिक वायो स्टुमेलेन्टको काम गरी विरुवालाई स्वस्थ बनाउँदछ । अप्टिमस १ मिलिलिटर प्रतिलिटर पानीमा मिसाई पातमा वर्षमा कम्तीमा ३ पटक स्प्रे गरेमा बोटको स्वास्थ्यमा राम्रो प्रभाव परी रोगबाट बोटलाई सुरक्षित राख्न सकिन्छ ।

 यसको साथमा बगैंचा व्यवस्थापन गर्ने अन्य क्रियाकलापहरू जस्तै गोडमेल सरसफाइ सकर हटाउने सधै ट्राइकोडर्मा राखेको मलखादको प्रयोग जस्ता कार्यसँग गर्ने र हरेक ३ वर्षमा माटो परीक्षण गरी माटोको पिएच मान राखी तटष्य बनाउने कार्य गरेमा रासायनिक प्रणालीबाट भन्दा बढी केरा उत्पादनसमेत गर्न सकिन्छ र भविष्यमा हुन सक्ने जोखिमबाट केरा खेतीलाई बचाउन सकिन्छ । प्रस्तुत लेख लेखकको आफ्नै अनुभवबाट तयार गरिएको हो ।

सन्दर्भ सामग्रीहरू १. आत्रेय, पध्मनाय (२०७२) उष्णप्रदेशीय फलफूल प्रविधि पुस्तिका, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, फलफूल विकास मन्त्रालय, कीर्तिपुर, काठमाडौं । २ केरा खेती प्रविधि पुस्तिका (२०७६), नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास सुन्त्रालय, प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, चितवन ।

सम्बन्धित विषय

थप समाचार