परिचय :
वनस्पति विविधताको दृष्टिले नेपाल संसारमै धनी मानिन्छ । यहाँको हिमालय आसपासका जडीबुटीहरु आयुर्वेद र घरायसी उपचारका लागि नामुद मानिन्छन् । मानव स्वास्थ्यमा मात्र नभएर बालीनालीमा समेत यसको प्रयोगले नेपालमा केही न केही ठाउँ पाएकै छ। वनस्पतिजन्य पदार्थद्वारा कृषि उपजमा लाग्ने शत्रुजीवको व्यवस्थापन गर्ने काम नेपालको परिस्थितिमा नौलो होइन । हाम्रो समाजमा रोग र कीराहरुको उपचारका लागि परम्परागत् रुपमा वनस्पतिजन्य पदार्थको प्रयोग हुँदै आएको छ। घरमा राखिएका अनाज र खेतवारीका बालीनाली तथा तरकारीमा लाग्ने रोग र कीराको रोकयामका लागि उपयुक्त कतिपय वनस्पतिहरु पाइएका छन् ।
कुनै वेला संसारमा भइरहेको जनसंख्याको तिव्रतर वृद्धिदर र त्यसलाई आवश्यक पर्ने खाद्यान्नको परिपूर्ति गर्नु कृषिमा संलग्न वैज्ञानिकहरुका लागि एउटा ठूलो चुनौती थियो। त्यस चुनौतीको सामाना गर्न हरतरहले कृषि उत्पादनमा वृद्धि गर्नु कृषि वैज्ञानिकहरुको लागि एक मात्र उपाय थियो। जसको फलस्वरुप कृषिमा अनेक किसिमका प्रविधिको विकास हुन गयो । वैज्ञानिकहरुले आफ्नो निरन्तरको खोज र अनुसन्धानबाट के पत्ता लगाए भने बालीनाली, तरकारी तथा फलफूलहरु मा लाग्ने रोग तथा कीराहरुले यति धेरै उत्पादनको नोक्सान गरिरहेका हुन्छन् कि तिनको सर्वनाश गर्न सक्ने प्रविधि हुने हो भने प्रति एकाई जग्गामा कयौ गुणा बढी उत्पादन वृद्धि गर्न सकिन्छ ।
औद्योगिक विकास र वैज्ञानिकहरुको प्रयासले उक्त कुरालाई सफल बनायो। ती विविध प्रविधिहरुमध्ये रासायनिक विषादी र कीटनाशक औषधिको प्रयोग महत्वपूर्ण मानिन्छ । यी विषादीहरुले कृषि उत्पादनमा धेरै नै वृद्धि गरे जसले गर्दा हातमुख जोर्न पुग्ने देशहरु निर्यात गर्ने भए र निर्यात गरिरहेकाहरु मालामाल हुने स्थिति आयो । तर रासायनिक विषादीहरुको व्यापक प्रयोगबाट परिणाम के निस्क्यो भने हाम्रो वरिपरिको वातावरणमा रहेका लाभकारी जीवहरु पनि निमिट्यान्न हुने स्थिति आयो। वातावरणमा परेको प्रदुषणको प्रभाव मानव स्वास्थ्यमा पनि पर्न थाल्यो र विषाक्त उत्पादनहरुको प्रयोगबाट मानिसहरु दीर्घ रोगका शिकार हुन थाले ।
कृषिमा यसरी बढेको उत्पादन दीगो नहुने र अन्ततः रासायनिक प्रदुषणले संसारकै संरचनामा समेत खलल पुऱ्याउने कुरा महसुस हुन थाल्यो। वातावरण र मानव स्वास्थ्यमा परेको I यो कुप्रभावबाट जोगिन फेरी वैज्ञानिकहरुको ध्यान वातावरण मैत्री शत्रुजीव व्यवस्थापनका तौरतरिकाको खोज गर्नतिर तानिएको छ।
महत्व :
रासायनिक विषादीहरुले क्षणिक रुपमा उल्लेख्य सफलता पाए जस्तो देखाएता पनि तिनले पार्ने भयानक असरहरुले अन्ततः मानव स्वास्थ्य र वातावरणलाई नोक्सान नै गर्ने किसिमका पाइयो। नेपालको सन्दर्भमा भन्ने हो भने ती विषादीहरु आयात गरिन्छन् जसमा देशको ठूलो धनराशी खर्च हुन्छ । कतिपय विषादीहरु निषेधित गरिएका भएपनि चेतनाको अभावमा खुल्लमखुल्ला प्रयोग भएका छन् । कृषक वर्गमा यथेष्ट ज्ञानको कमीले गर्दा तिनको मात्रा, प्रयोग गर्ने तरिका र बाली टिप्न पर्खने समयमा पनि कुनै पावन्दी देखिदैन।
रोग र कीरा नदेखिए पनि विषादी छरिहाल्ने प्रवृतिले त झन् आर्थिक, वातावरणीय र मानव स्वास्थ्यका दृष्टिले नकारात्मक असर मात्रै छाडेको महसुस भैरहेको छ। विषादीको व्यापक र असन्तुलित प्रयोगले यसरी सीमा नाघ्दै जाने हो भने वातावरणीय विनाशको साथसाथै मानव समाजको पनि विकृत अवस्था देख्न धेरै समय नलाग्ला । यति हुँदाहुँदै पनि हामीले कृषि उत्पादन बढाउनु पर्ने कुरालाई पनि भुल्नु हुँदैन। कृषक वर्गमा रासायनिक विषादीको त्रास मात्र देखाएर कृषि उत्पादनमा वृद्धि गर्न सकिदैन । उनीहरुलाई वैकल्पिक विधिहरुको पनि अवसर दिन सक्नु पर्दछ। ती अवसर हरु दीगो, सजिलोसंग प्राप्त हुने र प्रयोग गर्न सकिने खालका हुनुपर्दछ।
हाल आएर नेपालमा पाइने वानस्पतिक विविधताको उपयोग गर्दै वनस्पतिजन्य पदार्थको माध्यमबाट शत्रुजीव व्यवस्थापन गर्ने विधितर्फ कृषिसंग सरोकार राख्ने सबैको ध्यान जान थालेको छ । नेपाल जडीबुटी र वनस्पितिको धनी देश भएकाले यस परिप्रेक्ष्यमा यसको महत्व झनै बढेको छ। हामीकहाँ उष्ण क्षेत्रमा (तराई तथा बेंसी) पाइने गन्धेझारदेखि लिएर हिमाली क्षेत्रमा पाइने चारऔलेसम्मको उत्पादनले यो सम्भावनलाई अझ बढी बल पुऱ्याएको छ । विविध हावापानीमा पाइने वनस्पतिको प्रयोग गर्न सकिने र ती वनस्पति सर्दा सर्वदा उपलव्ध हुन सकने भएकाले तिनको प्रयोगमा ध्यान दिनु जरुरी भएको छ । हुन त परम्परागत् तरिकाबाट घरेलुस्तरमा केही वनस्पतिको प्रयोग नगरिएको होइन तर तिनको उचित मात्रा र असरको लेखाजोखा हुन बाँकी रहेकाले आशातीत प्रतिफल पाउन गान्हो भएको छ। तसर्थ कृषि वैज्ञानिकहरुले बनस्पतिजन्य पदार्थको सही प्रयोगका लागि काम गर्न सकिने सबै अवसरहरको सनुपयोग गर्नु जरुरी देखिन्छ ।
शत्रुजीव व्यवस्थापनमा वनस्पतिजन्य पदार्थको प्रयोग :
वनस्पतिजन्य पदार्थ भन्नाले वनजङ्गलमा पाइने झारपात वा वोटहरुबाट उत्पादिन वस्तु भन्ने बुझिन्छ । यी झारपातहरुका अङ्गअङ्गमा पाइने विनाशकारी वस्तुनाशक पदार्थहरुको उपयोग गरी कृषि उत्पादन वृद्धि गर्नु नै आजको आवश्यकता हो । झारपात मध्ये कसैले शत्रुजीवलाई नजिक आउन नदिने, कसैले नराम्रो गन्ध दिई विरुवालाई नोक्सान गर्ने रुची जाग्न नदिने, कसैले विषादीको काम गर्ने र कसैले वृद्धि रोक्ने खालका हुन्छन् ।
यी झारपातहरु मध्ये कतिपयले पूरै शरीरमा, कतिपयले जरामा, कतिपयले डाँठमा र अझ कतिपयले त फलमा विनाशकारी वस्तुनाशक पदार्थहरु सञ्चित गरिराखेका हुन्छन् । तसर्थ कुनै पनि झारपातको प्रयोग गर्दा त्यसको उपयुक्त अङ्ग पत्ता लगाउनु पहिलो काम हो। त्यसपछि उक्त अङ्गको कति मात्राले विरुवाका शत्रुजीव नियन्त्रण गर्न सक्छ भन्ने कुरा पत्ता लगाउनुपर्दछ । यसो गर्नको लागि धेरै किसिमका विधिहरु I अपनाउन सकिन्छ । जस्तैः
१. हरियै वा सुकाएर प्रयोग गर्ने,
२. पानीमा वा गहुँतमा विभिन्न मात्राको घोल बनाएर तत्कालै छर्ने,
३. पानीमा वा गहुँतमा विभिन्न मात्राको घोल बनाएर केही दिन वा हप्तापछि छर्ने,
४. पानीमा वा गहुँतमा एकै मात्रामा दुई वा दुईभन्दा बढी झारपात तत्काल मिसाएर छर्ने,
५. पानीमा वा गहुँतमा विभिन्न मात्रामा दुई वा दुईभन्दा बढी झारपात मिसाएर केही दिन वा हप्तापछि छर्ने,
६. पानीमा वा गहुँतमा एकै मात्रामा दुई वा दुईभन्दा बढी झारपात मिसाएर केही दिन वा हप्तापछि छर्ने र
७. विभिन्न मात्राको साबुनको झोलमा विभिन्न मात्राका झारपात (एक वा एकभन्दा बढी) मिसाएर एउटै समय वा विभिन्न समयमा छर्ने ।
यी सबै विधिहरुमा जरा, डॉठ, र पातको छुट्टाछुट्टै परीक्षण पनि गर्न सकिन्छ । यी केही उदाहरणहरु मात्र हुन् यी बाहेकका उपायहरु पनि गाउँघरमा वा अन्यत्र प्रचलनमा हुनसक्छन् । वैज्ञानिकहरुले यी विधिहरुको प्रयोगबाट उत्पन्न उपलब्धीहरुलाई विभिन्न माध्यमहरुबाट प्रकाशमा ल्याउनु पर्दछ । यसरी प्रकाशित उपलब्धीहरु सकेसम्म कृषकस्तरमा प्रयोग गर्न सस्तो, सजिलो र प्रभावकारी हुनुपर्दछ ।
शत्रुजीव व्यवस्थापन गर्न वनस्पतिजन्य पदार्थको प्रयोगमा भएका उपलव्धीहरू :
वनस्पतिजन्य पदार्थको प्रयोग र तिनको प्रभावकारीताका वारे नेपालभित्र र वाहिर जे जति काम भएका छन् तिनको कृषकस्तरमा परीक्षण र मूल्याङ्गन गरी उपयुक्त प्रविधिको सिफारिस गर्नुपर्ने बेला भइसकेको छ । नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भइसकेको परिप्रेक्ष्यमा गुणस्तरीय उत्पादनका लागि यो कुरा झन् अपरिहार्य भएको छ । वरिपरि र तेश्रो मुलुकमा उत्पादन निर्यात गर्दा विकसित मुलुकहरुले विषाक्तताको मात्रा हेरी उपयोग गर्न सकिने भन्दा बढी मात्रामा विषादी देखिएमा फिर्ता पठाइदिने सम्भावनाले गर्दा भविष्यमा ठूलो नोक्सानी वेहोर्नुपर्ने हुनसक्छ ।
तसर्थ बेलैमा कृषक तथा कृषि उत्पादनमा लागेका सबै सरोकारवालाहरुको ध्यान स्वस्थ कृषि उपज वृद्धि गर्नतिर जानु आवश्यक देखिन्छ। अनुसन्धानकर्ताहरु, प्रसारकर्ताहरु र अगुवा कृषकले पनि वनस्पतिजन्य पदार्थको परीक्षण गरी आएका उपलब्धीलाई सबै कृषकसम्म पुऱ्याउनु पर्दछ । यसको थालनी कृषकस्तरमा प्रयोग भइरहेका र केही अनुसन्धान बाट प्रमाणित उपलब्धीहरुको प्रचार प्रसारबाट गर्नुपर्दछ । यसरी संकलित केही उपलब्धीहरु निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
१. लुम्लेमा गरिएको परीक्षण अनुसार सिस्नुलाई टुक्रा पारी १ हप्तासम्म गाईको गहुँतमा कुहाएर (१ के.जी. १० लिटर गहुँतमा) निस्केको झोल छानेर २०० मि.लि. पानीमा मिसाई काँक्रोमा छनांले धूले दूसी र डाउनी मिल्ड्यूको रोकथाम हुन्छ
२. बायोमल्टिनिम ३ मि.लि. प्रति लिटर पानीमा मिसाउने । २५० ग्राम सुर्तीका सुकेका पात र ३० ग्राम साबुनलाई ४ लिटर पानीमा आधा घण्टा उमाल्ने। यी दुवैलाई छुट्टाछुट्टै तर एकै समयमा छनांले काउलीका लाही कीराको रोकथाम भएको पाइएको छ। (पनेरु र साथीहरु)
३. गाईको गहुँतमा कुहाएको सिस्नुको झोल २०० मिलीलिटर प्रति लिटर पानीमा मिसाई क्राँक्रोमा छनांले ५० प्रतिशतसम्म उत्पादन वृद्धि भएको पाइएको छ।
४. एक किलो निम, डेढ किलो टिमुर, २ किलो बकाइनो, आधा किलो बोझो, २ किलो तितेपाती, आधा किलो असुरो, आधा किलो सयपत्री, १ किलो आरुको पात, आधा किलो पदिना, आधा किलो गोलभेडाको पात टुक्रापारी १५ लिटर गहुँत, २५० ग्राम पिना र २५० ग्राम साबुनसंग २०- २५ दिन राखेपछि साना विरुवामा १० भाग पानी र ठूला विरुवामा ५ भाग पानी मिसाई ७ दिनको फरकमा छर्नाले लाहीलाई मार्ने, अन्य कीरालाई भगाउने खाद्यतत्व थप्ने जितमायाँ तामाङ्ग, भूमिडाँडा-५ काभ्रेपलाञ्चोकका कृषकको अनुभव केशव देवकोटा र वेव गुरुङ्गले उल्लेख गरेका छन् ।
५. यसैगरि असुरो, तितेपाती, वनमारा, खिरों, सिउँडी, सजीवन, सिस्नु र चिलाउनेको पात बराबर गरी २५ किलो र वनस्पति भिज्ने गरी गहुँतमा १० दिनसम्म राख्ने । कलिला विरुवाको लागि ८ भाग र छिप्पेका विरुवाको लागि ४ भाग पानीमा मिसाएर ७-१० दिनको फरकमा छर्नाले कीरा भगाउने, डढुवा रोग लाग्न नदिने र खाद्यतत्व थप्ने अनुभव दोलराज पनेरु, सेती दोभान-५ स्याङ्गजाका कृषकको रहेको छ।
६. लुम्लेमा गरिएको परीक्षण अनुसार लसुनको रस १० मि.लि. प्रतिलिटर पानीमा घोली आधा घण्टासम्म फललाई उक्त घोलमा डुबाएर भण्डार गर्नाले सुन्तलामा लाग्ने निलो दूसीको धेरै हदसम्म नियन्त्रण भएको पाइएको छ।
यी माथिका तरिकाहरु केही उदाहरण मात्र हुन् । यी बाहेक हाम्रा घरायसी वस्तुहरु जस्तैः लसुन, प्याज, अवुवा, मरिच, मेथी, धनियाँ, बोझो आदिको शत्रुजीव व्यवस्थापनमा प्रयोग गर्न सकिने सम्भाव्यता देखिएको छ । कृषकहरुले प्रयोग गर्दै आएका गितीमल, चियामल, संगीन मल वा अन्य कुनै पनि मलहरुको यस सन्दर्भमा उल्लेखनीय सम्भावना रहन्छ।
गाउँघरमा प्रयोग गरिने धेरै वानस्पतिक वस्तुहरु अझै प्रकाशमा आउन सकिरहेका छैनन् । अतः तिनको खोज र प्रचारप्रसार गर्नु पर्ने पनि एक महत्वपूर्ण पक्ष हो । केही वानस्पतिक पदार्थहरुको औद्योगिकस्तमा उत्पादन गरिएको र नेपालमा तिनको आयात हुन थालेको अवस्थामा विविध बालीनालीमा पर्ने तिनको सकारात्मक प्रभावलाई पनि लेखाजोखा गर्नु पर्ने टड्कारो खाँचो देखिन्छ ।
निष्कर्ष :
रासायनिक विषादीहरुको जथाभावी प्रयोगबाट उत्पन्न वातावरणीय समस्या र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरहरु न्यून गर्ने वैकल्पिक उपाय मध्ये वनस्पतिजन्य पदार्थद्वारा शत्रुजीव व्यवस्थापन पनि एक हो। नेपाल प्रकृतिको धनी मुलुक भएकाले वनस्पतिजन्य पदार्थको उपयोगबाट बालीनालीका रोग र कीराहरुको नियन्त्रणको लागि धेरै काम गर्न सकिने सम्भाव्यता छ ।
सस्तो, सजिलो र प्रभावकारी पदार्थको परीक्षण र विस्तार गर्न सक्ने हो भने एकातिर रासायनिक विषादीमा भइरहेको खर्च वचत हुन्छ भने अर्कोतिर झारपातको पनि व्यवसायिक खेती शुरु हुनाले कृषकहरु नै लाभन्वित हुने र हर्वल कम्पनीहरुको विस्तार भई देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने देखिन्छ । तसर्थ यस कार्यमा कृषक, अनुसन्धानकर्ता, प्रसारकर्ता तथा कृषि र वनसंग सम्बन्धित गैरसरकारी संघ संस्थाहरुको संयुक्त प्रयास हुनु जरुरी देखिन्छ ।
सन्दर्भ सूची :
कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन ललितपुर - कृषि चौमासीक
नेउपाने, फणीन्द्र प्रसाब (२०००) जडीबुटीद्वारा कीरा नियन्त्रण, साझा प्रकाशन, काठमाण्डौ, नेपाल । 2. Gautam, I.P., Upadhyay, K.P. and Burlakoti, R.R. B. and Khan, A.H. (2004). Evaluation of botanical pesticides against powdery mildew and downy mildew of cucumber: A preliminary draft of working paper. Regional Agriculure Research Station, Lumle. 3. Paneru, R.B., P.R. Burtyal, B.P. Mainali and R. Maharjan (2004). Evaluation of botanical products for the management of aphids, Brevicoryne brassicae in cauliflower. Advances of Horticul- tural Research in Nepal. Proceedings of the Fourth National Workshop on Horticulture (March-2-4. 2004) NARC, NARI and HRD, Khumaltar, Lalitpur. 4. Chand, S.P., N.N. Khanal, and T.B. Sapkota (2004), Study on efficacy of Sisnoo (Urtica diooca L.) Pani in controlling diseases and pests of major vegetable crops of mid hills of Nepal. Advances of horticultural Research in Nepal. Proceedings of the Fourth National Workshop on Horticulture (March-2-4, 2004) NARC, NARI and HRD, Khumaltar, Lalitpur.