बाली पात्रो
सोमबार, कात्तिक १७ गते २०८३

लेप्टोस्पाइरोसिस

सोमबार, साउन १४ २०८१
12 views
लेप्टोस्पाइरोसिस

समाचार शेयर गर्नुहोस्

Share this news

लेप्टोस्पाइरोसिस

लेप्टोस्पाइरोसिस पशुहरूबाट मानिसमा सर्न सक्ने एक संक्रामक रोग हो। यो रोगको प्रमुख सम्बाहक मुसा जातिका जनावरहरू हुन्। यो रोग सर्वप्रथम सन् १८८६ मा वेल भन्ने वैज्ञानिकले पत्ता लगाएको अभिलेख भेटिन्छ । त्यसैले यो रोगलाई वेल्स डिजिज पनि भन्ने गरिन्छ । विशेष गरी सहरबजारका छेउछाउमा बस्ने सुकुम्बासी बस्ती तथा फार्ममा काम गर्ने कामदारहरूमा यस रोगको बढी प्रभाव देखा परेको भेटिन्छ । वर्षा भएको बखत फार्महरूमा जङ्गली जनावरहरूको ओहोरदोहोरका कारण पनि यो रोगको प्रकोपको सम्भावना बढी भएको पाइन्छ।

रोगको कारक तत्त्व : 

यो रोग लेप्टोस्पाइरा नाम गरेको स्पाइरोकीट ब्याक्टिरियमबाट हुने गर्दछ । लेप्टोस्पाइराका विभिन्न प्रजातिहरुमा  इक्टेरोहेमोरेजिका, क्यानिकोला, पोमोना, ग्रिपोटाइफोसा आदि छन् ।

रोग सर्ने माध्यम : 

मुसा, न्याउरी मुसा आदि जनावरहरु यस रोगका प्रमुख स्रोत मानिन्छन् । संक्रमित जनावरको पिसाबमा भएका जीवाणुहरू कुकुर, बिरालो, गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, खरायो, हरिण, मृग आदि जनावरमा द्वितीय आश्रयको रूपमा रहन्छन् । मानिसमा यो रोग खास गरी कुकुरहरुले सार्ने गर्दछन् । प्रदूषित खाना, पिसाब, पानी तथा माटो आदि प्रत्यक्ष रूपमा सेवन गर्नाले वा शरीरको छालामा सम्पर्क भएर वा आँखा, नाकमा छिटा परेमा पनि रोग मानिसमा सर्न सक्दछ ।

लक्षण : 

यो रोगको इन्कुवेसन अवधि २ देखि २० दिनसम्म हुन सक्ने भनिएको छ। प्राय अधिकांश सुरु अवस्थामा रोगको खासै लक्षण देखा परेको पाइँदैन। पछिपछि कलेजोमा असर पर्न जाने भएकाले जन्डिस देखा पर्ने र किड्‌नी फेलरका अवस्थाहरू सृजना हुन सक्दछ। अन्य लक्षणहरूमा अधिकतम ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, मेनिन्जाइिटस्, पेट दुख्ने तथा श्रव शक्ति नष्ट हुने आदि लक्षणहरू देखा पर्न सक्दछन्। पशुहरूमा देखा पर्ने लक्षणमा पिसाब रातो देखिनु, श्वास प्रश्वासमा बाधा, मुख तथा प्रजनन अंगहरु पहेंलो हुने, गर्भ तुहिने, थुनेलो हुने आदि लक्षणहरू देखा पर्दछन् ।

रोग निदान : 

सर्व प्रथम रोगको लक्षणबाट प्रारम्भिक अनुमान वा निदान गर्न सकिन्छ। पहिलो संक्रमणको ७ देखि १० दिनभित्रको समयमा रगत तथा सेरेब्रोस्पाइनल फ्लुडको परीक्षणबाट निदान गर्न सकिन्छ। यसका साथै एलाइजा, पि.सि.आर. परीक्षण बाटपनि रोग निदान गर्न सकिन्छ। पिशावको कल्चर तथा किड्नी Function Test आदिबाट रोग पनि निदान गर्न सकिन्छ तर लामो समय लाग्न सक्दछ ।

रोगको उपचार, रोकथाम तथा नियन्त्रण

यस रोगका लागि उपयूक्त एन्टिवायोटिक्सहरुमा पेनिसिलिन जि., डक्सिसाईक्लिन, एम्पिसिलिन तथा अमोक्सिसिलिन पर्दछन् । अति जटिल अवस्थामा सेफोटक्सिम, सेपट्रीअक्सोन आदि सिफारिस गरिएका औषधीहरु हुन् । मुसा तथा न्याउरी मुसाको नियन्त्रण, खाने कुरा र पानीमा प्रदुषणबाट बचाउनु बचावटको उत्तम उपाय हो। कुकुरहरुमा यस रोग विरुद्धमा नियमित रूपमा वर्षेनी खोपको प्रयोग गर्नु पर्दछ ।

Source : कृषि सूचना तथा प्रशिक्षण केन्द्र , हरिहरभवन ललितपुर 

सम्बन्धित विषय

थप समाचार